न सुरूआत, न अन्त
यो आँशुको समुद्र ।
अनवरत छालहरु,
गाउँका झुपडीदेखि खाडीका कारखानाहरुसम्म
पहाडका टाकुरादेखि महानगरीका कोठीहरुसम्म
एकनास बगिरहेछ, बगिरहेछ,
आँशु
भुतदेखि भविष्यसम्म, वर्षादेखि हिउँदसम्म
भन्छन् नि ‘सदावहार’
हो, आँशुको सदावहार समुद्र
धिप्प बल्दै निभ्दै गर्छ हाँसोको ज्वाला
अनि फैलन्छ अन्धकार, एक तमास
डुब्छन् करोडौं नेपालीहरु
छट्पटाउँछन्, गुहार माग्छन्, अनि अलप हुन्छन् ।
तर त्यही समुद्रमा विलासी जहाजमा तैरिनेहरु
मग्न छन् समुद्रको सौन्दर्यमा
कमजोर राज्य, बलिया रजौटाहरु
रित्तो ढुकुटी, धनाढ्य खचान्जीहरु
यत्रतत्र भेटिन्छन् विलासी टापूहरु ।
ऊ, एउटा टापू नेताको
जो पड्काउँथ्यो चप्पल केही वर्ष अघिसम्म
अहिले महल हेर्दा टोपी खस्छ ।
अर्को टापू पुलिसको हाकिमको,
जसले जवानहरुको गाँस काट्यो,
कमसल हतियार दिएर मृत्युको मुखमा धकेल्यो ।
अर्को टापू सेनाको जर्नेलको
जसले अन्धकारमा बाली भित्र्यायो
र खडा गर्यो गगनचुम्वी महल ।
अनगिन्ती टापूहरु
टापूमा सुन्दर बगैंचाले घेरिएका महलहरु
त्यो दलालको, यो कालो व्यापारीको
त्यो चोरको, यो तस्करको
अनि टापूहरुको त्यो सुन्दर ‘कोलोनी’ बिचौलियाहरुको
जो फैलिइरहेछन् सलहझैं
अर्को कोलोनी राष्ट्रसेवक कर्मचारीहरुको
जसको देश सेवाको बदला मेवा फल्छन् यता
उता विलासी जहाजहरुको लाम डन’हरुको,
जो हुन् दायाँ हात नेतृत्वको
अनि ऊ त्यो आँखै तिर्मिराउने विशाल दरबार
मनोरम टापूको टाकुरामा
न्यायमूर्तिहरुको।
झगडियाको जग्गा कित्ता कित्ता बाँडेर लिएको
जित्नुपर्नेलाई हराइदिएर
हरामको धन तीन भाग लगाएको
झगडिया, बिचौलिया र न्यायाधीश
इजलास भाग लगाएको, फैसला बेचेको
ऐन कानुनका शब्द ओढेर न्यायलाई सेलाएको
काँडा बनेर बिझिरहेछन्,
यो देशको अस्तित्वमा यी टापूहरु
रोइकराइ गुहार माग्नेहरु, न्याय र अधिकार माग्नेहरु
दशौं लाख छन् यत्रतत्र
कोही डुबे, कोही डुब्दैछन्
कोही डुबेर उत्रिसके
ढाडिएको शरीर र चरम शान्तिसाथ
हुत्तिँदैछन् समुद्रका छालहरुसँगै।
तर म चुपचाप छु।
सभ्य र शिष्ट भाषाले छुँदैन
अशिष्ट भाषा बोल्यो, आफ्नै गरिमा घट्छ ।
राज्यलाई सराप्यो, आफ्नै प्रतिविम्बलाई सरापेझैं लाग्छ,
न्यायालयलाई गाली गर्यो, आफ्नै नाक काटिएझैं लाग्छ
आखिर,
कानुनका पोथा नपढे पनि,
पाप–धर्म छ, लोकलाज छ ।
शरीर एउटै, जहाँ चोट लागे पनि दुख्छ,
न बाटो बिरायो भनेर खुट्टा काट्नु,
न ज्यादती गर्यो भनेर हात बाँध्नु
न त गलत निर्णय गर्यो भनेर टाउकोमा गोली दाग्नु
पिलो नै पिलोले भरिएको यो देश
हिलो नै हिलोमा फसिरहेको यो समाज
कहिले समुद्रको पींधबाट उत्रलान् यी अनगिन्ती मानिसहरु
कहिले पलाउला सिर्जनाको हरियो पालुवा
कहिले फैलिएला जीवनको जीवन्त सुवास
कहिले भत्कलान् हरामको धनका महलहरु
कहिले जेलको चिसो छिंडी पुग्लान् अपराधी र बिचौलियाहरु
कहिले महाभियोग लाग्ला अन्यायमूर्तिहरुलाई
कहिले अपराधीले पुलिसको सट्टा,
पुलिसले अपराधीको सातो लेला
खैर,
विशाल छालहरुविरुद्ध पौडी खेल्दाखेल्दै
ठूलै मूल्यमा किन नहोस्,
जीवनले धेरथोर सिकाएको छ हामीलाई पनि
खराबको ध्वंश र असलको निर्माण
यत्तिकै भएका छैनन् इतिहासमा,
तर हुँदै नभएका पटक्कै हैनन्
सिर्जनाविनाको ध्वंशका दशौं विध्वंशक प्रयासपछि
अब लाग्नुछ सिर्जनामा
गर्नुछ सिर्जना त्यस्तो समाजको,
जहाँ,
कोही उत्रन कोही डुब्न नपरोस् ।
नेताले नेतृत्व गरोस्, न्यायमुर्तिले न्याय देओस्
जहाँ,
देशको नाम लिंदा शिर गर्वले उठोस्
हो, त्यस्तो देशको खोजीमा छु म ।
लेखकका थप कविता The Ocean of Poems नामक ब्लगमा संग्रहित छन् ।