‘ऊ त्यो भीरमाथिको ढुंगामा बसेर मलाई तिम्रो चित्र बनाउन मन छ,’ मैले भनिदिएँ।
वरिपरि कोही छैन। खोला मात्रै सुसाएको छ। यो निर्जन बाटो एक्लै बोल्दै म कहाँ हिँडिरहेकी छु, थाहै छैन।
‘ल हिँड, म पुर्याइदिन्छु,’ केटा मान्छेको आवाज सुनेर म झस्किँए।
म त एक्लै बोल्दै हिँडिरहेकी। जवाफ दिने को हो? मन चिसो भयो। ऊतिर फर्किएँ। चिनिनँ। नचिनेको मान्छे देखेर मेरो अनुहार निलो भएको हुनुपर्छ।
‘तिमी मसँग डराउनु पर्दैन, केही गर्दिन,’ ऊ मुसुक्क हाँस्यो र मेरो दाहिने हात च्याप्प समायो। उसको अनुहार एकै छिन हराउँछ, फेरि देखिन्छ। देखिँदा पनि ठम्याउन सक्दिनँ, को हो। को हो ऊ?
भूत?
सम्झेर सातो गयो। आँखा चिम्लिएँ। आँखा खोल्दा म त्यही भीरमाथिको ढुंगामा थिएँ।
‘ल मेरो चित्र बनाऊ,’ ऊ मुसुक्क हाँस्यो। मेरो मुटु ढक्क फूल्यो।
किर्तन पो? यसपालि उसको अनुहार स्पष्ट देखियो। मेरो डर हावामा चुरोटको धुवाँझैँ उडेर भाग्यो। ऊ मुस्कुराएर दुष्ट हाँसो हाँस्यो। र, झोलाबाट निकालेर साइनपेन दियो। ती साइनपेन तिनै हुन्, दश वर्षअघि उसले नै मेरो हातमा थमाएको थियो।
‘यी त मेरा हुन्,’ मैले च्याप्प समातेँ।
उसैले दिएको सेतो कागजमा मैले चित्र बनाउन खोजेँ। बनाउनै सकिन। तल भीरको छाँगो देखेर रिगंटा लाग्यो। त्यही बेला उसले चुरोट सल्कायो। धुवाँ छोडेर तिनले बनाएका गोलागोला चक्का हेर्दै गर्दा मैले चित्र बनाउन थालेँ।
मसी सुकिसकेका साइनपेनले रेखाहरु सुस्तरी तानेको देखेर म आफैँ अचम्म परेँ। उसले उत्सुक नजरले हेरिरह्यो। ऊ खुसी भएको देखेर मेरो हात छिटोछिटो चलिरहे। त्यो भिरबाट एक्लै खस्छु कि भन्ने चिन्ताले मात्रै मनको एउटा कुना खाइरहेको छ।
किर्तनको अनुहारको चित्र बन्दै थियो विस्तारै। शून्यतामा टोलाइरहेका तर रहस्यमय चमकले भरिएका आँखा बने। मुस्कानले बास गरेको ओठ बन्दै थियो।
ओठको आकार निकाल्न अन्तिम धर्सो कोर्नै लाग्दा किर्तनले मलाई ढुंगाबाट हुत्याइदियो।
म कहालिँदै खसिरहेकी थिएँ, उसले खल्तीबाट सिठी झिकेर बजाएको मैले देखेँ। ऊ किन त्यति निष्ठुरी भएको होला? आत्तिँदै म विस्तरामा पो बिउँझिएँ।
मोबाइलमा रिङटोन, फोनको जनाउ दिँदै बज्दै रहेछ। मन रमाइलोजस्तो र पीडाजस्तो भावनाले छपक्कै छोप्यो।
आज चित्र बनाउने छु।
मोबाइल बजिरहेको थियो। हेरिन। यसरी बजेपछि नहेरुन्जेल हुने उत्सुकता जस्तो रोमान्चक के होला र? मन थामिरहेकी थिएँ, आजको दिन म मोबाइल उठाउने छैन।
‘आफूलाई पनि त टाइम दिनुपर्यो नि!’ एक्लै रिङटोनलाई जवाफ दिँदै धेरै बेरपछि म विस्तराबाट उठेँ। त्यसो त आफूलाई मात्रै टाइम दिएको पनि खै कति समय बितेछ। मान्छेहरुले असामाजिक भएको आरोप लगाउन सक्छन्। म आरोपहरुको खण्डन गर्दै हिँड्ने छैन। घडी हेर्नु पनि कुन्नि किन मन लाग्दैन अचेल। म समयको नियन्त्रणमा छैन।
मन चंगा हुँदै आएको छ। अचम्म परिरहेछु। मनको नियन्त्रणमा नबस्न भने सक्दिन। आफ्नै मन कहिले अधेँरो र कहिले उजेलो किन हुन्छ भन्ने भेउ पनि मैले कहिलै पाइन।
शायद, दुखी अनि खुसी हुन कारणहरुमात्रै पर्याप्त हुदैनन्।
‘तिम्रो चित्र बनाउँझैँ लागिराछ बुझ्यौँ?’ मैले उसलाई सुनाएँ। ऊ बोल्ने हैन। मेरो सामु छैन किन बोलोस्? तैपनि म लत्तो छोड्दिन,बोलिदिन्छु। एक्लै बोल्ने बानी भैसक्यो।
चित्र बनाउनै नसकेको केही वर्ष भयो। चित्र डायरी कोर्नु अर्को कुरा!
