‘पेप्सिकोला जाने हो भाइ?’
झ्यालको सिसामा औँलाले टकटक गर्दै ड्राइभरलाइ उठाएँ।
आँखा मिच्दै ऊ उठ्यो र झ्यालको सिसा तल सार्दै भन्यो,‘कति जना हो दाइ? समान कति छ?’
‘के फरक पर्छ भाइ जति सामान भए पनि तिमीले बोक्नु पर्ने हैन!’
‘फरक पर्छ नि दाइ। भयो छोड्नुस्! कहाँसम्म जाने हो?’
‘पेप्सिकोला’
‘आठ सय लाग्छ दाइ’
‘आठ सय! के हो भाइ दुइ तले घर आजै बनाउने विचार छ क्या हो!’
‘के मजाक गर्नु हुन्छ दाइ! तीन वर्ष भयो यो ट्याक्सी चलाउन थालेको एक कोठाबाट दुइ कोठामा सर्न सकेको छैन। भयो सात सय दिनु होला।’
‘ठीकै छ हिँड।’
ऊ ढोका खोल्न खोज्छ सायद सामान पछाडि डिकिमा राख्न। म उसलाइ रोक्छु एउटा झोला मात्र छ भनेर।
टायरले सायद सडकको त्यो कुनोसँग केहि सम्बन्ध बनाएको थियो त्योसँग अब केहि मतलब रहेन। अब उसलाइ गुड्नु छ। टायरको धर्म हो गुड्नु। फेरि सडकको कुनै कुनासँग प्रेम गाँस्नुको के सार रह्यो। बिस्तारै ट्याक्सी गुड्न थाल्यो।
म झ्याल बाहिर हेर्छु संसार पुरै अँध्यारो छ। अँध्यारो मलाई किन हो आफ्नो जस्तो लाग्छ। उज्यालोमा मेरा आँखा तिर्मिराउँछन्।
***
‘तँ पुरै डिप्रेस्ड छस् दोस्त’
साइकोलोजी मेजर मेरो साथी रमेशले मलाई एकदिन चिया र चुरोटको सर्कोसँगै भनेको सम्झेँ।
‘डिप्रेस्ड को छैन यहाँ! हामी सबै केहि न केहि अंशमा डिप्रेस्ड छौ यहाँ,’ मैले उत्तर फर्काएको थिएँ।
‘तर त्यसको पनि एउटा अवस्था हुन्छ। मनोबिश्लेशणको भाषामा तँलाइ 'कन्फ्लिक्ट' भएको छ बुझिस्, ‘कन्फ्लिक्ट’।’
मैले सोचेँ, साले आज मौका पाएकोछस् दे जती गफ दिनु छ। म चुप्प बसेँ। ऊ अझै जोस्सिन थाल्यो।
‘हेर! हामी सबै जीवनको कुनै न कुनै समयमा मानसिक द्वन्दबाट गुज्रिएकै हुन्छौँ। सायद त्यसको सुरूवात त हामी होसमा आउँदाबाट नै हुन्छ। लंकाका अनुसार एउटा सिसु सुरूवाति अवस्थामा आफू र आफ्नो वरिपरिको संसारमा फरक छुट्याउन सक्दैन। तर विस्तारै भाषाको प्रवेशसँगै ऊ ‘म’ छुट्टै हो भन्ने सिक्छ र आफूलाई ‘छोरा’ या ‘छोरी’मा छुट्याउँछ। यो भेदले उसलाई आफ्नी आमा र ऊ एउटै होइन भन्ने पनि सिकाउँछ र यो ग्यानले ऊ जीवनमा प्रथमपटक केहि गुम्नुको पीडा महसुस गर्छ, आफ्नी आमासँग एक हुनुको बोध गुम्नुको पीडा।
‘अचम्म लाग्दैन तँलाई,’ उसले मलाई सोधेको थियो।
‘क को अचम्म?’
