सुन्तलीलाई ठूले मन पर्न थालेको पाँच वर्ष भयो। ठूलेको घरमा ऊ भाँडा माझ्न बसेको पनि त त्यति नै भयो। यही फागुपूर्णिमादेखि अठार पूरा भएर उन्नाइस लागि सुन्तली।
ठूले चाहिँ यही वैशाखमा छब्बिस लाग्छ। पहिलो नजरमै के भयो कुन्नि। ठूलेको तस्बिर आफ्नो मनमन्दिरमा सजाउन पुगी सुन्तली। त्यसो त ठूले उसको बोलाउने नाम मात्र हो। साथीहरूले त अर्कै नामले चिन्छन् - राजकुमार। आहा ! कत्ति राम्रो नाम! सुन्तलीलाई संसारमा सबैभन्दा प्यारो लाग्ने नाम!
जस्तो नाम उस्तै मान्छे। सिनेमाको हिरो जस्तो! सुन्तलीको कलिलो मन त्यसैत्यसै फुरुङ्ग भएर आयो। तर ठीक त्यही बेला उसका आँखा आफूले माझिसकेको ताप्केमाथि पर्न गए। कालो रङ, धसिएका गाला, फुस्रो कपाल अनि थेप्चो नाक। न उसको मुहारमा लाली थियो न छातिमा उभार। दुब्लोपातलो सानो शरीरमा कुनै बिशेष आकर्षण पनि थिएन।
त्यसैले त होला ठूलेले उसलाई खासै वास्ता नगरेको। तर भन्ने नै हो भने ऊ आफैँ पनि उसको अगाडि खासै देखा पर्थिन। बस्, ढोकाको कापबाट उसलाई लुकेर हेरिरहन्थी।
त्यहि दिन दिउँसो ठूलेले आफ्नो बुलेट मोटरबाइकमा एउटी केटीलाई राखेर घरमा ल्यायो। होचीहोची, गोरी, चिम्सा आँखा भएकी त्यो केटी जापानी गुडिया जस्ती देखिन्थी। लुगा पनि कत्ति राम्रो लाएकी! कलेजी रङ उसको मिलेको ज्यानमा कत्ति खुलेको! बैठकमा चियानास्ता पुर्याउन जाँदा एउटा शब्द सुन्तलीको कानमा ठोक्किन आयो - बिहे।
ठूलेले आफूसँगै काम गर्ने त्यो केटीलाई आफ्ना बाबुआमालाई भेटाउन पो ल्याएको रैछ। अब त्यसैसित बिहे पनि गर्ने रे।
सुन्तली छाँगाबाट खसे जस्ती भई।
बेलुका भात खाने बेलामा घरमा निक्कै विवाद भयो। धनी, पढेलेखेकी र राम्री भए पनि ठूलेहरुसँग त्यो केटीको जात नमिल्ने रै‘छ। कत्रो सपनाले हुर्काएको छोरोले यसरी बिजातकी केटी ल्याउला भनेर बाबुआमाले सोचेका पनि रहेनछन्। तर हुन गयो ठीक त्यस्तै।
बाबुलाई लोकको चिन्ताले सताउँदै थियो। समाज, इष्टमित्र, दाजुभाइले थाहा पाएपछि के भन्लान्? उता आमा भने परलोकको पिरले पिल्सिएकी थिइन्। भएको एउटा छोरो। त्यो पनि बुहारी बिजातकी। नातिनातिना पनि बिजाति नै जन्मलान्।
मरेपछि किरिया पनि यिनकै हातबाट हुँदा गति नपरिने हो कि? छि:कस्तो पिर आइपर्यो! यो भन्दा त बरु मैले छोरी नै पाएकी भए हुन्थ्यो। बेला आएपछि आफ्नो मनले खाएको ठाउँमा बिहेदान गरिदिन्थेँ। छोरो भएर फुर्किएको मोरो!
