जेठ २९ गते। कीर्तिपुरको साँघुरो कोठा। बुबा आएपछि निक्कै उज्यालो भएको थियो। साँझ मैले खाना पस्किएर दिएँ। बुबाले भन्नुभो, ‘अब त खाना मिठै पकाउन लागिछे।’
‘सिक्नु पर्यो नि अब? अरु परिवारसँग बस्दा सिक्छन्। म चाहिँ एक्लै परेपछि सिक्दैछु,’ दहीको कचौरा दिँदै मैले भनेँ। बुबाले लिँदै भन्नुभो,‘तातो छ त दही !’
‘तातो पानी हालेको नि।’
‘हरे शिव। अब त जानिछे भनेको फेरि उही पारा। तातो दही पनि खान्छन् कसैले? तेरो कपाल उखेल्छ हेर्न बुढोले।’
‘ज्वाँईलाई पनि तँ भन्नुहुन्छ बुबा?’ म जिस्कन थालेँ।
‘नचाईने कुरा गर्छेस्? मैले कहिले ज्वाईंलाई तँ भनेँ?’बुबा बम्किनु भयो।
‘मैले भिनाजुको कुरो गरेको हो त? अहिले भर्खर तेरो बुढोले कपाल उखेल्छ भन्नुभएको हैन?’
‘अनि के नाम ठेगाना केही थाहा नभाको तेरो बुढोलाई मैले, ज्वाईसाब्ले कपाल उखेल्नुहुन्छ भन्नुपथ्र्यो?’
‘फेरि बुढो भन्नुभो। बुढो पनि छैन के’
‘बाउसँग बोल्ने ढङ्ग हेरन यसको? बिहे गर भनेर खोजेको केटालाई चाहिँ पन्छाउँछे मात्र।’
‘ऊ तपाईंको दही सेलायो’
‘कति कुरौटे भ‘की। यस्ती त थिइनस् त। बोलाउँदा पनि बोल्न हम्मे पथ्र्यो,’ बुबाले अचम्म मानेर सोध्नु भो।
‘खै भुँइचालो आएपछि, नबोली बस्नै नसक्ने भाको छु म,’मैले साँचो कुरा भनेँ।
***
हुनपनि भुईँचालो आएपछि म धेरै नै बोल्ने भएको छु। कहिले बेअर्थ, बेतुकको पनि हुन्छ। मतलब गर्दिनँ। गत बैशाख १२ गते शनिबार थियो। मेरो जन्मदिनपनि। साथीहरू मनिषा, महावीर, सुलभ, रुपा माधवी मलाई मेरो जन्मदिनमा छक्क पार्ने गरी केक लिएर आएका थिए, कीर्तिपुरमा। एन्टेना फाउन्डेशन नेपालका साथीहरूको हार्दिकता र आत्मियताले म कृतज्ञ भएको थिएँ।
मन खुसीले फुरुङ्ग। चट्ट मिलाएर केक काटियो। गुलियो मिठाई। चिसो तातो सबैले मुख मिठाइयो। जेरी खान भनेर हातमा लिएका मात्रै के थियौं घर हल्लियो। सारा मान्छेको भागाभाग। हामीपनि ढोकाखुल्लै छोडेर चप्पलबिना नै भाग्यौं। मान्छेहरू कौशीबाट हाम फालिरहेका थिए। कसैको खुट्टा मर्किएको थियो। कसैको हात धसारिएको थियो। एउटा न एउटा चोट नलाग्ने त कोही पनि थिएन। त्यसपछि दिनभरी नै पृथ्वी हल्लिएको हल्लियै भयो। मेरो जन्मदिन मनाउन पकाएको आलुको अचार विश्वबिद्यालयको आँगनमा लगेर खायौं। पखालेर तार्नठिक्क पारेको माछालाई मैले तीनदिन पछि मात्रै आएर फालेँ, डुंगडुंङ्ती गन्हाएको थियो। भुइँचालोको प्रतिक्षामा रात काट्न हम्मे हम्मे पर्यो। लाग्थ्यो, त्यो दिन हामीले मृत्युलाई कुरेर बाँच्यौं।
त्यसपछि पनि परकम्पनका श्रृङ्खलाहरू गनेर नसकिने गरी आए। वैशाख १२ पछि, बैशाख २९ गते। हामी पुरानै दिनचर्यामा लगभग फर्किसकेका थियौं। अफिसमा नियमित काम गर्ने क्रममा फेरि बेस्सरी हल्लायो जमिन। कानमा हेडफोन लगाएर म मस्त काममा थिएँ। साथीहरू भागेको देखेपछि दौड्दा कम्प्युटर सहित टेबलका कागजात छिर्रबिर्रभए। बाहिर पुग्दा केही पहिल्यै चर्किएको अफिसको घर हल्लिइ रहेको थियो। माथिल्लो तलामा हुनुभएका साथीहरू अझै पनि ओर्लिनुभएको थिएन।
