‘तीनबर्षसम्मको कमाई नेपालमा लोग्नेलाई पठाएपछि मन विरक्तिएर यहाँ आएकी हुँ सर।' उनले एउटा हात आफनो चिउँडोमा राख्दै भनेकी हुन्।
त्यसदिन हाम्रो बेल्जियमको एन्त्वारपेनस्थित पानस क्याफेमा भेट भएको थियो।
‘त्यसरी मन विरक्तिनु हुन्छ त?' मैले कुरा कोट्याएँ।
‘आफ्ना मान्छेले धोका दिएपछि के लाग्दो रहेछ,' उनले गुनासो गरिन्।
‘कस्तो धोका हो र?' जान्न चाहेँ मैले।
‘के कुरा गर्नु छ र त्यसको।'
‘छ्या श्रीमान्लाई तँ भन्छौ। तिमी त, श्रद्धा पो गर्नुपर्दछ त। मैले सिकाउने भावमा भनेँ।
खासमा प्याजको पत्र छोडाए जसरी मैले उनलाई छोडाउन चाहेँ। पानसक्याफेमा कफी पिउँदै थियौं।
‘पुरुष भनाउँदा सबै उस्तै–उस्तै हुन सर। उसलाई सम्झनेबित्तिकै आँशु आउँछ।' उनले झोलाबाट टिस्युपेपर निकालेर आँखा पुछिन्। आँशुले भरिएको आँखा।
‘मान्छेहरु समुद्र हेर्न विभिन्न देश जान्छन।, तर प्रत्येक मानिसको आँखाका समुद्र छ सर, आँशुको समुद्र। दुःखमा छचल्किन्छ। खुशीमा उर्लन्छ। पीडामा बल्भि्कन्छ।'
त्यतिनै बेला उनको मोवाइलमा घण्टी बज्यो।
‘हेलो! नाई नाई मं इधरी स्टेशन के सामुन्ने हुँ। ऐसा मत करो मे पैदली आउँगी भाभीजी!' भन्दै फोन राखिन्।
‘हिन्दी पनि खतरा बनाएछौ त।' मैले भनेँ।
‘ह्या सर! के कुरा गर्नुहुन्छ, हिब्रु, अंग्रेजी, डच रे हिन्दीभाषा राम्रो पो बोल्छु म त।'
‘नपढीकन कसरी भाषा बोल्छौ त? मैले थपेँ।'
‘सर भाषा भन्नेकुरा पढाईले होइन, आवश्यकताले बोल्ने रहेछ। जहाँजहाँ जुनजुन शब्दको आवश्यकता हुन्छ त्यहाँ त्यही शब्दहरु कण्ठस्त गर्दै जाने हो। जानेपनि नजानेपनि बोल्दै गएपछि सिक्दै जाने कुराहरु हुन् भाषा। जानी नजानी बोलेपछि, जान्ने मान्छेले नै त्यसलाई सुधारी बुझ्छन्। सुधारेर बोल्न सिकाउँछन् नि।'
‘अहो! तिमीले त ज्ञानगुनका कुरा पो गर्यौ त।'
ह्या सरसँग जिस्किन त कस्ले सक्छ र।'
कफिको गिलास ओठसँगै लगेर उनले सुरुप्प पारिन्।
गिलास समाउँदै गर्दा मैले उनको हातका औंलाहरु हेरे, खिरिला औंलाहरु, टलक्क टल्कने नङ्गपालिस लगाएकी। उनको हातका औंलाहरुको बिचमा मेरा औंलाहरु छिराएर चलाउन मन नभएको होइन।
उम्मउम्मउम्म चुप्प चुप्प च्वाप्प पछाडिबाट आवाज आइरह्यो। पछाडि फर्केर हेरेको दुइ वयस्क केटाकेटीहरु टेवलमा कफि खाइवरी च्वोसो जोडेका पो रहेछन्। उनीहरुले च्वसो जोडेको देखेर मलाई पनि जोड्न मन नभएको त होइन, आखिर पुरुषमन बहकिन कति नै बेर लाग्दो रहेछ र।
