कम पीडा र औडाहा भयो होला प्रथम अक्षर निर्मातालाई ?
आफूले खोजेर अँध्यारो गर्तबाट निकालेको अक्षरलिपि प्रयोगको खुसीमिश्रित भाव र संसारलाई देखाउँने उत्कण्ठ अभिलाषा। जसले, जसरी, जहाँ र जहिले अक्षरको श्रीगणेश गरेको होस् उसलाई आफ्नो त्यो चेतनाको बाली काट्न र समाजले विश्वास गर्ने बनाउँन कम्ति पसिना खर्चिनु परेन होला ?
इतिहास बोल्दैन। यदि सुगालेझैँ ट्याउँट्याउँ बोल्ने र हामीले बुझ्ने हो भने अक्षर आफैँले आफ्नो नालिबेली कहिरन कहने थियो। अक्षरको इतिहास लघु पक्कै होओइन। हामीलाई, चेतना चिन्ने मानिसले नै अक्षरको इतिहासका पानाहरू यति जतन गरी राखिदिएका हुन् कि हामीले हाम्रो भावनाको ऐलान गर्ने यी महान् सर्वहारा र सर्वप्रिय अक्षरलाई सम्मान र अभिनन्दन गर्नैपर्छ। हाम्रा मनोभावनाहरू गोडमेल गर्ने यी क्रान्तिकारी धार बोकेका अक्षररूपि हतियारहरूलाई हामीले स्यालुट गर्नैपर्छ। यिनीहरूको आस्था अनि विश्वास भविष्यमा जोगाइराख्न यिनको धरोहरलाई सुरक्षित राख्नुपर्छ। अक्षर चिनेका हामी सबै साक्षर र शिक्षित सबैको परम् कर्तव्य नै यही हो।
अक्षर आस्था हो। अक्षर विश्वास हो। अक्षर जीवन हो। अक्षर मृत्यु हो।
अक्षर नै प्रेम हो। अक्षर नै घृणा पनि हो। अक्षर आग्रह र पूर्वाग्रह अनि विग्रहसमेत हो। युद्ध पनि अक्षर हो र शान्ति पनि अक्षर हो।
परा र अपरा विद्या अक्षर नै हो। वेद अक्षर हो। बाइबल अक्षर हो। कुरान पनि अक्षर हो। त्रिपिटक अक्षर हो अनि जेन्दाअवेस्ता पनि अक्षर नै हो। आदि अक्षर हो। अन्त्य पनि अक्षर नै हो।
ओम् अक्षर हो। गड अक्षर हो। अल्लाह अक्षर हो। ओम मणि मद्मे हूँ पनि अक्षर नै हो।
सृष्टि अक्षरमा नै रमाउँछ भने विनाश अक्षर मै विनासिन्छ।
अणु अक्षर हो। परमाणु पनि अक्षर हो।
संसारको सबैभन्दा शक्तिशाली अश्त्र भनेकै अक्षर हो। शक्तिशाली कानुन भनेकै अक्षर हो। शक्तिशाली सन्धि भनेकै अक्षर हो। अक्षरको बल जति छ त्यति बल आजसम्म अरू कुनै चिजको पनि छैन। जे छ अक्षरमा छ। जे छैन त्यो पनि अक्षरमै छ। त्यसैले अक्षरको चरू हवन गर्ने मानिसलाई ज्ञानी र हवन नगर्ने स्वाँठ कहलिन्छ –अज्ञानीका रूपमा।
वनका रूखहरू जति सबै वनौषधि भएझैँ अक्षर सबै एउटा न एउटा श्लोक र सूक्ति भएका छन् –ज्ञानी र प्रज्ञानीका लागि।
संस्कृतमा एउटा ऊक्ति छ –स अक्षर इति साक्षर अर्थात् जसले अक्षर चिनेको छ ऊ नै साक्षर हो। आजको मानिसले अरू प्राणीका तुलनामा यति बोलाबाला आफूलाई बनाएकै अक्षर शक्तिले हो। जानेमा अक्षर अश्त्र हुन्छन् जसका मद्दतले प्रहार गर्न सकिन्छ जानिएन भने उल्टै आफूतिर सोझिन्छ –अक्षर हतियार भएर। कतिपय अवस्थामा आफैँले फालेका बुम¥याङ् हतियार झैँ अक्षर फर्किन्छन्। आफैँतिर।
