साउन महिनामा गाइने राग मलहारबारे केही भन्नुअघि ठाकुरजी अथवा श्रीकृष्ण भगवानलाई अर्पण गरिने सेवाका तीन विधिबारे केही उल्लेख गर्नु आवश्यक छ ।
पुस्टिमार्गले ईश्वरसँगको हाम्रो सामिप्यलाई वर्षभरि नै मनाउन प्रोत्साहित गर्दछ । त्यसैले हामी श्रृंगार, भोग र राग विभिन्न तरिकाले अर्पण गर्ने गर्दछौं, ऋतुहरुमा आउने परिवर्तनसँगै ।
वर्षाद्मा उत्पन्न हुने विशेष खालको भावलाई ध्यानमा राख्दै हामी राग सेवाका रूपमा राग मलहार अर्पित गर्दछौं । श्रीकृण्ण भगवानका लागि यो राग अत्यन्त प्यारो मानिन्छ । भनिन्छ, बिहानैको मंगल दर्शनदेखि राधा रानीसँगै रात्रिविश्राम पूर्वको शयन दर्शनसम्म लगातार यो राग सुन्न उहाँ उत्सुक रहनुहुन्छ ।
महाप्रभु श्री बल्लभाचार्यद्वारा स्थापित बल्लभ सम्प्रदायमा पुस्टिमार्ग आठ कविहरूद्वारा रचित कविता र ‘पाद’ मा आधारित छ । ती कविहरू हुन्ः कृष्णदास, कुम्भनदास, सुरदास, परमानन्ददास, नन्ददास, चतुर्भुजदास, छतिस्वामी र गोविन्दस्वामी । उनीहरूद्वारा रचित धेरैजसो ध्रुपद शैलीमा गाइन्छ, प्रभु कृष्णको मन्दिरमा । सम्प्रदायको मुख्य पीठ राजस्थानको नाथद्वारका मन्दिरका साथै उक्त सम्प्रदायसँग जोडिएका विश्वका विभिन्न हवेली र मन्दिरहरूमा यो चलन व्याप्त छ ।
ध्रुपदविज्ञ महाप्रभु श्रीवल्लभाचार्यका वंशज गोकुलोत्समजी महाराजश्रीका अनुसार रथयात्राका दिनमा कृष्ण लीलाप्रति आदर र प्रार्थनास्वरुप राग मलहार गाइन्छ । असार महिनाबाट वर्षारम्भ हुन्छ । पुराणका अनुसार भगवान त्यसबेला वर्षाको आनन्द लिन आफ्नो सानिमाको घर जाने तयारीमा लाग्नुहुन्छ । राग मलहार गायनको प्रारम्भ त्यसैलाई मानिन्छ ।
‘तुम देखो सखी, रथ वैठे व्रजनाथ, संकर्सणके सँग विराजन गोप रखालेसाथ । एक ओर राधा युवती सव छत्र, चमर ललिताके हाथ ... विविध भाँत श्री गोर्वधनधारी कृष्णदास कियो सनाथ ।’ यी पंक्तिहरूले एउटा दैवी लिलाका सुन्दर वर्णन गर्छन् । राधा रानीसँग रथमा विराजमान कृष्ण, अनि साथमा रहेका गोप, गोपीको उल्लासको सजीव वर्णन छ, कृण्णदासजीद्वारा रचित त्यो छन्दमा ।
अष्ठ कीर्तनीयहरूका ती कविताहरूले हामीलाई प्रभुका दैनिक लीलाबारे मात्र हैन, ऋतु परिवर्तनसँगै कसरी प्रभुका पहिरन र भोजन बदलिने गर्छन्, त्यसबारे पनि ज्ञान दिन्छन् । राग लीलाले हामीलाई आनन्द विभोर त गराउँछन् नै, हाम्रा दैनिक जिन्दगीसँग पनि हामीलाई परिचित गराउँछन् ।
छीतस्वामीजीको एउटा सुन्दर ‘पाद’ बाट दिन प्रारम्भ हुन्छ । ‘बाँदर झुमझुम वरसन लगे’ दामिनी दमकते चोक चमक श्याम धनकी गरज सुन जागे । गोपीजनद्वारा थाडे नारीनर भिजे, मुख देखनकारण अनुरागे .. छीतस्वामी गिरीधरन श्री विदल.. ओतप्रोत रस पागे । प्रभु बादलको हलचल र बिजुलीको गडगडाहटसँगै व्युँझन्छन् । तर त्यस्तो अवस्थामा पनि वर्षात्मा भिज्दै प्रभुको पहिलो दर्शन पाउने आशामा गोपी र मित्रहरु नन्दबाबाको दैलोअघि धुरिन्छन् । छितबाबा अन्तस्करणबाट प्रफुल्ल हुन्छन्, यो वर्णनमा ।