‘खैरेहरुको त पटक्कै लाज नहुने है सर।' उनले वातावरणलाई सहज बनाउने प्रयत्न गरिन्।
‘प्रकृतिको लीला नै हो क्यारे, क्यारुन् त नि!' मैले हल्का रुपले लिए जस्तो गरेँ।
‘भो यत्तिकै नबसौं फेरि अर्को कफि पिऔं मैले प्रस्ताव गरेँ।' उनले पनि टाउको हल्लाइन सकरात्मक।
मनमनै सोचेँ अरु कुरामा सकरात्मक भए पो? जाबो कफि खानेकुरामा सकरात्मक हुन्छे,। आखिर पुरुष मन न हो।
मैले सोचेँ यो कफिको गिलास कति भाग्यमानी होला। जेहोस् राम्रा होऊन वा नराम्रा जसले पनि यसलाई ओठले चुमिदिन्छन्। उनले सुरुप्प पारेकेा कफिको गिलासमा उनको ओठको निशानी थियो। गिलासले पाएजस्तो निशानी मैले मेरो ओठमा पाए कस्तो हुन्थ्यो होला! मनै त हो। के के सोच्न भ्याउँदो रहेछ बा।
‘सरले के हेरिरा?' म बल्ल पो झसङ्ग भएँ।
‘होइन, म तिम्रो कफिको गिलास नि।'
‘किन नि?'
‘कति छिटो कफि सकेऊ तिमीले भनेर,' मैले आफ्नो मनलाई ढाँटेर अर्कै उत्तर दिएँ।
दुई बच्चाकी आमा भएपनि कस्तो मेन्टेन गरेकी शरीर। म उनकोे शरीरको लोभी भइसकेको थिएँ। त्यसमाथि अलिकति भएपनि देखिने उनको स्तनको केही भाग माथिपट्टीको कालो तीलजस्तो कोठीलाई आफ्नै हातले छुनपाए हुन्थ्यो जस्तो भइरहेको थियो।
उनी भन्दै थिइन्, ‘जेठी छोरी दशमा पढ्छे, सात पढ्दापढ्दै छोडेर हिडेकी थिएँ उसलाई। छोरो अहिले सातमा पढ्छ। छोरी बुझ्ने भइसकेकी छे। उसैले मलाई बुबाको कर्तुतहरु फेसबुकमा शेयर गर्दछे।
‘मैले श्रीमानलाई धेरै सम्झाएँ, अहँ मान्नुभएन। एउटा सरकारी स्कुलमा पढाउनु हुन्छ। त्यहाँ पढाउने स्कुलकी शिक्षिकासँग उहाँको पहिल्यैदेखि ‘अफेयर्स' रहेछ। मैले छुटाउन हर प्रयत्न गरेँ। पछि छोराछोरीको कसम खाएर अबदेखि उसको पछि लाग्दिनँ भन्नुभयो। आफूले पाएका जन्माएका छोराछोरीको कसम खाएपछि त कसो नहोला र! अब पक्कैपनि बुढा सुधि्रए भनेर विश्वासगरी इजराइल आएको हुम सर। यहाँ आएको दुइवर्षसम्म त मैले महिनाको पन्ध्रसय डलरका दरले पैसा पठाउँदै गएँ। पछि छोरीले बुबाको कर्तुतहरु सबै फेसबुकमा शेयर गर्दै गई। मैले बुढालाई बारम्बार फोन गरेँ। मेसेज गरेँ। रोएँ, कराएँ फकाएँ। बरु ढुँगा खिइन्थ्यो होला, मेरो प्रयत्नले। तर अहँ उहाँ परिवर्तन त के मेरा कुराको कुनै उत्तरसम्म दिन छोड्नु भयो।
‘दुःख धेरै भोगेँ, ढुंगा धेरै ढोगेँ तर उहाँको पग्लिएन सर।'
