अध्ययनका लागि तय भएको काठमाडौंदेखि टेक्साससम्मको यात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भयो । विमानस्थलको प्रवेशद्वारमा सुरक्षाकर्मीले हतारहतार औपचारिक रुपमा छामछुम गरिरहेका थिए । मलाइ सुरक्षाकर्मीले छामे र मेरो लगेजलाइ एक्सरे मेसिनले जाँच गर्यो । सबै सुरक्षा जाँच पार गर्दै म यात्रु प्रतीक्षाकक्षमा पुगें । त्यहाँ रहेको शौचालयको कमोडमा चैनी खैनी तथा गुट्खाका खोल फालिएको थियो, कसैलाइ पेट दुखेर अप्ठ्यारो परिहाले शौचालय प्रयोग गर्न सकिने अवस्था थिएन । विमानस्थलमा केही राम्रा कुराहरु पनि देखिए । संसारका कमै विमानस्थलले यात्रुलाई निशुल्क फोन दिएका हुन्छन्, त्यहाँ पनि नेपाल टेलिकमले निशुल्क टेलिफोन राखिदिएको रहेछ । तर फोन छिन्नभिन्न भइसकेको थियो, रिसिभर नै थिएन । विमानस्थलको प्रतीक्षाकक्षमा पिउने पानीको सुविधा चाहिँ राम्रो लाग्यो ।
प्रतीक्षारत यात्रुहरुको भीडमा मिश्रित भाव मैले देखें । निधारमा लगाइएको टिकाले अधिकांश आफ्नो शारिरिक श्रम बेच्न वैदेशिक रोजगारीमा जान लागेको देखाइरहेको थियो । कस्तो कम्पनी पर्ने हो, कस्तो कमाइ हुने हो अनि कस्तो काम गर्नुपर्ने हो भन्ने अनिश्चितता तिनको मुहारमा देखिन्थ्यो । सोही भिडका एक मधेसी मित्रले जग्गा बेचेर कतार जान लागेको कथा सुनाए । एक पत्रकार मित्रले एउटा कार्यक्रममा भाग लिन रुस जान लागेको तर मौका मिले उतै बस्ने योजना सुनाए । अर्का एक सुकिला मित्र (जसको हाउभाउ र व्यवहारले उनि नेपालको एलिट वर्गको भएको सन्देश दिन खोज्दै थिए) ले आफू कोरिया जान लागेको र त्यहाँ व्यवसाय रहेको बताए ।
केही क्षणमा इतिहाद एयरवेजको बोइङले जमिन छोड्यो । सँगैका मित्रलाई सिटबेल्ट बाँध्न, टच स्क्रिनमा भिडियो हेर्न, ट्वाइलेट प्रयोग गर्न अनि खानेकुरा अर्डर गर्न सिकाएँ । विमान सुविधा सम्पन्न थियो । कतार एयरवेयज, इतिहाद एयरवेजलगायत मध्यपूर्वका विमानमा पाइने सुविधा युरोपियन र अमेरिकी विमानभन्दा पनि राम्रो हुन्छ । मध्यपूर्वका धेरैजसो विमान नयाँ छन् अनि तिनीहरु धेरैजसो सरकारी स्वामित्वकै भएकाले गुणस्तर र नाम कायम राख्न धेरै लगानी पनि गरेका छन् । विमानमा खानाको सुविधा राम्रो थियो । विमानको विजिनेस क्लासमा सुविधा तुलनात्मक रुपले अलि बढी हुन्छन् । त्यहाँ सिटहरु अलि खुला हुने भएकोले आरामले सुत्न पाइन्छ अनि खानेकुरा पनि इच्छाअनुसार चाहेको समयमा खान पाइन्छ । मान्छेहरु त्यत्तिका लागि मात्र दोब्बर पैसा तिरी बिजिनेस क्लास किन चढछन्, मैले अझै बुझ्न सकेको छैन । शायद केही मान्छेहरु विजिनेस क्लासमा चढ्दा आफूलाई एलिट क्लासको सम्झी आनन्द मान्दा हुन् ।
