कथावाचक: साँइली भनिने चन्दाकुमारी
उमेर: ४४
........
‘रत्नपार्क रत्नपार्क,’ टेम्पोको पछाडी लडुँला झैं गरेर झुन्डेको फुच्चे करायो।
चर्को घाम, धुवाँको मुस्लो र मान्छेको भीडले हायलकायल भएका आधा दर्जन जति मान्छे टेम्पोभित्र छिरे। फरियाको फेरो समाएर बल्ल बल्ल म टेम्पोमा उक्लें । भर्खर भेटिएकी रोशनी पनि मसँगै थिई। उसले हल्का अगाडी आएको कपाल झट्कारेर पछाडी पुर्याई र झर्न लागेको सल मिलाउँदै बसी।
‘गर्मी के हप्प....,’ मेरो मुखबाट फुत्कीगो।
‘त्यहि त दिदी ..नसकिने भो काठमान्डु बस्न नि’, रोशनी के कम, थपी हाली।
फुच्चेले दुइ ढ्याप हान्यो टेम्पोमा। दुखेजसरी टेम्पो घ्यार्र ग¥यो र हुत्त अघि बढ्यो। तातो हावा झ्यालबाट खुरमुरिएर भित्र छिर्यो।
कलंकी मन्दिर पनि नपुग्दै मेरो फोनको घण्टी बज्यो। टेम्पोको आवाजलाई जित्ने गरि म चिच्याएँ, ‘हलो ...के भन्छे?..पिजा काँ बाट ल्याउने हो त फेरि? ....लौ लौ भ्याएँ भने ल्याइदिम्ला .....चिज पिजा रे? ....हे भगवान......यसका मुख फेरि .......राख ल .....। हुन्छ भनें के रे त....।’
फोन राखें। मेरो ठ्याक्कै सामुन्ने बसेका दुईजना अधवैंशे पुरुषहरु मलाई ट्वाल्ल परेर हेर्दै थिए। मैले हेर्ने बित्तिकै बेसबल क्याप लगाएको दारीवालले पुलुक्क हातको घडीतिर हे¥यो। ढाकाको टोपी लगाएकोले चाहीँ मलाइ नै हेरिरह्यो।
रोशनीले सोधी , ‘छोरीको फोन हो?’
‘हो नि, काम पाइन अनि पिजा ल्याइदे भन्छे नि। हिन्न त मलाई नि साथी हुन्छ भनेकी हुँ केरे। मानिन ....घामले छाला डढ्छ रे।’
‘बिहे गर्ने बेला भ का केटीहरु त्यस्तै हुन्। अनुहारको ख्याल गर्छन् नि त...’
‘कुन चाही अन्हार नप¥याले लाने हो? अहिले स्वांग पारेर क्यार्नु? मलाई त त्यसकै पीर लाग्छ हेर बइनी....’ मेरो दुखेसो सुनियो।
‘नर्सिंग सकेकी हैन? एक से एक केटा पाइहालिन्छ नि।’
‘केटा भन्दा काम पहिले पाइदे हुने।’
‘दुइटै हुन्छ साइँली दिदी। दिन आएसी।’ रोशनीले बुझाई।
कलंकीबाट छुटेको टेम्पो कालीमाटीमा घ्याच्च रोकियो।
‘लौन छिट्छिटो जाम। अबेला भइरा बेलाँ कति रोक्या हो?’ कसैको आवाज आयो।
‘एक छिन है ....’ सय केजी जतिको भगवान दास भए भरको बल लगाएर टेम्पोमा चढ्यो। पाँचफिट जति अग्लो उसको ज्यानको मोटाइ झन्डै साँढे दुई फिट थियो। बडो स्वाँ स्वाँ फ्वाँ फवाँ गरेर चढेको ऊ मसँगै ढेपिएर बस्यो। हैट..कत्रो ज्यान हो , मैले मनमनै सोचें। मेरो आडमा बसेकी रोशनीले पनि आँखा नबिसाइ हेरी।
खलाँसीले फेरि टेम्पोमा हात बजा¥यो , ‘जाउँ जाउँ।’
‘मान्छे भर्न पुरा, एकातिर चार जना मात्रै छ त।’ डाइभर करायो।
खलाँसीले ढोकाबाट मुन्टो भित्र छिरायो, टेम्पोको एकातिर पाँच जना छन्। भगवान दास बसेकोतिर म लगायत जम्मा चार जना मात्रै छौं , तैपनि भरिएको छ सिट। उसले ध्यानपुर्वक हेरेपछि एकछिन गम्यो अनि सानो स्वरमा भन्यो , ‘दाइ अट्दैन। जाउँ।’
जाम पर्यो। टेम्पोभित्रै पनि उकुसमुकुस गर्मी भयो। चिसो हावा पटक्कै चलेको छैन। यस्तो लागिरहेछ कि सब कुरा स्थीर छन्। तरतरी निधारबाट चुहिएको पसीनालाइ भगवान दासले रुमालले पुछ्यो ् र सजिलो गरि बस्न दायाँ बायाँ हल्लियो। ऊ हल्लींदा टेम्पो पनि हल्लियो। भुइँचालो हो कि भनेर सबैले एक अर्कालाइ हेरे। एकछिन त म पनि डराएँ।
त्यति नै बेला रोशनीले भनी , ‘घर त केहि भएन नि भुँइचालोले दिदी?’