‘मैले दिनहुँ दुःख गरेर पठाएको पैसा पनि कहाँ हाले कहाँ? थाहा छैन हिसाबकिताब छैन। एकदिन छोरीले मेसेज पठाई– बवाले त अर्की आमा पनि घरमै ल्याएर राख्नुभएको छ ममी भनेर। त्यो दिन कम्ता रोइनँ सर म।
‘प्यालेस्टाइनले हानेको बमहरु मेरै छातीमा आएर बजि्रदिएहुन्थ्यो नि जस्तो लाग्ने।
‘अनि नि सर। आत्महत्या त कायरले गर्दछन् भन्ने सुनेको पढेको थिएँ। अनि सोचेँ– हेर केटी तँ कहाँ कायर होस्। देश छोडेर परदेशमा यत्रो विकसित देश इजराइलमा आइसकिस् त्यत्रो पैसा पठाइसकिस्, छोराछोरी बुझ्ने छन् तँ कसरी कायर भइस्? यो गलत कदम उठाउछेस्, मनले यस्ता यस्ता कुरा भन्यो सर।
‘हिजोमात्रै फेसबुकमा छोरीले भाइ र उसको राखेकी थिई। उनीहरुको अनुहार सम्झेँ अनि हिम्मत बटुलेँ र ‘तिमीले छोडे पनि मेरा आफन्तले, प्रकृतिले, हावाले पानीले, पृथ्वीले र अन्त्यमा भगवानले नछोडे भैगो नि।
‘अनि त्यसैत्यसै मन विरक्तिदोँ रहेछ सर यहुदीको घरमा काम गरेको दुःख सम्झेर। अनि करिब एकसाल काम गरेको केही पैसा थियो। त्यही पैसा र मैले काम गर्ने इजराइली बुढाबुढीको सहाराले युरोप घुम्न जान्छु। हंगेरी राजदुतावासमा निवेदन दिएँ। फेरि जर्मनहुँदै बेल्जियम आएकी हुँ सर।'
त्यतिनै बेला एघार नम्बरको ट्राम एन्त्वारपेनको स्टेशननजिकै रोकिइसकेको थियो। अर्को बाह्रनम्बरको ट्राम पछाडि थियो। उनका कुराले मेरा आँखाबाट झरेका आँशुहरु अन्तै मोड्ने उद्देश्यले सिसाबाट बाहिर हेर्न पुगेँछु जहाँ ट्रामहरु देखिए।
‘अनि नि?'
‘अनि के चाहियो र सर! बेल्जियम आएपछि कम्ता दुःख पाइनँ नि। यहाँ त केटामान्छेहरु केटी देख्नेबित्तिकै गिद्धले सिनो लुछेझैं लुछ्न पाए हुन्थ्यो जस्तो गर्दा रहेछन्। सर त बरु त्यस्तो हुनुहुन्न। सरजस्तो भए पो ...!'
‘म पनि त पुरुष नै हुँम नि। ख्याल गर है।' मैले पुरुष अभिमान प्रकट गरेँ।
‘त्यो त अनुहारले नै थाहा हुन्छ नि सर, म पनि कहाँ लाटी छु र', उनले विश्वास थपिन्।
त्यतिबेलासम्म उनको आँखाबाट बरर आँशु बगिसकेको थियो। आँखामा टाँस्सिएको गाजललाई आँशुले लत्पत्यायो।
मलाई एउटा हातले अंगालो हाल्दै अर्को हातले आँशु पुछ्न मन नभएको होइन।
‘फेरि बेल्जियमजस्तो सानो ठाउँ छ्याप्प छ्याप्ती नेपाली भेटिने। कोहीकसैसँग हिड्यो, खायो, बोल्यो भने ट्याग भिडाउन कम्ता सिपालु छैनन् यहाँका मान्छेहरु। त्यसैले विदेश हिडेपछि त प्रत्येक पाइलामा सजग पो हुनुपर्दछ सर!'
