म ठाकुरजीको सैलुनमा कपाल काट्न भनेर घरबाट निस्केर सडकमा हिँड्दै थिएँ। अचानक कसैले भनेको सुने –प्रकाश बुबा नमस्कार! मलाई बुबा भनेर बोलाउने को हो? एकछिन म रन्थनिए। पछाडि फर्केर हेरँ। अगाडि एउटा १२/१३ वर्षको गहुँगोरो केटो थियो। दुब्लो र सानो थियो। तर उसको अनुहार उज्यालो थियो र उसको मुस्कानबाट उ मलाई चिनेको देखाइरहेको थियो। मैले उसलाई झट्ट चिन्न सकिनँ तर पछि बिचार गर्दा मेरो श्रीमतीपट्टीबाट नाता पर्ने हो कि जस्तो लाग्यो। अनि उसको नाम पनि मैले सम्झें। ‘ए तिमी बिनोद होइन' उसको अनुहार अचानक खुसीले रमायो। आफ्नो नाम र अस्तित्वको स्वीकारोक्ती सायद सबैलाई राम्रो लाग्छ।
‘हो, म बिनोद हुँ। म त्यहीँ धोबिखोला पारि बस्छु। अहिले स्कुल छाडेर घर जाँदैछु। मैले एकपटक नियालेर बिनोदलाई हेरें। उ दुब्लो थियो। आँखा गडेको थियो र गालाको हाड स्पष्ट देखिन्थो। तर पनि उसको अनुहारमा एउटा नजाँनिदो चमक थियो।
मैले भनें– बिनोद, तिमी अलि थाकेको जस्तो देखिन्छौ। अब घरमा खाना खान हतार होला, कसो?
मेरो कुराले अचानक उसको अनुहारमा निरासा देखा पर्यो। तर त्यो क्षणिक थियो। तुरुन्तै उ फेरि हाँस्यो र भन्यो– अँ, प्रकाश बुबा मलाई बेलुका खानै मन लाग्दैन। मलाई उसको जवाफ सुनेर अचम्म लाग्यो। फेरि सोधँे– किन तिमीलाई भोक लाग्दैन र!
उसले सहज तरिकाले भन्यो– बेलुका केही खाँइन भने मलाई निद्रा लाग्दैन। अनि स्कुलको पाठ पढ्न सजिलो हुन्छ। त्यसैले मलाई बिहान एक छाक पेटभरि खाएपछि फेरि खानै पर्दैन। यति भनेर उ खिसिक्क हाँस्यो।
बिनादको जवाफ मैले ध्यानपुर्वक सुनें। मलाई लाग्यो– उसले साँचो कुरा गरिरहेको छैन। मलाई थाहा छ जतिसुकै राति नसुतेर बसे पनि म बेलुकाको खाना छुटाउन्न। अनि बिनोदलाई भने ‘खोइ तिमीले भनेको कुरो पत्याउन त मलाई अलि गाह्रो छ तर पनि तिमीले भनेपछि कसरी विश्वास नगर्ने? तिम्रो बुवा के काम गर्नुहुन्छ र परिवारमा कति जना छन्?
मेरो प्रश्नले उ अलि गम्भीर भयो। उसको अनुहारमा एकछिन पीडाको रेखा देखियो। तर आफूलाई सम्हालेर भन्यो– अँ, मेरो बुवा घर नजिकैको एउटा किराना पसलमा काम गर्नुहुन्छ। जेठी दिदी बिए तेस्रो वर्षमा पढ्नुहुन्छ र स्कुलमा पढाउनु पनि हुन्छ। अर्की दिदी पनि पढ्दै हुनुहुन्छ।
‘तिम्रो दिदी काम पनि गर्दैरहिछिन्। त्यो त राम्रो हो। जागिरबाट कति कमाउँछिन? अनि तिमा्रे बुबाको नाम के हो?‘ मेरो प्रश्नको उत्तर दिँदा उसको अनुहार निरास थियो। उसले भन्यो –दिदीको महिनाको तलब चार हजार रुपैयाँ आउँछ। बुबाको नाम कोमलनाथ हो।‘
‘शिक्षकलाई त्यति थोरै तलब‘ मैले आश्चर्य मानेर प्रश्न गरे।
‘अब के गर्नु? काम पाउन गाह्रो छ। जतिमा भएपनि काम लिनुपर्यो‘ विनोदले बिस्तारै भन्यो।