पर्दा खोलेँ, दिनको मलिन अनुहार झ्यालबाट मेरो कोठा छिर्यो। पारी घरबेटीको बंगला ठिकठाक छ। हिजै हो, घरबेटीहरु घुम्न दिल्लीतिर लागे। घर हेर्दै गर्नू है मैयाँ भनिथिन् आन्टीले। उनीहरुको बंगलाले आफ्नो सुरक्षा आफैँ गरिरहेको छ। बंगला र म बसेको उनीहरुकै पुरानो घर बीचमा ज्याकरण्डाको बडेमानको रुख छ, फुल्न ठिक्क परेको। काठमाडौँको भित्री बजारमा यो ठाउँ एक्लो, शान्त र बडा सुन्दर छ।
किचन पसेँ। धन्न पानी रहेछ। काठको भर्याङ ओर्लेर ट्युबेल खिच्न जान मनै थिएन। रोटी र टमाटरको अचार बेस होला। दही पनि रहेछ। खाना पकाएर घर सफा गरेँ।
रंगहरु बनाएँ र क्यान्भास ठिकपारेँ।
फेरि किचन पसेँ, खाना खाएँ।
‘अब म तिम्रो चित्र बनाउँछु, तिमी तयार हो? मैले उसलाई सोधेँ अनि वाचा पनि गरेँ, ‘यो पाली नसकी उठ्ने छैन।’ सधैँझैँ ऊ केही बोलेन।
उसको मौनता स्वीकृतिको हो या अस्वीकृतिको? मैले बुझ्न कोशिश पनि गरिन सदाझैँ। ऊ मेरो स्मृतिपटलमा थोरै ओठ खोलेर हाँसिरह्यो।
मैले कुची समातेँ। किर्तनले दिएका साइनपेन सम्झेँ। पहिलोपटक मलाई रंगको कथा तिनैले बताएका थिए।
किर्तनले दश वर्षअघि थमाएर गएको साइनपेन निकालेँ। समात्दा मेरा हात सुस्तरी काँपे। मन एकतमासको भएर आयो।मलाई रंगको संसारमा जान सिकाउने उसले सपनामा तारेभीरमा खसालिदिएको सम्झेँ।
कति निष्ठुरी थिए उसका आँखा? विरक्त लाग्यो। चुरोट कता परेछ?
उसको मोहनी लगाउने अनुहार, आस जगाउने विचित्रका आँखा र खुसीको भाखा नाचेको मधुरो मुस्कान भएको चित्र बनाउन चाहन्छु म। तर याद आउँछ निष्ठुरी अनुहार।
‘मेरो सपना र कल्पनाको संसारमा त यति निष्ठुरी बनेर नआऊ!’ म फुस्फुसाएँ। आँखा बेस्मारी पोल्यो। गह्रौँ भयो। आँसु तप्प झर्यो रंगमा। चुरोट सल्काएँ, ब्ल्याक सूर्य। कसले होला यसको नामाकरण गरेको? उसलाई धन्यवाद टक्र्याउन मन लाग्छ। मलाई यसको स्वादभन्दा ज्यादा नाम मन पर्छ। ‘के मैले किर्तनसँग रिलेट गर्छु यो नामलाई?’
‘हैन हैन, ऊ त मेरो जिन्दगीको उज्यालो हो।’
चुरोट मेरो सोखभन्दा बढी साथी थियो। ‘जब तिमीलाई महसुस गर्छु, तर भेट्दिन मलाई ब्ल्याक सुर्यको धुँवा चाहिने भएको छ अचेल,’ अर्को हातले कुची समातेँ।
सबैले देख्ने उज्यालो सूर्यलाई कुन सन्कीले ब्ल्याक घोषणा गरिदियो?म छक्क पर्छु।
एक वर्षअघि पहिलोपटक एक युवकको हातमा यस्तो चुरोट देखेकी थिएँ। यसको गन्ध खुब मन परेको थियो। ऊ पनि त मलाई पहिलै भेटमा मन परेको थियो।
...
