‘तिमी काठमाडौ आएको फेसवुकबाट थाहा भयो। भेट्न मन थियो तिम्रो नम्बर छैन म सँग। थाहा छ, कुनै व्यस्त कामले तिमी आएका छौ। फेरि तिम्रो मष्तिस्कको सानो कुनाबाट पनि म हराइसकेकी छु। तर पनि जीवनमा एक पटक प्यास मेटिने गरी कुरा गर्न मन छ, तिमीलाई हेर्न मन छ।‘
फेसबुकमा आकृतिको म्यासेज थियो। सँगै ‘फ्रेन्ड रिक्वेस्ट‘ पनि। कुनै दिन आँसुका लागि आँखा र दुख्नका लागि मन बनेको हो की जस्तो लाग्थ्यो आकृतिको अप्राप्य प्रेम देखेर। जीवनको बंैशालु उमेर प्रेमको काकाकुल भएर बिताउने नायक थिएँ म। मनमा भर्खर पलाएको कलिलो मायाको मुना भाँचिदिने बैगुनीको नाममा एक शब्द लेख्ने पनि जाँगर चलेन। फेसवुक ‘साइन आउट‘ गरें। फ्रेन्ड रिक्वेस्ट पनि कन्फर्म गरिनँ।
साँझ फेरि म्यासेन्जरमा म्यासेज आइपुग्यो। ‘तिम्रोको स्टाटस पढंे निकै राम्रो लाग्यो, कसको लागि लेखेको?‘
त्यो दिन मैले लेखेको स्टाटस थियो –जुन दिन सूर्यको उज्यालोबाट टाढा हुन सकुला त्यहि दिन मर्लान् तिम्रा यादहरु।
कुनै दिन मनको कुनामा लुकामारी खेल्ने मान्छेसँग कति अहमको पर्खाल ठाडो पार्ने? जीवनमा जस्तो कठोर मान्छे पनि प्रेममा मैन वन्छ।
अहमताले हार खायो प्रेमले नै जित्यो। मैले रिक्वेस्ट स्विकारे अनि लेखे म्यासेन्जरमा लेखें –जसलाई देख्दा दुःखले पछ्याएको आभाष गर्थ्याै, त्यसैसँग फेरि खुसीको घाम देख्न थाल्यौ?
जवाफ तत्काल आयो–तिमीसँग भेट्न खोज्नुको अर्थ पश्चाताप होइन, प्रेम हो। र, हिजो प्रेम नगरेको मान्छेसँग अचानक प्रेम गर्न खोज्नु पश्चाताप पनि होइन। जवाफ निकै तेजिलो थियो। फेरि थपियो–आज प्रेम नभएको मान्छेसँग भोलि प्रेम हुन सक्छ र आज प्रेम भएको मान्छेसँग भोलि घृणा भरिन सक्छ।
‘जुन प्रेममा आज र भोलिको भिन्नता हुदैन, त्यो नै प्रेम हो। के मुटुको रङ कहिल्यै खुइलिन्छ र?‘मैले पनि मन थाम्न सकिन।
फेसबुक कनेक्सन टुट्यो। लोडसेडिङले फेरि दुई किनारा बनाइदियो।
नयाँ दुनियामा छुट्टै प्रेमको रङ बोकेर हिँडेको मलाई फेरि अतितको घाउ बल्झाउने मन छैन। प्रेम नै मान्छेको सबैभन्दा ठूलो कमजोरी हो। प्रेमलाई साहस भन्नेहरु किताबका अक्षरमा मात्र प्रेम पढेका मान्छे हुन्, तिनले मुटुमा प्रेम कहिल्यै कुदेका हुदैनन्।
साँझ फेसबुक खोल्दा फेरि म्यासेन्जर आकृतिकै सन्देश थियो – मलाई तिमीप्रति पश्चाताप पनि छैन, अनि गहिरो प्रेम पनि छैन। नयाँ जिन्दगीमा यात्रा गरेर भर्खर छोरा पनि जन्मिएको रहेछ , यस्तो सुन्दर परिवारलाई आँखा लगाउने मन पनि होइन मेरो। वस् तिमीसँग मन पखाल्न मात्र चाहेको छु। भेट्नै मन छैन भने भैगो। जीन्दगीमा कस्ता कस्ता घाउँ त निको पारे यो पनि सहुँला, शनिबार ठमेल कफि हाउसमा भेटौ म ८ बजे आइपुग्छु, तिमी आउ या नआउ म १० बजेसम्म तिमीलाई कुर्नेछु।
