एक मुठ्ठी चक्लेट चोरेर दाँवलीहरुलाई बाँड्न भनेर घरबाट लुसुस्क्क बाहिर निस्किन लाग्दा बाले भन्नु भो, ओए ! याँऽऽऽ आइज ।
मेरो हंसले थात छोड्यो । लाऽऽ मैले दुधमिठाई चोरेको बाले था’ पाउनु भएछ । अब के हुने हो । मुठ्ठी जाँघेको खल्तीमा राख्दै थर्थर गर्दै नजिकै गएँ । मलाई बादेखि निकै डर लाग्थ्यो । दुईतीन वर्र्षको एकपल्ट बल्ल घर आउनुहुन्थ्यो अनि महिना दुई महिनामा फेरि केरला जानुहुन्थ्यो । त्यसैले झ्याम्मिन डर लाग्थ्यो । उहाँको चर्को डाँको थियो । काखमा बस्ने त कुरै छोडौं, नजिक हुँदा पनि मेरो आधा होस् उड्थ्यो ।
बाले आफ्नो अटैची खोल्नुभो । एउटा सानो किताब देखाउँदै भन्नुभो, अब तैंले खरररर पढेर सुनाउनुपर्छ मलाई । तैले पढ्लास् भनेर केरलाबाट ल्याएको ।
म घोसेमुन्टो लाएर भूईं कोतरिरहेको थिएँ । गोजीमा एक मुठ्ठी चक्लेट थिए । बा आको उपलक्ष्यमा साथीलाई बाँड्न चोरेको । म डरले काँप्दै थिएँ ।
ओए पढ्, मैले सुन्नेगरी पढ् ।
ल यो भन् । के हो यो ? पढ् बाबु, अर्कोपटक आउँदा तँलाई घडी ल्याइदिन्छु ।
बा छेउमा बसेर मलाई फकाउँदै हुनुहुन्थ्यो । मलाई घडी चाहिएको थिएन । मलाई त्यहाँबाट फुत्किन पाए हुन्थ्यो । डरले गर्दा मैले अक्षर फुटाल्न सकिन । त्यो पुस्तक अंग्रेजी सिकाउन सघाउने पुस्तक थियो । केही अंग्रेजी, केही हिन्दी ।
उहाँले मलाई कडा स्वभावले माया गर्नुहुन्थ्यो ।
भन् त, ल यो कुन अक्षर हो ?
मैले भने आर, अनि यो.. ए, अनि टी.. र्याट माने मुसो । मलाई यही आउँदो थियो तर त्यहाँ आरएटी रैट रैट माने चुवा थियो । त्यस्तै अर्को शब्द सिएटी क्याट माने बिरालो भनेर मलाई कन्ठ थियो तर त्यहाँ सिएटी कैट माने बिल्ली थियो । केरलाको कैट र यहाँको क्याट फरक हुँदो रैछ । म गल्दै गएँ ।
ल यस्तरी यो पेजको सप्पै सुनाइस् भने म नयाँ जाँए ल्याइदिन्छु ।
मेरो कपाल दुखेर आयो । ज्वरो फुट्ला जस्तै भयो । मलाई नयाँ जाँए पर्दैन । मनमनै भन्दै थिएँ, मलाई त्यही टाँक छिनेको जाँए नै ठिक छ ।
एकपटक स्कुलमा एक बजे छुट्टीमा खेल्दा जाँएकोे टाँक छिनेछ तर मैले थाहा पाइन । कोठामा पस्दा सप्पै मलाई हेरेर खुप हाँसे । कसैले जिब्रो काडे, अनि कसैले कुरीकुरी भने । म लाजले भुतुक्कै भएँ । अनि हातले छोपेर रुँदैरुँदै घर फर्केको थिएँ ।
यति पेज सकेपछि मात्रै खाना खाने ल !