पातहरु झरिसकेका थिए, कोशा परेका कोपिलाभित्र ज्याकराण्डा फुल्न ठिक्क परेको थियो। यी निला फूल बेपत्ता फुल्न र झर्न थालेपछि काठमाडौँ मादक बन्ने छ। म हुरुक्क हुँदै बसमा चढेर काठमाडौँ चक्कर लगाउने छु।
मलाई दंग पर्नलाई ठूलो कुरै चाहिँदैनथ्यो।
‘शिरीष ठानेको फूलको नाम ज्याकराण्डा रैछ,’ मैले आफैलाई सम्झाएर हाँसे। ट्राफिकले सिठी बजायो। नारायणहिटी दरबारको पश्चिम कुनामा म टक्क अडिएँ। दरबारको आकाशमा चराहरु भुर्र उडे। मेरो मन पनि सँगै उड्यो।
बेपत्ता हुँकिएका मोटरसाइकल, कार र चक्रपथ जाने माइक्रोहरुले ब्रेक लगाए। हातमा सेतो ग्लोब लगाएको ट्राफिक यता र उता नाचिरहेको थियो। मास्कले नाक छोप्न भ्याएको थिएन, मुखमा सिठी जो थियो।
हरियो बत्ती बलेपछि म सुटुक्क ठमेल पसेँ।
मैले कफीका लागि रोजेको रेष्टुराँको छतमा दुई थान टेबुलहरु छन्। एक जोडी चुपचाप बसिरहेका थिए। अर्को टेबलमा म पीठ फर्काएर बसेँ। उनीहरुलाई डिस्टर्ब नहोस् भनेर मैले कानमा इयर फोन ठोसेँ।
नुसरत फतेह अलि खान चिच्याउने छ, अब आधा घण्टा! तुम इक गोरख धन्धा हो...
‘तिम्रो विचारमा जीवन के यसरी नै चल्छ,आवारातालमा? मेरो बिहे हुन लागिसक्यो, तिमी के गर्छौ?’केटी झोक्किइ।
मैले विस्तारै इयरफोनमा भोल्युम घटाएँ। मेरो टेबलमा वेटर देखा पर्यो।
‘कफी ल्याऊ।’ ओठमुनि थोरै दारी राखेको र चिम्सा आँखा भएको युवकले एक नजर पल्लो टेबलमा डुलायो र गयो।
‘जिन्दगीको परिभाषा गर्नु र प्रेमको परिभाषा दिनु जत्तिको अर्थहीन मलाई केही लाग्दैन। हरेकको जिन्दगी एउटा परिभाषा बन्छ र सकिन्छ या रहन्छ। प्रेम पनि त्यस्तै हो...’ केटा जे बोलिरहेको थियो, मेरो मन खिचियो।
‘म गएँ।’ केटीले आफ्नो ब्याग झटपट टिपेको आवाज आयो।
पश्चिम आकाशमा द्वितीयाको चन्द्रमा मुस्कुराएको थियो। मैले टाउको घुमाएँ अनायासै।
प्रेमिकाले छोडेर गए पनि ऊ शान्त देखिन्थ्यो। दाहिने हातको चोर र माझी औँला बीचमा नसल्किएको कालो रंगको चुरोट थियो। सल्काउनै लाग्दा मैले त्यसरी हेरेकी थिएँ। उसको चुरोट अलिक बेसी नै सल्कियो, हाम्रा आँखा जुधे।
म मुस्कुराएँ, ऊ सकेन। तर उसका आँखा मैले यसअघि कतै देखिसकेको हुनुपर्छ।
कति मिठो चुरोटको गन्ध?
त्यसपछिका हरेक साँझ म त्यही रेस्टुरेन्ट जान्थेँ। ऊ त्यहाँ कहिलेकाहीँ मात्रै आउँथ्यो। कालो रंगको चुरोट र कफी पिउँथ्यो। नोटमा केही लेख्थ्यो र जान्थ्यो।
नबोलिकनै उसले मेरो मनमा सानोतिनो ठाउँ बनाएको थियो।
‘अब त उसकी प्रेमिकाको विहे भैसकेको होला,’ सोच्दै थिएँ म। ऊ आयो।
लुगा लगाउने तमिज उसले जानेको थिएन शायद। दारी बढिसकेका थिए। कपाल काट्नुपर्ने होस नभएजस्तो देखिन्थ्यो।
‘म तिम्रो टेबल जोइन गरुँ?’ मैले भनिदिएँ।
ऊ केही बोलेन। म बसेँ।
‘आज पनि द्वितीया रैछ,’ मैले यस्सै भनिदिएँ। उसले टाउको उठाएर आकाशतिर हेर्यो।
‘हरेक महिनामा एकदिन जून यसै गरी उदाउँछ। अर्को दिन अर्कै आकारमा। दिनदिनै नयाँ लाग्छ तर दोहोरिइरहन्छ, के अर्थ छ र ? एकदिन यो सिलसिला सकिने छ।’
यति भनिसकेर सुस्केराजस्तो सास फेर्यो। ऊ दुःखी भएको थाहा पाएँ। मैले दुवैको लागि अर्डर गरेको कफी आइपुग्यो।
‘म कविता सुनाउँ,’ यस्सै फर्केर चुपचाप जानेवाला थिइन म।
उसले मेरो अनुहारमा गढेर हेर्यो र सोध्यो, ‘कवि हौ?’
