त्यसबेला उनी छिनु र बसिलो हातमा लिएर अरुदिन जस्तै बेत र घंगारूको लौरीमा बुट्टा खोप्दै थिए । साथमा पुरानो मोडेलको 'फिलिप्स रेडियो' पनि घन्किरहेको थियो। प्रातकालको सात बज्नुपूर्व रेडियो नेपालले 'यो सुन्नुहोस् अत्यन्त जरूरी सूचना" भन्ने बित्तिकै उनको दुवै कान टाठा भए र पुरै ध्यान उतैतिर सोहोरियो- "यही २०७२ साल वैशाखको १२ गते करीब मध्यान्हको ११.४६ बजे शनिबार गोरखाको 'बारपाक'लाई केन्द्रबिन्दु भइ आएको ७.९ को रेक्टर स्केलको भूकम्पमा परी आफन्त गुमाउनेहरूको परिवारजनलाई नेपाल सरकारले राहत स्वरूप तत्काल प्रति मृतक रू. ४० हजार किरिया खर्च र प्रति परिवार एक लाख घर निर्माण खर्च दिने निर्णय गरेकोले सम्बन्धित व्यक्तिहरूले नजिकको स्थानिय निकायमा सम्पर्क राख्नुहुन यसै सूचना मार्फत अनुरोध गरिएको छ ।"
नजिकको 'स्थानिय निकाय' भन्ने बित्तिकै बाजेलाई गाउँकै गा.वि.स.कार्यलय हो भनेर खुट्याउन गाह्रो परेन। बाँकी कामलाई त्यहीँ थाँती राखेर हतारहतार खाना खाइवरी 'गोर्खेबाजे' लागे 'उकालेचौर'तिर जहाँ गा.वि.स.कार्यलय थियो ।
"गोर्खेबाजे' ! आज कता 'लठ्ठी टेकेर' ?" -बाटोमा एक जना हरीलठ्ठकले सोध्यो।
गोर्खेबाजे- यसो गा.वि.स. भवनतिर उकालो लागुँ कि भनेर 'लठ्ठी टेकेर'।
बाजेको 'लठ्ठी टेकेर' भन्ने थेगो थियो। उनी प्राय:जसो लठ्ठी नै टेकेर हिँड्न रूचाउँथे। बाटोमा कसै-कसैले उनलाई 'गोर्खेलौरी' भनेर पनि जिस्काउँथे। बाजेले बाटोघाटोहरूमा जिस्काउनेहरूको टाउकोमा त्यही गोर्खे लौरीले ठुँङथे जसले गर्दा उसको टाउकोमा गतिलो टुटुल्को उठेको हुन्थ्यो। त्यसैले सितिमिति गोर्खेबाजेलाई कसैले जिस्काउने आँट गर्दैनथे तर पिठ्यूँ पछाडि कुरा काट्न भने छोड्दैनथे।
गा.वि.स. पुग्नु भन्दा पहिल्यै नै गाउँका सारा मानिसहरू ओहिरिएका थिए कि मानौं गा.वि.स.भवनमा आज ठूलो जन्तीभोज हुँदैछ। कर्णाली नदी जस्तो गाउँलेहरूको लामो लाईनको पुच्छरमा गोर्खेबाजे टुक्रुक्क बसे, खुइय्या सुसेले र चिलिममा कंकड भरेर धुँवा तान्न थाले। कँकडको धुँवा हावामा कावा खाँदै गा.वि.स.सचिवको कार्यकक्षमा पुगिहाल्यो। सुर्तीगन्ध गा.वि.स.सचिवको नाकभित्र हँवास्सै पस्यो र नाकलाई नराम्रोसँग डस्यो। कामको चाप र तनावले खोयाबिर्के ठर्रा पिउन नपाएको झोकमा गा.वि.स.सचिवको पनि रीसको पर्रा छुटिहाल्यो- "यो सार्वजनिक स्थलमा धुम्रपान गर्ने को हो? हिजोआज सार्वजनिक स्थलमा जथाभावी धुम्रपान गर्न पाईँदैन भन्ने थाहा छैन तपाईँहरूलाई?"