त्यो भेटघाटपछि मैले उसलाई निकै दिन देखिनँ। तर मलाई उसको परिवारको बारे जान्ने उत्सुकता थियो। एकदिन बेलुकातिर रिङ रोडपारि धोबिखोलाको तिरतिरै कोमलनाथ भन्ने मान्छे कहाँ छन् भन्दै खोज्न हिँडे। धेरैलाई यो नामको मान्छे थाहा थिएन। तर एउटा पसलेले त्यो नाम सुनेपछि म तिर हेरेर भन्यो–तपाईंले भनेको त्यस्तालाई किन भेट्ने? यो घरभन्दा देब्रेको छिँडीमा बस्छ। त्यो मान्छे खतम छ। दिउँसै जाड खाएर बर्बराएर हिँड्छ। हामीलाई समेत दिक्क पारिसक्यो। घरमा परिवारको वास्ता गर्दैन र परिवार दुई छाक पनि खान पाउँदैनन्। अझ त्यसको श्रीमती सधैँ बिरामी छन्। तर त्यो जड्याहा श्रीमतीको वास्ता पनि गर्दैन।
कोमलनाथ बारे सबै कुरा सुन्दा म जिल्ल परंे। अचानक विनोदले बेलुका पढ्नको लागि खाना नखाने भनि मलाई सुनाएको कुरा याद आयो।
भोलि पल्ट बेलुकातिर म घर बाहिर रुद्रको पसलमा चिया पिइरहेको थिएँ। सडकमा विनोदलाई देखंे। वास्तवमा विनोदसँग भेट हुन्छ की भनेर नै पसलमा थिएँ।
मैले पसलबाटै बोलाएँ–विनोद!
उसले मलाई हेर्यो। उस्को अनुहारमा न्यानो मुस्कान थियो।उस्ले भन्यो – नमस्कार प्रकाश बुवा।
‘तिमिलाई कस्तो छ अनि तिम्रो बुवा बारे पनि मैले केहि कुराहरु थाहा पाए नी!‘ यसो भन्दा म आफैलाई असजिलो लागि रहेको थियो।
मेरो कुरा सुन्ने बित्तिकै विनोदको अनुहारबाट हाँसो हरायो। उ अलि हडबडाएको जस्तो देखियो र केही सकेण्ड केही बोल्न सकेन।
अब मैले भनें– हेर विनोद मैले सबै कुरा थाहा पाएँ। तिमिले मसँग किन कुरा लुकाएको?
बिनोदले राम्ररी बोल्न सकेन। अलि लरबराएको स्वरमा भन्यो –प्रकाश बुवा, अँ सबै ठिकै छ।त‘ तर उस्को परिवारको दुःख र पीडा मैले थाहा पाएँ भन्ने उसले प्रष्ट बुझ्यो।
मैले फेरि भने–बिनोद तिम्रो अवस्था मलाई अब थाहा छ। ल भन म कसरी तिमीलाई कसरी सहयोग गरु। मेरो प्रश्न सुन्ने बितिकै अचानक विनोदको त्यो दुब्लो र ख्याउटो शरीर तनक्क तन्कियो। मानौं उ कुनै ठूलो संघर्षको लागि तयार छ। उसले सिधा मेरो आँखामा निर्धक्क भएर हेर्यो। उसको अँाखामा मैले नौलो तेज देखंे। जुन सामान्य अवस्थामा मैले कसैमा पनि देखेको थिइनँ। अब विनोदको अनुहारमा मुस्कान होइन परन्तु एउटा नयाँ आत्मविश्वासको झझल्को थियो। उसले टाउको सिधा गर्यो। उसको आखामा मैले अनौठो कठोरता र तेज देखंे।
उस्ले स्पष्ट शब्दमा भन्यो – प्रकाश बुबा, मेरो बारे चासोको लागि धन्यवाद। तर हाम्रो समस्या हामी आफैं समाधान गर्छौ। त्यसपछि फेरि उसको अनुहारमा आत्मविश्वासको नयाँ मुस्कान देखियो, जुन भर्खर बालेको पानसको बत्ती जस्तो उज्यालो थियो। अनि उसले भन्यो –ल प्रकाश बुबा ,म गएँ। नमस्कार। मैले केही बोल्न नपाउँदै उ मेरो डाँडोको घरबाट ओर्लियो र चक्रपथतिर लाग्यो। मैले उसलाई हेरिरहें। उमेरको हिसाबले सानो र दुब्लो थियो। तर आत्मसम्मानमा उ अग्लो थियो। मैले जिन्दगीमा यो देशमा आज सबैभन्दा अग्लो, सुन्दर र मर्यादित व्यक्ति देखिरहेको छु।