अक्षरका आँखा हुँदैनन्। अक्षरका मन र मस्तिष्क पनि हुँदैनन्। अगम्य छ यसको पराक्रम। कमनीय पनि छ –यसको महिमा। अक्षरमा के छैन सबै छ। गीत छ। संगीत छ। लेखन कला छ। अभिनयका नौरस छन्। शासकका हुङ्कार र शासितका अनुनय पनि छन्। अक्षरमै यौनेच्छाको प्रणय निवेदन र समाधीको तृप्ति पनि छ। अक्षरमै ममता र घृणा छ। अक्षरमै शत्रु र मित्रु मात्र होइनन् ताली र गाली पनि सन्निहित छन्।
खेतीपाती या कृषि कार्यजस्तै हो अक्षरहरूको विनिमय। म यतिखेर मेरो जीवनमा सर्वाधिक महत्व राख्ने अक्षरहरूको खेतीमा निमग्न भएर लागेको छु। मलाई मेरो पेसा, परिवेश, साथीसँगाती र आफन्तहरूले केवल लेखनका विषयवस्तु दिएका छन्। मैले अक्षरहरूलाई फकाइफुल्याई गर्न थालेको अहिले अढ्तीस वर्ष भएछ। म आफ्नो जीवनको चार वटा भोटा फटाउँन पनि नपाउँदै नाकमा सिँगान सुँक्कसँुक्क गर्दै तानेर सिकाइको त्यो आदिम पाठशालामा गएको थिएँ जहाँ म जत्रा साथीसँगीहरू मेरो परिवेशको वरिपरि सिलोट र खरी बोकेर मझैँ बोरामा बसेर बिलकान्ने क, खरायो ख भनेर कनिकनि कराइरहेका थिए।
शिक्षा विकासमा आजको समयमा यति विकास होला भनेर मजस्तो हिजोको लेखकले पनि सोचेको थिइनँ सायद तर आजको चकाचौँध विकास र उन्नति हेर्दा हामीलाई आफ्नो बाल्यकालको वर्णन गर्न पनि लाज लागेर आउँछ। साथीहरू जो अलिअलि असम्पन्न र गरिबगुरुवाका बचेरा थिए तिनीहरू विचरा बाउ र हजुरबाउहरूले भात खाँदा ओच्छ्याउने पिरालाई सुकाइवरि स्कुल ल्याउँथे र त्यसमा सडकको मिहिन धूलो हालेर सिन्काले कोर्दथे। मैले आफैँले देखेको त होइन तर सुनेकोसम्म के हो भने हामीभन्दा अलि अगाडिको पुस्ताले बाँसको पट्याँसमा अँगारले पनि कोरेर आफ्नो ज्ञान सिक्ने मृगतृष्णालाई शान्त पारेको थियो रे ! मलाई त के लाग्छ भने म तिनताक अलि हुने खाने वर्गमा पर्दथेँ। मैले क्यापिटल कापी र धर्के डट पेनकोसम्म प्रयोग भ्याएँ तर मसँगै मेरो स्कुलमा पढ्ने बाल दौँतरीहरू बरा ! कोही सिलोट पाटीको यात्रासम्म गर्न सक्ने भएका थिए भने कोहीकोही त धूलौटे पाटीमै थिए। जीवनलाई आज फर्केर हेर्दा यस्तो लाग्छ कि त्यो त सत्य जित रे को पाथेर पञ्चाली सिनेमाझैँ श्यामश्वेत बनेर अहिले हामीलाई रोमाञ्चित बनाइरहेको छ।