"हामीलाई के भन्नुहुन्छ त? जसले धुम्रपान गरेको हो उसैलाई भन्नुस्"- पछाडिबाट एउटा अस्पस्ट आवाज आयो। आवाज उही 'गोर्खेबाजे' तर्फ इंगित थियो।
"यस्तो धूँवाको अखडामा धैरैबेर बस्न स्वास्थ्यको हिसाबले ठीक हुन्न रे .....! -अर्कोले थप्यो।
"हाम्रो काम छिटो गरिदिनुपर्यो, हामीलाई अलि हतार छ।" अर्कोले दुनो सोझ्याउन खोज्यो।
गा.वि.स.सचिव पनि के कम्! सचिव ठाडै कुर्लिए, "कतार जान के को हतार ! सबैलाई हतार छ, पहिले धुम्रपान निषेध गरुँ, त्यसपछि काम अघि बढाउँला.....।"
"त्यसो भए धुम्रपानलाई पहिले लखेटौं कि क्या हो ?" भीडबाट एउटाले जुक्ति निकाल्यो ।
"पालो छिटो आउँछ भने हामी पनि बिँडी सल्काउँछौं, यस्तो चर्को घाममा उभिन कसलाई मन छ र 'छाता ओढेर' !" अर्कोले तत्कालै सांकेतिक बिरोध जनायो।
'हो,हो। हाम्रा पनि घरमा काम छ, बच्चालाई दूध चुसाउनु छ,बिस्कुन सुकाउनु छ । अबेर भैसक्यो ।" एक जना अधबैंसे महिलाले जिकिर गरिन्।
"हामी त सुर्ती पनि खादैनम्, फूर्ती पनि लाउँदैनम् । कुरो भन्दा पनि जनताको काम छिटो हुनुपर्यो ।" -एक जना बृद्धाले खोके।
"धुम्रपानलाई पहिले पन्छाउँ, अनि तपाईहरूको काम फट्टाफट हुन्छ, एकै छिन धैर्य गर्नुहोला, म सबै व्यवस्था मिलाउँछु।" गा.वि.स.सचिवले विश्वास दिलाए।
'मर्नु भन्दा बहुलाउनु निको' भने झैं काम रोकिनु भन्दा स्वास्थ्यमा धुम्रपानले पार्ने प्रतिकुल असरका कारण गोर्खेबाजेको काम चाँडै फच्चे हुने देखियो । गोर्खेबाजे अगाडि आए लठ्ठी टेकेर र रिसाएर गा.वि.स.सचिवकै टाउकोमा गोर्खैलौरीले ठुँगे। यो रमाईलो दृश्य देखेर गाउँलेहरु एकछिन सबै दु:ख पीर बिर्सेर हाँसे। चारैतिर हाँसो गुञ्जियो।
सचिवले सबै गाउँलेहरुकै सामुन्नेमा एकमुष्ट सम्बोधन गरे- "ल। गाउँले दाजुभाई तथा दिदीबहिनीहरु हो! सबैजना ध्यान दिएर सुन्नुहोला । नेपाल सरकारले भूकम्प पीडितहरूका लागि राहत स्वरूप दिने भनिएको नगद तथा जिन्सी सामाग्रीहरू प्राप्त गर्नको लागि निम्न किसिमका काजगातहरू यस गा.वि.स.मा अनिवार्य पेश गर्नुपर्ने कुरा यहाँहरूलाई म निवेदन गर्न चाहन्छु:
१. पीडितको व्यक्तिगत निवेदन ( रू १० को टिकट सहित) -थान १
२. गा.वि.स.को मुचुल्का -थान १
३. प्रहरी मुचुल्का -थान १
४. क्षतिको एकिन विवरण -थान १
५. निजको अन्यत्र बस्ने कुनै पनि वासस्थान नभएको -थान १
६. लालपूर्जाको एक प्रति प्रतिलिपि / आफ्नो नाउँमा जग्गा नभए नाता प्रमाणित गरिएको सिफारिस -थान १
७. संबन्धित जिल्ला प्रशासन कार्यलयबाट 'भूकम्प प्रमाणित' गरिदिएको सिफारिस -थान १
उपरोक्त जानकारी गा.वि.स.भवनको सूचना पाटीमा पनि हेर्नुहोला र आवश्यक कागजातहरू लिई रीतपूर्वक छिटोभन्दा छिटो पेश गर्नुहोला ।'
"सरकारले नै भूकम्प आएको भनेर रेडियोमा फुकेसकेपछि फेरि यो भूकम्प प्रमाणितको कागजात किन पेश गर्नुपर्यो ? दुनिँयालाई थाहा भएकै कुरो!" एकजना बृद्धले बीचैमा आपत्ति जनाए।
यसलाई खण्डन गर्दै गा.वि.स.सचिवले भने, "यो कागजी रीत पुर्याउने सबभन्दा ठूलो प्रकृया हो। भात नखाइकन बस्ने हो भने भोकै मरिन्छ भन्ने कुरो सबैलाई थाहा छ, के त्यसो भए भात नखाइ भोकै बस्ने? फेरि के को आधारमा तपाईंहरूलाई राहत दिने ?''