विमानको बारेमा थाहा भएका अलिअलि जानेबुझेका नेपालीले विमानमा रेड लेवल मागेजति पाइने भएकाले मातिने गरी खाए । एकजनाले अलि धेरै नै खाएर विमान परिचारिकासँग अंग्रेजीमा कुरा गर्दे थिए । विमानमा पहिलोपटक चढ्नेहरुले चाहिँ पैसा तिर्नुपर्छ कि भन्ने ठानेर परिचारिकाले जे दियो त्यो मात्र खाए । विमानकि एक परिचारिका काली हिस्सी परेकी श्रीलंकाकी थिइन् । धेरैजसो विमानमा परिचारिकाहरु सुन्दरतालाई नै प्राथमिकता दिई राखिने भएकाले मलाइ मात्र हैन, सबैलाई उनीहरुले आकर्षित पार्छन् । तिनको नाम पान्चाली थियो जुन नामले महाभारतमा पाँचजनाकी श्रीमती भएकाले द्रौपदीलाइ पुकारिन्थ्यो । उनको त्यस्तो नेमट्याग देखेपछि मैले उनलाइ यो कुरा बताएँ, उनले मुख खुम्च्याइन्, तर उनी झन् सुन्दर देखिइन् । श्रीलंकामा बौद्द धर्मको निकै प्रभाव रहेको बताइन् । रामायण युगको लंका शहर भएकाले हिन्दु धर्मको पनि राम्रै प्रभाव रहेछ ।
विमान अबुधावीमा केही बेर रोकियो र थप यात्रु लिई अमेरिकाको फिलाडेल्फियाको लागि करिब तीस हजार फिटको उचाइमा उड्यो । बिहानीको समय भएकाले झ्यालबाट हेर्दा बाहिरको दृश्य मनमोहक थियो । बाक्लो बादलमा घाम पर्दा चाँदीजस्तै टल्किरहेको थियो । बादललाइ निहालेर हेर्दा बिभिन्न आकार देखिन्थ्यो अझ भन्दा जे कल्पना गर्यो त्यही बन्थ्यो । कुनै ठाउँमा बादल हिउँको थुप्रोजस्तै देखिन्थ्यो । म त्यसमा गइ हाम फाल्न पाए कति आनन्द आउँथ्यो होला भनी कल्पना गर्थें । साँच्चै नै उच्च आकाशमा एउटा छुट्टै संसार छ । हाम्रा हिन्दु धर्मग्रन्थहरुमा वर्णन गरिएको स्वर्ग शायद त्यहिँ छ ।
सँगैको सिटमा एकजना किशोर बसेको थियो, उ अमेरिकाको युनिभर्सिटी अफ कन्सासमा थियोलोजी विषयमा अध्ययन गर्दै रहेछ । उ क्रिश्चियन धर्मबारे अध्ययन गर्दो रहेछ । मलाइ पहिले धर्म, इतिहासजस्ता घरमै बसी अध्ययन गर्न सकिने विषय अध्ययन गर्न पनि विश्वविद्यालय किन जान्छन् जस्तो लाग्थ्यो । विज्ञान, इन्जिनियरिङ, मेडिसिन, व्यवस्थापन जस्ता विषयका अलावा विकसित देशहरुमा कला, संगीत, धर्म, फ्यासन आदि सबै विषयमा अध्यापन हुने गर्छ । मैले क्रिश्चियन धर्मबारे अझ जान्न उसँग केही प्रश्न गरेँ । उसले जानेसम्मको उत्तर दियो । उ क्रिश्चियन धर्म नै संसारको सबैभन्दा सत्य र ठूलो धर्म ठान्थ्यो । मैले भद्र असहमति जनाउँदै संसारका सबै धर्महरु आआफ्नै स्थानमा सत्य छन् र हामीले सबै धर्मलाई आदर गर्नुपर्छ भनें । मैले क्रिश्चियन धर्मका प्रचारक मिसनरीहरुले नेपालमा गरीबलाई आर्थिकरुपमा सहयोग गरी धर्म परिवर्तन गर्न प्रेरित गर्ने गरेको र त्यो गलत रहेको बताएँ । गरीबलाई आर्थिक सहयोग गर्नु निश्चय पनि राम्रो हो तर त्यसैको प्रभावमा धर्म परिवर्तन नै गराउनु चाहिँ बाइबलले नै पनि उचित ठान्छ जस्तो लाग्दैन । धर्म आफू हुर्किने वातावरण र समाजले निर्धारण गर्ने कुरा हो, धर्मलाई एकआपसमा तुलना गरी जुन धर्म वैज्ञानिक वा राम्रो छ त्यसैलाई अंगाल्नुपर्छ भन्ने होइन । सबै धर्मका अतिवादीको यस्तो