‘होइन कविता मन पर्छ, कवि पनि मन पर्छ,’ मैले झट्ट किर्तनलाई सम्झेँ। यो युवकका आँखा पनि उसका जस्तै छन्।
नचिनेको मान्छेसँग मनका कुरा गरिदिउँ जस्तो भावनाले छोपिहाल्यो, ‘त्यसो भए म कविको कथा सुनाउँछु।’
ऊ हाँस्यो विस्तारै। मेरो पागलपन देखेर होला।
मैले उसलाई कविता होइन, किर्तनको कथा सुनाएँ।
पहेँलो साँझमा एकजना लक्का जवान आइपुगेको थियो मेरो घर। पिँढीमा बसेर किताबमै मग्न थिएँ म। ऊ हाम्रो आँगनमा उक्लिएको देखेँ।
‘कुन चाहिँ माओवादी आयो फेरि,’ मनमनै झोँक्किएकी थिएँ। जति झोँक्किए पनि त्यो बेला नयाँ मान्छेहरुसँग बोल्न खुब लाज लाग्थ्यो।
यता आउला भन्ने डरले किताबमा झन् घोप्टो परेँ। ऊ आएन। बल खेलिरहेको थियो भाइ। भाइले आकाशतिर हुर्याएको बल उसले च्याप्प समात्यो।
भाइ हेरेको हेर्यै।
‘खुब जान्ने हुँदो रैछ!’ मेरा आँखामा हेरेको भए ऊ एकछिन टिक्ने थिएन। रिसले बलिरहेका जो थिए।
‘मसँग खेल्ने?’ जिस्किएको उसको प्रश्न सुनेपछि डराएको भाइले लजाउँदै खितखित मात्रै गर्यो। उनीहरु एकैछिनमा झ्याम्मिए।
‘मलाई तिम्रो घरमा बस्न दिन्छौ?’ उसले सोध्यो। यस्तो फरासिलो माओवादी अहिलेसम्म देखेकी थिइन मैले। मेरो रिस स्वाट्टै घट्यो।
आमाले त्यही बेला हामीलाई खान बोलाइन्।
म दौडिँदै भित्र गएँ। ‘आमा माओवादी आएको छ।’
‘के भन्छे?’
‘हो भाइसँग खेलिराखेको छ।’
‘मुर्दार,’ आमाले गाली गरिन्, ‘जा पहिले भाइलाई बोलाइ।’
मैले भाइलाई बोलाएँ। ऊ चाहिँ अकमक्क पर्यो।
‘दाई तपाईँ पनि आउनुस्,’ भाइ जान्ने टोपलियो। ऊ आएर पिँढीमा आफ्नो बडेमानको झोला राख्यो।
आमाले बाहिर आएर सोधिन्, ‘को हुनुहुन्च? कहाँबाट आउनुभएको हो?
‘मेरो नाम किर्तन हो,’ उठेर नमस्ते गर्दै भन्यो।
माओवादी होइन रहेछ। कुन्नि को थियो?
‘काठमाडौँबाट आएको घुम्न भनेर, तपाईँले ठानेजस्तो माओवादी हैन म!’ उसले आमालाई सजिलो बनाउन भनेको होला।
‘बस्न दिनुहुन्छ भने आज यहीँ बस्छु। होटलहरु रहेनछन् यता।’
‘आउनुस् भित्रै, साँझको बेला आएको पाउना काँ पठाम् त नि।’
उसको बोलीबचन सुनेर आमा पनि मख्ख पर्न थालिन्। जाडो मौसम थियो। त्यसैले उनीहरु अँगेनाछेउ बसेका थिए। म अल्ली पर! मलाई ऊसँग बोल्न लाज लागिरहेको थियो।
‘तिम्री दिदीको नाम के हो?’उसले भाइसँग सोधेको मैले सुनेँ।
‘आविर्ती!’