जवाफ लेख्नका लागि किवोर्डमा औंलाहरु नै चलेनन्। संसारमा कति कुरा यस्ता पनि हुन्छन् जसको सामना गर्ने सामर्थ्य मान्छेले राख्नै सक्तैन।
***
घोराहीको पद्मोदयबाट १२ कक्षा सकेपछि, अगाडीको बाटो किरिङमिरिङ पारिएको सेतो पाना जस्तै थियो। अमुर्त भविष्य। घरमा नियमित पैसाको श्रोत थिएन। केही गरिखाने मनमा साहस थिएन। नयाँ बाटो कोरेर हिड्ने या यात्रा स्थगित राख्ने? दुइवटा विकल्प मात्र थिए। पहिलो विकल्पमा ‘आंैठा छाप‘ लगाएँ।
तुलसीपुरमा ‘प्राइभेट‘ शिक्षाको आरम्भ भयो। मासिक १२ सय तलबमा सानो कक्षामा पढाउने गतिलो अवसर पाएँ मैले। घरको सामान्य वातावरणको दबाबले होला आँखामा कहिल्यै सपनाहरु परेड खेलेनन्। रङ्गहिन बतास जस्तै कहाँनेर सपनाहरु लुकामारी खेले मैले पत्तै पाइनँ।
‘तपाईको रुटिङ पुरै बनिसक्यो, त्यहि हेरेर मात्र कक्षामा जानुहोला?‘ पढाउन थालेको पाँचौ दिन आकृति मिसको आदेश आयो। आकृति अर्थात् मैले पढाउने विद्यालयको सवै व्यवस्था हेर्ने जिम्मेवारी पाएको मान्छे। बस् योभन्दा परिचयको दायरा फराकिलो थिएन। मलाई संसारमा सबैभन्दा गहिरो काम भन्नु नै केटीसँग बोल्नु जस्तो लाग्थ्यो।
जीवनमा केयौ आँसुहरु भ्रमका नाममा झर्छन्। हो, मेरा आँखामा कैयांै आँसुहरु पनि भ्रमकै बाटो समातेर मदेखि छुटि्टए।
स्कुलका दिनहरु मेरा लागि रोमाञ्चक थिए। सुरु सुरुमा पढाउँदाको आनन्द, त्यसपछि आकृतिले मलाई प्रेम गर्छिन् भन्ने भ्रममा बाँचेको आनन्द। स्कुलका बिदाका दिनहरु सेकेन्ड गनेर बिताउँथे। लाग्थ्यो सडकमा हिँड्ने हरेक पागलहरु प्रेमकै कारण बौलाएका होलान्। म पनि करिब करिब पागल भइसकेको थियो।
रमेश विकलको मधु र मालतिको कथामा दुवैलाई रुपान्तरण गरेर म गगनमा उडिरहेको हुन्थे। एकपटक मेरो एकोहोरो प्रेमलाई दोहोरो पार्नका लागि उचित अवसर थियो। स्कुलले पिकनिक लगेको थियो चमेरे गुफा। शिक्षकहरुको मात्र पिकनिक भएकाले केही थप रोमाञ्चकता मनमा थपिएको थियो। करिव ३ घण्टाको एकतर्फी बाटो मैले आकृतिको अनुहार मनमा सजाएर काट्न पाउने भए। मनको तुलबुल शान्त पार्न प्रेम ‘रिलिज‘ गर्ने दह्रो अठोट गरें। कसैगरि पनि सकिएन। खाना खाँदा गू्रप फोटो खिच्ने अवसरको भरपुर सदुपयोग गरें, आकृतिसँग टाँसिएर खिचियो फोटो। कति दिनसम्म करेन्ट लागिरह्यो।
