ऊ कलेजबाट हतार हतार फर्कंदै थियो। ऊभन्दा अघि नै उसको कोठामा कृपा कुरीरहेकी थिइन्। कोठा भित्र पस्न नपाउँदै कृपाले भनिन्, ‘कति अबेला गरेको रिक्की!’
‘आज प्राक्टिकल थियो त्यसैले ढिला भयो आन्टि’ भन्ने सुन्नासाथ उसले नाक खुम्चाइन, ‘आन्टि नभन न रिक्की म के बुढी देखिएको छु र? बरु मलाई स्वीटी भनन्।’
उमेरले चालीस टेक्न लागेकि कृपा जैविक भोक मेटाउन छोरा सरहको केटाको साथमा थिइन्। रिक्की भर्खर १९ वर्षको थियो। प्रोजेक्टको जागिर खाएर काठमाडौं खाल्डो बाहिर बाहिरै हिँड्ने श्रीमानबाट सन्तुष्टि पाउन सकेकि थिइनन् कृपाले। वर्षमा दुई-चार पटक मात्र उनका श्रीमान घर आउँथे।
त्यसैले बेसाएको खानु पर्ने उनको बाध्यता थियो। जब छोराछोरी स्कुल जान्थे तब उनी रिक्कीको कोठामा पस्थिन्। नजिकै थियो, रिक्कीको फल्याट। सुरूमा त रिक्की एउटै कोठामा बस्थ्यो। कृपा आन्टिको कृपाले तीन कोठे फल्याट लियो।
जबदेखि आन्टीसँग संगत बढ्यो तबदेखि कलेज खर्च, कोठा भाडा र पकेट खर्चको दुःख भएन। आफ्नै कोठामा जागिर मिल्यो उसलाई। नागरिकता र शैक्षिक प्रमाणपत्रमा रमेश नाउँ भएता पनि साथीभाइमाझ रिक्की नाउँले चिनिन्थ्यो।
कृपाले उनलाई राम्रै कृपा गरेकि थिइन्। ऊ त्यो कृपा निरन्तर होस् भन्ने चाहन्थ्यो। कृपा पनि उसलाई विभिन्न तरिका सिकाउँथिन्। ‘यस्तो काममा च्याम्पियन हुनुपर्छ रिक्की, पछि काम लाग्छ’, भन्थिन्। सुरु सुरुमा आन्टिको भुगोल देख्दा लजाउने रिक्कीलाई बिस्तारै बानी पर्दै गयो।
उसले अनौठो पेशा ग्रहण गर्यो। रमाइलो पनि आम्दानी पनि। अनौठो जागीर छुट्ला भन्ने डर थिएन उसलाई। रमझममा यति भुल्यो कि गाउँ सम्झनै छाड्यो। गाँउमा आमा–बा खेति गर्न नसक्ने हालतमा पुग्न थालेका थिए। छोरा घर आउला भन्ने आशमा हिउँद बर्खा बिते तर रिक्की गाउँ फर्केन।
‘किन? गाउँ जानु पर्यो रिक्की म छँदै छुनि त्यो पाखो खनेर के बस्छौँ गाउँमा। तिमी त मेरो खुसी हौ’, कृपा भन्थिन्, ‘मलाई साथ देउ म तिमीलाई पैसाको कमी गर्ने छैन।’
उमेरले सम्बन्धलाई रोक्न नसक्ने रै’छ। उनीहरु यति नजिक भए कि कुनै दिन नभेट्दा दुबैलाई के नपुगेको के नपुगेको झैं हुन्थ्यो। दुबै खुसी थिए। जवान रिक्कीको अँगालोमा बेरिने बानी परेकाले होला श्रीमान घर आउँदा कृपा त्यति खुसी हुन्थिनन्। श्रीमानको आगमनमा रिक्कीलाई भेट्न नपाउदाँ बगरमा उफ्रिएको माछा जस्तै हुन्थिन्।
किन हो कुन्नि दुबैलाई भोगबिलासको नसाले ग्रस्त पारेको थियो। पेसाको रूपमा अंगाले पनि आन्टिको कामुक रससँग मिलेको थियो रिक्कीको मन पनि। आन्टिलाई छुन नपाएको दिन अध्यारो लाग्थ्यो उसलाई।
श्रीमान काममा फर्केको दिन आन्टिको फुरफुर अर्कै हुन्थ्यो। फुलबारीमा डुल्ने पुतली जस्तै। हतारिदै पुग्थिन् ह्यान्डसम पार्टनरकोमा। ‘श्रीमान भनौदो ग्वाँचे आएर टेन्सन भयो रिक्की’, भन्दै अँगालो मार्थिन्।
लाडिँदै उसको काखमा टाउको राख्थिन्। ‘मेरो पनि हाल उस्तै त हो नि आन्टि’, भन्दै ऊ चल्थ्यो। ‘मैले कति भने मलाई आन्टि होइन, स्वीटी भन भनेर’, उनी रिसाए झैं सम्झाउँथिन्।
अनि दुबै हाँस्थे। रिक्कीले झयालको पर्दा बन्द गर्दा आन्टीको शरीर कपडाले छोडिसक्थ्यो। यसैगरि दिन वित्थे।
आन्टिसँगको रोमान्समा रिक्कीको बढुवा हुँदै गयो। उसले बेला बेलामा टिप्स पाउँथ्यो। सायद बुझ्न बाँकी पेन्सन मात्र थियो। बाइकमा सरर कलेज जान्थ्यो, नयाँ नयाँ लुगा लगाउँथ्यो। त्यसैले गाउँको याद उसको जीवनबाट पाखा लाग्दै गयो। खोलाले बगरलाई पाखा लगाएझै।