‘कति कक्षामा पढ्छौ आवृत्ति?’ उसले पहिलोपटक बोलाउँदा नै मेरो नाम शुद्ध बोलायो। मनमनै म दंग परेँ।आफ्नै नाम म आफैँले पनि शुद्ध बोलाउन्न।
‘१० मा!’ म कपीमा सिसाकलम घुमाइरहेकी थिएँ।
‘चित्र खत्रा बनाउँछे,’ फाइले फ्याट् भनिदियो।
‘बनाउँछे खुब कापी र कलम सकेर हैरान पारी, पढ्नु कै छैन,’ आमा च्याँठ्ठिइन्।
मलाई लाज लागेर आयो। नसकी नसकी आँखा उठाएर हेरेँ। उसका आँखा टुकीको प्रकाशमा चम्किएका थिए। ऊ मलाई हेरेर हाँस्यो। मैले नजर झुकाएकी थिएँ। मेरा कान र गाला तातेर आए।
‘लौ न मेरो चित्र बनाइदेऊ,’उसले भन्यो।
म एकछिनसम्म डेग चलिन।
‘चित्रकार त ठूला मान्छे हुन्छन् संसारमा, कति धेरै नाम कमाउँछन्,’ उसले भाइतिर फर्केर भन्यो, ‘थाहा छ, एउटै चित्रको लाखौँ रुपैयाँ पनि कमाउँछन्।’
‘हुन्चन खुबै पढेर डाक्टर मास्टर भए पो ठूलामुन्छे त,’ आमाले पत्याइनन्, ‘त्यहाँमाथि यो छोरी मुन्छेले कापी धेरै केरेको राम्रो हुन्न बाबु। क्यार्नु टेरपुछार लाउन्ने।’
‘मेरो चित्र नबनाइदिने त आवृत्ति?’उसले फेरि सोध्यो। मेरो मुटु अल्लि छिटो चल्दै थियो उसको कुरा सुनेर। मेरो मनमा चित्र बनाएर ठूलो मान्छे भएको कुन मान्छे होला भन्ने परिरह्योे। उसले भनेन।
आमाले मलाई आदेश दिइन्, ‘बनाइदे न।’
मलाई उसको अनुहारमा हेरिरहन अचाक्ली लाज लाग्यो। नहेरी बनाइदिने कसरी? मैले फेरि उसलाई लुकेर हेरेँ। ऊ भाइतिर फर्किएको रहेछ,तत्कालै मलाई हेर्यो र मुस्कुरायो। हाम्रा आँखा जुधे, उसका आँखा टुकीको उज्यालोमा चम्किएका थिए। उसको मुस्कान पनि मलाई असाध्यै राम्रो लाग्यो।
आँखा जुधेपछि मन किन त्यसरी पोलेको होला? मुटु किन उफ्रेको होला छातीभित्र?
मैले धेरैबेर लगाएर ऊ हाँसेको र मुस्कान आँखासम्म पुगेको चित्र कोरेँ। ऊ भाइ र आमालाई हामीले कहिलै नसुनेका कथाजस्ता लाग्ने कुरा सुनाइरहेको थियो।
भाइलाई बोलाएँ।
‘ला,’ किर्तनको चित्र दिएँ।
उसले तत्कालै आफ्नो हातमा लियो र वरैबाट किर्तनलाई देखायो।
‘खै यता ल्याउत’उसले आफ्नो चित्र हातमा लियो।
‘ओहो!’ ऊ आफ्नो चित्र हेरेर दंग पर्दै भन्यो, ‘तिमी त खुब राम्रो चित्र बनाउँदी रहिछ्यौ।’
उसले गरेको प्रसंसाले म फूलझैँ फूलेकी थिएँ। तर आफ्नो ज्यान भने गह्रुङगो भएको थियो। केले थिचिएकी थिएँ म? कुराकानी सकेपछि उसले उठेर पिँढीमा राखेको आफ्नो झोला ल्यायो। नोटबुकको चेपमा त्यो चित्र राख्यो। अर्को नोटबुक झिक्यो। उसले आफ्नो झोलामा ध्यान दिएकाले मैले उसलाई हेरेकी थिएँ। उसलाई हेरेको आमाले थाहा नपाउन् भनेर मैले आमालाई पनि बराबर हेरिरहेकी थिएँ। उनले पनि उसैको झोलामा आफ्ना आँखा गाडेकी थिइन्।
कपाल निधारसम्मै आएको ठूला आँखा र सुलुत्त परेको नाक र पातला ओठ। एकदम दुब्लो थियो मान्छे।
उसले केही बेर नोटबुकमा केही लेख्यो। अनि फेरि झोलामा हात पुर्यायो।