गाउँमा साथी थियो प्रकाश। उ मेरो सुख दुःखको साथी थियो। मेरो वर्वादीले दिग्दार भएर उसले योजना बनायो मेरै मुखबाट प्रस्ताव राख्ने। मलाई सोच्दा पनि छिनछिनमा पिसाब लागेर आउँथ्यो। ओहो सकिदैन क्यारे। प्रकाशले प्रेम र प्रस्तावका बारेमा लामो प्रशिक्षण दियो। जतिसुकै डरले मुुटु कमाए पनि राजि भए। रातभरि मैले तयारी गरें ‘आकृति म तिमीलाई मनपराउछुँ, के तिमी मन पराउछ्यौ? मन पराउने भए राम्रो भयो नपराउने भए भन म आफुलाई कुन कुरामा सुधारु? तिम्रो योग्य हुनका लागि।‘
अर्को दिन आकृति क्याम्पसबाट साथीसँग आउदै थिई प्रकाशले पिछा गरेर साथीलाई किनारा लगायो। म झटपट आकृतिको नजिकमा गएर रातभरि घोकेको डाइलग एकै सासमा भनें।
अध्यारो थियो आकृतिले कस्तो अनुहार बनाई थाहा भएन तर जवाफ भने हेर्नलाई सुक्ष्मदर्शक यन्त्र नै चाहिने गरि मुटु टुक्रा टुक्रा वनाएर गई– “अव देखि यस्ता कुरा नगर्नु म फरक खाले केटी हुँम साइड लागे। कल्पनामा केयौ दिन इञ्जिनियरिङ गरेर बनाएको घर भत्कियो।
विगतको सम्झनाले आकृतिप्रतिको माया उर्लेर आयो। फेसबुक म्यासेजको रिप्लाइ नगरे पनि मनमा कता कता माया पलाएर आयो। सधै जित्ने प्रेमले आज पनि जित्यो। म आधा घण्टा अघि नै उसले भनेको क्याफेमा पुगें।
...
‘ए सरि है, म अलि ढिला भएँ।‘ ट्याक्सिबाट झरेर आकृतिले औपचारिकता निभाई। “जाऊँ कफि खान?‘ उसले कुनाको क्याफेमा लगि।
पाँच वर्ष पछि एकैपटक भेट भएको थियो आकृतिसँग। उमेर आफैं बुढो भएछ आकृति उस्तै थिई। ‘अफ्ठेरो त मानेका छैनौ नि, मैले साह्रै कर गरंे है‘ कुराकानी उसैले सुरु गरी।
‘कर गर्नु तिम्रो अधिकार पनि हो, मैले एकोहोरो माया गरेको मान्छे न हौ‘ मैले शब्द नापेर जवाफ फर्काए।
‘तिमीलाई मेरो मनको कथा थाहा छ?‘
‘मनसम्म पुग्नै कहाँ दियौ र थाहा पाउनु, म त बाहिरबाटै फर्किएको मान्छे नि।‘
उसलाई घोचेछ क्यार– भैगो बिगत छाड, अब नयाँ कुरा गर्ने हो।
‘प्रेम र रक्सी त जति पुरानो भयो उति मजा पो आउँछ त‘ मैले भनें।
उसले सुन्ने चेष्टा गरिन या सुनेर पनि नसुनेझैं गरी।
‘तिम्रो प्रगति फेसबुकमा हेर्छु अनि तिम्रा माया भरिएका स्टाटस पनि तर तिमीलाई साथी बनाउने हिम्मत गरिनँ, अचानक काठमाडां आएको थाहा पाएर जबरजस्त गरेको ठिकै भयो भेट त भयो नि‘ उसले प्रसंग बदली।
‘तिमीले बोलाएको भए म दाङबाट पनि आउने थिएँ, झन् काठमाडांै हुँदाको कुरा गर्छ्यौ।‘
‘यत्ति गहिरो कुरा गर्न पहिले नै जानेको भए के हुन्थ्यो, के हुन्थ्यो?‘
अनुहारमा पश्चाताप घोलिएको थियो। मलाई नयाँ मोड दिन मन लाग्यो ‘के हुन मेरो छोराको आमा तिमी हुन्थ्यौ होला।‘
कुराले भित्रि मन चसक्क पारे होला, अनुहार न हाँस्नु, न रुनु बनाई।
‘वाहियात कुरा सोच्नुको कुनै अर्थ छैन‘ भित्र अर्कै कुरा राखेर बाहिर आदर्श छाँटी। मुखले जे बोलेपनि भाव भने आँखामा पौडिरहेको थियो।