तर, ठूले भने हिमाल झैँ अडिग थियो आफ्नो अठोटमा। उसले महिमालाई वाचा गरिसकेको थियो। र उसका अनुसार एक्काइसौँ शताब्दीमा आएर जातभात जस्ता मध्ययुगीन अवधारणाहरुले आफ्नो अस्तित्व गुमाइसकेका थिए।
‘बाबामामु सहरिया पढेलेखेको होइसिन्छ। र पनि यस्तो मर्जी हुने? यो त सुन्तली जस्ता अनपढ गाउँलेहरुले भन्ने कुरा हो।’
सुन्तलीको मुटुमा ठूलेको वचन चस्स बिझ्यो। उसले योभन्दा अगाडि पनि ठूलेका प्रेमिकाहरुको फोटो नदेखेकी होईन। उनीहरुसँग ठूलेले रातभर फोनमा गफ गरेको नसुनेकी होईन। तर आजसम्म ठूलेले यसरी खुलेर कसैको बारेमा बोलेको थिएन। न त कसैलाई घरमा ल्याएको थियो।
अन्तत: बाबुआमाले छोराको अडानका सामु शीर झुकाउनै पर्यो। ठुले र महिमाको टिकाटालो भयो।
सुन्तली त्यो दिन खुब रोई। एकोहोरो मनले एउटै प्रार्थना गरिरही। उसलाई गाउँबाट कोही लिन आइदिए हुन्थ्यो। कमसेकम आफ्नै आँखाले ठुलेको बिहे भएको त देख्नुपर्थेन।
भगवानले पनि कसोकसो सुन्तलीको पुकारा सुनिदिए। भोलिपल्टै उसको दाजु टुप्लुक्क ढोकामा आइपुग्यो र भन्यो - हिँड् घर। तेरो बिहे पक्का भएको छ।
विधिको विधान्! सुन्तली र ठुलेको बिहे एकै दिन एउटै साइतमा जुरेको रहेछ।
***
साँझको बेला। गाईवस्तु चरेर फर्किने क्रममा थिए। भैँसी दुहुने बेला भएको थियो। घरमा लोग्ने र छोरी बाहेक कोही थिएनन्। सुन्तली दुहुनो बोकेर गोठतिर लागी।
अचानक छोरीको चिच्याहटले ऊ झस्किई। माटोको घरको सानो कोठा। एउटा कुनामा खटिया थियो जहाँ सुन्तलीको लोग्ने सुत्थ्यो। ठीक त्यसैको तल पातलो बिस्तरामा सुन्तली सात बर्षकी छोरीसँग घुस्रन्थी। आवाज त्यही सुत्ने कोठाबाट आइरहेको थियो। सुन्तली दुहुनो एकातिर मिल्काएर त्यतैतिर दौडिई।
त्यसो त आठ बर्षअघि बिहे भएदेखि खासै सुख भोगेकी थिइन सुन्तलीले। न लोग्नेबाट, न सासूससुराबाट। छोरो पाउन नसकेको निहुँमा दिनहुँ लात्ती खाएकै थिई। दाइजोपात कम भएको निहुँमा डाडुले घरिघरि नडामिएकी पनि होइन। कैयौँ रात त सासूले जानीजानी कम खाना बनाउनाले भोकभोकै निमोठिएर सुतेकी थिई।
त्यसमाथि कामकै चपेटाले दुइटा गर्भ खेर गएको तितो अनुभव पनि उसको मनमा गुँडुल्किएकै थियो। हिजोआज त झन् उसकै अगाडि उसैमाथि सौता हाल्ने कुरा हुन थालेको थियो घरमा। तैपनि ऊ सबै सहेर दुनियाँको अगाडि घर गरेर बसेकै थिइ।
तर उसले आफ्नो आँखा अगाडि जे देखी त्यो दृश्यले उसको मनको बाँध तोडिदियो। उसकी छोरी झुम्की कोठाको एउटा कुनामा थुर्थुर काम्दै उभिएकी थिई। र उसको आफ्नै बाबु उसमाथि हातपात गर्न खोज्दै थियो।