‘त्यत्रो सानो मष्तिस्क तर पीडा जीवनभरिको। त्यो आमासँगको एक हुनुको बोध गुम्नुको पीडा भर्न हामी जिन्दगीभर अनेक कुराहरू थुपार्न थाल्छौँ। धन-सम्पत्ति, नाम, शक्ति, सत्ता, अनेकौँ चिज। तर त्यो गुम्नुको पीडाबोधले हामीलाई जिन्दगीभर छोड्दैन। जसै जसै जिन्दगी अगाडि बढ्छ हामी अनेकौँ चिज गुमाउँछौँ र त्यहि गुमेका चिजहरुलाई अर्को केहि चिजले भर्न तिर लाग्छौँ। जीन्दगी बस त्यही गुम्नु र त्यसलाई भर्नुको समयोग हो। त्यसैले हामीलाई अनेकौँ चोट दिन्छ, बिसादमा पुर्याउँछ, निकाल्छ, हसाउँछ, रूवाउँछ र अन्त्यमा त्यसैले माटोमा मिलाउँछ।’
निकै लामो भट्याएपछि ऊ बज्दा बज्दैको रेडियो ब्याट्री सक्किएर रोकिएझैँ मौन भयो र रित्तिएको चियाको गिलासतर्फ घोरिन थाल्यो।
‘ह्या मुला त्ँ फेरि सुरू भइस् हैन।’
‘हाहाहा..........," ऊ जोडले हाँस्यो, ‘रोक न भोलि पैसा तिरेर खचाखच भरिएको हलमा सुन्छस् तैँले। धन्यवाद दे मलाइ फोकटमा यत्रो ज्ञान पाइराछस्।’
‘भयो भयो गफ नदे। तेरो यो नौटङ्की सुन्नुभन्दा त बरू म फाँसी लगाएर मर्छु।’
‘हाहाहा........’
‘दाइ! दाइ!!!’
‘हँ’, म झस्किएँ।
***
ट्याक्सी ड्राइभर मिररमा हेर्दै मलाई आवाज दिइरहेको रहेछ।
‘हँ। केहि हैन भाइ। यसो बाहिर हेरिराथे’
‘यस्तो अँध्यारोमा के देखिन्छ र दाइ हेर्नु!’
‘दिनको उज्यालोमा नदेखिने कति कुराहरू भाइ प्रायः रातको अँध्यारोमा नै देखिने गर्छन्।’
उसले खै के बुझ्यो मैले त्यसो भन्दा तर ऊ मज्जाले हाँस्यो।
‘सहि हो दाइ। यो शहर यस्तै छ। दिन दुई गुना रात चौगुना। आफ्नो त सधैँको यहि हो। कति चाख दिनु। दुईचार दिन रमाइलो लाग्थ्यो हेर्न मोलमोलाइ गरेको सडक छेऊँमा। कति रात यहि ट्याक्सीमा हालेर हिँडे पनि ति किन्ने बेच्ने दुबैलाई। दुईचार पटक पुलिसको किचकिच परेपछि बोक्न छोडे।’
उसले आफ्नै अनुभव बुझेछ। सायद हामी सबैले गर्ने त्यही नै हो। मैले आफ्नो अनुभवको तारहरू बजाएको थिएँ। तर उसको मष्तिष्कले त्यसलाई उसकै अनुभवको धुनमा ढाल्यो। मैले केहि भनिनँ।
अलिअली मलाई पनि थाहा थियो त्यो अनुभवको बारेमा। केहि अंश मैले पनि अनुभव गरेको थिए ती रात्रि प्रहरहरूको, छाला नै च्यातेर निक्लुलाझैँ हुने ती उन्मत्त उदात्त रहरहरूको। तर आज यतीका वर्षपछि ती सबै अनुभवमा मात्र सिमित छन्। तीनीहरूको महत्व त्यती नै छ जती मेरा दराजमा थन्किएका पूराना कितावहरूको।
‘दाइ ! दाइ!!’