उनी भन्दै थिइन, ‘त्यहाँ बस्ने ठाउँ छ। एउटा कोठा छ। साथीले भन्यो। अनि म बस्न गएँ। उनको घरमा महिनाको सययूरो दिने शर्तमा। मैले दाइ भन्थँे। बिहानै काममा जान्थे राती एकबजे कामबाट आउँथे, आउने प्रत्येक रात मेरो ढोकामा आवाज दिन्थे। ढोका खोलन भन्दै। ै एकदिन ढोका खोलेको त उभिएका रहेछन्। रक्सीको ह्वास्स गन्ध आयो। ऊ मलाई सिधैं झम्टिन पो आयो। मैले धेरै प्रतिकार गरेँ। पुलिसलाई बोलाउँछु भने।'
तर, पुलिस बोलाउँ भने म आफैं अवैधानिक छु। मलाई पक्रेर पठाइदियो भने छोराछोरीको भविष्य बिग्रिन्छ। पक्कैपनि अर्की ल्याएका श्रीमानले मेरा छोराछोरीको ख्याल राख्दैनन् होला। छोराछोरी डाक्टर वा इन्जिनियर हुन चाहे भने कसले बेहोर्छ चालिस पचास लाख लाग्ने खर्च? त्यो कसले जुटाउँछ? श्रीमानको व्यवहार त्यही हो।
‘त्यो दिन जर्बजस्ती उसलाई धकेलेर पल्लो कोठामा पुर्याएँ। रातभरी मुटु काँपिरह्यो मेरो। भोलिपल्ट उसलाई मैले गाली पनि गरेँ किन हिजो यस्तो गरेको भनेर? उसले माफी माग्दै आइन्दा यस्तो नदोहोर्याउने बतायो। त्यसदिनदेखि त्यो घरमा बस्न मनै भएन सर। एकजना साथीले बुर्गी भन्ने ठाउँमा काम पनि र कोठामा वस्न पनि पाइन्छ भनेर लग्यो।
‘एउटा ठूलो हलजस्तो थियो। त्यहाँ एकजना बाबुजस्ता मान्छे बस्थे। छोरीजस्तै माया गरे उनले। जम्मा ४ घण्टा काम थियो रेष्टुरेन्टमा मेरो। त्यतिले मेरो खर्च धान्दैनथ्यो। लामो काम पाइएन।
‘एकमहिना जति काम गरेँ। ती बुबाजस्तै मान्छेका सल्लाहले शरणार्थी मुद्दा आवेदन गर्न गएँ ब्रसेल्स। राजनीतिक समस्या देखाएँ। शरणार्थी आवेदन दिएपछि मेरो क्याम्प यहाँको (एन्त्वारपेन) लिङ्करोभर पर्न गयो।
‘लोग्नेस्वास्नीको सम्बन्ध त सिसाको गिलासजस्तै हुदोँरहेछ नि सर। फुटेपछि पानी खान नमिल्ने। मिलेपनि धकधक लाग्ने, चुहुने। बिझ्ने, कोप्ने, नअडिने। नटुट्नु थियो टुट्यो, टुटेपछि जोडिनै मन लागेन। फोन, च्याट केही नभएको तीनवर्ष भइसकेछ।
‘बिर्सिदिनेलाई त केवल बिर्सिदिएँ हुँदो रहेछ तर सम्झनेलाई सारै गारो हुँदो रहेछ। हरपल आँशु झर्दो रहेछ।'
लिङ्करोभर क्याम्पबाट एकजना नेपाली दिदीले बेल्जियमको एन्त्वारपेनस्थित विलरेक भन्ने ठाउँमा काम लगाइदिएकी हुन्। त्यहाँ काम गरेको पनि आज सात महिना भैसकेछ। अहिले यही नजिकै रोतरडमस्थित मेरो सानो कोठा छ सर। त्यहीँ काम गरेर भर्खरै आउँदै छु।'
उनले आफ्ना कुरा यसरी सुनाइन् मानौं म उनको सहारा हूँ। मैले उनका सारा समस्या हल गर्नसक्छु भनेर त होला। त्यतिबेलासम्म हामीले दुइकप कफि पिइसकेका थियौं।
अनि सरको, सरको पनि सुनाउनुस् न। केही कुरा होलान् नि।'
मैले भनेँ, ‘मपनि त कहाँ खुशी छु र जीवनदेखि? कहिँकसैका यादहरुले पलपल रोकिदिन्छन् मेरा बाटाहरु। एउटालाई मनदिएर अर्कोसँग बाँच्न गारो हुन्छ।'
