मिडिया जहिले पनि नायक–नायिकामुखी थिए र छन् । त्यसैले पनि प्राणको निजी जीवनबारे धेरै जानकारी बाहिर आउनै पाएन । उनलाई जतिले चिने, केवल फिल्मी व्यक्तिकै रुपमा चिने । उनको त्यहि व्यक्तित्व हाम्रा लागि सबैथोक भइदियो ।
चौरानब्बे वर्षको उमेरमा हालै मृत्यु हुँदा पनि अहिलेको चनाखो सञ्चार जगतले उनको धेरै निजी कुरा बताएको देखिएन । जतिले लेखे केवल उही विवरण मात्र दोहो¥याए, उनी सन् १९२० मा जन्मेका थिए, उनी दिल्लीका हुन् र उनको नाउँ प्राणनाथ सिकन्द हो– यस्तैयस्तै ।
हिन्दी फिल्मी दुनियाँ उनको अनुपस्थितिमा शून्यताको अनुभव गर्दैछ । किन ? हो, यहीँ उनको देनको सम्झना हुन्छ, जसले फिल्मको पर्दाभरिको आकार लिएको छ ।
त्यसो त उनी २० वर्षको उमेरमा पञ्जाबी ‘जट यमला’को नायक पनि बनेका थिए । लाहौरबाटै उनको पनि फिल्म यात्राको थालनी हो । यी पनि सबैलाई थाहा भएकै कुरा हुन् ।
उनको खलनायकी र चरित्र अभिनेताको युग नै स्मरणीय छ । त्यस कारण उनको अभिनयलाई दुई चरणमा बाँडिन्छ । एक खलनायकका रुपमा र अर्को चरित्र अभिनेताको रुपमा ।
हुन त एउटा भनाइ यो पनि छ, कुन अभिनेता चरित्र अभिनेता होइन ? सैद्धान्तिक रुपमा यो कुरा ठीक पनि हो । तर चलन वा ‘इमेज’का अघिल्तिर कसको के लाग्छ ? नत्र प्राणलाई पनि सन् १९६५ तिर ‘उपकार’ फिल्मबाट असल पात्रको भूमिकामा देखा पर्दा भन्नुपर्ने थिएन, ‘प्राण खलनायकीबाट चरित्र अभिनयमा आए ।’
खलनायक प्राणको युग र चरित्र अभिनेता प्राणको युग दुवै प्रकारका अभिनयमा हिन्दी वाक्यांश मिलाएर भन्ने हो भने, प्राणले प्राण फुकिदिएका थिए ।
एउटा पछि भन्ने कुरा भए पनि पहिले नै व्यक्त गरिदिउँ । ‘उपकार’बाट प्राणले असल पात्र खेले भनिन्छ । तर, त्यस्तो अलि होइन । सन् पचासको मध्यको आसपास राज कपुरको एउटा फिल्म आएको थियो ‘आह’ । त्यस फिल्मलाई पुराना दर्शकले सम्झेकै हुनुपर्दछ । ‘आह’मा प्राणले एउटा डाक्टरको भूमिका खेलेका थिए । उनी त्यसमा खलनायक थिएनन्, चरित्र अभिनेता नै थिए । अर्थात् असल पात्र । त्यसै बखत पारखी राज कपुरले प्राणभित्र भएको चरित्र अभिनेता बन्ने गुणलाई देखिसकेका थिए । त्यो फिल्म ‘आह’ मलाई यसकारण पनि स्मरण हुन्छ, प्राणलाई मैले सबैभन्दा पहिले देखेको फिल्म त्यही थियो । त्यसबखत म कक्षा आठको विद्यार्थी थिएँ । सायद १२ वर्षको । पातलो आवाजमा म ‘आह’ को ‘आजा रे, अब मेरा दिल पुकारा...’ भन्ने लोकप्रिय गीत कक्षाका खालि समयमा गाइरहन्थेँ । साथीहरु मलाई प्रेरित गर्थे, ‘तेरो आवाज राम्रो छ ।’ स्वाभाविक थियो, हौसिएर म मुकेश र लताले गाएको, राजकपुर र नर्गिसमाथि फिल्माएको त्यो गीत झन् बेस्सरी गाउँथे ।
ऊ जमानाका केहीमध्ये यो पनि एउटा गीत हो, जसका शब्दहरु अहिले पनि मलाइ कण्ठ छ । म अझै पनि त्यो गीत यदाकदा गाइरहन्छु । जतिचोटि गाउँछु त्यसमा त्रि–जुद्ध हाइस्कुल, वीरगन्जको कक्षा आठको एउटा ठिटोलाई पाइरहन्छु, माने स्मृतिमा । गीत र फिल्मले मेरा स्मृति र अनुभवलाई जोड्ने गर्दछन्, विस्तारित गर्छन्, त्यसकारण यी मलाई प्रिय छन् ।
यो बेग्लै कुरो हो, ‘आह’ पछि प्राणले खलनायकी गरे र यस्तरी गरे, जसको उदाहरण हिन्दी फिल्म जगतमा अर्को पाउन सकिँदैन ।
मलाई कहिलेकाहिँ अचम्म लाग्थ्यो, ‘आह’ को त्यस्तो डाक्टर, ‘जिस देशमेँ गंगा बहती है’को राकामा कसरी परिवर्तित भयो ? यस्तो कल्पना गर्दथेँ, प्राण पनि सहरी जीवनको कठोरताले विरक्त भएर चम्बलमा डाँकु बन्न गए । यो पनि फिल्ममै देखाइन्थ्यो, अन्याय अत्याचारले एउटा सोझोसाझो (भोलाभाला) मानिस चम्बलको ‘बिहड’ मा पसेर डाँकु बन्छ । मेरो कल्पनामा प्राणको ‘आह’ पछिको यात्रा त्यस्तै बन्थ्यो ।
‘उपकार’ कुन अर्थमा उल्लेखनीय छ भने प्राणको पहिलो चरित्र अभिनेता बनेको फिल्म नभए पनि चरित्र अभिनयतर्फको प्रस्थान विन्दु भने अवश्य थियो । ‘उपकार’पछि उनी फेरि खलपात्रतर्फ फर्केनन् । जानिफकारको भाषामा भन्ने हो भने ‘आह’ मा प्राणलाई चरित्र अभिनेता नभनेर सह अभिनेता थिए भनेर जोगिन त सकिन्छ, तर चरित्र अभिनेता बन्ने प्रतिभा त त्यसमै देख्न सकिन्छ जसलाई मनोज कुमारले विस्तार दिए ।
प्राणजस्तो खलनायक अब हुन कठिन छ । खलनायकका रुपमा जुन विविधता र गम्भीरता प्राणले उत्पन्न गरे त्यो उनीसँगका र पछिका आजसम्म कसैले पनि गर्न सकेनन् । हुन त एकताक शत्रुघ्न सिन्हा पनि खलनायक थिए र भनिन्थ्यो उनी पर्दामा आउँदा हलमा ताली बज्दथ्यो । तर तै पनि प्राणको उचाइ र कीर्तिमानलाई अहिलेसम्म छोइएको देखिएन । के.एन.सिंह, उल्हास, बी.एम ब्यास आदिले पनि खलनायकीमा राम्रै नाउँ कमाए । तर, प्राण प्राणै हुन् । त्यहाँ कोही पुग्न सक्दैन ।
‘जिस देशमे गंगा बहती है’, ‘राम और श्याम’ र ‘आदमी’मा प्राणको खलनायकीको अनुपम नमूना देखिन्छ । ‘जिस देशमे गंगा बहती है’मा राकाको रुपमा प्राणको गेटअप मात्र होइन, उनको संवाद पनि त्यत्तिकै प्रभावकारी छ । त्यस फिल्ममा उनको एउटा बानी छ, उनी बारम्बार दुवै हातका औंला आफ्नो कलर वरिपरि घुमाउँछन् । त्यसलाई मनोवैज्ञानिक रुपमा व्याख्या गरियो । त्यसो गर्नु अवचेतन रुपमा बसेको एक डाँकुको मनको फाँसीप्रतिको भयको अभिव्यक्ति हो भनेर । त त्यो एक यादगार ‘म्यानरिज्म’ जस्तो भयो ।
‘जिस देशमे गंगा बहती है’ सित मेरो आफ्नो अनुभव छ । म आइएको परिक्षा दिन वीरगन्जबाट काठमाडौं आएको थिएँ । २०१७ सालको कुरो । त्यस बखत वीरगन्जमा परीक्षा–केन्द्र थिएन । काठमाडौं नै आउनु पर्दथ्यो । हाम्रो हिन्दी माध्यम थियो । आफ्नो बानीअनुसार म कुनै विषयको कोर्सबुक मात्र नपढेर अन्य पुस्तक पनि फिँजाएर बसेको थिएँ ।
त्यत्तिकैमा वीरगन्जिया साथीहरु आए र भन्न थाले ‘जाउँ अशोकमा जिस देशमे गंगा बहती है लागेको छ ।’
तिनीहरु सोध्न आएका थिएनन्, केवल भन्न आएका थिए । त्यसपछि त, तिनको विश्वास थियो, म जस्तो ‘सिनेमयी’ बुर्लुक्क उफ्रेर गइहाल्छ ।
तिनीहरुको विश्वास र आफ्नै पनि रुचि विपरीत आश्चर्यजनक रुपमा मैले सिनेमा हेर्न जान्न भनिदिएँ । सायद त्यो ईख पनि मिसिएर होला, मैले त्यो सिनेमा पछि कैयौंपटक हेरेँ ।