‘ल रात पनि पर्यो अब काममा जानुपर्छ, मेरो कुरा यो कागजमा लेखिएको छ घरमा गएर खोल है।‘ उसले मेरो हातमा कागज थमाई। क्याफे कुनाबाट अर्को कुनामा ऊ पछाडि नफर्किएर लम्किई।
कागजमा लेखिएको कुरा पढ्नलाई कोठामा आउन हतार थियो अर्को क्याफे छिरें अनि पत्रका अक्षरमा पौडिएँ।
तिमी आउछौ भन्ने मलाई लागेको थियो। त्यहि भएर मैले कागजमा मन दौडाएको हुँ। मलाई न तिमी जति साहित्य आउँछ नत चोखो प्रेम नै गर्न। तर पनि मन पखाल्न खोज्दैछु। तिम्रो नयाँ जिन्दगीसँग निकै खुसी छु। कम्तिमा आफूलाई माया गर्ने मान्छे नयाँ जिन्दगीमा रमाइरहेको त छ।
तिमीले प्रस्ताव राख्नुभन्दा अगाडि नै तिमी मलाई प्रेम गर्छाै भन्ने थाहा थियो। तर मलाई त्यता तिर खासै ध्यान थिएन। जब तिमीले प्रेम प्रस्ताव राखेपछि मैले अस्विकार गरे त्यसको सातादिनपछि बल्ल मैले तिमीलाई नियाल्न थालंे र बिस्तारै प्रेम पनि गर्न थाले। तर आफंैले अस्विकार गरेको प्रेमलाई जोड्नका लागि कहिल्यै हिम्मत आएन। फेरि मैले अस्विकार गरेपछि तिम्रो मनस्थिति पनि बदलिएको र तिमीले नयाँ दुनियाँमा सपना देख्न लागेको थाहा भयो। कुरो साँचो पनि रहेछ पछि तिमीले प्रेम विवाह गर्यौ। साच्ची तिमीले मेरै घर अगाडिबाट दुलही लगेर भित्र्याउदा म कति रोएँ। मूल्य नहुने आँसुको कसले लेखाजोखा गरोस्। कहिलेकाही संसार भुलेर भएपनि जबरजस्ति तिमीसँगै नयाँ जिन्दगी सुरु गर्ने विचार नि आउथ्यो। तर नयाँ जिन्दगीमा रमाइरहेको तिम्रा अनुहार देखेर म पछि हट्थें। यसैबीच निकै राम्रो घरबाट प्रस्ताव आएको भनेर मलाई घरमा बिहे गर्न दबाब दिइयो। मैले नाइ भनेर बुवाआमालाई केही विकल्प दिन सकिनँ।
बिहे भयो तर मेरो शरिर मात्र उता थियो मन भने तिमीतिरै खोइ मेरो निराशपन देखेर होला मेरो घरबार टिकेन। त्यसपछि काठमाडौमा बस्तै आएकी छुँ। जीवनमा एकपटक मनको कुरा तिमीलाई सुनाउने मन थियो, आज सुनाउन पाएँ। लाग्छ अब जीवनमा बाँकी केही कुरा पनि छैन। मलाई यो सहरले दिक्दार बनाएको छ। यसर्थ म सबै छाडेर कतै जान चाहन्छु जहाँ तिम्रा कल्पना र यादहरु मात्र होउन्। तर त्यस्तो ठाउँ कहाँ हुनु? म काठमाडौमा कसरी बाँचेको छुँ? मनमा कौतुहलता मात्र राख्नु जवाफ नखोज्नु। मान्छेले भविष्य कर्मले लेख्छ भन्थे साँचो रहेछ। जीवनमा किताबका पानामा पढे भन्दा सयौ गुणा पिडा हुदोरहेछ याद बोकेर बाँच्न। बस् म पनि तिमीलाई प्रेम गर्छु भनेर व्यक्त गर्न पाएँ योभन्दा खुसी र गौरवको कुरा केही हुन सक्दैन। तिमी नयाँ जीवन नयाँ तरिकाले बाँच्न सिकेको मान्छे , म पुरानो जीवन कोट्याएर वाँच्ने मान्छे।
त्यसमुनि एउटा गुलाबको चित्र थियो। गुलाबले मलाई खासै अर्थ राखेन जति साँच्चै उ कसरी बाँचिरहेकी छ काठमाडौंमा भन्ने प्रश्नले उकुसमुकस बनायो।