म फेरि झस्किएँ।
ड्राइभर फेरि मिररमा हेर्दै मलाई बोलाइरहेको रहेछ। एकछिन त मलाई झनक्क रिस उठ्यो के फोकटिया बोलाइरा होला भनेर। मलाई झर्को लाग्न थालिसकेको थियो उसको पारा देखेर।
‘दाइलाई पनि झर्को नै लाग्यो होला मेरो कुरा सुनेर।’
‘हैन भाइ। भन न।’
मैले आफ्नो झर्कोपन लुकाउने कोसिस गरेँ।
‘के गर्नु दाइ! यो राति ट्याक्सी चलाउँदा सारै एक्लो भईँदो रहेछ। मैले सुरुमा सोचेको पनि थिएन यति एक्लो महसुस गर्छु होला भनेर। तर यो रातको अँध्यारोले सडक र आकासलाई मात्र हैन पूरै मनलाई समेत छोप्दो रहेछ। कहिलेकाहिँ छोड्दिऊँ यो काम भनेजस्तो पनि लाग्छ। तर फेरि छोरीको याद आइहाल्छ। कोठाबाट निस्कँदाखेरि निदाइरहेको त्यो अबोध अनुहार याद आउँछ र सम्हालिन्छु।’
‘कती उमेर भयो र भाइ तिम्रो? हेर्दा त भर्खर्कै देखिन्छौ।’
‘के गर्नु दाई चाँडै बिहे गरियो। उसको र मेरो जात नमिल्ने। तीन वर्ष अगाडि भागेका थियौँ सिन्धुपाल्चोक गाउँबाट। म १९ को थिएँ त्यती खेर ऊ १७ कि। अब बाँकि हिसाब तपाईँ नै गर्नुस्,’
म फिस्स हाँसे।
‘तपाईँको नि दाइ? घरमा भाउजुले कुरिराख्नु भएको होला,’ उसले गिज्याउने पारामा मलाइ सोध्यो।
उसको यो प्रश्न बिल्कुलै साधारण थियो तर मसँग त्यतिको साधारण प्रश्नको साधारण उत्तर पनि थिएन।
***
‘कत्ती न माया गर्छु भन्थी हैन! बिहे गरिछ त तेरिले कुन चाहिनेसँग,’ आमाले फोनमा च्याठिएर बोलेको सम्झे।
कतार जाने कुरा मैले सीमालाई सुनाएको थिएँ एक साँझ बानेश्वरमा चियाको गिलाँसमा मुख गाड्दै। यकिनका साथ भन्न सक्दिन त्यतीखेर उनि झस्केकी थिइन् या निराश भएकी थिइन्। तर त्यसपछिका दिनहरु भने क्रमश: निराश र हताश हुन थाले। उनि दिनदिनै मलाई सम्झाउने कोशिश गर्थिन् म दिनदिनै उनलाइ सम्झाउने कोशिश गर्थे।
‘तिमी यहाँ पनि त काम पाउन सक्छौ नि। कतार नै जानुपर्छ? पढेलेखेकै छौ।’
‘तिमीलाई थाहा छ म त्यहाँ जती दुई महिनामा कमाउन सक्छु त्यो यहाँ एक बर्ष मरेर खटिँदा पनि सक्दिनँ। म यहाँ बेकारमा आफ्नो भविष्य बर्बाद गर्न सक्दिनँ।’
‘तिमी भविष्य बनाउने नाममा बर्तमान दाऊँमा लगाउँदैछौ।’
‘जित्नु छ भने केहि न केहि त दाऊँमा त लगाउनै पर्छ।’
‘हाम्रो सम्बन्ध पनि??’
उनी एक्कासी मौन भएकी थिइन्। गालामा आँसुका धर्साहरु थिए।
‘वाह! तिमी त कलियुगका युधिष्ठिर निस्कियौ। आदर्शका कुरा गर्छौ अनि आज हाम्रो सम्बन्ध नै दाऊँमा लगाउने सुरमा छौ। त्यो पनि त्यो भविष्यका लागी जसको कुनै ठेगान छैन।’
हाम्रो एकले अर्कालाइ सम्झाउने क्रम चलिरह्यो। म सोच्थेँ उनले मेरो अवस्था बुझ्न सकिरहेकी थिइनन् र उनले त्यसको उल्टो। त्यसपछी हामी दुबै हार्यौँ।
म जाने दिन एअरपोर्टमा उनी खै किन हो बिल्कुल शान्त थिइन्। कुनै सिद्धी प्राप्त सन्याशिनी जस्ती लागेकि थिइन् उनी मलाई त्यस दिन। पूरै भावशून्य। अन्तिम पटक हात हल्लाएँ। सायद मलाई थाहा थियो त्यो मेरो हात हल्लाइ हाम्रो सम्बन्धलाइ थियो।
‘मेरो बाटो हेरेर कती दिन बस्थी त आमा ऊ!’