‘राम और श्याम’को गजेन्द्र बाबु (प्राण) एकातिर राम (दिलिपकुमार) लाई ‘टर्चर’ दिँदै मनोवैज्ञानिक रुपमा थर्कमान बनाउँछ भने तिनै दिलिपकुमार श्यामका रुपमा फेरि पं्राणलाई थर्काउँछन् । त्यसबखत प्राण र दिलिपकुमार दुवैको ‘रसायन’ एकदम मिलेको देखिन्छ । राजकपुर प्राणका दुवै रुपसँग परिचित थिए । त्यसकारण राका बनाए उनलाई भने ‘बबी’मा फेरि अलग्ग रुपमा प्रस्तुत गरे, एक अभिजात गरिमा दिएर ।
‘भिक्टोरिया नं. २०३’ मा अशोककुमारसित उनको जोडी थियो । दुवै ठग भए पनि ‘सदासययुक्त’ थिए । त्यसमा उनीहरुको हास्यको प्लट थियो । ‘राजा और राना’ मा पनि यिनै थिए र अभिनयमा हास्य मिसिएको थियो ।
एउटा सामान्य ग्रेड र बजेटको फिल्म ‘धर्मा’ भन्ने आएको थियो । त्यो फिल्म हिट हुनुका पछाडि यदि कुनै कारण थियो भने केवल प्राणको अभिनय मात्र थियो ।
‘शराबी’मा उनको भूमिका र अभिनय त्यत्तिकै सशक्त छ । उनको प्रतिभा बहुमुखी थियो ।
अमिताभ बच्चनसँग प्राणको समीकरण हिन्दी सिनेमाको अर्को उल्लेख्य पाटो हो । जतिबेला संघर्षरत् अमिताभले ‘जंजीर’मा प्राणजस्ता खलनायक पाए, उनले एउटा लामो कालखण्डसम्म हिन्दी सिनेमामा फर्केर हेर्नै परेन ।
लगातार शिखरको यात्रा गरे अमिताभले । तर, ‘कुली’को आसपासदेखि नै उनले शारिरिक मात्र नभई ‘करियर’को दुर्घटना पनि झेल्नु प¥यो । केही वर्षसम्मै अमिताभ निरन्तर असफल भइदिए । उनको ख्यातिको पारो घट्दै गएको थियो । त्यतिन्जेल प्राणले फिल्मी जीवनबाट सन्न्यास लिइसकेका थिए । यस्तो बेलामा अमिताभ फेरि उनीसमक्ष पुनर्सुरुवातको प्रस्ताव लिएर गए । प्राणले अमिताभलाई हार्न सकेनन् । उनले अमिताभकै ‘तेरे मेरे सपने’ र ‘मृत्युदाता’मा फेरि काम गरे ।
यसरी फेरि फिल्मी दुनियाँमा प्राणको आगमन मात्रै भएको थिएन । संयोगै भए पनि यसलगत्तै अमिताभको सफलता पनि फेरि उकालो लाग्न थालेको थियो ।
प्राणका बारेमा धेरै लेख्न सकिन्छ । उनी व्यक्तिगत जीवनमा भने शान्त र असल थिए । एकपटक कसैले उनलाई सोधेछ, ‘यस्तो खल चरित्र खेल्दाखेल्दा व्यक्तिगत जीवनमा असर पर्दैन ?’
उनले घतलाग्दो जवाफ दिएका थिए–‘जसरी राजा बनेर खेल्दा राजा होइँदैन । त्यसैगरि खलपात्र भएर खेल्दा पनि त्यसको असर हुँदैन । त्यो अभिनय हो, हामीलाई थाहा हुन्छ । अभिनय सकिनासाथ हामी त्यस पात्रलाई बिर्सेर हिँड्छौं ।’
प्राणलाई संयोगले मृत्युभन्दा केही मात्रअघि हिन्दी फिल्मको सबभन्दा ठूलो ‘दादासाहेब फालके अवार्ड’ दिइयो । उनकै घरमा गएर दिनुप¥यो । धेरै वर्षअघि लता र दिलिपकुमारले उनलाई दिलाउन पहल गरेका थिए । सफल अहिले भयो ।
उनको अन्तिम संस्कारमा दिलिपकुमार जान सकेनन् । उनी आफैं विरामी छन् ।
प्राणका साथ खलनायकी र चरित्र अभिनयको एउटा युग नै समाप्त भयो भनिन्छ । त्यस्ता प्राणबारे धेरै लेखिएन । किनभने उनी प्रचलित अर्थमा ‘हिरो’ थिएनन् ।
अभिनेताका रुपमा उनी सधै स्मरणीय छन् । एक ठूला ‘खराब’ मानिसलाई श्रद्धान्जली ।