मैले जबदेखि अक्षरको बिस्कुनलाई केलाउन कुलाउन र निफन्त जाने त्यसपछि मलाई के लाग्यो भने यो त जीवन अभिव्यक्त गर्ने मिठो कला पो रहेछ। मैले यहाँ सिकन्दरको विश्वविजयी सपनाभन्दा पनि निकै मूल्यवान् सपनाहरू सजाउन थालेको छु। मलाई लाग्छ अक्षरनै यो संसारको अशल सारथी हो जसले आफूलाई जहाँ लैजाने हो त्यहीँ लगिदिन्छ। यसमा मनचिन्ते झोलीमा हुने तागत एवं पाइन हुन्छ। एकपटक एकजना साथीले सानैमा भनेको प्रसङ्ग झल्झली सम्झन्छु। तिनी सहजताका साथ भन्थे –‘लेख्न के छ र ? कदेखि ज्ञसम्मका अक्षरहरूलाई अआइईसँग जोडजाड पारेरै बनाउने र कथ्ने त हो नि।’ कति ज्ञानीजस्ता लाग्थे उसबेला ती बाल समालोचक तर अहिले आएर भनेको बेला आफूलाई लेखनको प्रशवपीडाले रुनुझुनु गरेका बेला विषयवस्तुअनुसारका रचना कोरल्न नसकेका समयमा कम्ति छट्पटी हुँदैन। साथीको जीवनलाई टेलिस्कोप लगाएर हेर्छु ती बरा महालेखा नियन्त्रकको कार्यालयमा लेखापालको जागिर गरिरहेछन् र काठमाडौँको कपनतिर घर बनाएर बसेका छन्।
लेखनमा त फ्रान्सका तात्कालीन लुई चौधौँ राजाजस्तो मुढे ऐलान गरेर उनैको ‘मनै राज्य हूँ, मनै कानुन हूँ, म जे बोल्छु त्यही नै कानुन हो’ (जस्तै भावमा हामी यसो भन्न सक्दैनौ, मनै लेखक हूँ, मनै विषयवस्तु हूँ, म जे लेख्छु त्यही नै साहित्य हो) स्थितिको अब दुःखान्त अवसान भएको छ। मानिसहरू यो बजारवादको युगमा पोलिथिनका झोलाहरूमा बजारबाट भोक र तृष्णाहरू खरिद गरेर बाँचिरहेका छन्। तिनीहरू ससाना र हृदयस्पर्शी कविता, गीत र मुक्तकभन्दा अरु लामालामा सिर्जनालाई ती जतिसुकै मिठा र चसक्क मनलाई छुने नै किन नहुन पढ्न त परै जाओस् छुनसमेत तर्सिन लागेका छन्। हाम्रो समाजमा ओखती किनेर खान नसक्ने मानिसहरूलाई मेरै आँखा भरिभरि देखेको छु। अनि मैले कसरी विश्वास गरिदिनु कि मैले कनिकुथी कन्स्टिपेसन भएका बेला कनेर गोटा परेका बड्क्यौँले दिसा गरेझैँका बल गरेर लेखेका भावोपयोगी रचनाहरू पढलान् भनेर। तर यसो भनेर मेरो बजार र नियतिले मलाई मेरो लेखन मिसनको यात्राबाट एकरत्ती पनि तर्साउन सक्दैन किनकि मैले लेखनलाई अब नशा बनाइसकेको छु। जुनसुकै वाद, विवाद, प्रतिवाद र संवादको सामना गर्नु नै किन नपरोस् म मेरो लेखनलाई सन्तुष्टिको सास फेर्दै क्रमशः अगाडि बढाउँन चाहन्छु।
मलाई ज्ञात छ कि संसारमा एउटा लेखकको सबै कृति प्रशंसित र विवादित हुँदैनन्। जब एउटा लेखक सफलताको शिखरमा चढ्दछ त्यसपछि नै उसका अरु हावीजावी कृतिहरू भएभरका पाठकहरूले डल्लो परेर किनेर पढ्दछन्। अहिलेको समय चर्चा र विज्ञापनको समय पनि हो। नत्र यतिका विज्ञापन एजेन्सीहरूले सहरमा आफूलाई कसरी टिकाउँन सक्छन्। ती पनि त यहाँ हातमा खरानी बोकेर सत्सङ् गर्न पक्कै आएका होइनन् होला। हुन् त ?