मैले आमालाई सम्झाउने कोशिश गरेको थिएँ। उताबाट कराएको आवाज आइरह्यो। मैले फोन राखिदिएँ र झ्याल बाहिर हेर्न थालेँ।
कतार एउटा मरुभूमि हो। सुख्खा, बाँझो, रित्तो। बिस्तारै त्यो मरुभुमि मनभित्र पनि सर्छ। आँधि आउनु त्यहाँको दैनिकी थियो। तर त्यस दिनको आँधिमा खै किन हो मलाइ मेरो गाऊँको याद आइरहेको थियो।
गाऊँमा हूरी आउनुभन्दा अगावै मानिसहरुको भागदौड सुरु हुन्छ। कमजोर टिनका छाना भएकाहरु छानामा ढुङ्गा थप्न दगुर्छन्; कपडा सुकाएकाहरु उठाउन दगुर्छन्; गाइबस्तु चराइरहेकाहरु तीनलाइ गोठमा हुल्न दगुर्छन्; अन्नबिऊ सुकाएकाहरु त्यो बचाउन दगुर्छन र आमाहरु आफ्ना बच्चाहरु खोज्न दगुर्छन। भागदौड्! दौडादौड !! बस आँधिका बेला कोहि दौडिदैनन्।
आँधि मेरो मनमा पनि चलिरहेको थियो बेजोडले। तर सायद म पनि त्यो आउनु अगावै भागिसकेको थिएँ। म चुपचाप काममा लागेँ।
***
आज पाँच बर्षपछि सोँच्दा लाग्छ म मेरो गाऊँको त्यो तलाऊ भएको छु जहाँ एक्कादुक्का कसैले ढुङ्गा हानिदियो भने हलचल हुन्थ्यो नभए शान्त। सधैँ शान्त।
आज ढुङ्गा ट्याक्सी चलाउने भाइले हानेको थियो।
गोजितीर हात बढाएँ र चुरोटको डब्बाबाट एउटा चुरोट झिकेँ।
‘सलाइ छ भाइ?’
‘छ दाइ’
उसले ट्याक्सीको अगाडि ड्यासतर्फ हात बढाउँदै सलाइ टिपेर दियो।
‘एउटा मलाइ पनि दिनुहोला। सारै जाडो छ आज।’
‘छ्याऽऽस्स।’
मैले सलाइ कोरें र दुई वटा चुरोट सल्काएँ। एउटा उसलाइ दिएँ। बारुदको गन्ध नाकमा पर्न नपाउँदै चुरोटको धुवाँले ट्याक्सी छोप्यो। मैले अलिकती झ्याल खोलेँ। पुसको रातको सिरेटोले अनुहारलाई चिमोट्यो। शरीरमा सानो भुईँचालो नै ल्याएर गयो। बाहिर अँध्यारोमा घरहरू अँध्यारोको कम्बल ओढेर मस्त निदाइरहेका थिए। आज निकै जाडो लागेको हुनुपर्छ कम्बल निकै मोटो थियो।
कस्तो अँध्यारो!
***
‘के अँध्यारोमा बसिराछस्? बत्ति बाल्नु पर्दैन?’
कतारबाट फर्केको धेरै दिनसम्म म अँध्यारो कोठामा बसिरहन्थे।
‘खै के देख्छस् यार बाहिर! खै के हेर्छस्!!’
रमेश सधैँ आउँथ्यो साँझ मेरो कोठामा र हामी निस्कन्थ्यौ साँझको चिया र चुरोटको खुराक भर्न।
‘पुरै कन्फ्लिक्ट भइसक्यो तँलाइ बुझिस्! पुरै कन्फ्लिक्ट !!’
‘अब एकचोटि पनि अझै यो भनिस् भने तेरो र मेरो चाहिँ कन्फ्लिक्ट पर्छ यहिँनेर बुझिस्। त्यो पनि मुक्का लात वाला।’
‘हाहाहाहा............’
क्या जोडले हाँसेको थियो ऊ। खै कहाँ हरायो त्यो हाँसो? खै कहाँ हरायो मेरो हाँसो??
एक बर्ष अगाडि उडेको थियो रमेश कोरिया। साइकोलोजिको पढाइले केहि दाल गल्ने नदेखेपछि हाड गलाउन हिँडेको थियो ऊ कोरिया।
अङ्गालो मार्दै एयरपोर्टमा भनेको थियो- ‘के 'स्याड' भइरा मुला। पुरै कन्फ्लिक्ट भइसक्यो बुझिस् तँलाइ। पुरै कन्फ्लिक्ट।’
‘तँ मुला.....’
‘हाहाहाहा.........’
एक महिना अघि म गएको थिएँ उसलाई लिन उसकि आमा र बहिनीलाई लिएर। बुवा आउन मान्नुभएन। जब ऊ आयो आमा मुर्छा परिन्, बहिनी भक्कानिइ। म हत्त न पत्त भुईँमा लडेकि आमालाई उठाउन लागे। बहिनिलाई नरोऊ भन्नलाई मूख के खोल्न खोजेँ ओँठमात्र काँपेको जस्तो लाग्यो। फेरि ओँठ चलाएँ, घाँटि कसैले निमोठे जस्तो भयो। चालै नपाइ गाला भिजेछन्। म भक्कानिएछु। वरपरका मान्छे सबै आए।
काठको सन्दुकमा आएको थियो रमेश। म सम्हाल्न गएको थिएँ उसकि आमा र बहिनीलाई तर म आफैँ सम्हालिन सकेनछु।
‘पुरै कन्फ्लिक्ट भएको छ तँलाइ बुझिस्। पुरै कन्फ्लिक्ट। हाहाहा........’