मैले खट्नै सकिन, बर्बरी आँसु आए । आँसु त्यही पन्नामा चुहिए । हेर्दाहेर्दै अक्षर फुलेर ठूलाठूला हुन थाले । आँसुुले भरिएका आँखाले अक्षर बडाबडा देखिन थाले । रुँदारुदै हिक्का छुट्न थाल्यो ।
बा अझै खस्रो बोल्नुभो । मैले डरले पिसाब छाडेछु । दिदीले झ्यालबाट बासँग साख्खै हुँदै भनिन्, ‘बाबुले मलाई अंग्रेजीमा जित्नी भो ।’
उनी मलाई जिस्काउँदै थिइन् । त्यसपछि बा अलि नरम हुनुभो । भन्नुभयो, उति बेला आफूलाई कसैले पढ् भनेन् । आज पछुतोले मन जलिरहन्छ । तिमीहरूलाई पढाएर ठूलो बनाउने इच्छा छ मलाई ।
मलाइ बा र अंग्रेजी किताबदेखि अति डर लाग्न थाल्यो ।
बाको इङ्गलिसले मलाई उहाँँ घरमा बसुन्जेल लखेट्थ्यो ।
बा घरमा छँदाको दकसले कहिलेकाहिँ लाग्थ्यो, बा छिटै केराला गए नि हुन्थ्यो ! तर भन्दानभन्दै त्यो दिन छिटै आउँथ्यो ।
बा आउने दिन जति खुसीले रमाइलो हुन्थ्यो, त्यो भन्दा कैयन गुणा बढी नरमाइलो जाने दिन हुन्थ्यो ।
अघिल्लो दिन वल्तिरपल्तिरको दुध जम्मा गरेर राति १२ बजे सम्म कुराउनी बनाउनी, अरु केके गर्दागर्दै अबेर हुन्थ्यो ।
जहिले पनि बा केरला जाने अघिल्लो रात आमाले रोएर बिताउनु हुन्थ्यो । मनमनै रोएको पनि मैले चाल पाउँथे । कतिपटक सारीको सप्कोले आँशु पुछदै बासँग गुनासो गर्नु हुन्थ्यो, आउनी कहिले हो कैले ? घरमा टोकसो उत्ति ।
बाले भन्नुहुन्थ्यो, नरोइ, मलाई पनि सजिलो भा छ र ? मैले आँसु लुकाएर रोएको तैंले देखेकी छस् र ? तँ त कमसेकम घरमा छेस् । छोराछोरी काखमा छन् । परिवार छ । हिँड्ने बेला तँ रुँदा मैले बाटाभरि रुनुपर्छ । बसमा, रेलमा । दुई सालपछि आइहाल्छु नि ।’
मलाई लाग्थ्यो बाआमालाई त्यो रात लामो भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो होला, किनकि बिहान हुनेबित्तिकै छुट्टीहाल्नु पथ्र्यो । तर त्यही बिहान बिहानै हुन्थ्यो । पिठ्युँमा भन्दा कैयन गुणा बढी मनभरी गरुङ्गो भारी बोकेर हिँड्ने बेला हजुरआमाले टिका लगाएर दही खुवाउनुहुन्थ्यो । आमाले घरबाट निस्कने बेला बाटोमा पानीले भरेका र फुल राखेका दुइटा घडा राख्नु हुन्थ्यो ।
पछि आमालाई सोधें, किन त्यसो गरेको ? आमाले भन्नुभो तेरा बा हिँड्ने बाटाभरि काँडा नपरोस् भनेर ।
कुइनेटाले नछेकुन्जेल पाऽऽरी रोहोटेसम्म हजुरआमाले हेरी राख्नुहुन्थ्यो । अनि आज दिनभर ढोका नढेप्नू है भन्नुहुन्थ्यो ।
मैले भनेँ, किन ?
तेरा बाको लागि कहिँको ढोका बन्द नहुन् भनेर, उहाँ सम्झाउनुहुन्थ्यो । बा गएको एक सातासम्म बिहानबेलुकी आमाले देउताको फोटोमा दियो बाल्नुहुन्थ्यो । मैले सोध्थें, किन बत्ती बालेको?
