भित्तामा झुण्डिएको छ
ह्वाइट कलरको ठूलो घडी
जुन घडीले
दश बजाउन चार मिनेट बाकिँ छँदा
बजाउँछन् गार्ड दाइले
कार्यालय सुचारुको घण्टि
टिनिनि.... टिनिनि...
सधैं हस्याङफस्याङ गर्दै
आइपुग्छिन् एउटी अधबैंसे महिला कर्मचारी
सोच्छु–
बिहान उठ्दी हुन्, दैलोकुचो गर्दी हुन्
चिया नास्ता, भात भान्सा सबै सक्दी हुन्
आफू खान्छिन् खादिनन् थाहा छैन
तर भर्खरै चार हातखुट्टाले हिँड्दै गरेको
छोरोलाई खुवाउँदी हुन्
र, आउँदी हुन् हतार हतार कार्यालयतिर
चुपचाप, चुपचाप
एकटकले नियालिरहन्छु
दिनभर जसो निकै व्यस्त रहन्छिन उनी
के मा व्यस्त रहन्छिन्? म बझ्दिन
पालैपालो घरी मोबाइल घरी कम्प्युटर
टाइप गरिरहन्छिन्
निकै गहिरिएर
एकोहोरिएर
निकै छिटो छिटो
साँच्चै– त्यो गहिरो हेराइले
कति दुख्दा हुन् उनका आँखाका नानी?
अपवाद बाहेक
महिला शौचालय छिर्दिनन् उनी
थाहा छैन त्यहाँका महिलासँग रिसइबी छ उनको
या शौचालयसँग?
जान्छिन् अली परको पुरुष शौचालय
र, हराउँछिन् घण्टौंसम्म
उसैगरी हराउँछन् सधैँजसो
कार्यालयका एक म्यानेजर पनि
उही समय, उही दिशा
म ठम्याउन सक्दिनँ
र, सक्दिनँ अनुमान लगाउन पनि
यो एउटा संयोग हो या सुनियोजित?
खै! किन हो कुन्नी?
उनी निकै माहिर लाग्छिन् मलाई
डराई–डराई निडर हुनुको अभिनयमा
साहसले मुटु सजिव बनाउँदै
बाहिरिन्छिन् शौचालायदेखि
थ्याच्च बस्छिन् वर्षौंदेखिको कालो कलरको रिभल्भिङ कुर्सीमा
र, फेर्छिन् लामो सास
थाहा छैन् सन्तुष्टिले फेर्छिन् या थकानले?
कुनै एक साँझ
लखरतान परेको शरीर
बिछ्यौनामा ढल्काउँदै सोच्छु,
परदेशिएको लोग्नेको यादले मात्र
नमेटिने रहेछ यौनको भोक
सायद, नमेटिने रहेछ
उसैसँग बिताएका पलहरुको सम्झनाले पनि
मुग्लान छिरेको लोग्ने
स्वास्नीको मायाले डोर्याउँदै
घर फर्कन्छ या फर्कन्न?
थाहा छैन् स्वास्नीको प्यासले विछिप्त छ ऊ
या मेटिसक्यो प्यास अरु कसैको संसर्गमा?
मनको भित्री अन्तस्करणमा
कुण्ठित आकांक्षाहरुलाई
दबाउने कहिलेसम्म?
लुकाउने कहिलेसम्म?
आखिरीमा तोडेर सम्झौता
नाघेर भरोसाको पहाड
र निभाएर साँची राखेको ज्योति
सुम्पिएकी उनीले आफूलाई
प्रेमले हो या आकर्षणले?
दाँया कोल्टो फर्कन्छु र सोच्छु–
कार्यालयमा कर्मचारीहरू
पसिना बेच्छन् या जवानी?
बाँया कोल्टो फर्कन्छु र सोच्छु–
कार्यालयमा हाकिमहरू
श्रम किन्छन् या यौन?