‘छैन, बलियो बनारछन् बुढाले।’
‘त्यही त। यस्तो हुँदा नि केहि नभा भन्या त बलियै हो नि...’
‘बलियो भएर के गर्नु? मैले त बेच्दीउँ भन्या ......क्यार्नी क्यार्नी...’ मेरो मनको तुष निक्ल्यो।
‘राम्रो मोल पाए त बेच्दा हुन्छ , भाडामा बस्ने, पैसामा ब्यांकमा राख्ने...’
‘काँ को पैसो ब्यांकाँ राख्ने हो र? रिन छ नि अलि अलि.....’
‘ए तबै त.....’
रोशनी सँगको कुराकानी सकिंँदै सकिएन। टेम्पो त्रिपुरेश्वरबाट सुन्धारातिर मोडियो। बेसबल क्याप लगाएको एउट अधवैंशेले झ्यापझयाप्ती पलाएको दारीलाइ चलाउँदै मलाइ निकैबेर हे¥यो र बोलि छाड्यो, ‘दिदी, नागर्जुन टोलको हो?’
‘हैन त , कल्याण टोल भन्छ करे।’ म बोलें।
‘ए....गफेन्द्र बाजेको घर छेउछाउ ....?’
‘हो हो आडमै छ । ....टेकेन्द्र भनेपछि सबले चिन्छन्।’
‘तपाइँको श्रीमान्?’ उसले सोध्यो।
‘हजुर’
.....
गफ हुँदै थियो। सुन्धारा आइपुग्यो। टेम्पोबाट भगवान दास ओर्लियो। ती दुई अधवैंशे पुरुषहरु पनि सँगै ओर्ले। तिनीहरु बेला बेलामा केही कुरा पनि गर्दै थिए । सायद साथी हुन् । भाडा दिएर जाने बेलामा बेसबल क्याप लगाउने पुरुषले भन्यो , ‘हस त दिदी गएँ।’
‘हस् हस्’, त्यति फरासिला मान्छे भेटेर होला म त खुशी पो भएँ।
टेम्पोको डन्डी समातेर खलासीले भगवान दाससँग भाडा माग्दै थियो। पन्ध्र रुपैयाँ झिकेको देखेर खलाँसीले हतपत भन्यो ‘हैन तीस रुप्याँ ’।
‘किन?’ भगवानले सोध्यो।
‘तपाँइको डबल लाग्छ नि त।’
‘ नचाहिया कुरा गर्छस्?’
‘दिनु के .....पाँच जना अट्ने ठाउँमा चार जना मात्र ल्या हैन?’
‘अरे...’भगवान पुरै कन्फयुज्ड भयो।
तिनीहरु दुईको कुराकानीले मैले हाँसो थाम्नै सकिनँ। मुख थुनेर हाँसे। छेउकी रोशनी र अरु पनि हाँस्दै थिए। निकै बेर गलफत्ती भएपछि डाइभरले सिटबाटै करायो , ‘ए छोड्दे....हिन ।’
‘भाडा नि?’
‘लि हालिस् नि पन्ध्र रुप्याँ , हिन्।।’
खलाँसी टेम्पोमा मन नलागी नलागी झुण्ड्यो।
...
शनिबारको दिन, मेरो घरको ढोकामा आएर कसैले बेल बजायो। लिली जोडले भुकी । तर त्यसको आवाज कोठाभित्रै कतै बिलायो। बुढो सरासर गएर ढोका खोले।
‘नमस्ते,’ बाहिरबाट एउटा आवाज आयो।
‘ नमस्ते , कल्लाइ खोज्नुभा हो?’ बुढोले भने।
‘तपाइँ टेकेन्द्र दाइ हैन त?’
‘हो।’
‘तपाइँलाइ नै खोजेको। अनि दिदी कता हुनुहन्छ?’
‘ए साइँली.....बाहिर निस्की त।’ बुढोले मलाइ बाहिरैबाट बोलाए।
मलाइई देख्नेबित्तिकै बेसबल क्याप लगाउने दारिवालले नमस्ते गर्यो र सम्झायो, ‘टेम्पोमा भेट भाथ्यो नि दिदी।’
‘ए ए,’ मैले सम्झें र सोधें ‘कति कामले हो?’