क्रियाकलाप पूर्णत गलत छ र तिनै धर्महरुकै मूलमर्मको पनि विपरीत छ । त्यसो त कतिपय युरोप तथा अमेरिकी नागरिकले पनि हिन्दुधर्मको प्रभावले धर्म परिवर्तन गरेका कैयन उदाहरण छन् । जे होस् स्वतस्फुर्त रुपमा धर्म परिवर्तन गर्ने कुरा नितान्त व्यक्तिगत हो । मेरो विचारमा धर्म परिवर्तन गर्नु भनेको धर्मको अपमान गर्नु हो किनकि हरेक धर्मका आआफ्नै इतिहास र दस्तावेज छन् जुन आआफ्नै स्थानमा सत्य छन् । हिन्दु धर्म निश्चित रुपमा धेरै पुरानो छ र ग्रन्थहरुमा धनी पनि छ ।
करिब चौध घन्टाको उडानपश्चात विमान अमेरिकाको फिलाडेल्फियामा अवतरण गर्यो । अमेरिकाको नियम अनुसार अध्यागमनसँग सम्बन्धित सबै औपचारिकता अमेरिकाको पहिलो पोर्ट अफ इन्ट्रीमा पुरा गर्नुपर्छ । म अष्टिन, टेक्सास जानुपर्ने भएकोले त्यहाँ ओर्लेर अध्यागमनमा लगेज चेक गराई फेरी अर्को विमानमा अष्टिनका लागि लगेज चेक इन गराउनुपर्ने भयो । ट्रान्जिट समय करिब तीन घन्टा भएकाले समस्या भएन । फेरी मैले लगेजमा बन्देज गरिएका कुनै चिजबिज ल्याएको थिइन । संयोगले मेरो लगेजलाइ अफिसरहरुले चेक गरेनन् । कहिलेकाहिँ र्यान्डम चेकिङमा परियो भने केही दुख पाइन्छ कहिलेकाहिं । अमेरिकी कृषि ऐनले जनावर र बनस्पतिबाट उत्पादित कुनै पनि वस्तु अमेरिका लान नपाइने व्यवस्था गरेको छ । मैले यो पहिले नै थाहा पाएकोले धेरै नेपालीले अमेरिका जाँदा लाने वस्तु गुन्द्रुक, अचार, घ्यु केही ल्याएको थिइन । रेन्डम चेकिङमा परिने सम्भावना कमै हुने भएकाले ती वस्तु ल्याउँदा पनि खासै फरक त पर्दैन । मैले पासपोर्ट कन्ट्रोलमा गएर जहाजमै भरेको आफ्नो एराइभल कार्ड आइ ९४, फर्म आइ २० र पासपोर्ट दिएँ । अध्यागमन अफिसरले मेरो पासपोर्ट र आइ २० मा छाप लगाइदियो र फर्म आइ ९४ को अर्धकट्टी मेरो पासपोर्टमा स्टिच गरिदियो । उक्त अर्धकट्टीमा अमेरिका छोड्दा यो फर्म दिनुपर्ने छ भनी लेखिएको थियो । त्यसपछि म सिकागो जाने विमानमा चढेँ ।
करिब दुई घन्टामा सिकागो पुगियो । सिकागोमा करीब दुई घन्टाको ट्रान्जिटपछि फेरि हामीलाई एउटा सानो विमानमा चढाइयो जुन अष्टिनका लागि थियो । करिब २ घन्टाको उडानपछि म मेरो गन्तव्य अष्टिन टेक्सास पुगेँ । त्यहाँ म बस्ने ठाउँ यकिन भइनसकेकोले केही दिन मैले पढ्ने युनिभर्सिटीमै कार्यरत एक जना दाइको एपार्टमेन्टमा बसें ।
केही दिनपछि म आफ्नो एपार्टमेन्टमा सरें । मेरो एपार्टमेन्टको मासिक भाडादर ६ सय ३० डलर थियो । बिजुली र पानीको पैसा पनि आफैँ तिर्नुपर्थ्यो । मैले विश्वविद्यालयबाट करीब १८०० डलर छात्रवृत्ति स्वरुप पाउँथे जुन त्यहाँको महंगो जीवनशैलीका लागि ठिक्क हुन्थ्यो । अमेरिकी विश्वविद्यालयमा स्नातकोत्तर तहमा पढ्ने सबै अन्तराष्ट्रिय विद्यार्थीहरुले त्यसैको हाराहारीमा छात्रवृत्ति पाउने गर्छन् । एपार्टमेन्टमा एउटा बेडरुम, लिभिङ रुम, किचन, डाइनिङ र बाथरुम थियो । पछिल्लो केही दिन मैले कोठामा चाहिने फर्निचरहरु र अन्य सामान जुटाउन संघर्ष गरें । खाट, टीटेबलजस्ता सामानहरु आइकियाबाट किनें । आइकियामा फर्निचर र सजावटका सामानहरु आधुनिक डिजाइनका हुन्छन् तर तुलनात्मक रुपमा सस्ता हुन्छन् । आइकियाका सामानहरुका सबै पार्ट्सहरु खोली अलग्गै राखी प्याकिङ गरिने भएकाले घरमा जोड्न भने निकै समय लाग्छ । मलाई खाट र टेबल जोड्न दिनभरि नै लाग्यो । सोफा, डाइनिङ टेबलजस्ता बाँकी सामान भने क्रेगलिष्ट भन्ने वेवसाइट मार्फत किनें । उक्त वेबसाइट एपार्टमेन्ट सर्दै गरेका मानिसहरुले प्रयोग गरेका सामानहरु किनबेच गर्ने ठाउँ हो । अमेरिकामा मानिसहरु जागिर परिवर्तनसँगै ठाउँ परिवर्तन हुँदा एपार्टमेन्टसमेत परिवर्तन गर्ने हुनाले उक्त वेवसाइट निकै उपयोगी हुँदो रहेछ । त्यस्तै भान्छाका भाँडाकुँडा र खानेकुरा वालमार्ट नामको स्टोरबाट किनें । वालमार्ट आम्दानीका हिसाबले विश्वकै तेस्रो ठूलो कम्पनी रहेछ । अमेरिकामा वालमार्टजस्ता ठुला कम्पनीका स्टोर ठाउँठाउँमा छन् र तिनका शाखाहरु पूरै अमेरिकाभरि छरिएका छन् । वास्तवमा अमेरिका ब्रान्डको देश हो भन्दा पनि हुन्छ । मानिसहरु कुनै पनि सामान किन्नुअघि कुन ब्रान्डको हो, हेरेर मात्र किन्ने गर्छन् । प्राइभेटाइजेसनलाई अमेरिकाले प्रोत्साहित गर्ने भएकोले यहाँ स्वस्थ प्रतिस्पर्धा भने छ । खाद्य सामग्री, लुगा, फर्निचर आदि सबैमा विभिन्न ब्रान्ड प्रतिस्पर्धा गरिरहेका छन् । सामान्यतया लुगा किन्न मलहरुमा जानुपर्थ्यो भने खाद्य सामग्री किन्न अन्तै जानुपर्थ्यो । फेरि हामी नेपालीलाई चाहिने मसला, चामललगायत सामान किन्न भने भारतीयको पसलमा जानुपर्ने । जे होस् सबै सामानहरु जोडेपछि एपार्टमेन्ट हेर्न लायक देखियो । मैले पहिलोपटक घर छाड्दा म उन्नाइस बर्षको थिएँ । इन्जिनियरिङको प्रवेश परीक्षा तयारी गर्न पहिलोपटक काठमाडौं गएको थिएँ । त्यहाँ कीर्तिपुरमा नौला साथीहरुसँग बस्दा निकै अत्यास लागेको थियो । पहिलो केहीदिन त म रोएँ पनि, तर पछि नयाँ साथीहरु बनेपछि रमाइलो लाग्दै गयो । त्यसपछि घर छोडेको आज दश बर्षभन्दा बढी भइसकेछ । अब भने मलाई जहाँ आफू बस्यो, त्यही आफ्नो घरजस्तो लाग्छ ।
युनिभर्सिटी अफ टेक्सास एट अस्टिन अमेरिकाका उत्कृष्ट विश्वविद्यालयमध्ये एक हो । सन् १८८३ मा स्थापना भएको यस विश्वविद्यालयले नै अस्टिन सहरलाइ फराकिलो बनाएको हो भनिन्छ । विद्यार्थिहलाई सहरभरि सार्वजनिक यातायातमा निशुल्क चढ्न छुट छ । हुन पनि यो विश्वविद्यालय करीब ५०,००० विद्यार्थि र १७,००० कर्मचारीहरुको घर हो । यो विश्वविद्यालय खेलकुद क्षेत्रमा निकै अगाडि छ । सन् २०१२ सम्म यहाँका विद्यार्थीले करिब १३० वटा ओलम्पिक पदक जितिसकेका छन् । राम्रा कुराका अलावा यो विश्वविद्यालयसँग जोडिएका केही