हामी सबै जना आत्तिएर चिच्याउनै लाग्दा उहाँहरू पनि दौडदै आइपुग्नु भो। कुन बेला कहाँ एक चिहान भइनेहो पत्तो थिएन। हरेक दिनबाँच्नु पर्छ, रमाउनु पर्छ। त्यो दिनपनि खाजा ल्याएर सबैजनाले एकै साथ खायौं। जब केन्द्रबिन्दु दोलखा भन्ने भो, मन निक्कै अत्तालियो। वैशाख १२ ले घरको भित्री भाग धेरै ठाउँमा भत्किएको थियो। बाहिर भित्ता केही सग्लो थियो। बुबाआमा कहिले भित्र त कहिले बाहिर गरिराख्नु हुन्थ्यो। मन निक्कै आत्तिएपछि मैले तुरुन्त फोन हानेँ। नेटवर्कले काम गरिराखेको थिएन। कीर्तिपुरको कोठामा दिदी आइपुगेकी थिइन्। म उतै हानिएँ। बुबा हाम्रो पसल भएको घरमा सुतिरहनु भएको रहेछ। भुइँचालोले घर बाँकि राखेन। घरैले पुरेपनि धन्न, बुबा बाँच्नुभो। बुबा आमासँग धित मरुन्जेल बोल्ने मेरो चाहना भने पुरा हुन पाएन।
घरी घरी आउने परकम्पनले कतिबेला मरिने भन्ने त्रास छँदै थियो। जेठ चार गते दाई आउनु भयो अमेरिकाबाट। अफिसमा बिदा मिलाएर दाइसँगैँ म पनि घर जाँदैथिएँ। काभ्रे कटेपछि बाटो छेउछाउका घरहरू कुनै पनि सग्ला थिएनन्। सबै गर्ल्याम गुर्लुम जमिनमा थकाइमारेर लडिरहेका थिए। मैले दशैमा दिनभरी लगाएर कमेरोले पोतेको कोठाका भित्ताहरू क्षतबिक्षत थिए। मन निक्कै अमिलो भएर आयो। लाग्यो, जिन्दगीमा कुनै कुरा प्रतिपनि धेरै नजिक नहुनुपर्दो रहेछ। आज आफ्नै घरको आँगनीमा आउँदा पनि हामीलाई बस्ने बास मिलिरहेको थिएन। न समाउने भित्तो थियो न ओतलाग्ने छानो। यहि घरमा मैले उभिन सिकेँ। आज म उसको अघि उभिरहँदा उ भने उभिन छाडेको छ। म बरबर आँशु खसालेर टोलाइरहेँ।
‘अब त हल्लने बानी परिसक्यो,’ बुबाले हँसाउन खोज्नु भो, ‘हल्लेन भने के भएनभएन जस्तो हुन्छ।’ बुबाको यस्तै बानीले मेरो खुसी फर्काउँछ। हामी पुगेको त्यो दिन गोठको भुईँमै सुत्यौं सबै जना लस्करै। बाख्रा भैंसी पनि बाहिरै भएकोले बाघ आउँछ कि भन्ने डरले पालो पालो गर्दै एक दुई घण्टा मात्रै निदायौं हामी। भोलिपल्ट बाँस काटेर ल्याएर भैंसी र बाख्राका लागि छुट्टै गोठ बनायौं। घरमा बाँकी रहेका केही छिटफुट सामानहरू ल्यायौं र गोठमा प्लाष्टिकले बारेर बस्न मिल्ने बनायौं।
गोठ बस्न लायक बनाएकै साँझ। आमा भैंसी दुहुन थाल्नु भएको थियो। बुबालाई चिसोले छोएर खोक्दै हुनुहुन्थ्यो। त्यही बेला हुरी चल्यो। फर्सीको मुन्टा टिपेर केलाइवरी ओदानको चुल्होमा पकाउन ठिक्क पारेको थिएँ। असिना पानी पर्यो। कराईमा हालेको भुटुनमा आकासे पानीको बाछिटा परेपछि पटटटट् पडेकर उछिट्टिन थाल्यो। दाइले सफा तन्ना ल्याएर बाछिटा आउने ठाउँतिर झुन्ड्यानुभयो। मैले फर्सीको मुन्टा, आँटाको रोटी र ज्वानोको झोल पकाएँ, हामी ४ जनाको लागि।
