* विश्वेश्वरप्रसाद (बीपी) कोइराला आठवर्षको नजरबन्दीपछि रिहा। २०१७ सालमा राजा महेन्द्रले नै उहाँलाई गिरफ्तार गराएका थिए।
* नेपाल संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सदस्यमा निर्वाचित।
* संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा रिचार्ड निक्सन विजयी।
यी तीनवटै घटना विक्रम संवत् २०२५ सालका (सन् १९६८) हुन् जसको सप्रसङ्ग उल्लेख विद्वान् जयराज आचार्यको छात्रजीवनको दैनिकीमा भएको छ। 'मेरो डायरी,२०२५' नामक कृति हस्ताक्षर प्रकाशनले २०७१ सालमा सार्वजनिक गराएको देखिन्छ। एस्. एल. सी. सरहको पूर्वमध्यमा (संस्कृत) परीक्षा दिई त्यसको नतीजा पर्खेर बसेका छात्र जयराजलाई अंग्रेजीले आकर्षित गरेको, तर आठ कक्षादेखि पढ्न थालेको इच्छाधीन 'इङ्ग्लिश' मा आफू कमजोर छु भन्ने लागेको रहेछ। एक शिक्षकले अंग्रेजीमा दैनिक डायरी लेख्ने गर, कमजोरी हट्दै जानेछ भनेको हुनाले छात्र जयराज रोजनाम् चा (टिपोट) को अभ्यासमा कस्सिएर लागेको बुझिन्छ। त्यसै क्रममा जयराज आचार्यबाट सिङ्गै २०२५ साल समेटिन पुगेछ।
गहन अध्ययन र निरन्तरको अभ्यासले कालान्तरमा छात्र जयराज आचार्यलाई प्रोफेसर बनायो। संस्कृततर्फ देशभरिकै प्रथम छात्र (२०२४) हुने सौभाग्य मिल्यो। र, गोरखापत्रले आचार्यलाई तत्कालै 'भोलिको गहना'को श्रेणीमा समावेश गरिदियो। आदिकवि भानुभक्त आचार्य जन्मेकै कुलमा जन्म भएका जयराजको नेपालीमा लोभलाग्दो दखल हुने नै भयो। यसप्रकार जयराज आचार्य तीन भाषामा कलम चलाउन सक्ने थोरै नेपालीमध्येको एक हुनुभएको छ। विद्यावारिधिको उपाधि, संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधि (राजदूत) भएर काम गरेको अनुभव र उच्चकोटिका लेखक/ कूटनीतिज्ञ यदुनाथ खनालबारे पुस्तक प्रकाशन समेत गरेकोले आचार्यको व्यक्तित्व विशिष्ट हुन पुगेको छ। यस्तो पृष्ठभूमिमा निस्केको पुस्तक भएकोले हामी पाठकहरूले यो पढ्दा करिव पाँच दशकअघिको नेपालको परिवेश सम्झिने-ठम्याउने प्रयत्न गरिरहनु पर्छ। भन्नु परोइन, शिक्षा स्वास्थ्य यातायात र सञ्चार सेवाहरू सबै अर्कै (प्रारम्भिक) चरणमा थिए। शासन-व्यवस्थामा राजा केन्द्रविन्दूमा रहन्थे।
अब माथि चर्चा गरिएका तीन विषयलाई एकएक गरेर हेरौं।