म त यस्ता कुरा बुझि्दनँ हौ पो भन्न थालिन्।
‘भो तिमीले नबुझकै बेस। अब विवाह गर्दिनौ?' मैले उनको मन चोर्न चाहेँ।
‘सरले भनिहाल्नु भो नि–एउटालाई मनदिएर अरुसँग कसरी बाँच्छन् मान्छेहरु। अब हजुर नै भन्नुस् न।'
‘सुन न मलाई त आजभोली किन किन रित्तिन मनपर्दछ मैनबत्ति जस्तै। मलाई पग्लिन मनपर्दछ आइसक्रिम जस्तै। मलाई छटपटिन मनपर्दछ समुद्रको माछाजस्तै।'
उनले भनिन्, ‘भो तपाई त फेसबुकमा त्यस्तो र चाटमा पनि त्यस्तो कुरा गर्नुहुन्न नि तर भेटमा त बुझ्नै नसक्ने।'
मैले मनमनै सोचेँ, यिनलाई मेरो वियोगान्त कथा सुनाएर के फाइदा। उनको जस्तै त होइन तर त्यस्तै त्यस्तै पीडा मेरो पनि त छ नि।'
‘अब उठौं।' उनी उठेर अगाडि लागिन्, उनले लगाएको जिन्सपेन्ट कति तल सरेकेा रहेछ। भित्री वस्त्रै देखिने गरी। हातमा लिएको ज्याकेट लगाइन उनले तलैसम्म आउने कति लामो रहेछ।
हामी छुटि्टयौं।
त्यसदिन उनलाई भेटेपछि मेरो मनले नानाभाँती सोच्यो। वास्तवमा भन्दा मैले आँखा चिम्लेर उनलाई देखेँ। प्रेम आँखा चिम्लेर देखिने कुरा रहेछ। आँखा खोलेर नपाउने उनलाई चिम्लेपछि सर्वाङ्ग भएर मस्ष्किमा ठडिदिन्छिन् उनी। त्यसैलाई रतिराग सम्झेर तृप्त हुन्छु म।
हाम्रो भेट धेरै फेसबुकको च्याटपछि औपचारिक भेटमात्र थियो। सबैकुरा फेसबुकमा भैसकेको थियो।
मैले उनलाई एकदिन मेसेज दिए ‘अब अन्तिम र सुरुवात तिम्रै कोठाबाट गर्न चाहान्छु, निमन्त्रण कहिले आउला कुन्नि?'
उताबाट मेसेज आयो ‘हाहाहा हतार किन? पर्खिनुुस् न सर।'
सोचेँ, ‘म तिमीलाई धोका दिन्न। त्यो पनि यो सातसमुद्रपारी चिनेको तिमीलाई कसरी धोका दिनु र।'
त्यसपछिका केही दिन मेसेज नै आएनन् फेसबुकमा।
केहीदिन पछि उनले फेसबुकमा मेसेज गरिन्, ‘सर, पर्सि रुममा आउनुस् न। आउँदा सामान पनि लिएर आउनुस् न है।'
उनको निमन्त्रणासँगै सामानपनि ल्याउनुहोला है, भनेपछि सामान खोज्न गएँ। एउटा फार्मेसीमा लजाउँदै सामान किनेँ र खल्तीमा हालेँ।
त्यसदिन जब उनको घर गएँ। उनी नुवाएर फ्रेसबन्दै ढोका खोलिन्। भित्री कोठाबाट एउटा पुजाको थालीमा विभिन्न किसिमका रंंगबिरंगीले भरिएको फूलजस्तोमा उनिएको धागोसहित हात अगाडि बढाइन्।
‘सर! आजबाट एउटा नाता दिन्छु भनेको थिएँ। अबदेखि ‘दाजु' भन्छु। आज रक्षाबन्धनको दिन हो क्या। यही दिनको प्रतिक्षामा थिएँ म। प्रतिक्षाको फल मिठो हुन्छ भन्छन्। तपाईँलाई लिएर आउनु भनेको सामानचाहीँ राखी हो। तपाईबस्ने नजिकै गुजराती भारतीयको ‘ओरिएन्टल सप' मा रक्षाबन्धनका लागि ‘राखि' बेच्न राखेका हुन्छन्, ल्याउनुहोला भनेको नि।
आफैंलाई धिक्कार लाग्यो। आफ्नो सोचाईप्रति। आफैंलाई घृणा र लज्जित तुल्यायो। त्यसपछि एउटा नाता बनाएर, म त्यहाँबाट हिँडे।