उसको स्वर गुन्जिन थाल्यो। मैले आँसु पुछेँ र हेरेँ ऊ त्यहिँ थियो काठको सन्दुकभित्र। दुई हात छातीमाथि दोबारिएर राखिएको थियो। म फेरि भक्कानिएँ।
‘कन्फ्लिक्ट भइसक्यो तँलाइ बुझिस्। पुरै कन्फ्लिक्ट। हाहाहाहा......’
मैले कान छोपेँ।
रमेशले आत्महत्या गरेको थियो। घाँटीमा पासो लगाएर। त्यसै लेखिएको थियो सरकारी कागजमा।
आर्यघाटमा उसको जलेर खरानी भइरहेको शरीरले समेत प्रमाण दिन सकिरहेको थिएन मलाई अब ऊ फेरि साँझ फ्रायडका बारेमा मलाइ केहि भन्ने छैन भनेर।
‘किन चुप लागिस् यार तँ? बोल न यार बोल। म सुन्न चाहन्छु सबै। केहि त बोल यार.......’
***
‘आच्छु।’
हत्त् न पत्त हातको चुरोट फालेँ। चुरोट हातैमा सकिएर ठुटोले पोलेछ। ड्राइभर भाइ अघिदेखि नै केहि बोलिरहेको रहेछ।
ऊ भन्दै गयो- ‘के गर्ने दाइ! यहाँ राति ट्याक्सिको जती जाडो खाए पनि घरमा जहान छोरीलाई खुवाउनै धौधौ। अब कतारकै गर्मी खानुपर्छ। कमसेकम छोरीले त भोलि हन्डर खानु पर्दैन।’
मलाइ भाउन्न भएर आयो। बिस्तारै रमेशको स्वर मेरो कानमा गुन्जेजस्तो भयो।
‘दाइ चुरोट सल्काउन एउटा’
मैले चुरोटको डब्बा उसैलाई दिए। मलाई पुगिसकेको थियो।
उसले सलाई अगाडिको ड्यासबाट तान्न खोज्यो। सलाइ खस्यो। निहुरिएर हातले छामछुम पार्न खोज्यो। भेटिएन। ऊ फेरि निहुरियो एक हात स्टेरिङ्गमै राखेर।
पिलिक्क रातो!!!
पिलिक्क रातो केहि मेरो आँखामा परे जस्तो भयो। ड्राइभर निहुरिएरै अगाडि हेर्दै थियो। त्यो रातो झनै नजिक् आयो।
‘ए....ए......’
टायरको घर्सन.....
धडाम्म.....
***
ट्याक्सी सडकबीचको डिभाइडरमा गएर ठोक्किएको थियो।
मेरो कानमा कसैले जोडले ठूलो घन्टी बजाए जस्तो सुन्न भइरहेको थिए। टाउको नराम्रोसँग झ्यालमा बजारिएको थियो। ड्राइभरलाइ हेरेँ। उसको कान तलबाट खून बगिरहेको थियो।
म बाहिर निस्कन खोज्छु। उसले मलाई ननिस्किन भन्छ। सायद ऊ ट्याक्सी भगाउन चाहन्छ।
मलाई थाहा छैन कसरी म ट्याक्सिबाट बाहिर निस्केँ।
अँध्यारोमा अलि पर सडकछेउमा एउटा साइकल लडिरहेको छ। बाङ्गिएको। अलिक पर एउटा शरिर घोप्टिएको। टाउकोबाट बगेको रगतले आहाल बनाएको छ। एक गोडामा चप्पल फित्ताले अल्झिएको र अर्को नजिकै सडकमा। म निहुरिँदै हेर्छु। अनुहार बुढो छ। रगत्पच्छे। साँस गइसकेको। मुटुको धड्कन रोक्किसकेको। मेरो बढिरहेको।
मेरा आँखा अगाडि तुँवालो लाग्न थाल्छ। सोच्ने शक्ति बिलिन।
म एकपल्ट ट्याक्सिभित्रको ड्राइभरलाइ हेर्छु अनि फेरि लडिरहेको त्यो बुढो शरीरलाई।
म झनझन् शून्य।
बिस्तारै आँखा अगाडि सबै बिलिन हुन थाल्छ। पछाडि कहिँ टाढाबाट एउटा स्वर तीब्र हुँदै आउँछ।
‘कन्फ्लिक्ट भइसक्यो तँलाइ बुझिस्। पुरै कन्फ्लिक्ट। हाहाहाहा......’