आमा गह डिबडिब पार्दै भन्नुहुन्थ्यो, तेरो बाको जीवनभरि अँध्यारो नहोस् भनेर बत्ती बालेको । मलाई लाग्थ्यो, भित्तामा टाँसेका देउताको तस्बिरभन्दा आमाको मनको भित्तामा झुण्डिएका बाको तस्बिर कति गुणा ठूलो होला ।
...
कक्षा ५ को जिल्लास्तरीय परीक्षामा स्कुलबाट पहिलो भएपछि टोल छिमेकमा चर्चा बढन थाल्यो ।
कसैले भन्थे, मान्छे खिरिलो भए पनि पढाइमा तिख्खर छ । कसैले भन्थे, बौरको घामले खानी भो यसलाई, यत्रो सानो छ, कसरी आउजाउ गर्छ हँ, तेत्रो बाटो ।
धेरैले धेरै थर कुरा सुनाउँदा आमाले मलाइ पाँचमा दोहोराएर पढाउनी कि भनेर एक्लै रन्थनिनुभएछ तर मँसँग भन्नुभएन, पछि थाहा भो ।
पौने एक घण्टाको ओरालो र ठ्याक्कै एक घण्टाको उकालो सालघारीको बाटो हुँदै मैले बेलबगरको बाटो नाप्न थालेँ । सातवटा किताब र प्रत्येक बिषयका कापी झोलामा राख्दा मभन्दा झोला गरुङ्गो हुन्थ्यो ।
एउटा कक्षामा पन्ध्र, बीसजना खुलमखुला बेन्चमा बस्ने म ६ पढन संस्कृत माबि बेलबगर जाँदा रनभुल्लमा पर्थे । एउटै कक्षामा पैसठ्ठी, सत्तरीजना कोचाकोच गरेर बस्नुपर्ने । आफूभन्दा ठुल्ठूला उमेरका सँग । कोइकोइ केटीले जिस्काएझैं गरेर हेपेर भन्थे, आऊ बाबु म काखमा राख्छु ।
कसैले भन्थे, आमाको दुध खान बिर्सेर बिचरा स्कुल आएको । म लाज र डरले निलो र कालो हुन्थें ।
अनौठो लाग्थ्यो, घण्टी बज्नासाथ हुरुर्र कक्षामा पस्थे सबै । मास्टर निस्किनेबित्तिकै गुरुर्र बाहिर । मास्टरले भनेको कसैले र्टेर्दैनथे । गलल्ल हाँस्थे अनि पछिबाट कागजको डल्लो बनाएर केटाहरू केटीहरूलाइ हान्थे ।
स्कुलको दाइनेपट्टी यस्सो छेकिने कुइनेटो देब्रेपट्टी हावीझाङ र खेत । स्कुलमा ट्वाइलेट थिएन । पिसाब लाउनेबित्तिकै केटाहरु स्कुलको दाइने पट्टी पाखामा छेंवल पारेर भित्तातिर र्फकिन्थे भने केटीहरु देब्रेतिरको पाखोमा लहरै बसेझैं गरेर खोलो बगाउँथे ।
कहिलेकाहिँ बाटो हिँडदा झुक्किएर एक अर्कालाई देखिन्थ्यो अनि लाजले भुतुक्क हुँदै मरिमरी हाँस्थे उनीहरू ।
कोइ छट्टु केटाहरु कहिलेकाहिँ उनीहरू कतिखेर आउलान् भनेर पिसाब गरेको हेर्न लुकेर बस्थे र त्यहीबेला डराउन दिएझैं गरेर खङ्रङ्ग पार्थे । त्यसपछि त भागाभाग ।
एकदिन कमलले भन्यो, ओए, एउटा कुरो सोधुँ तँलाई?
मैले भनेँ, सोध न सोध, जाबो एउटा कुरा, किताबभरिको सोध न, जानेको भन्दिन्छु ।
किताबको होइन के, उसले भन्यो ।
अनि के हो त ?