‘चित्र बनाउने धेरैथरि रंग हुन्छन्, मसँग ती छैनन् अहिले। यी साइनपेन लेउ मेरो गिफ्ट,’ उसले उठेर आएरै मेरो हातमा थमायो।
‘के गरेको बाबु? केही पर्दैनथ्यो पाउनाजस्तो मुन्छे!’ आमाले भनिन्। उसले सुनेन।
‘रंगबिनाको चित्र त्यति राम्रो हुन्न, तिमी ठूलो चित्रकार बन्न सक्छौ एसएलसी दिएपछि फाइनआर्ट पढ्न जाऊ,’ उसले भनेको सुनेर म अचम्ममा परेँ।
मलाई थाहै थिएन पढेर ठूलो मान्छे भएपछि चित्रकार भइन्छ। चित्रसम्बन्धी पढ्नुलाई ‘फाइनआर्ट’ भन्दा रहेछन्। त्यो कुरा मेरो मनमा बेस्सरी गाडियो, किर्तनको
आँखा र मुस्कानजस्तो।
सुत्ने बेलामा मैले उसले दिएको नोटबुक हेरेँ। नेपाली कागजको डायरी। उसले पहिलो पानामा लेखेको थियो, मलाई सम्बोधन गरेर —जिन्दगी पनि रंगहरुले भरिएको हुन्छ। जीवनका रंगलाई अनुभुति गर्नु र तिनलाई बुझ्नू। जीवनका रंगलाई टिपेर चित्रहरुमा भर्न सक्नू। मेरो शुभकामना!
मैले उसले दिएका साइनपेन पनि मुसारेँ। दंग पर्दापर्दै भुसुक्क भएछु।
बिहान म उठे पछि,उसलाई देख्छु भनेर हेरेँ घरवरिपरि, कतै थिएन। चुल्होमा आमा छेउ गएँ।
‘उसलाई त राति कुन्नी कसले हो आएर लगे, पहिले म किन जाने? भनिरहेको थियो पछि विचरा डराउँदै गयो। कति सज्जनजस्तो लाग्थ्यो,’ आमाले नसोधि भनिन्।
मेरो मन एकतमासको नरमाइलो भएको थियो। यो जिन्दगीको कस्तो रंग थियो कुन्नि, मैले पहिलोपटक अनुभव गर्दै थिएँ। सेना हो या माओवादी दुवैमध्ये एकले लगे होलान् उसलाई। गाउँमा अलिदिन अनेक हल्ला फैलिए अनि थामिए। तर मेरो मनमा किर्तनको याद कहिलै फिका बनेन।
मैले किर्तनको कहानी सुनाउँदा युुवकले एक खिल्ली चुरोट सकिसकेको थियो। कफी पनि रित्याएछ।
‘त्यपछि के भयो? किर्तन फर्कियो?’ उसले सोध्यो।
‘फर्किएन कहिल्यै,’ मैले जून हेर्दै भनेँ।
‘कविको कथा सुनाउँछु भन्थ्यौ अघि,’
उसका कुरा सुनेपछि म मुस्कुराएँ। मेरा तन्केका ओठमा के देख्यो कुन्नि हेरेको हेर्यै भयो।
‘ओ हेलो! के हेरेको?’
‘तिमी हाँस्दा कति राम्रो हुँदो रहेछ, पहिलो पटक देखेँ, त्यसैले,’ उसले साँच्चै भन्यो या फुर्कायो?
जीवनको सबैभन्दा सुन्दर रंग नै हाँसो त हो। किर्तनको कविताजस्तो हाँसो थियो। कविता जस्तै हेराइ। उसले मेरो जिन्दगीलाई कविताजस्तै बनाएर गयो।
‘भोलिपल्ट डायरी पल्टाउँदा त्यसको लास्ट पेजमा कविता थियो,’ मैले युवकलाई भनेँ।
‘अनि?’ उसका आँखा मेरा आँखामा गाडिए, मानौँ उसले मेरा कुराको सत्यता जाँचिरहेछ।
‘ऊ बेला त बुझिन के लेखेको। तर अचेल त्यो कविता पढ्दा कहिले बुझेजस्तो लाग्छ, कहिले नबुझेजस्तो।’ मैले उसलाई साँचो कुरा बताएँ।
ऊ हाँस्यो। यो लक्का जवानको हाँसो कति निर्दोष छ।
‘त्यसपछि के भो त?’
‘मलाई लभ पर्यो,’
‘साइनपेन र नोटबुकसँग?’
‘किर्तनसँग पनि!’
त्यसपछि उसले प्रश्न सोधेन। मलाई हेर्यो र चुरोट सल्कायो।
‘म पनि चुरोट लिउँ?’ मैले भनेँ।
‘लिने गरेकी छौँ?’
