'जति चाँडो गर्छु भने पनि साँझ त परिहाल्यो। यो नाथे प्राइभेट अफिस यस्तै हो। न छुट्टी हुने निश्चित समय हुन्छ न त अफिस लाग्ने। गोरु जोतिए जसरी जोतिनु पर्छ। तलब भने मुखमा माड लगाउने जति पनि हुन्न।' आरती आज पनि अफिसबाट घर फर्कने बेला सँधैझैँ फतफताइरहेकी छे। उसको बानी हो एकोहोरो संवाद गर्ने। अझ त्यो संवाद साँझ झिमिक्क भइसकेपछि ह्वात्तै बढ्छ। उ घरबाट लगभग आधा घन्टाको दुरीमा रहेको एउटा प्राइभेट फर्ममा काम गर्छे। हाकिमकी सहयोगी भएर। पर्सनल एसिस्टेन्ट भन्छन् उसलाई। बोसको रुमबाट घन्टी बज्ने बित्तिकै पुग्नपर्छ उसले। कामको चटारो खासै नभएको बेला झन् बेफुर्सदीझैँ हुन्छे। बोसलाई बेकाम बस्न झिँजो लाग्छ रे त्यसैले त बोस आरतीलाई बोलाएर बेकारको लामो गफ गर्छ। जान्छु भनेर निस्कन खोज्दा अल्याङटल्याङ गर्छ र भन्छ– भोलिदेखी नआउनु। त्यस पछाडी त आरतीलाई बस्न करै पर्छ। नत्र उसले आमाको औषधी खर्च, घर खर्च कसरी जुटाओस्।
आज त घर पर्याईदिन्छु पनि भनेन शोषकी। श्रम शोषण गर्न मात्र जानेको छ। आरती अफिसबाट निस्किएर पैदल हिँडिरहेकी छे। गाडीभन्दा हिँडेर चाँडो पुगिन्छ भनेर उसले गाडी चढ्ने गरेकी छैन। उसो त उसले गाडी नचढ्नुको पछाडि धेरै कारणहरू छन्। भाडामा पैसा सर्लक्कै सकिन्छ। त्यो गाडीभाडाको पैसाले उसलाई बत्तिको बिल तिर्न पुग्छ। अनि अर्को मुख्य कुरा त साँझबेला गाडी चढ्यो भने टिल्ल परेका केटाहरुले उसको इज्जतमाथी धावा बोल्छन् भन्ने पनि उसलाई डर लाग्छ। अस्ति नै एकपटक गाडी चढ्दा उसको पर्स र मोबाइल हराएको कुरा पनि उसले भुलेकी छैन। न त उसले गाडीबाट झरेर घरसम्म पुग्दा उसलाई पछ्याएका चारपाँच केटाहरुले गरेको दुर्व्यवहार नै भुलेकी छे। बाटो छेउमा प्यासेन्जर कुरिरहेको बसलाई हेरेर आरतीअघि नै हिँडिसकेकी छे। उसलाई देखेर खलासीले बोलाएको थियो 'आउ न मैँया सिट खाली छ।' त्यो खलाँसी त्यही त थियो जुन गाडीमा अफिस जान ढिलो भयो भनेर चढ्दा उसको हात समाएको थियो र उ लाजले रातै भएकी थिई। त्यस्तै रातो पारिदिएकी थिई उसले पनि खलाँसीका गाला। आज पनि उसले खलाँसीलाई वचन लगाउँदै धारे हात लगाएर बाटो तताएकी थिई।
'बोस–सोस पनि के भन्ने सालेले घर पुर्याइदिन्छ भनेर अस्ति नै एकपटक गाडीमै जबर्जस्ती गरेको थियो। मुर्दार।' आरतीले अफिसबाट हिँडेको करिब पाँच मिनेट भइसकेको छ। सुनसान गल्लीहरून्ााघेर मेन रोड समाएर पनि उ निकै अगाडि बढिसकेकी छे। उसलाई सबैभन्दा डर लाग्छ मान्छेहरूभएको ठाँउमा हिँड्न। एक्ली केटी साँझमा, एक्लै लखर लखर जोखिमपूर्ण यात्रा गरिरहेकी हुन्छेे। त्यो उसको विवशता हो। जानाजान ज्यानै जोखिममा पार्न त को चाहान्छ र? तर बाध्यता परेपछि धरापमा हिँड्न पनि हिच्किचायो भने झन् दुःखको महासागरले थिचिहाल्छ भन्ने कुरा पनि उसले बुझेकी छे।