२०२५ साल कार्तिकमा बीपी, गणेशमान र अन्य राजबन्दीहरूको रिहाइ र माफीबारे खबर विवेचना टिपोट गर्दागर्दै आचार्यका डायरीका निकै पाता भरिएका छन् । राजा महेन्द्रलाई स्वास्थ्य उपचार गराउन बेलायत जानुपरेकोले त्यसको ठीक अघि बीपीहरूको रिहाइ भएको आचार्यको अनुमान देखिन्छ। बेलायतमा ' किन देशका प्रथम निर्वाचित प्रधानमन्त्रीलाई बन्दी बनाइराखेको ?' भनेर सोधखोज गरे के भन्ने विषयको चिन्ता महेन्द्रलाई हुँदो हो--चढ्दो वयका आचार्यको तर्क रहेछ।
पुस्तकमा राजा महेन्द्र ३० ठाउँमा लेखिएको छ भने बीपीको उल्लेख ११ ठाउँमा भएको छ। भारतका राष्ट्रपति जाकीर हुसेनको भ्रमणको सन्दर्भमा डायरीमा लेखिएको छ:-- अप्रजातान्त्रिक सोचका राजासित काम गर्न भारतलाई गाह्रो हुँदो हो। तर के नेपालमा प्रजातन्त्र भएको वा नभएको बारे भारतलाई साँच्चिकै चासो होला र ? सके आचार्यको यो सन्देह आज पनि कायम छ।
दोस्रो नम्बरमा जाऔं । पहिलो बुँदाले आचार्यको नेपालको राजनीतिप्रतिको रुचि झल्काएझैं दोस्रो बुँदाले अन्तर्राष्ट्रिय मामिला र कूटनीतिबारे तन्नेरी अवस्थाका आचार्यको अध्ययन, जिज्ञासा, आकांक्षाको प्रतिनिधित्व गर्छ। २०१२ सालमा संयुक्त राष्ट्र संघको सदस्यता लिन सफल नेपालले १३ वर्षमै विश्वसंस्थाको सर्वाधिक महत्वको निकाय सुरक्षा परिषदको सदस्य चुनिनु भनेको उपलब्धिकै कुरो थियो, तसर्थ भविष्यका राजदूतले त्यस्तो सार्थकताको अनुमान गर्नु स्वाभाविक नै देखिन्छ। (परिषद् मा नेपालको कार्यकाल दुइ वर्षको थियो जुन १ जनवरी १९६९ मा आरम्भ भयो। नेपालका राजदूत पदमबहादुर खत्रीले त्यसलाई नेपालको विश्वछवि निर्माणमा लगाएको मूल्यांकन गरिन्छ।)
पुस्तकका पृष्ठहरू पल्टाउँदै जाँदा छर्लंग हुन्छ, जयराज आचार्यलाई आफ्नो पठन-पाठनको प्रारम्भिक बेलादेखि नै यदुनाथ खनालजस्ता गहन बौद्धिक धरातल भएका व्यक्तित्वको सामीप्य प्राप्त भयो। देशबाहिरको संसारलाई हेर्ने,बुझ्ने र तिनबाट नेपाललाई हुनसक्ने फाइदाको निरुपण गर्ने क्षमताको विकास गर्ने अवसर मिल्यो। पौष १८ गते जारी भएको हुलाकटिकटमा राष्ट्रसंघको झण्डा छापिएको देखेपछिको डायरीमा आचार्यले नेपालको योगदान शान्ति स्थापनाको लागि उपयोगी हुने सेनामार्फत् हुनसक्ने परिकल्पना गरेका छन् । समयको अन्तरालमा यही बाटो उपयुक्त देखिंदै आएको छ। डायरीको एक पातामा लेखिएको छ:- सानो भूगोलमा समेटिएको देशको छिमेकीसितको सम्बन्ध जटील हुने रहेछ। यो निष्कर्ष निकाल्न नीतिश्लोक उद्धृत गरिएको छ। बरु रमाइलो कुरो, श्लोक संस्कृतमा छ जसको भावार्थ एकैपल्ट अंग्रेजीमा दिएको छ। त्यसबाट पो नेपालीमा सार खिच्नुपर्ने रहेछ !