दुखद घटनाहरु समेत छन् । सन् १९६६ मा यसै विश्वविद्यालयका विद्यार्थी चार्ल्स ह्वाइटले विश्वविद्यालयको मुख्य भवनको २८ औं तलाबाट अन्धाधुन्ध गोली चलाई १३ जनाको हत्या गरी अनि अरु कैयनलाई घाइते बनाए । उनलाई करीब दुइ घन्टापछि सबैतिरबाट घेरा हालेपछि मात्र एक जना पुलिस अफिसरले सुट गरी मारेका रहेछन् । घटनापछि अनुसन्धान टोलीले उनलाई त्यतिबेला मनमा भयानक विचार आउने एक किसिमको ब्रेन ट्युमर भएकाले उक्त घटना भएको निष्कर्ष निकालेका रहेछन् तर उक्त विषय अझै विवादित छ । उनले घटना हुनुअघि धेरै डाक्टरसंग जाँच गराएको तर कसैले पनि रोगको सही पहिचान गर्न नसकेपछि हार खाएर उनले आत्महत्या गर्न लागेको सुसाइड नोटमा लेखेका रहेछन् । मर्नुअघि उनले आफ्नी श्रीमती र आमा समेतको हत्या गरेका थिए । श्रीमती र आमाको हत्या भने उनीहरुलाई मबिना बाँच्न कठिन हुने भएकोले गरेकोसमेत सुसाइड नोटमा लेखेका रहेछन् ।
लामो इतिहास बोकेको विश्वकै उत्कृष्ट विश्वविद्यालयमा पढ्न पाउँदाको खुशी एकातिर थियो त अर्कोतिर यहाँ गर्नुपर्ने कडा मिहिनेत । विस्तारै कक्षा शुरु हुने दिन आउन थाल्यो । अगष्ट २८ २०१२ को साँझ गन टु टेक्सास नामक भव्य स्वागत कार्यक्रमले नयाँ विद्यार्थिलाई त्यहाँ स्वागत गरियो । मलगायत जियो साइन्समा पढ्ने अन्य साथीहरु कार्यक्रम शुरु हुनुअघि नै त्यहाँ पुगेकाले अघिल्लो पंक्तिमै बस्यौं । नेपालमा हुने हरेक कार्यक्रमहरुमा मन्चमा लगेर विशिष्ट व्यक्तिहरुलाइ आसन ग्रहण गराइन्छ, अनि सबैले पालैपालो भाषण गरेपछि मात्र कार्यक्रम शुरु हुने गर्छ । तर त्यस्तो भव्य कार्यक्रममा पनि विश्वविद्यालयका पदाधिकारीहरु सामान्य विद्यार्थि बस्ने पंक्तिमै बसेका थिए । अघिल्लो पंक्तिमा बरु सांकेतिक भाषा पढ्न सजिलो होस् भनी अपांगलाई बस्ने ब्यवस्था मिलाइएको थियो । त्यत्रो कार्यक्रममा भाषण पनि एकजनाले मात्र गरे । विश्वविद्यालयका अध्यक्षले थोरै समय मात्र भाषण गर्न लिए र त्यही समय पनि नयाँ बिद्यार्थीलाइ हौसला दिन खर्चिए । उनले नयां विद्यार्थीलाइ औपचारिक स्वागत गरेपछि रातको करीब ९.३० बजे ३२ तले मुख्य टावरको रंग गाढा सुन्तला रंगमा परिवर्तन भयो जुन रंग विश्वविद्यालयको आधिकारिक रंग हो । त्यसपछि सबै नयाँ बिद्यार्थीले विश्वविद्यालयको औपचारिक सपथ खाए । विश्वविद्यालयको चर्चित लंगहर्न ब्यान्डले त्यसपछि आफ्नो आधिकारिक गीत आइज अफ टेक्सास विभिन्न शैलीमा प्रस्तुत गरे । त्यस्ता प्रत्यक्ष प्रस्तुति हेर्दा मनमा छुट्टै उत्तेजनात्मक तरंगको सन्चार हुन्थ्यो र आफू पनि भिडसँगै चिच्याउँजस्तो लाग्थ्यो ।
भोलिपल्टदेखि नयाँ ठाउँमा, नयाँ उमंगसाथ अध्ययन शुरु भयो । त्यसपछि अमेरिकन सर्टिफिकेट खोज्दै आएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुको त्यो भिडमा म पनि हराएँ ।
हाल: अष्टिन, टेक्सास