सुन्तलीको मुटु काम्यो। दौडेर अधर्मी बाबुको बाहुपाशबाट झुम्कीलाई छुटाई। तर उसको पुरुषबलको अगाडि केही लागेन। रिसले आगो भएको उसको लोग्नेले चुल्ठो समातेर घिसार्दै उसलाई भान्छामा पुर्यायो। छेवैमा राखेको मट्टितेलको भाँडो क्षणभरमै उसको शरीरमाथि रित्तियो। आगोको लपेटाले उसको शरीरलाई निल्न थाल्यो। असह्य पीडाले ऊ चिच्याउन थाली। आँखा अगाडि अँध्यारो छायो।
***
पुरै दश वर्षपछि काठमाडौँ टेक्दै थिई ऊ। धेरै फेरिइसकेको रै‘छ यो शहर। ऊ आफैँ जस्तै। काठमाडौँ त्यती नै दुषित देखिन्थ्यो जती गलित ऊ थिई। सायद दुःखीले दुःखीलाई बुझ्दछ। त्यसैले काठमाडौँले कुनै पुरानो सङ्गिले झैँ उसलाई स्वागत गर्दै थियो।
ठूलेका बाबु परारै बितिसकेका रहेछन्। हार्ट अट्याक भएको रे। सुन्तली र झुम्कीलाई देख्नासाथ मालिक्नी बज्यैको गहभरी आँसु भो। ‘सारै दुख्ख काटिस् नानी तैँले नि।’ उनका आँखाले सुन्तलीको शरीरका खतहरु नियाले। उमेरले हो कि अनुभवले, यसपल्ट बज्यै निक्कै पग्लेको पाई सुन्तलीले।
‘अनि मैसाब खोइ त?’ सुन्तलीले मधुरो स्वरमा सोधी।
‘युरोप,’ छोटो उत्तर दिइन् बज्यैले।
‘मुवाँ, हेरिस्यो न। पप्पीले केही खाएन।’
करीब नौ-दश वर्षको, मोटोमोटो ज्यान अनि चिम्सा आँखा भएको गोरो केटो। एउटा हातमा बिस्कुट र अर्को हातमा छाउरो बोकेको। ‘उसलाई भोक लागेपछि खाइहाल्छ नि। तँ जा गएर पढ्। म दुध ल्याइदिन्छु,’ बज्यैले मायालु पाराले हप्काइन्।
‘ठूलो बाबुको छोरो?’ सुन्तली हाँसी।
‘रूपेश’ बज्यैले भनिन्।
***
बेलुकाको आरति सकेर बज्यैले मुटुको गाँठो फुकाइन्।
अन्तरजातीय बिहे गरेकाले घरमा कहिल्यै शान्ति भएन। स-साना कुरामा सधैँ खट्पट परिरह्यो। ठुलेका बाबुआमा अलि पुरानै बिचारका भएकाले पनि विदेशी संस्कृतिमा हुर्केकी बुहारीसँग खासै ठ्याक मिलेन। साउँको भन्दा ब्याजको माया भनेझैँ रूपेश त प्यारो बन्यो तर रूपेशकी आमालाई त्यो परिवारले कहिल्यै अपनाउन सकेन।
ठुलेका बाबु बितेको बेलामा त झन् नातागोताले समेत बिजात भनेर छात् छुत् गर्न थालेपछि चाहिँ अति भएर महिमा युरोपतिरै फर्किई। ठूले पनि सुरुसुरुमा त छोरो लिएर बरोबर गैरहन्थ्यो। तर बिस्तारै महिमाले उसलाई उतै बस्न कर गर्न थाली। बाबुको मृतात्माप्रतिको कर्तव्यबोधले हो कि जिवित आमाको मायाले हो घरबार र व्यवसाय चटक्कै छोडेर विदेश जान भने सकेन ठुले। समयसँगै ठुले र महिमाको संबन्धबिच्छेद पनि भयो।
बज्यैले खुइँय्य सुस्केरा काढिन्।