‘छैन, आज लिने।’
‘चित्रकार भैसक्यौ?’उसले सोध्यो।
‘ चुरोट लिन चित्रकार हुनैपर्छ ?भैसकेको छैन, पढेर सकेँ,’ मैले भनेँ।
—किर्तन अपहरण शैलीमा बेपत्ता पारियो। तैपनि मैले सुटुक्क ऊ आउँछ कि भनेर कल्पना गर्न थालेँ। ऊ मेरो दिमागमा मानौँ टाँसिएको थियो।
मभित्र कुन्नि कस्ती नयाँ केटी जन्मिरहेकी थिई।
किर्तनका हरेक शब्द मेरो विश्वास भैदिए।
एसएलसीपछि आमाले काठमाडौँ नपठाउने भइन्। मैले इन्डियामा भएका बालाई चिठी लेखेँ। उनले पनि पत्याएनन्।
त्यसपछि म भागेँ।
फर्केर जाने हिम्मत अहिलेसम्म जुटाएकी छैन। आमा र भाइको याद भने असाध्यै आउँछ।
कलिलो मनमा खोपिएका यादहरु बोकेर बेपत्ता छु म। बेपत्ता छ किर्तन। मैले उसलाई खोजिरहेछु। सायद, मेरी आमा पनि मेरो बाटो हेरिरहेकी पो छन् कि?
‘बहादुर रहिछ्यौ,’ युवकले भन्यो।
‘हैन मेरो मिडलनेम कुमारी हो ,’ मैले ठट्टा गरेँ। ऊ ओठ टम्म बाँधेर हाँस्यो।
एक साँझ पशुपतिक्षेत्रमा मैला लुगामा बेरिएको एउटा पागलसँग अचानक मेरा आँखा जुधे। ती आँखा तिनै थिए मलाई साइनपेन दिँदा हेरेका। मेरो नाम शुद्ध बोलाउने बेला मलाई हेरेका आँखा।
उसलाई ड्राइभरको मद्दतले ट्याक्सीमा हालेर मैले आफ्नो घर ल्याएँ।
घरबेटीको घर हेर्दिने अंकललाई बोलाएँ। उनले खुब माया गर्छन मलाई।
उनैले उसलाई सफा बनाइदिए। खाना दिएँ। उ टोलाएकै थियो।उसलाई झकझक्याएर मैले खाना खान भनेँ। खायो।
अंकलाई तलपट्टीको खाली कोठामा विस्तरा लगाइदिन भनेँ।
के भनेर बोलाउने? कुरा कहाँबाट सुरु गर्ने मलाई थाहै थिएन। म रनभुल्लमा परेँ। मैले कहाँ कहाँ खोजिन उसलाई तर ऊ यसरी भेटियो। उसलाई कसरी बताउँ यी सबै कुरा?
उसका आँखामा हेर्छु, मेरो घरको टुकीको उज्यालोमा देखेको चमक छैन। कस्ता फुस्रा भएका उसका आँखा ? केही पनि थिएन त्यहाँ। मुस्कान त अनुहारबाटै बेपत्ता
थियो। मलाई उसको अरु अनुहार पटक्कै याद छैन। नमिठो लाग्यो।
‘किर्तनजी!’ मैले बोलाएँ।
उसले मेरो अनुहारमा हेरिरह्यो। के बोल्ने मैले मेसो पाइन। खाएर पनि ऊ नबोली बस्यो।मैले बोलाउँदा मलाई टोलाएर हेथ्र्यो। बैठकमै ऊ आफै पल्टियो। अंकलले लगेर तलको कोठामा सुताइदिए।
म धेरै बेर उसको छेउमा बसेँ। आधारातमा उठेर आएँ।
निद्रै परेन। के भयो किर्तनलाई?
बिहान ऊ थिएन। यस्तो लाग्यो म रित्तो भएँ। फेरि पनि यो शहरमा उसलाई खोजिहिँड्न छोडेकी छैन।
मेरो कथा सुनेर युवकको अनुहार घरि उज्यालो र घरि अँध्यारो भएको महसुस गर्दा मलाई रमाइलो पो लाग्यो।
आफ्नो कहानी सुनाएपछि, मलाई हल्का महसुस भयो, मिल्ने साथीसँग जस्तो।
कफी र चुरोट सकेर हामी विदा भयौँ।
उसको नाम सोध्नै बिर्सेछु।
अर्को दिन त्यही रेस्टुरेन्टमा उसले मलाई भेट्नेबित्तिकै अँगालो मार्यो। म अल्मलिएँ।
विस्तारै उसको आत्मीयतामा म फसिरहेकी थिएँ। ऊमात्रै थियो सहरमा जोसँग म खुलेर बोल्न सक्ने भएकी थिएँ, सबै मनका कुरा। आदतजस्तै भएको थियो।
‘तिमीले मलाई माया गर्न थालेकी छ्यौ,’ उसले भन्यो, ‘किर्तनलाई बिर्सिन्छ्यौ?’ उसको कुरा सुनेर ढुकढुकी बढ्यो। आँखा भरिए। मैले थाहै पाएकी थिइन।
मलाई के कुराले छोएको थियो कुन्नि?
