दुई दिनको यात्राले थकित म एउटा बिशाल रूखको फेदमा आइपुगेको रहेछु। अनि बिश्रामको लागि केहि सुकेका पातहरू ओछ्याएर त्यहि घना जगंल बिचको बिशाल रूखको फेदमा लडेको थिए।
अब मेरो शरीर उत्तानो परेको थियो र मेरा आँखाहरू आकाश तर्फ थिए। अनि एउटा हात निधारमा राखेर जब म निदाउने उपक्रममा लाग्दै थिए ,ठीक त्यही रूखमाथीको दृश्य अचानकसँग मेरो आँखामा परेको थियो।
एउटी लगभग नग्न आदिबासी युवती त्यही रूखको हाँगामा लेपासिएर मलाई एकोहोरोसँग हेरिरहेकी थिई। सायद म लुगा लगाएको अचम्मको मान्छेसँग अलि डराएकी पनि थिइ कि! तर, त्यो दृश्यले म भने हत्पत अचानकसित उठेको थिएँ।
त्यो जगंली कन्या बडो फुर्ती र सावधानीका साथ अर्को रूखमा हाम्फालेकी थिइ। अनि त्यसरी नै अरू ३-४ बटा रूख छिचोलेर जमिनमा उत्रिएकि थिई। अनि मसँग एउटा सुरक्षित दुरी बनाएर बडो साबधानीपूर्वक मलाई नियाल्दै थिई।
अब मैले त्यसलाई सिँगै र स्पष्टसँग देखेको थिए। गोलो र थेप्चो थेप्चो मंगोलियन अनुहारमा त्यसका दुई चिम्सा चिम्सा तर चंख आँखा! राता भएर पूष्टिएका भर्खरै फुलेको गुराँस जस्ता त्यसका लालित्यपूर्ण गाला! अनि कालो घना बादल जस्तो त्यसको लामो कपाल! र हरिणको जस्तो त्यसको चाल र शरीर! त्यसको सम्पूर्ण सौर्न्दर्य कुनै पनि सुन्दरताको उच्चतम परिभाषा भित्र अटाउन पनि आनाकनी गरीरहेको थियो।
त्यो बिराट सुन्दरतालाई त्यसको निर्दोष र प्राकृतिक नग्नताले उस्तै मोहक तरिकाले श्रृंगारेको थियो। उसको माथिल्लो नग्नता केराको पातले बेरीएका थिए भने त्यसको तल पट्टिको नग्नता शिकार खेल्ने सामाग्रीहरूले अलि अलि छोपिएका थिए। स्त्रीको भौतिक देहको सुन्दरता र त्यसमा रहेको आर्कषण गर्ने मोहक चुम्बकीय शक्तिको प्रत्यक्ष अनुभव पहिलो पटक मलाई भइरहेको थियो। मेरा सम्पूर्ण थकानहरू हराएका थिए अनि शरीर अचानक चंगा भएको थियो। म अब बिल्कुलै आफ्नो चेतनाको नियन्त्रणमा थिइनँ किनकि मेरा सम्पूर्ण आन्तरिक चेतनाहरू त्यही तिलस्मी सौन्दर्यकी प्रतिमूर्तिमा केन्द्रीत थिए। अनि कूनै स्वचालित यन्त्र जस्तो म त्यो नारीतर्फ खिँचिदै जान थालेको थिएँ।
तर त्यो असुरक्षाले अचानक मृग जस्तो भाग्न थालेकि थिइ। अनि म भित्र अचानक उब्जिएको उर्जा उसलाई बाघले जस्तो खेदाउन थालेको थियो। अब त्यहाँ बाँकी सबैकुरा तपशिल भएका थिए। मेरा सबै पृष्ठभुमि र लक्ष्यहरू त्यहाँ आइपुग्दा बिसर्जित भएका थिए। अब त्यहाँ केबल र केबल बर्तमान थियो। सबै बिगत र भबिस्य बिर्सेर यो मादक उर्जामय बर्तमानमा म उसलाई खेदाइरहेको थिएँ र उ भागिरहेकी थिइ। उ भाग्दै गएर एउटा बिशाल पोखरिमा झ्वाम्म हाम्फालेकी थिइ। अनि तिब्रसँग पौडिँदै पोखरी तरेर पारी डिलमा पुगेकी थिई।