मामा घरबाट बद्रीदाई आइपुग्नुभयो पानीमा रुझ्दै। हामी पाँचै जनाले लालटिन र जुनकिरीको उज्यालोमा फर्सीको मुन्टा, आँटाको रोटी र ज्वानोको झोल स्वाद लिएर खायौं। फेरी सुत्ने बेलामा बाघ, चितुवा, स्याल र सर्पको डर त छँदै थियो। बुबा, आमा र दाइले निरन्तर मेरो डर हटाउने प्रयास गर्नुहुन्थ्यो। तर चारैतिर पर्खाल नभएको गोठमा सुत्दा डर त लाग्दो नै रहेछ। हत्तपत्त भाग्नै नमान्ने डर।
यसरी डरलाई चुनौतीदिँदै भुईचालो पछिका नयाँदिनचर्यासँग बानी पर्न थालियो। आपतको बेलामा परिवारसँग हुनु खुसीको कुरा हो तर मनमा कामको पनि उत्तिकै सम्झना आउँदो रहेछ। रेडियो नाटक उत्पादनमा संलग्न म, नाटकका दृश्यझै आफै पात्र बनेर जिन्दगीमा कुद्दै थिएँ। मन भित्र लाग्न थाल्यो, अब सामान्य दैनिकीमा फर्कनु पर्छ। बुबा आमाले नमान्दा नमान्दै म फर्किएँ। दाई चाहिँ बुबाको भत्केको पसलमा चेपिएर बाँकी रहेका सामानलाई सुरक्षित राख्ने चाँजो पाँजो मिलाउन थाल्नु भयो।
दाई पनि आफ्नै अनुसन्धानको कामले आउनुभएको मान्छे, स्थलगत भ्रमणका लागि आधा महिना नै रामेछाप जानुपर्ने थियो। काठले बारेर सानो सानो घर जस्तो बनाइसकेर मात्रै उहाँ साथीहरू सहित रामेछाप जानुभयो। म काठमाडौंको पराकम्पन युक्त दिनचर्यासँग अभ्यस्त हुनलागेँ।
भुँइचालोले भौतिक सम्पति सबै लग्यो। आफूसँग जोडिएका भौतिक सामानसँगको आत्मियता कति छ भन्ने कुरा यिनीहरू भत्किएर गएपछि मात्रै महसुस हुँदोरहेछ। आपतमा साथ दिने हातहरू भैदिदाँ जिन्दगी छुट्टै रमाइलो हुँदो रहेछ। यो बेला आफू काम गर्ने अफिस र त्यहाँका साथीहरूले दिएको साथ निक्कै अमुल्य रह्यो। जिन्दगीको मुल्यकति हुन्छ भन्ने कुरा भुँइचालोले रटाएरै गयो।
***
‘खाना थप्देन हो के टोलाएकी,’बाबाले कुराले म झस्केँ।
‘मिठो लाग्यो?’ मैले मन चोर्न खोजेँ।
‘नमिठो भए माग्थेँ होला?’ बाबाले हँसाउनु भो।
मैले खाना थप्दिएँ। बाबा खाइवरी चुठ्नु भो। भुइँचालोमा घरै भत्किँदा। आफैले ठड्याएको घरले आफैलाई पुरेर पनि ब्युँझिनुभको मेरो बा अझै हाँसि खुसी हुनुहुन्छ।‘विपत्ती सबैलाई पर्छ, आत्तिनु हुँदैन,’बाबाले सधैं भन्ने गर्नुहुन्छ, ‘जिन्दगी भनेकै जुध्नको लागि हो, हार्नको लागि हैन।’
बाबाका यिनै कुराले मलाई अघि बढ्न सधैं उर्जा दिन्छ। उहाँको रमाइलो स्वभावले विपत्ति विर्षन मद्दत गरेको छ। खानापछि बुबाले अझै पनि ठट्टा गर्न छोड्नु भएन।
‘तेरा बुढाले सुख पाउने भए,’ बाबा हास्नुभो, ‘मिठो जो पकाउँछेस्।’
‘म त पकाएर खुवाउँने बूढो खोज्ने हो’ मैले थपेँ।
‘यहि भएर पो सधैं देखाएको केटो पन्छाउँदि रैछेस्,’ बुबा मन खोलेर हाँस्नु भो।
[email protected]