मलाई अक्षरको बिस्कुन सुकाउँन र उठाउँन पाइरहियोस् भन्ने लागेको छ। जीवन लामो होस्। चिर आयु बाँचिरहन पाइयोस्। निरोगी भएर संसारका अनेक प्रविधि र प्रवृत्तिलाई सततः आत्मसात गरिरहन पाइयोस्। आफ्नो हृदयमा भएका अनुल्लिखित ज्वालामुखीरुपि भावना गाङ्गेयलाई ताता म्याग्मा र लाभाका रूपमा समाजमा ओकलीरहन पाइयोस्। मानिसलाई उत्सर्जनमा सन्तोस हुन्छ भन्ने मैले धेरै अगाडि पढेको थिएँ अहिले अनुभवका पुञ्जले होजस्ता लाग्छन्।
आखिर मानिसले जीवनमा आफूले सँगालेका अनुभूति र अनुभवलाई नै त घुमाइफिराई लेख्ने न हो –अक्षरका माध्यमबाट। त्यसैले मैले लेखनका माध्यमबाट उत्तिसारो महत्वाकांक्षा पनि पालेको छैन। मलाई एसीया टप हुँदै संसारमा आफ्नो
नाम प्रत्येकले हलपल जपिरहुन जस्तो पनि लाग्दैन्। हरेकले आफ्नो जीवन आफ्नो शैली र तरिकाले आफ्नै गरी भोग्न र बाँच्न पाउँनुपर्छ। यहाँ सबैको जीवनको आफ्नै मजा लिने तरिकाहरू छन्। मैले धनका रासमा पनि सिसैसिसाको महलमा बस्नेहरूलाई पैसाको सिरक र पैसाकै डस्नामा सुत्दा पनि रातमा निद्रा नपर्दा स्लिपिङ्ग ट्याब्लेट खाएर बलजफ्तीसँग निदाएको पाएको छु। भनाइको मतलब ओच्छ्यान किन्न सकिँदो रहेछ निद्रा त किन्न सकिँदो रहेनछ। यहाँ मिष्ठान्न भोजन अझ भनौ चौरासी व्यञ्जन किनेर खान सक्नेहरू हजारौँलाखौँ छन् तर त्यसमा रुचिरुपि भोक नहुनेहरू धेरै छन्। त्यसबेला मलाई कराइकराइ भन्न मन लाग्छ –भोजनभन्दा भोक मिठो हुन्छ। जाडोभन्दा लुगा न्यानो हुन्छ। गुलियोभन्दा तिर्खा आनन्द हुन्छ। अकबर राजालाई तर्कमा हराएर प्रधानमन्त्री वीरबलले भुसका रोटी पनि ख्वाएका थिए रे !
बाका पालमा भन्थे बूढाहरू –पढी गुनी कौनै काम हलो जोती खायो माम। तर अब समयले जतिजति बाँकटे हान्दै ल्यायो उतिउति मानिसहरू भूमि र अन्नका प्राकृतिक खलियानबाट क्रमशः टाढिएर यता सहरमा कृत्रिम रहर उमारेर बत्तिँदै बसाइँ सरेका छन्। गाउँ अहिले लगभग शून्य भएको अवस्था छ तर फेरि अर्कोतिरबाट अग्र्यानिक फुड र हात निर्मित सामानको फेसन जो चल्न थालेको छ। घुमफिरी रुम्जाटार भनेझैँ फेरि कुनै दिन गाउँले इको टुरिजम वा ग्रामीण पर्यटनको नारा अर्जापेर हूलका हूल स्वदेशी र विदेशी पर्यटकलाई लामलश्करसहित बोलाउँन बेर छैन। हामी नारा र योजनाका भोका छौं त्यसैले अहिले गाउँ ओझेल भएकोजस्तो भएको मात्र हो उसको महत्व सबै सकिनै सकेको कहाँ हो र ?
मैले यो निबन्ध लेख्दाताका अहिले भरखर अमेरिकामा बाराक ओबामा राष्ट्रपतिको चुनाव जिती लेम डकका रूपमा पद बहाली पनि नगरिकन बसिरहेका छन्। उनको शासन सुरु भएकै छैन। बुस महोदय भूतपूर्व भएकै छैनन्। उनको विदेश नीति र मध्यम वर्गीय परिवारलाई करकटौतीको कार्यान्वयन रूप हेर्न पाइएकै छैन। हेर्दै जानु छ अझ नेपालमा पनि लोकतान्त्रिक गणतान्त्रलाई विवादास्पद विषयका रूपमा उछालेर जन गणतन्त्र र सुधारात्मक गणतन्त्रको कुरा आइरहेछ। छयालीस सालको प्रजातन्त्र आएपछि हामी लेखकलाई एकताका के लागेको थियो भने अब हाम्रो प्रजातन्त्रको अभीष्ट पूरा भयो। अब देशमा गरिब र गरिबी दुवै रहने छैनन् त्यसैले लेखनमा हामी केही वर्ष धीमा भएर चुप लागेका थियौं।