त्यसको माथि बेरीएको केराको पात बिचमा कतै छुटेको थियो जसले गर्दा त्यो माथिपट्टि नाङ्गै थिइ। अब त्यसको र मेरो बिचमा एउटा सिंगै पोखरी तगारो बनेर उभिएको थियो। र पारीबाट ऊ मलाई पोखरीको दूरी छिचोलेर आफूसम्म आउन चूनौती दिइरहेकी थिई। अनि म त्यो चुनौती स्वीकार्दै पौडिन सुरू गरेको थिएँ। निरन्तर पौडिदै पोखरीको मध्यभागलाई धेरै पछाडी छोडेर जब म त्यो युवती नजिक पूग्न लागेको थिए त्यो फेरि जगंलतिर भागेर बेपत्ता भएकी थिई। अनि म किनारमाथि उक्लिएर अधैर्य भएर उसलाई खोज्न थालेको थिएँ।
पोखरीको डिलभन्दा माथि रहेको घना जगंलको एउटा ढिस्कोबाट अकस्मात त्यो पुन: प्रकट भएकी थिइ। अनि पुन: मलाई त्यसरी नै एकसाथ आमत्रण र चुनौती दिइरहेकि थिई। म त्यसलाई भेट्टाउने अभिसायले झन तिब्र र अधैर्य भएर ऊ भएतिर दौडिन सुरू गरेको थिएँ। अनि त्यो घनघोर जगंलमा उसको र मेरो धेरैबेरसम्म लुकामारी चलेको थियो।
ऊ घरि रूखहरूका उचाइबाट मलाई छिल्लिदै र हाँस्दै जिस्काउँथी, घरी पहाडका कन्दराहरूबाट सिठी बजाएर मलाई बोलाउँथी। तर, उसको र मेरो बिचमा जुन दूरी थियो त्यसलाई मेटाउने मेरो प्रत्येक प्रयासलाई उसले बिफल बनाएकी थिई।
अन्ततः म थकित र निराष भएर एउटा रूखको फेदमा बसेको थिए। त्यसको केहिबेर पछि स्वयम त्यो युवती, मेरो पछाडिबाट हिड्दै बिल्कुल निशब्दसँग मेरो समिप आएर मलाइ अंगालेर चुमेकी थिई।
उसलाई यसरी सामुन्नेमा पाउँदा म हठातसँग आश्चर्यमा परेको थिए। मेरा सम्पूर्ण चेतनामा उत्साह र खुसीको संचार भएको थियो। तर मैले आफ्ना खुसीहरू अभिब्यक्त गर्न नपाउँदै ऊ बोलेकी थिई।
‘तिमी किन मलाइ यसरी दुःख दिन्छौ? किन मलाइ खेदाउँछौ?’
‘म तिमीसँग बिहा गर्न चाहान्छु..........तिमी को हौ? के हो तिम्रो नाम?’
मैले आफ्नो प्रेम, अधैर्यता र ऊ प्रतिका भावना एकसाथ एकपलमा अभिब्यक्त गरेको थिएँ। ऊ कुनै मधुर आकासवाणी जस्तो आफ्नो बोलीमा फेरि बोलेकी थिई।
‘आजराती तिमीले सुत्नुभन्दा अगाडि कुन पुस्तक पढेका थियौ?’
‘यो कस्तो प्रश्न गरेको तिमीले!’
‘याद गर तिमीले बिश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा पढेका थियौं होइन?’
म बिषयन्तरले बडो रनभूल्लमा परेको थिएँ। तर, मलाई बिस्तारै याद आएको थियो हो त मैले सुम्निमा पढेको थिएँ सुत्नुअघि।
‘हो म त्यही बिश्वेश्वरकी सुम्निमा हुँ र यो सब सपना हो।’
‘अहँ! यो हुन सक्दैन। तिमी त्यसो नभन! यदि यो सपना हो भने त बिउँझिएपछि मैले तिमिलाई गुमाउँनुपर्ने हुन्छ।’
म कुनैपनि सर्तमा त्यसलाई सपना भनेर स्वीकार गर्न र उसलाई एउटा सपना सम्झेर गुमाउन तयार थिइनँ। तर ऊ आत्मबिश्वास र कृतज्ञतापूर्वक बोल्दै जानथाली।
‘तिमिले म जस्तो पुस्तककी चरित्रलाई यति धेरै माया दियौ। त्यसमा म कृतज्ञ छु। तर यो सब सपना नै हो। तिमी एउटा पाठक नै हो र म एउटा चरित्र नै हुँ। हामो मिलन सम्भब छैन। म जादैछु। यसैपनि तिम्रो मोबाइलमा आर्लम बज्नेबेला भयो। फेरि कुनै दिन सपनीमै भेटाउँला।’
टिङटिङङङङङ......................! गरेर मोबाइलको आर्लम बजेको थियो। बत्ति बालेर हेरे बिश्वेश्वरप्रसाद कोइरालाको महान कृती सुम्निमा शिरानीमै रहेछ। अनि म धेरैबेरसम्म अचम्म मान्दै बसिसकेपछि मात्रै त्यो दिन नित्य कर्म तिर लागेँ।