बा-आमाले बरोबर सोधखोज गर्दा पनि रिक्कीले कहिल्यै उनीहरुलाई सम्झेन। आमाबा छोराको भविष्य सम्झेर पसिना बगाइरहे। बुढो हडि्डलाई त्यो पाखो बारी र खेतमा जोतिरहे। ऊ आन्टिको रसको तलाउमा पौडिरह्यो जन्मथलोको माया भुलेर।
अचानक एकदिन आन्टिले उसलाई एउटा कुरा सुनाइन्। रिक्की डार्लिङ ‘मेरो श्रीमानलाई त डिभि परेछ फस्ट लेटर आइसक्यो अब सेकेन्ड लेटर आएपछि त हाम्रो अमेरीका जाने पक्का भयो।’
छाँगाबाट खसेझैं भयो रिक्की। उनले दुःखी हुँदै रिक्कीलाई सुमसुम्याइन्। रिक्कीमा भने जागीरनै ब्रेक लाग्ने हो कि भन्ने डर भो।
भोलिपल्टदेखि रिक्की नयाँ कामको खोजीमा निस्कियो तर रोमान्समा भुल्ने बानी परेको रिक्कीले कतै जागिर पाएन। पढाइमा ऊ लद्दु थियो। उसलाई पश्चाताप हुन थाल्यो पढाइ बेवास्ता गरेकामा।
नभन्दै आन्टिको श्रीमानको अमेरीका फिक्स भयो। परीवार लिएर जाने दिन नजिकियो। अमेरीका जानुभन्दा दुई दिन अघि आन्टि रिक्कीको कोठामा आइन्। रिक्की टोलाइरहेको थियो। जीवनलाई कसरी अघि बढाउने भन्ने सोच्दै थियो। कृपाले रिक्कीलाई अँगालो मारिन्। दुबै छाँद हालेर रुन थाले। सायद अनौठो सम्बन्ध भित्र मायाले जरा गाडेको थियो।
‘म अमेरीका जान पाएर जति खुसी छु त्यति धेरै दुःखी छु रिक्की डार्लिङलाई छाड्नु पर्दा’, उनले रुन्चे स्वरमा भनिन्। त्यो दिन दुबैले पीडा भुल्न केहिबेर रोमान्स गरे।
केहिबेर पछि उनले पर्स खोलिन र हजारका दश वटा नोट रिक्कीको हातमा थमाइदिइन्। ‘बेला बेलामा फेसबुकमा च्याट गरौलाँ है यस्तै पर्यो जीवनमा बिछोडिन कर्ममा लेख्या रैछ’, कृपाले भनिन्।
आन्टिका आखाँबाट झरेका आशुँमा रिक्की पनि भिजेको थियो। केहिदिन पछि नै आन्टिको सपरिवार अमेरीका उड्यो। डिभिसँगै उडेको थियो रिक्कीको जागीर सपना, करीयर, माया सबै। आन्टिले दिएको दशहजारले केहि समय काम चलायो। जागीरको खाजीमा भौतारीयो न त हातमा सिप न पढाइ नै गतिलो। बेरोजगारी भोगेर छटपटाउन थाल्यो। आन्टिले दिएको खर्च सकिएपछि हातमुख जोर्न गाह्रो हुन थाल्यो। त्यपछि भएको एउटा मोटरबाइक पनि बेचेर घरभाडा तिर्यो।
एक बिहान मार्कसिट र कपडा झोलामा कोच्यो। कानका मुन्द्रा फुकालेर डस्टबिनमा फाल्यो। लामो कपाल काटेर छोटो बनायो। बल्ल रिक्कीबाट रमेशमा फर्कियो। अनि उहि झोला बोकेर रमेश नै बनेर गाँउ फर्क्यो।
यतिका बर्षपछि गाँउ फर्कदै गरेको उसलाई गाँउका याद झलझली दिमाखमा कोरीन थाल्यो। कहिले गाउँ पुगेर साथीभाई भेटुझैं भाको थियो। घर छोड्दा आमाबासँग राम्रोसँग पढ्छु शहरमा गएर भन्ने बाचा गरेको थियो। त्यसलाई तोडेकामा कता कता पश्चाताप लाग्यो।
गाँउ सम्झेर आखाँका डिल भत्के। मनमा कुरा खेल्न थाले। कस्तो भयो होला त्यो चौतारो? बरपिपल कस्ता भए होलान्। घर, गोठ, पाखो बारी अनि खेत बाझैँ होला कि। कालि गाई बुढी भई होली अहिले कति दुध दिन्छे होला आदि।
ऊ गाउँ पुग्यो। गाडीबाट उत्रेर गाँउतिर हेर्यो। मन खुसीले चुर्लुम्म भयो। बर्षौं पछि गाउँलाई देखेर आफू जन्मेको माटोमा टेक्न पाएर होला पैतालाले थकाइ भुलेको थियो। घरमा पुगेर झोला बिसायो आमाबालाई ढोग गर्यो। बुढेसकालको सहारा दैलोमा आएको देखेर तिनका भुइँमा गोडा भएन। आमाले खुसी हुदै भन्नुभयो ‘देख्नुभयो त रमेशको बा मलाई छोरा बिग्रीयो बुढेशकालमा सहारा कोहि भएन भनेको होइन, आइहाल्यो नि हाम्रो हेरबिचार गर्न।'
उनी एकोहोरो भन्न थालिन्, ‘अब त पाखो बारी बाँझो हुँदैन अनि खेत पनि रोपाई हुनेभो नि।' बाबा पनि मख्ख परे। घरमा खुसीले दशै आएजस्तो भयो। रमेश घर फर्केको खुसीयालीमा गोठबाट गाइ पनि कराउन थाले बाँ...बाँ... बाँ...।