‘घर बेच्ने जस्तो कुरा सुन्याथें। त्यसकै लागि आएको। मेरो नाम श्याम सुन्दर हजुर। आजसम्म ७५ वटा घर किनबेच गराएँ हुँला। भन्नुहुन्छ भने म आजै मान्छे लिएर आउँछु।’
‘कल्ले भन्यो तपाइँलाई?’ बुढो त कड्किए।
‘वाँ दिदीले। ....सोध्नु न नपत्याए।’
‘हो?’ बुढोले हप्काए जसरी मलाई सोधे।
‘हैन काँ हुनु? ’ थोरै डर लाग्यो।
‘भन्नुभाथ्यो टेम्पोमा ..। नत्र मेरो कानले कसरी सुन्थ्यो? ठिकै छ यो मेरो कार्ड हजुर। घर जग्गा मिलाउने सानोतिनो एजेन्ट। लिउँ लिउँ। अब म कहिले आउँ त ? चिन्ता नगर्नुस..राम्रो पैसा मिलाउँछु म।’
‘ठीकै छ, म पछि भनुँला तपाइँलाई। है? ’ बुढो पन्छिए।
‘हस्। ’श्यामसुन्दर बाटो लाग्यो।
मेरो बुढो र म चुपचाप बैठक कोठामा उभियौं। न उनी बोले न म। एकछिन कोठामा घुमेपछि बुढोले चल्दाचल्दैको टिभी अफ गरे। ‘त्यो मान्छेसँग घर बेच्ने कुरा ग¥या?’ उनी रिसाए।
‘के खान गर्दा हुम? त्यहि रोशनी भेटिएकी थिर्ई, त्यहीसँग सुख दुखका कुरा गर्याथेँ।'
‘एक दुई लाख रिन हुँदैमा घर बेच्छ कसैले?’
‘कल्ले भन्यो र बेच्छु भनेर?’
‘च्व...तेरो यही बानी मलाई मन पर्दैन क्या।’
‘तपाईंका चाहीँ छैनन् र त्यस्ता बानी?’
‘मुख नचला।’
‘जा चिया बना।’
‘आफैं बनाउनु नि। हात छ क रे।’ मलाइ रिस उठ्यो।
‘कुन बेलाँ आँखा फुटेछ मेरो।’
‘मेरै फुट्या नि। के तपाइँको?’
विवादको उत्कर्षमा फेरि घरको बेल बज्यो। म झस्कीएँ। बुढो पनि मलाई नै हेर्दै थिए। लिली सानो अवााजमा फेरि भुकी। ‘जा त्यहि मान्छे होला। ’बुढोले भने। मुखभरिको जवाफ फर्काउने सुरले म हुत्तेर बाहिर पुगें।
‘नमस्कार !’ टेम्पोमा भेटिएको ढाकाको टोपीवाला अधवैंशे संघारमा उभिएर बोल्यो।
‘नमस्कार , के काम थियो?’ म अलमलिएँ।
‘टेम्पोमा के त दिदी? चिन्नुभएन?’
‘भन्नु न के हो?’
बुढो पनि ढोकामा देखिए।
‘घर त बिक्रिमा छैन यो।’ मैले भनेँ।
‘काँ म घर को लागि आको हो त? म त हजुरहरुको छोरीको लागि आएको। घर पत्ता लगाउने गाह्रो भएर , धन्न टेकेन्द्र दाइको नाउँ पसलमा सोधेर ।’
‘म नै हो टेकेन्द्र। ’बुढो बोले।
‘नमस्कार दाई। हेर्नुस् न , म यसो टाकनटुकुन लमीको काम गर्छु। अमेरिका बस्ने केटाहरु छन्। नर्स केटी चाहियो भनेर भुतुक्क। सारै प्रेसर आएर तपाइँको घर खोज्दै खोज्दै आको। के छ विचार? मसँग फोटाहरु नि छन्। भित्रै बसेर हेर्ने कि?’
‘हैन अहिलेलाई ठीकै छ। छोरीले बि एन गरेकै छैन।’ म भनुँला नि पछि।
‘भइहाल्छ नि , यो मेरो कार्ड हजुर।’ लमीले कार्ड दियो।
‘धन्यवाद।’
‘हजुरहरुको नि नम्बर पाउँ न। आइरहनु भन्दा यसो फोनमै कुरा हुने।’
पहिले त लमीको कुरा सुने नसुने झैं ग¥यौं। तर त्यसले दिक्क लगायो। नम्बर दिने कि नदिने भन्नेमा हामी बुढाबुढी आँखैले बाझ्यौं। अन्तमा कुरा लम्ब्याइरहनुभन्दा नम्बर दिएर पन्छाउनु ठिक ठानेर होला बुढोले नम्बर दिएर पठाइदिए।
...