मेन सडकका बत्तिका पोलहरुमा बत्ति निकै थोरै छन्। भएका बत्तिहरूपनि हरर फिल्ममा तर्साउन झिमिक झिमिक पारेझैँ झिम्किरहेका छन। जल्न लागेर हो की? आरतीले यसो भनेर चित्त बुझाएको पनि धेरै भइसकेको छ। तर बत्ति जलेका छैनन्। आज पनि त्यही बाटो छिचोल्दै गर्दा आरतीले आफ्नो छायाँ छिन मै हराउँदै छिनमै आउँदै गरेको देखेर बुझिसकेकी थिई अझैं बत्ति जलेका छैनन्। उसले बत्तिका एक दुई पोलहरू नाघिसकेर एकपटक वरिपरि बस्ने मान्छेलाई ललकारेकी पनि थिई 'घरमा बत्ति बालेर ढुक्क छन। सडकमा बत्तिको यो हालत छ। कस्ता निर्लज्जहरु।' लगतै उसले सम्भि्कएकी थिई आफ्नै घर छेउको गल्लीको एउटा पोलको बत्ति पनि यसै गर्छ। आँखा झिम्क्याएझैँ। अझ भनौँ क्यामेराले फोटो खिचेझैँ गर्छ। उसले तत्पश्चात निश्चय गरेकी थिई भोली बिहानै नयाँ चिम लगेर फेर्दिन्छु।
भर्खरै एउटा मोटरसाइकल हावाको बेगभन्दा चाँडो बत्तिएर गयो। दाँयाबाँया ढलपल गर्दै। आरतीलाई त्यसरी बाइक कुदाउनेदेखि सबैभन्दा बढ्ता रिस उठ्छ। उ भन्छे –हत्केलामा ज्यान राखेर बाइक कुदाउँछन। कुन दिन कहाँ सकिन्छन। ऐया भन्न पनि पाँउदैनन्। डाँकाहरु। बाइक कटेपछि एउटी भर्खरकी केटीले पनि उसलाई कटेर गई। त्यो केटी हिँडेकी थिई या कुदेकी आरतीले छुट्याउन सकिन। कुदेकी हो कि भनेर एकपटक पछाडी फर्किएर हेरेकी थिई लखेट्ने कोही त थिएनन्। कुदेकी केटीको चप्पल बजेको केही पछिसम्म सुनेकी थिई आरतीले। तर उ खासै उसबारे गहन सोचमा डुब्न नचाहेर हो कि एक तमासले हिँडिरही। केही मिनेट थप हिँडेपछि अर्की केटी पनि हस्याङ्फस्याङ् गदै गई। उसलाई त एउटा कुकुरले लखेटेको पनि थियो।
अब भने आरती सोचमग्न भई। किन भागिरहेछन् केटीहरू? बाघ, भालुले लखेट्यो भनौँ भने स्याल पनि देखिँदैनन् सहरमा। कुकुरदेखि डराएर त कोही किन भागोस्? पक्कै कुनै केटाले मर्दाङ्गी जाँचेको हुनुपर्छ। त्यसपछाडी त उसले पनि पाइलाहरू साइकलको पाइडल रफ्तारमा चलाएझैँ चलाई। एकैछिनमा उसको सास फुल्यो र फेरि रोकिई। पछाडि फर्केर हेरी कोही त थिएन। सब सुनसानमात्र। यसरी बेकारमा कुद्नु नालायकी हो जस्तो लाग्यो उसलाई र धिमा गतिले सुस्तरी हिँड्न थाली। उसलाई भीडदेखी डर लाग्छ, सुनसानदेखी होइन उसले मनमनै यो कुरा सम्झेर मन दह्रो बनाई। रोड सुनसान छ उ अब किन डराओस्। झन सुनसान खेत आँउदै छ। जुन खेत कटेर उ एउटा बस्तीमा पुग्छे र गल्ली छिचोल्दै जस्ताले छाएको आफ्नो घरमा पुग्छे। सरदर पाँच मिनेटको दुरी त छ नि अब।