"हो हो। रीत पनि चाहिन्छ, मीत पनि चाहिन्छ !" सबै गलल्ल हाँसे।
"तपाईँहरूलाई गा.वि.स.ले महा-भूकम्प-२०७२ प्रमाणित गरिदिनुहुन भन्ने व्यहोराको एउटा कागजको चिर्कटो/खोस्टो दिन्छ। त्यो लिएर जिल्ला प्रशासन कार्यलयमा जानु र भूकम्प प्रमाणित गरिदिएको कागजको सक्कलै यहाँ पेश गर्नुहोला, बुझ्नुभो हैन ?"-सचिवले भने।
गोर्खेबाजे सबभन्दा पछाडि आएका थिए र काम सकेर सबभन्दा अगाडी नै घर फर्किए।
भोलिपल्ट !
भोलिपल्ट गोर्खेबाजे जिल्ला प्रशासन कार्यलय हुईकिँए । दौरा सुरवाल, शिरमा तीन ठाउँमा फाटेको पाल्पाली ढाकाटोपी, पाउमा कपडाको क्यानभास जुत्ता, काँधमा एउटा पूरानो घरबुनाको झोला र झोलाभित्र गा.वि.स.ले दिएको कागजको खोस्टो, नागरिकता, बृद्धाभत्ताको परिचय पत्र, चिलिम, लाईटर र केही फूटकर खर्च समेत निकै जतनका साथ भिरेर लठ्ठी टेक्दै जिल्ला सदरमुकाम पुगे। जिल्ला प्रशासन कार्यलयका हाकिम प्रमुख जिल्ला अधिकारी समक्ष धनुष्टटंकार प्रमाण गरे।
"भन्नुहोस् बाजे के कामले आउनुभयो ?"- प्र.जि.अ.ले सोधे।
"भूकम्प आएको प्रमाणित गरिदिनुपर्यो हजुर 'लठ्ठी टेकेर' !"- गोर्खेबाजेले बिन्ती बिसाए।
'लठ्ठी टेकेर' भूकम्प प्रमाणित हुदैंन बाजे, यो त रेक्टर स्केलले प्रमाणित गर्ने कुरा हो ।
कसले भन्यो तपाईलाई 'लठ्ठी टेकेर' ?" -प्र.जि.अ.ले भने।
"हैन हजुर, यो त मेरो थेगो हो 'लठ्ठी टेकेर' ।" बाजेले कुरो बुझाए।
प्रमूख जिल्ला अधिकारी मरीमरी हाँसे। हाँसो धेरैबेर चल्यो। बाजे पनि काम बन्ने भो भनेर फुरूक्क परे र चिलिम झिकेर सूर्ती भर्न थाले।
प्र.जि.अ.ले सम्झाउँदै भने,"यहाँ धुम्रपान सेवन गर्न पाईन्न, बरू भन्नुहोस अरू के सेवा गरूँ?"
"अरू त केही थिएन, भूकम्प प्रमाणित गरिदिनुप-यो हजुर,'लठ्ठी टेकेर' !" बाजले संकोच नमानीकन भने।
"यो भूकम्प प्रमाणित यहाँ होईन, काठमाडौं जिल्ला प्रशासन कार्यलयले प्रमाणित गर्ने हो। काठमाडौं जानुहोला, बरू म फोन गरिदिउँला ....।" प्र.जि.अ.ले कुरो टुङ्ग्याए ।
गोर्खेबाजे काठमाडौं जान तयार भए 'लठ्ठी टेकेर' ।
पर्सिपल्ट !
"तपाईलाई कसले भन्यो 'लठ्ठी टेकेर' ?"-काठमाडौं प्र.जि.अ.ले कड्किए ।
"ख्यै, हजुर म के जानुँ 'लठ्ठी टेकेर' !" -बाजे झुकेर बोले ।
"तपाईले गलत ठाँउमा लठ्ठी टेक्नु भो।" -प्र.जि.अ.ले नाकको डाँडीको चश्मा सार्दै भने।
"अब म के गरुँ, हजुर !" - बाजेले अफशोचका साथ भने ।
"केही गर्नु पर्दैन, सीधै प्रधानमन्त्री कार्यलय,बालुवाटार जानुस्।" -प्र.जि.अ.ले भने ।
"म त बालुवाको बाटो हिड्न सक्तिनँ, पैतला दुख्छ, हजुर !" बाजेले समस्या जाहेर गरे।
"त्यो तपाईको समस्या हो ।" प्र.जि.अ.मुर्मुरिए।
"पर्दैन,हजुर म आफैं जान्छु, 'लठ्ठी टेकेर' ।" गोर्खेबाजेले तीतो पिउँदै भने।
***
गोर्खेबाजे प्रधानमन्त्री निवास कार्यालय के पुगेका थिए, एक जना बर्दीधारीले बन्दुकको कुन्दा तेस्र्याएर गेटमा नै रोक्यो र भन्यो -"पास छ?"