‘यो चाहिं के हो?’ लमी गइसकेपछि बुढोले सातो खाए।
‘खै?’ मैले भनें।
‘छोरीको बिहेको कुरा नि गर्न भ्या?’
‘गरेकै छैन?’
‘नत्र आउँथ्यो घराँ? कमिशन कुम्ल्याउन आको यो।’
‘अब क्याुर्न त मैले?’
विवाद भइरह्यो। रिसारिस। एकअर्कालाइ दोषारोपण। ठूल्ठूलो स्वर र बेला बेलाको ठाडो बचनले घरको कोठा थर्कियो। लिलीले चुपचाप हाम्रो मुख हेरिरही। अघि भर्खरसम्मको त्यसको भुकाई बन्द भयो।
बिहान ९ बज्दै थियो। घरको टेलिफोन बज्यो। बुढो दिक्क मान्दै गए र उठाए ।
‘टेकेन्द्र दाइ हो? ’ फोनमा सोधियो।
‘हजुर हो , म नै हो। ’
‘घर बेच्ने रे भन्ने सुनियो।’
‘कल्ले दियो तपाईँलाई नम्बर?’
‘पाइहालिन्छ नि हो, ठूलो कुरै भएन नि... ’
‘याँ केही बिक्रिमा छैन, फोन राख्नुस्।’
‘हुन्छ भने भन्नुस है , गज्जब अफर छ।’
‘थैत।’ बुढोले रिसाएरै फोन राखे।
‘खाना खान आउनु।’ फोन राख्ने बित्तिकै मैले बोलाएँ।
‘खा आफैं।’ त्यो श्यामसुन्दरले सबै दलालहरुलाइ कुरा फुत्काइसकेछ। त्यो लमीले नम्बर पनि सबैलाई फुत्साइक्यो जस्तो छ। अर्कैले फोन गर्दै थियो अहिले। तैंले पनि मलाई नराम्ररी डुबाइस साइँली। बुढोले टाउकोमा हात राखे।
फोन बज्दा खुशी लाग्थ्यो। अहिले त्यो डरमा परिणत भयो। तनावमा बदलियो। तर फोन प्रायःजसो बजि नै रह्यो। घरी घर बेच्नको लागि घरी छोरीको बिहेको लागि। एकदिन दिउँसो पनि फोन बज्यो। एउटा दलालले चिप्लो पाराले घरको कुरा निकाल्यो। मैले देख्दादेख्दै बुढोको अनुहार रातो भयो। तर उनले रीसलाइ दबाउँदै भने , ‘हस् , आउनुस न त।’
मलाई त अचम्मै लाग्यो ‘बेच्ने नै हो र? ’
‘हो नि अब। के गर्नु त? दिक्क बनाएपछि। एक दुइ लाख भए नि रिन तिर्ने अनि डेरामा बस्ने।’
बुढोको कुराले मनमा एउटा ठूलै भुइँचालो गयो।
साँझपख दुई जना मान्छेहरु आए। दुवैले कोट र प्यान्ट ढल्काएका थिए। तर तिनीहरु कम्पाउन्डभित्र पनि नछिरी गेटमै उभिइरहे। टाउको कन्याए। एकछिन दायाँ बायाँ हेरे। गेट बन्द थियो अनि गेटमा ठूलो अक्षरले लेखिएको थियो, ‘छोरीको बिहे पछि यहाँको परिवार घर बेचेर अन्तै बसाइँ सरेको छ ।। क्षमाप्रार्थी: टेकेन्द्र र चन्दाकुमारी (साँइली)।’
एउटा मान्छेले गेटमा लेखिएको अक्षर नियाल्दै मोबाइल निकालेर घरमा फोन गर्यो। बुढोले कोठाभित्रबाट बाहिरको सब चर्तिकला हेरिरहे र आनन्द मानिरहे तर बजिरहेको फोन उठाउँदै उठाएनन्। मैले पनि वास्ता गरिनँ।
एक महिनापछि म किनमेलको लागि फेरि रत्नपार्कतिर हिंडे। त्यसरी नै टेम्पो चढें। टेम्पोमा टुप्लुक्क भेटीए उज्वल बाबु। मेरो छिमेकी। ‘ओहो भाउजू सन्चै? कता हो?’ उनले भने।
‘ठकि छ ’मैले हातैले पार लगाएँ।
‘के भयो? वर्त सर्त केही छ कि भाउजुको? ’
‘त्यस्तै यस्तै ,’ मैले फेरि मुस्कान फयाँके तर केही बोलिनँ। उनी अचम्म मान्दै मलाई हेर्दै थिए। शायद ठूलो मान्छे भइछे भन्ने पनि ठाने होला। ठानुन् जे ठाने नि।
म चुपचाप रत्नपार्क पुगेर ओर्लें र सरासर भोटाहिटी भित्र छिरें।