एउटा कुकुरलाई भर्खरैमात्र दुइवटा कुकुरले लखेटेका थिए। आरती एकछिन त अलमल्ल परी। उसले एकपटक भनेकी थिई निर्धोलाई बलियोले सधैं थिचोमिचो गर्छ। तर केही पछाडि नै उसले आफ्नो विचारलाई परिवर्तन गरी र भनी – कुकुर र मान्छे एकै हुन्। विपरीत लिङ्गीलाई देखेपछि झम्टिहाल्ने। उसलाई एकछिन कुकुर्नीको दया पनि लाग्यो। उसले च्व.. च्व.. च्व.. गरेर भँगेराकोजस्तो आवाज समेत निकालेकी थिई। अनि रोड छेउबाट ढुङ्गा खोजेर दुइवटा कुकुरलाई हिर्काएकी थिई। कुकुरहरू अचम्मको आवाज निकालेर कुुदेका थिए। कुकुर्नीले एकपटक आरतीलाई हेरेर पुच्छर हल्लाएकी थिइ। आरती कत्ति खुसी भएकी थिई कुकुर्नीको इज्जत रक्षा गरेकोमा। झिमिक झिमिक गरेको बत्तिमा उसको अनुहार खुशीले धपक्क बलेको देखिन्थ्यो।
एकछिन उसलाई पछ्याएर कुकुर्नी फर्किएकी थिई। आरतीले पनि खेतको बाटो हिँड्न सुरु गरिसकेकी थिई। उसले खेतमा ओर्लिँदै सडकतिर हेेरेर भनेकी थिई –यो बाटो हत्याराको घर जान्छ, बलात्कारीको घर जान्छ, चोरको घर जान्छ।' अनि खेतको बाटोतिर हिँडेको केहीबेरमा भनेकी थिई –यो बाटो मेरो घर जान्छ।' आकाशमा टहटह जुन लागेका छन्। वातावरण सौम्य छ, शान्त। साँझमै सबै सुतेकाजस्तै छन्। खेतका धान चिसो बताससँगै हल्लिएको अलिअलि मात्र देखिन्छ। अनि रुखमा लोखर्केले हिँडेर खस्रयाकखुस्ा्रक गरेको पनि सुनिन्छ। चराहरू आफ्ना बचेरासँग कुनै रुखमा गफ गरिरहेको पनि आरतीले सुन्छे र भन्छे –म पनि यसैगरी चाँडै घर पुग्छु। आमाले पकाएको खान्छु र आज तलब ल्याएको खुशीमा किनिदिएको सुतिको सारी दिन्छु। उसले तलब लिएर फर्किँदा बाटोमा आमाले सारी लाउन रहर गरेको सम्भि्कएकी थिई र एउटा हरियो धोती किनिदिएकी थिई जसलाई उ सारी भनेर गद्गद् भएकी थिई।
धानका बालाहरुमा ठोक्किएर आएको बताससँग रमाइरहेकी थिई। गाँउदै थिई कुनै गीत। चराहरुले चिरबिर गरेकोझैँ सुष्क आवाजमा। सुनसान ठाँउमा उसको सानो आवाज पनि ठूलो हुन्थ्यो। तर उसलाई त्यसको कुनै पर्वाह हँुदैनथ्यो। किनकी त्यहाँ उसलाई सुन्ने कोही हुँदैनथ्यो। रातको बेला एक्लै रमाउन पाउने भएर न हो उसले खेतको बाटो रोजेकी। उसलाई उसकी आमाले त एकपटक झपारेकी पनि थिईन। 'छोरीमान्छे भएर रातिराति घर आँउछे। त्यो पनि सुनसान खेतको बाटो।' तर आरतीले अटेर गरेको गरै गरेकी थिई। अर्कोपटक त आमाले खेतमा त रात परेपछि मसान घुम्छन् पनि भनेकी थिइन्। आमाको कुरामा आरतीले भने रत्ति पनि विश्वास गरेकी थिइन्। उ सँधै खेतकै बाटो आउजाउ गर्थी कतै चरोमुसो देख्तिन थिई। उ भन्थी –आमा पनि बेकारमा कराउँछिन्। सडकमा पो सैतानहरू हिँड्छन रातिराति। खेतमा को हिँडुन।'
बीच खेतमा आइपुगीसकेकी थिई। गीत गाँउदै। आज त उसको स्वर झन् खशीले भरिएको थियो मीठोलाग्दो र लोभलाग्दो भाका फुरिरहेका थिए उसको मुखबाट। 'लहलह धानै झुल्यो हावा चल्यो मनैमा, नाचँु नाचँु लाग्न थाल्यो हे सहेली धानको तालैमा।' उ अनेकन यस्तै गीत बनाँउथी र रत्तिँदै हिँड्थी। आज झन तलब पाएर खुशी थिई, उन्मत्त। खुशी नहोस् पनि किन? उसले आज तलब बुझिसकेपछि पसलमा छिरेर नरिवल, छौगेडा काजु बदाम र किसमिसको एक प्याकेट किनेकी थिई। उसकी आमाले कत्ति पटक काजु, बदाम खाने भनेर आग्रह गरेको उसले भुलेकी थिइन?