"छ,बाबु, लठ्ठी टेकेर !" - बाजेले बृद्धा भत्ताको परिचय-पत्र देखाए ।
"प्रधानमम्त्रीलाई भेट्ने अनुमतिका लागि छुट्टै पासको व्यवस्था हुन्छ ।" बर्दीवालेले भन्यो ।
"मेरो नाति पनि तिमी जस्तै पल्टनमा छ बाबु, लठ्ठी टेकेर।" बाजेले फकाउने प्रयास गरे ।
"ल,जानुस्, छोड्न त नमिल्ने हो!" -बर्दीवालेले भन्यो।
गोर्खेबाजे सरासर भित्र छिरे।
प्रधानमन्त्री सचिवालयमा पुगेर गोर्खेबाजे थ्याच्च बसे र चारैतिर दृष्टि फिँजाए। आफ्नो काम पूरा हुने लागेर उनको मन ढुक्क भयो।
ल,भन्नुहोस्, तपाईंको खास समस्या के हो ?" काम चलाउ सह-सचिवले सोधे।
खास, भूकम्पको राहत लिनको लागि भूकम्प आएको भनेर प्रमाणित गरिदिनपर्यो, हजुर लठ्ठी टेकेर !" -बाजेले निर्धक्ककासाथ भने।
"त्यही बैशाख १२ गतेको आएको भूकम्प कुरा गर्नुभएको हो?"-सह-सचिवले सोधे।
"हो,हजुर !"- बाजले सास नफेरिकनै भने।
"त्यो बेला सम्मानिय प्रधानमन्त्री श्री शुसील प्रसाद कोईराला इण्डोनेसियाको जकार्तामा भम्रणमा जानु भएकोले यो भूकम्प प्रमाणित यहाँ होईन,तपाई सीधै राष्ट्रपति कार्यलय जानुस्।" सह-सचिवले समस्या र समाधान एकैपटक राखे।
बाजे खिस्रिक्क परे। सीधै राष्ट्रपति कार्यलय प्रस्थानको लागि रवना भए, लठ्ठी टेकेर ।
***
"खास तपाईंको मनसाय के हो,सीधै भन्नुहोस् ।"- राष्ट्रपति कार्यलय ।
''म दु:खी गरीब, कहाँ जाउँ हजुर, लठ्ठी टेकेर!" बाजेले दुखेसो पोखे ।
"मागेर खानुहोस,सबभन्दा सजिलो !" राष्ट्रपति कार्यलय।
"यतिञ्जेल मागेर खानु परेको थिएन, अब मागेरै खानुपर्ला जस्तो भो हजुर! यसपालिको भूईंचालोले सबै सर्वश्व पार्यो, घरखेत, जहान परिवार सबै स्वहा भो हजुर 'लठ्ठी टेकेर'!" बाजेले दु:ख पोखे ।
"तपाईं मात्रै हो र, राष्ट्रपति यतिखेर त्रिपालमा राज होईबक्स्याछ, हाम्रो पनि बेहाल छ।" राष्ट्रपति कार्यलय ।
"मलाई भूकम्प प्रमाणित गरिदिनुपर्यो हजुर, 'लठ्ठी टेकेर' !"- बाजेले कुरो खोले ।
'भूकम्प प्रमाणित' गर्ने काम राष्ट्रपति कार्यलयको होइन, यो त 'राष्ट्रिय भूकम्प मापन केन्द्र' काम हो। भूकम्प कहाँ गयो, कत्रो गयो, कसरी गयो, किन गयो, कसैलाई सोधेर गयो आदि जस्ता कुराहरूको जानकारी दिने र प्रमाणित गर्ने काम उसैले गर्छ, कुरा बुझ्नुभो?" -राष्ट्रपति कार्यलय।
"कुरा बुझेको भए किन यसरी दु:ख पाउनुपर्थ्यो र हजुर ! मेरो छोरो पनि राष्ट्रपति हुन्छु भन्थ्यो तर भूकम्पले खायो हजुर, 'लठ्ठी टेकेर' !" बाजेले बिलैना गरे।