चुरोट तानेँ र चुपचाप बसेँ। ऊ पनि केही बोलेन। एकै छिनमा निस्की पनि हाल्यो।
म कसरी किर्तनलाई बिर्सिन सक्थेँ र?
...
अर्को दिन त्यही टेबुलमा एउटा नोटबुक थियो। यो त त्यही युवकको हो। पल्टाएँ,पहिलो पेजमा मैले किर्तनलाई बनाइदिएको चित्र थियो। गमले टाँसेको।
उसले अर्को पेजमा लेखेको थियो— मलाई थाहा थिएन यो चित्र मलाई कसले बनाइदिएको थियो, तर प्यारो लाग्थ्यो। युवाकालका धेरैजसो कुराहरु मेरा सम्झनामा छैनन्। तिमीलाई मैले पहिलो पटक रेष्टुरेण्टमा देखेको याद छ बस्।
के ऊ किर्तन थियो? म झस्किएँ फेरि। मलाई डाँको छोडेर रुन मन लाग्यो।
त्यसपछि त ऊ गायब नै भयो।
...
एक साँझ किर्तन मध्य शहरमा देखा पर्यो। आफ्नै शहर पनि उसलाई नौलो लाग्थ्यो बेलाबेला। धेरै पछि उ होसहवास सहित यहाँ थियो। धेरै पछि उ आफ्नी आमालाई सोधेर बजार निस्केको थियो।
उ पहिले आफ्नो स्कुल गयो। स्कुल क्याम्पस पढ्दाका यादहरु ऊसँग बाँकी छन्। तर यत्रो १० वर्षको आफ्नै कथा उसलाई थाहा छैन। एउटा गल्लीभित्र उ छिर्यो। स्कुल जाँदा आउँदा यो बाटो खुब हिँड्थे उनीहरु। स्कुलबाट भागेर लुकिलुकी कुमारीहल पुग्न पनि यही गल्ली ठिक हुन्थ्यो। डिल्लीबजार डाँडा हुँदै लुसुक्क कुमारीहल पुगेर सिनेमा हेर्न कम्ता मज्जा हुन्नथ्यो।
डाँडाको गल्ली छेउको पर्खाल भित्रपट्टि ठूलो फूलबारी थियो। त्यहाँ कहिले अम्बा कहिले भोगटे फलेका हुन्थे। चोरेर खान खुब मज्जा हुन्थ्यो। एकजना बुढो मालि थियो जसले कहिले आफैँ खान दिन्थ्यो कहिले लखेट्थ्यो उनीहरुलाई।
पर्खाल त भत्किएछ।बुढो मालि देखिन्छ कि भनेर किर्तनले यता उता हेर्यो। देखेन। भित्रै गयो। बुढो शिरिषको रुख पनि त्यहीँ रहेछ। निला फूलहरु रुख र भूँईँभरि पनि थिए।
मालि बस्ने पुरानो घर त भत्केर थुचुक्कै बसेको छ। माथिल्लो तला जस्ताको तस्तै बसेको। तल्लो तला भने भत्किएर। उ घर छेउ गयो पानी तान्ने ट्यूवेल उस्तै थियो। बल्लबल्ल अडिएको आँखिझ्यालबाट भित्र ठाउँठाउँ च्यातिएको बडेमानको फ्रेमको पछिल्लो भाग मात्रै देखियो।
ऊ घुमेर अर्कोपट्टी गयो, ढोकाजत्रै झ्याल थियो। भित्र उसले झ्याल तिर फर्केको आफ्नै चित्र देख्यो।
सपनाले भरिएजस्ता टोलाइरहेका आँखा। रहस्यमय मुस्कान, खुसी फुलेको अनुहारमा आफ्नो आकृति टाँगिएको देखेर किर्तन को अनुहार उज्यालो देखियो। मन चंगा भयो।
‘म यस्तै त थिएँ पहिले,’ मनमनै सोचेर उ रमायो। यस्तो खुसी धेरै पछि महसुस गर्यो उसले।
भूँइभरी ब्ल्याक चुरोटका ठूटा र खरानी थिए।
‘कसले बनायो मेरो चित्र?’ उसले सोधेको कसैले सुनेन।
पारीपट्टीको बंगला पनि सुनसान छ!