खेत सकिनै लाग्दा परिस्थिति उसको प्रतिकुल भयो। सुनसान खेतमा साँझपरेपछि उ बाहेक कोही हिँडेको उसले देखेकै थिइन्ा। तर उसको ठीक दश आठ फुट अगाडि आज उसले कालो आकृति देखी। उसलाई निकै डर लाग्यो। मसान नै हो कि भनेर उसले गायत्री मन्त्र पनि पढी। हातका चुरालाई पनि बजाई। जय शम्भु, नारायण त उसले कत्तिपटक भनिसकेकी थिई। आँखा मिचेर एकपटक खोलेर पनि हेरेकी थिई तर कालो आकृति त्यहीँ थियो। उसले एकपटक मनमनै भनी –यो म मात्र हिँड्ने बाटोमा कसका आँखा लागे। आफू बच्न सुनसान रोजेँ, सुनसान त झन् भयानक हुँदो रहेछ। उसको मुटुको धड्कन एकदमै तेज भयो। पैतालादेखी शिरसम्म धड्कन अनुभव गर्न सकिने भयो। बाहिरै आवाज निस्किएलाझैँ गरी पो उफ्रिरहेको थियो मुटु, उफ्रिन पनि। उ चिटचिट पसिनाले गर्दा लफ्रक्कै भिजी सकेकी थिई।
उ चुपचाप उभिरहेको नजिक त्यो कालो आकृति आइपुग्यो। उ डरले थुरुरुर काँपी। कालो आकृतिलाई उसले ठम्याउन सकिन। उसले के चाहीँ थाहा पाइसकेकी थिई भने आकृति एक युवकको थियो। उसकै उमेरको। उ झन अँात्तिई। हंशले ठाँउ छाडेजस्तै भयो। उसले चिच्याउन नखोजेकी पनि होइन तर मरे आवाज निस्केको भए त? कतै घाँटीमै अडि्कयो। होस हवास उडिसकेकी आरतीले त्यसले जे गर्छ गरोस भनेर आत्मसमर्पण गर्नेसम्म सोच्न भ्याइसकेकी थिई। युवक उसको छेवैमा आएर करायो 'जे जे छ निकाल्।' आरतीले कुनै ढिलासुस्ती र आनाकानी गरिन। ब्याग दिई। आमालाई भनेर ल्याइदिएको सारी र किसमिसको झोलालाई भूईंमा राखी। कानबाट मुन्द्री निकालेर दिई। हातबाट बाला आजै किनेको। अनि नाँकको फुली पनि त दिई नि। त्भँुइमा राखेको सारी र किसमिस बोकेर उ हिँड्न लागेकी थिई त्यो केटाले उसलाई ती समान पनि छोड्न लगायो। सामान लिएर चोर बेपत्तासँग भाग्यो र एकैछिनमा ओझेल भयो।
आरती हतार–हतार गर्दै घर पुगी रित्तो हात। चोरी होला नै भनेर किसमिसको प्याकेट प्वाल पारेर लुकाएको महिनादिनको तलब पनि लुटिएको थियो उसको तर पनि उसलाई त्यसको खासै मतलब भएन। त्यसरी हतासमा असिनपसिन भएर घर पुगेको देखेर ढोका खोल्दै आमाले सोधिन् –के भयो?
आरतीले एकपटक लामो सास तानेर भनी –सबै लुटिएर पनि म लुटिइनँ।
आमाले डर र मायाको सम्मीश्रीत भाव एकैपटक अनुहारमा अवतरित गराएर भनिन –धन्य रहेछ चोर। घरभित्र छिरेर ढोका लगाउँदै गर्दा उसले देखी उसको घर छेउको पोलको बत्ति आज भने पुरै जलेको देखिन्थ्यो।