उनका रचनाका ‘पादहरु’ प्रभुका लीला जस्तै एक अर्कासँग घुलिएका हुन्छन् जसरी उठ्नेबित्तिकै श्री कृष्णले आफ्नो प्रिय मुरली समात्छन् ।
त्यस्तै सुन्दरपथमा सुरदास वर्णन गर्छन्, कृष्णको वाँसुरी वादनसँगै गोबद्र्धन पर्वतमा उल्लासपूर्ण मयुर नृत्यबारे । त्यस्तो सुन्दर वर्षामा रातभरि जाग्राम बसी प्रभुको दर्शनको अभिलाषा उत्कट रहन्छ सुरदासजीमा । दिउँसोको श्रीकृष्णका पहिरनबारे त्यस्तै वर्णन पाइन्छ, राग मलहारमा । यो ऋतुको प्रिय वस्त्र हरियो रंग हँुदै पहँेलो, गुलावी, रातो र कालो पहिरनमा सजाइन्छ श्री कृष्णलाई । सम्पूर्ण ब्रम्हाण्ड कालो (बादल) हुनाले त्यस्तो पहिरनमा सजाइन्छ प्रभुलाई । बादल कालो अनि जंगलमा संगीत दिने कोइली कालो, अनि कालो बादल देखेर नै मयुरहरु रोमान्चित हुन पुग्छन् । अझ प्रभु अफै श्याम (कालो) वर्णका ! त्यसैले यो मौसममा कालो पहिरन रुचाउँछन् उनी ।
वर्षाको ऋतुमा प्रभुको मुडमा परिवर्तन पाइन्छ । त्यसबाट हामी प्रफुल्लित हुन सक्छौं, डराउन सक्छौं, दुखी हुन सक्छौं । हामी आफ्नो प्रिय प्रियसीको नजिक जान तड्पिन सक्छौं, या घनघोर वर्षाबारे शिकायतमात्र पनि त गर्न सक्छौँ हामी । प्रिय मिलनको चाहना नै राग मलहारमा कविहरूले सर्वाधिक सशक्तताका साथ प्रस्तुत गरेका छन् । आफ्नो प्रेमको भावलाई सम्बोधन नगरिँदाको विरक्ति या विरहको भाव नै यो रागको मौलिक पक्ष हो ।
वर्षा लगायतलाई मिलनमा अवरोध मान्दै सुरदासजीले सोधेका छन्– ए मेरा प्रिय प्रभु ! म कसरी आउँ यति धेरै व्यवधान पार गरेर ? कालो आकाशमा डर त्यत्तिकै छ ।’
उता राधा भन्छिन्, ‘म गोरी र जवान छु, उर्लँदो यमुना नदी र अरु व्यवधान कसरी पार गरुँ, मेरा प्रियलाई भेट्न ?’
राधाको एउटा गहना साडीमा अड्किन्छ । त्यो दृश्यलाई लक्षित गर्दै राधाको विलौनास्वरूप सुरदास लेख्छन्– ओहो ! कृष्ण नहुँदा कसले निकालिदेला यो गहना ?
अनि गीतको यात्रा, कदमको बोट र त्यसमा बनाइएको पिङसम्म पुग्छ । आफ्ना मित्र प्रेयसीहरूसँगको पिङ मच्चाइका वर्णन अत्यन्तै रोमाञ्चकारी छ । ‘अरी, यह नगर नन्दलाल कुमार मोहनसँग नाचे ।’ (यो गाउँ त नन्दपुत्र र गोवद्र्धन पर्वतमा रमाउने मयुरहरूसँगै नाचिरहेको छ ।)
पुस्टिमार्गले राग मलहारको ‘रोमान्स’ पक्षलाई उजागरमात्र गर्दैन, प्रभुको सर्वाधिक प्रिय रागका रुपमा प्रस्तुत गर्दछ त्यसलाई । योमात्र एउटा राग हो जुन महिनाभरि निरन्तर रुपमा गाइन्छ, कृष्णको गौरवगाथा वर्णनसाथ । यो रागको रोमान्स चित्रण रक्षाबन्धनको लगत्तैका दिनहरूमा आफ्ना उचाइमा पुग्दछन् । हरेक ऋतुजस्तै वर्षाले आफ्नै खालका रङ र आफ्नै संगीत ल्याउने गर्दछन् ।