केटीहरु किन बसेर पिसाब गर्छन् होला ? उसले खित्तित हाँस्दै सोध्यो ।
म लाजले पानीपानी भएँ र भनेँ, मलाइ के थाहा !
ऊ झन मरिमरी हाँस्न थाल्यो र भन्यो, खुब जान्नि खाइन्थ्यो मूला त्यति नि थाहा रैन्छ ।
उसले मलाइ निकै इल्लीबिल्ली पार्यो ।
उसले भन्यो, मलाई थाहा छ, किस्नेले भनेको, तर तँलाई भन्दिन ।
कोइ सरल मिजासका, कोइ उटपट्याङ गर्ने, कोइ निकै चतुर स्वभावका यस्तै यस्तै साथीसँग हेलमेल बढ्न थाल्यो । प्रायः साथीहरु भन्दा उमेरले सानो र सोझो भएकाले उनीहरू खास गन्दैनथे मलाई ।
एक बजेपछि दुई बजेसम्म हाफछुट्टी हुन्थ्यो । अनि अलिअलि ५,१० रुपैयाँ खल्तीमा हुने चना खान जान्थे भने गोजीमा डटपेनमात्र हुनेहरू कोइ बयर खान जान्थे बयरघारीतिर, कोहि कपर्दी खेल्थे । कोही आयुर्वेदतिर गएर धुलोऔषधी फाँक हाल्थे । कोइ उधारो बिस्कुट खान्थे शोभाकर गुरुको दोकानमा ।
म् अन्तर्मुखी स्बभावको मान्छे, खास धेरै बोल्दैनथे । त्यसैले धेरैसँग मिल्थेँ र माया पनि गर्थे । जति कक्षा चढ्दै गए पनि हाम्रो समूह स्कुलभरिमा उट्पट्याङ र उपद्रो गर्ने समूह गनिन्थ्यो । कसैसँग रिस उठ्यो कि त गाली गर्ने नाम राखिहाल्ने । कक्षाका सब केटाका गाली गर्ने नाम थिए । कहिलेकाहिँ झगडा परेर कसैले गाली गर्नी नाम भन्यो भने त पाखुरा निमोठ्न थाल्थे । अलि बलियो र दादा खाले भए ‘के भनिस ?’ भन्दै आक्रमण गरिहाल्थ्यो । अलि सोझा बोल्न नसक्नेहरू अमिलो हुँदै बस्थे । मलाई निकै पिर पथ्र्यो ।
अरुलाई उरल र झिरल पार्दै नानाभाँतीका नाम राख्ने भूपाल, नारन, बद्रीहरु । अरुले होमा हो मिलाउँथे मात्रै । कक्षामा पढाउने सबै गुरुका पनि गाली गर्नी नाम थिए उनीहरूको बानी, व्यवहार, स्वभाव र प्रकृतिअनुसारका फरक फरक नाम ।
एकदिन एकजना साथीले कक्षामा कोही नभएको मौका पारेर ब्ल्याकबोर्डमा अब पढाउन आउने सरको गाली गर्ने नाम लेखेछ । कक्षा भरिएपछि ब्लयाकबोर्ड र्हेदै सब गलल्ल हाँस्न थाले भने कोही डराए, अब मास्टरले के गर्नि हुन् । हँसिलो पारामा कक्षा भित्रिएका गुरु ब्लयाकबोर्ड हेर्नेबित्तिकै अँधेरा भए । सब जुरुक्क उठे । गुरु आँखा राताराता पार्दैै लठ्ठी लिन गए । सब मुखामुख गर्न थाले र सबैले आफ्नाआफ्नै लख काट्न थाले । कस्ले लेखेको होला, त्यत्रा बडा बडा अक्षरमा गुरुको गाली गर्नी नाम ।
शिबेले मलाई कोट्याएर इसारा गर्दैै थियो, भिमेले हो । गुरु बडे लठठी लिएर राँक्किदैै आएपछि सबै डरले थर्कमान भएका थिए, अब के गर्नी हुन् !
-बाग्लुङ