तेस्रो सन्दर्भ कोट्याउँ। आचार्यको चर्चित डायरीमा अमेरिकासम्बन्धी कुराहरू पटक-पटक परेका छन् ---कुनै निर्वाचनबारे त कुनै अन्तर्राष्ट्रिय मञ्चमा त्यस देशको विवादास्पद भूमिकाबारे। जस्तो भिएतनामको युद्ध। २०२५ साल कार्तिक अर्थात् सन् १९६८ को नोभेम्वरमा भएको राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन दलका उमेद्वार रिचर्ड निक्सन विजयी भए। आचार्यलाई त्यो नतीजा भिएतनाम समेतका कारणले त्यति मन परेन। अर्को कुरा, शपथग्रहण नगर्दै राष्ट्रसंघ जाने राजदूत ( चार्ल्स उडरफ योस्ट ) नियुक्तिको घोषणा गरियो। हुन त निक्सन चीनसित सम्पर्क बढाउने अमेरिकी नेताको रुपमा लोकप्रिय पनि भए; हेनरी किसिन्जरको कूटनीतिको उपयोग गरेकोमा तारिफ पनि भयो। र, सन् १९७२ को निर्वाचनमा पुन: विजयी पनि भए। परन्तु दोस्रो चारवर्षे कार्यकालको थालनी मै वाटरगेट काण्डमा झूटो बयान दिएकोमा विवादमा परे। वाशिंगटन पोष्ट अखबारले दिएका खबरबाट पिल्सिएपछि उनले राजीनामा नै गर्नुपरेको थियो। अमेरिकाको इतिहासमै पहिलो पटक राष्ट्रपतिको राजीनामा।
२०२५ सालको डायरीका पानामा सोभियत संघ र अन्य कतिपय मुलुकसित गाँसिएका घटनाका विवरण पनि छन्। महाविद्यालयका छात्र जयराजले संस्कृत छात्रावासको वाचनालयमा पत्र-पत्रिका पढेर सङ्कलन गरेका स्वरुचिका सूचना नै डायरीका कोसेली हुन्।
२०२५ सालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका अरु धेरै घटना भएका छन्।अघिल्लो वर्ष रमाइलो मेलामा भएको अप्रिय घटनापछि चीनसित बिग्रेको सम्बन्ध सुधार गर्ने प्रयास र थाई विमान सेवाले बैंकक-काठमान्डू सेवा आरम्भ गरेको विषय त्यसक्रमका केही दृष्टान्त हुन्। अष्ट्रेलियाले एक सम्झौता अन्तर्गत ७८ लाख रुपियाँको सहयोग त्रिभुवन विमानस्थलको सञ्चार-सुविधा विस्तार र तराईका तीन विमानस्थललाई राति पनि जहाज उडान/अवतरणको सुविधायुक्त गराउन उपलब्ध गराएको रहेछ। यतिकसो कुरा हुँदा हुँदै पनि जयराज आचार्यको डायरीलाई कुनै अखबार वा मानव अधिकारवादी संस्थाले निकाल्ने वर्ष-पुस्तकसित दाँज्न मिल्दैन। किनभने, माथि ठाउँ-ठाउँमा उल्लेख गरेजस्तै, कतिपय मामिलामा आचार्यले निजी विचारहरू व्यक्त गरेको पाइन्छ। सूचना र आंकडाको आफ्नो सन्दर्भ हुन्छ, तर त्यसप्रति लक्षित मन्तव्यको अर्कै अर्थ लाग्छ।