हामीले त्यतिखेर लेखनलाई रोकेका चाहिँ थिएनौ तर समयको प्रतीक्षा गरी प्रजातन्त्रको चर्तिकला हेरिरहेका थियौं। पन्ध्रवर्षे संसदीय प्रजातन्त्रकालमा जब सांसद खरिद विक्रीका कुरा र सरकार गठनविगठनमा विधायक हजारहजार नोटमा
तराजुको तुलोमा जोखिएका कुराहरू आए त्यसपछि हामीलाई के लाग्यो भने हामीले फेरि हाम्रा कलममा मसी हालेर कापी ठिक पारे हुने भएछ। भन्दाभन्दै बासठ्ठी÷त्रिसठ्ठीको आन्दोलन पनि सफल भयो। हुँदाहुँदा लोकतान्त्रिक गणतन्त्रको घोषणा पनि भएरै छाड्यो। हामी फेरि कलम बिसाएर धान रोप्न छाडी खाजा खान गह्राका आलीमा बसेका खेतालाजस्ता मात्र भएका थियौं। फेरि संविधान निर्माण र स्थायी शान्ति अनि तार्किक निष्कर्षमा मेरा गोरुका बाहै्र टक्का भन्ने परिस्थितिको पुनरागमन भएको छ अहिले हामी कलमका सिपाहीहरूलाई के लाग्दैछ भने हाम्रो लेखनको फेरिफेरि माग हुन लागेको छ। हामीले आफ्ना दिमागलाई भावनाको आरनमा अर्जापेर समाजको पाइनमा चोपल्ने दिन फेरि आउँन लागेका छन्। जबसम्म हामी बसेका गामठामका मानिसहरूमा चैनको निद्रा र आरामको गाँस्न खान पाउने स्थितिको पूर्वाभास हुँदैन तबसम्म हामीले अक्षरका बिस्कुनलाई घरि पूर्व चलाइरहनु पर्ने रहेछ घरि पश्चिम फर्काइरहनु पर्ने रहेछ।
रोगी भएसम्म औषधिको महत्व रहिरहन्छ। भोको भएसम्म भोजनको आवश्यकता परिरहन्छ। नाङ्गो देखिएसम्म लुगाको खनखाँचो होइरहन्छ। हो त्यसै गरी मानवियताको खडेरी परेका बेलासम्म हामीले अक्षरको भारी बिसाउन कहाँ पाउँछौं होला र ? समाजका घाउमा अझै खाटा बसेका छैनन् त्यसैले हामीले मलम लगाइरहनुपर्छ। मानिसका मनमा भएका आग्रह, विग्रह र पूर्वाग्रहका भ्वाँङहरू अझै वारपार गर्ने गरी देखिरहेका छन् त्यसैले हामीले ती भ्वाँङलाई आफ्ना सिर्जनाले टाल्ने प्रयत्न गरिरहनुपर्छ। अझ पनि दिन सामान्य भएका छैनन्। जस्तो शासन र शासक आए पनि आखिरमा त्यसले मानिसको सुख र अमनचैनलाई महत्व दिनुपर्ने हो। यदि त्यस्तो नभएसम्म देखेको कुरा लेख्ने हो। आखिर स्रष्टाको काम त सृष्टि गर्ने न हो।
शब्दलाई फुल्याएर, पदलाई मिलाएर, वाक्यलाई खेलाएर जे जसरी भए पनि हामीले गर्ने भनेकै अक्षरखेती हो। हामीले चलाउने भनेकै अक्षरको बिस्कुन हो। हामीले निफन्ने भनेकै अक्षरको पवटा र भुस हो। हामी अक्षरकै कुनिउँ बनाएर अक्षरकै दाइँ हाल्छौं। हामी अक्षरकै बिटा बाँधेर कान्ला र बारीका पाटामा तिनैलाई राख्छौं। चाहनाका धन्सारहरूमा हामी अक्षरलाई नै प्रत्येक मंसिरमंसिरमा भित्र्याउँछौं। आखिर हामी भनेका लेखक न हौं। हाम्रो काम भनेकै चेतनाको प्रशारण हो। जबसम्म चारैतिर अँध्यारैअँध्यारो रहन्छ तबसम्म हामीसँग भएका प्रकाश कोरल्ने चेतनालाई आफ्ना अन्तर्हृदयका पत्रपत्रबाट निष्पक्षरूपमा निकालिरहने छौं –अक्षरका माध्यमले। भनिएको पनि छ – न क्षर, अक्षर अर्थात् क्षति नहुने वस्तु हो, अक्षर। अनि मानिसको समूल दुःखको अन्त्य नभएसम्म अक्षरको खेती अनवरत चलिनैरहन्छ, भइनैरहन्छ। ? ?