"तपाईंको मात्रै होईन, जनताको छोरो जो सुकै पनि राष्ट्रपति हुन पाउँछ, जानुस् तपाई आफ्नो काममा। यो फाल्टो गफ गर्ने ठाँउ होइन।" -राष्ट्रपति कार्यलय।
बाजेको छाती फुट्ला जस्तो भयो। उनी आफैं बाहिरिए, 'लठ्ठी टेकेर'।
***
"भूकम्प आएको प्रमाणित गर्ने कार्यालय यही हो हजुर, 'लठ्ठी टेकेर'?" बाजेले सोधे।
"हो, किन ?" राष्ट्रिय भूकम्प मापन केन्द्र।
"भूकम्प आएको प्रमाणित गर्नुथियो, त्यसैले 'लठ्ठी टेकेर' !" बाजेले दु:ख बिसाए ।
"कुन् भूकम्पको कुरा गर्न खोज्नुभएको तपाईंले?" राष्ट्रिय भूकम्प मापन केन्द्र।
"क्या त, वैशाख १२ गते आएको भूकम्पको 'लठ्ठी टेकेर' !" बाजेले स्मरण गराउन खोजे ।
"त्यो ७.९ रेक्टर स्केल भूकम्प त हामीले नै प्रमाणित गरेको हो।" -राष्ट्रिय भूकम्प मापन केन्द्रको दाबी।
"हो, मलाई त्यही भूकम्प प्रमाणितको एकप्रति सिफारिस चाहिएको हो हजुर, 'लठ्ठी टेकेर' !"बाजेले खुशी हुँदै भने ।
"यहाँ भूकम्प प्रमाणित त गरिन्छ तर सिफारिस गरिँदैन, गर्न मिल्दैन।" राष्ट्रिय भूकम्प मापन केन्द्र ।
म राहतको लागि भूकम्प प्रमाणितको सिफारिस लिन भनि गाँउबाट आएको हजुर, आजसम्म दुईहप्ता बितिसक्यो। जसरी हुन्छ, भूकम्प प्रमाणित गरिदिनुपर्यो हजुर, 'लठ्ठी टेकेर'!" बाजेले जिद्दी गरे ।
"हुन्छ, अब अर्को भूकम्प आयो भने ।" राष्ट्रिय भूकम्प मापन केन्द्र ।
"अर्को भूकम्प कहिले आउँछ हजुर, 'लठ्ठी टेकेर' !" बाजेले सोधे ।
"त्यो त यसै भन्न सकिन्न ।" राष्ट्रिय भूकम्प मापन केन्द्र ।
भो हजुर, भूकम्प प्रमाणित गर्नुपर्दैन ! भूकम्प आउनु पनि प-याछैन । फेरि भूकम्प आयो भने म यही गोर्खेलौरीले भूकम्पको पेटमा घोचिदिन्छु, घोक्रेठ्याक लाईदिन्छु 'लठ्ठी टेकेर' !" बाजेले आक्रोश व्यक्त गरे ।
"तपाईंले कसलाई घोक्रेठ्याक लाउने कुरा गर्नुभएको ?" राष्ट्रिय भूकम्प मापन केन्द्र।
"तपाईलाई होईन, यो देशको 'राज्य-संयन्त्र'लाई भन्न खोजेको हो। देशको संयन्त्र नै यस्तो छ भूकम्प जस्तै अस्थिर, अनिश्चित र यसका प्लेटहरू सधैं असन्तुलन। गोर्खेलौरी लाउनु पर्छ, अनि सब ठीक हुन्छ" बाजेले चरम निराशा व्यक्त गरे। बाजे त्यसपछि चुपचाप बाहिरिए।
वैशाख २९ गते 'सिन्धुपाल्चोक'लाई केन्द्रबिन्दु बनाएर पून: ७.६ रेक्टर स्केलको अर्को भूकम्प आयो। भाग्ने प्रयास गर्दागर्दै सडकमा ढलेको अग्लो पर्खालले पुरिएर गोर्खेबाजेको प्राणान्त भयो। यद्यपी बाजेको झोलामा भूकम्प प्रमाणित गरिदिनेबारेको चिर्कटो अझै सुरक्षित थियो। गोर्खेलौरीको अंकुशले उनको आफ्नै कठालो समातिरहेको थियो ।