आचार्यको डायरी घटनाका विवरणहरूको संग्रह मात्र होइन भन्नुको अर्को कारण के हो भने यसमा अवसर,पर्व, सन्दर्भका खबर टिपोट गर्दा डायरी-लेखकले तत्कालै सांस्कृतिक, ऐतिहासिक जानकारीहरू समावेश गरिदिनाले उपलब्ध सूचना मूल्यवान् भएका छन्। उदाहरण अनगिन्ती छन्, केही नमूना यी हुन् :--मंसीर ४ गते बाला-चतुर्दशी (शताबीजारोपण)। सदमी छर्ने पर्व विगत वर्ष निधन भएका परिवारजनको आत्मा फेरि प्रकृतिमा समाहित हुन्छ भन्ने मान्यतासित सम्बन्धित छ। अर्को, पौष २७ गतेसित सम्बन्धित विषय: पृथ्वीनारायण शाहले नेपालको एकीकरण कूटनीति, राजनीति र युद्धको माध्यमबाट गरेका हुन्। यिनको तुलना जर्मनीका बिस्मार्कसित गर्न सकिन्छ जसले त्यस देशको एकीकरण गरेका थिए। अर्को, दुर्गम जिल्ला बझाङ्गमा हैजाको प्रकोप भएछ। 'बझाङ्ग'को उल्लेख हुनासाथ आचार्यले राजा जयपृथ्वीबहादुरसंगको सन्दर्भ ल्याएर उनको सुधारवादी दृष्टिकोण ससुरा चन्द्रशमशेरलाई मन नपरेको प्रसङ्ग सामेल गरेको देखिन्छ। (आचार्यलाई सम्भवत: २०२५ सालमा थाहा भएन, नत्र जयपृथ्वी गोरखापत्रसित पनि गाँसिएका थिए भन्ने कुरा लेखिन्थ्यो।)
'मेरो डायरी' मा शास्त्रोक्त चिन्तन, नीति-वचन एवं लोककथनमा आधारित मान्यताहरू संस्कृत श्लोक भएर मुखरित भएको पाइन्छ। कतै नेपालीमा अर्थ पाइन्छ भने कुनै सोझै अंग्रेजीमा प्रकट भएको भेटिन्छ। यस्तो विधिले विदेशी पर्यटक र अन्वेषकलाई सजिलो बाटो फेलापरेको मानिदिन सकिन्छ। डायरी-लेखकको हस्ताक्षर प्रष्ट बुझिने र आकर्षक छ, तसर्थ लेखककै अक्षरमा सामग्री प्रस्तुत गर्ने प्रयास सह्रनीयोग्य मानिएको हो।'राम्रा अक्षर भनेको राम्रो अनुहारजस्तै हो'--यो डायरी-लेखकले कतै पढेको कुरा रहेछ। थपमा, चित्र कोर्ने कलासम्बन्धी सीप लेखकमै भएपछि पुस्तक सचित्र हुनु सर्वथा स्वाभाविक भयो। र, चढ्दो उमेरका जयराजमा सौन्दर्यको प्रशंसा गर्ने रहर जाग्नु अनौठो भएन---डायरीका कतिपय पृष्ठमा त्यसको झलक भेटिन्छ। हो त आखिर निजी अनुभूतिलाई अभिलेख गर्ने डायरी नै।
संस्कृतमा व्याकरणतर्फको छात्रलाई साहित्यमा कतिको अभिरुचि हुँदो हो ? शहीद दिवसको मौकामा भूपी शेरचनको कविता सार्ने, त्रि-चन्द्र कलेजमा निबन्ध प्रतियोगिता हुँदा रानीपोखरी संस्कृत छात्रावासका अग्रज राममणि रिसाल प्रथम र श्रीराम पौडेलले द्वितीय भएर पुरस्कार पाएको प्रसङ्ग सगर्व टिपेर राख्ने र यदुनाथ खनालले पूर्व र पश्चिमी साहित्यका प्रवृत्तिबारे दिनुभएको मन्तव्य 'विशेष अभिरुचि'का साथ संकलन गर्न जाँगर चलाउने मेधावी छात्रलाई साहित्यानुरागी बाहेक के भन्ने ? र, अहिले आएर डायरीलाई पुस्तकको आकार दिई साहित्यको फाँट फराकिलो पारे बापतको श्रेय आचार्यलाई किन नदिने ?
जम्मा चारशय रुपियाँमा ३६५ पृष्ठको (अनुक्रमणिका बाहेक) पोटिलो कृति पाउँदा संग्रहणीय सामग्री फेला परेको मान्ने कि नमान्ने ? छपाइको क्रमका र एकाध अन्य त्रुटि क्षम्य छन् । तर कविशिरोमणि लेखनाथले भनेझैं 'दबिन्छ गुणीको दोष गुणका राशिमा परी'।