‘अब तँलाई के ढाँट्नु सुन्तली? घर छोडेदेखि एकचोटि फर्केर नि त्यो छोरोलाई हेर्न आएकी छैन। कस्ती आमा हो? माया नि नलाग्ने! हुन त रातबिरात रक्सी र चुरोट खाएर हिँड्नेले छोराछोरी कसरी हुर्काउलान्? भैगो, मेरो नाति मैसँग ठीक छ।’
त्यो रात धेरै बेरसम्म सुन्तलीलाई निद्रा लागेन। एक मनले झटक्क आफ्नो दुःख सम्झी। त्यस दिन गाउँलेले उसलाई बचाएका थिए। अनि एउटा संस्थाले उसको उपचार गरिदिएको थियो। धन्न अनुहार केही भएको थिएन। सँगै सुतेकी छोरीतर्फ हेरी उसले। मैनबत्तिले जस्तै आफू जलेर छोरीको जीवन अँध्यारो हुनबाट जोगाएकी थिई उसले।
सासूससुरा र लोग्ने त त्यही दिन इण्डिया भागिसकेका थिए। बाबुआमा रोगी थिए। दाजु कतारको मरुभूमिमा मजदुरी गर्थ्यो। माइतीको आफ्नै स्थिति ठीक नभएको बेला सुन्तलीलाई त्यहाँ बसिरहनु मुनासिब लागेन। त्यसैले छोरीका साथ काठमाडौँ आएकी थिई ऊ। आफू दुई कक्षाभन्दा उँभो नलागे पनि छोरीलाई भने पढाएर नर्स बनाउने ठूलो धोको थियो उसको।
अर्को मनले फेरि रूपेशलाई पनि सम्झी। किन हो कुन्नि त्यो बालकको चौपट्टै माया लागेर आयो उसलाई। सुन्तली पढेलेखेकी त थिइन। धेरै थोक जान्थिन। तर गल्ती जोसुकैको भए पनि ठूलाको झगडामा सबैभन्दा बढी उहि पिसिए जस्तो लाग्यो सुन्तलीलाई।
***
समयको के? त्यसलाई त जसरी पनि बित्नु नै थियो। बितिरह्यो। र साथसाथै प्रारब्ध र परिबन्दले दिएका चोटहरुमा पनि खाटा लाग्न थाले। तर दुखाइ भने उस्तै रह्यो।
महिमाले उतै बिहे गरेको खबर सुनेर ठुलेकी आमाले पनि उसलाई दोस्रो बिहे गर्न कचकच गर्न थालेको धेरै भयो। तर ठूले भने सुनेको नसुन्यै गर्थ्यो। खाली काममै व्यस्त रहन्थ्यो। सुन्तली उसको मनको कुरो बुझ्दथी। उसलाई पनि त कहाँ बिहे गर्न मन थियो र ठूले बाहेक अरु कसैसँग? आखिर मन माझ्न भाँडा माझेजस्तो सजिलो कहाँ हुन्छ र?
‘सुन्तली मामु, छिटो खाजा दिस्यो न। मलाई फुटबल खेल्न जान हतार भयो!’ रूपेशको स्वरले उसको तन्द्रा टुट्यो। झट्पट उसलाई खाजा दिएर ऊ साँझको खाना बनाउने तरखरमा लागी। रूपेश भने खाजा खाइसकेर खेल्न दौडियो।
साग पखाल्न धारातिर जाँदै गर्दा सुन्तलीका पाइला टक्क अडिए। जडवत् भई ऊ जहाँको त्यहिँ। सास रोकियो। मन ढक्क फुल्यो।
तेह्र वर्षकी झुम्की लुकेर हेर्दै थिई रूपेशलाई ढोकाको कापबाट। ठीक त्यसरी नै जसरी उसकी आमाले हेर्ने गर्दथी रूपेशको बाबुलाई।
सुन्तलीका धेरै अघि सुकेका आँखा हल्का रसाए। न ऊ भान्छातिर फर्किन सकी। न त उसले आफ्नी छोरीलाई झक्झक्याउन नै सकी। ऊ बस् उभिइरही ढोकाको सँघारमा मुर्तिझैँ – भावशून्य।