काठमाडौं नयाँ बसपार्क र माछापोखरीमा भूकम्पको भयाभव असर कटेपछि, पिचबाटो पच्छाउँदै फुटुङ नपुगुञ्जेलसम्म असर कम नै परेको हो कि जस्तो लाग्छ। तर बिस्तारै साङ्ला तिर लाग्दा थाहा लाग्छ, भूईँचालोले भत्काउन केही बाँकि राखेनछ। काठमाडौं उपत्यकाको उत्तरपश्चिमी कुनामा पर्छ साङ्ला, त्यसपछि आउँछ, झोर अनि जिल्ला नै फेरिन्छ, नुवाकोट।
चिमरपोखरी, फुटुङमा नयाँ मान्छे देखेर बोल्न आउनुभएकी पचास वर्षिय सुन्तली श्रेष्ठ गुनासो पोख्न आउनुभयो, ‘पोहोर बनाएको पूरै भत्कियो, अब कहिले बनाउने...बनाउने...?’
भेटिएका सबैको कथा त्यस्तै थियो। त्यतिकैमा क्यामरा देखेर बारीमा काम गरिरहेका एक जना बाजे कुर्लिए, ‘तेह्र दिनको काम सकिएपछि आउने, हामीलाई हेला गर्ने?’
हो यो साच्चै हेला गरिएकै ठाउँ हो। राजधानीकै गाउँ भएपनि साह्रै हेपिएको ठाउँको साङ्ला। समाचारमा समेत हेपिएको आक्रोस थियो ति बुढा बाजेको।
‘हुन त यो तारकेश्वर नगरपालिकामा पर्छ आजकाल तर अझै पनि टेलिफोनको ल्याडलाइनसम्म पनि छैन, अरु सुविधाको कुरा के गर्नु?’ वडा नागरिक मञ्चमा सक्रिय सानुकाजी थापाले भने। खासमा उनलाई भेटन आइएको हो यहाँ। पेशाले क्यामराम्यान हुन काजी। एउटा गैरसरकारी संस्थालाई भूकम्पको भिडियो अभिलेख राख्नका लागि उनको खोजी भएको थियो, उनले फोनमा भनेका थिए, ‘गाउँमा यस्तो दुःख परेका बेलामा म कसरी गाउँ छोडेर जाउँ? बरू सक्नुहुन्छ भने एकचोटी आउनु न। मनमा ढाढस हुन्छ।’
त्यही ढाढस दिन पुगिएको हो, साङ्ला। सानुकाजी झोलाभरि कागजका पोथ्रा बोकेर उभिएका थिए। ति पोथ्रामा थिए सबै हिसाबकिताब, पुरानो साङ्ला बजार साविक वडा नं ३, तारकेश्वर नगरपालिका, मारिने मानिसको संख्या ११ जना, तिनको तीन पुस्ते, काम नलाग्ने गरि भत्किएका घर २ सय ८६। अर्को पानामा राहत सरकारी, चाउचाउ, दालमोठ, पानी, चामल, नुन, भुजा यति यति। रेडक्रसको टेन्ट ४ वटा। अनि थाहा भएजति निजीले बाँडेका सामाग्रीको सूची।
‘सब हिसाब रहेछ त काजी?’
‘विश्वासको साह्रै संकट छ, समाजमा। त्यो कुरा बल्ल यसपालीको संकटमा थाहा पाए। त्यही भएर सब हिसाब आफैसँग राख्छु। कसैले प्रश्न गर्यो भने कागज देखाएर सन्तुष्ट पारिहाल्ने’, सानुकाजी थापाले भने।
भूकम्प अगाडि पूरानो साङ्ला बजारको रौनक गजब थियो। तर अहिले पुरानो बजारका नयाँ पुराना सबै घर भत्किए। लालपुर्जा समेत नभएको त्यो बजारमा ठडिएका ती घरको क्षतिपूर्ति कसरी पाउने? अन्यौल छ यहाँ।
‘एकदुई दिनमा पानी पर्छ, यी माटाका घर माटामै मिसिनेछन्, त्यतिञ्जेलसम्म सम्बन्धित सरकारी निकाय आइपुग्दैन होला, त्यही भएर प्रमाणका लागि फोटा खिचेर राखेका छौं’, सानुकाजीले भने।
माटाका घरका बाँकि मान्छे सेता लुगा लाएर, नाटेश्वर प्राविमा सरेका छन्, सरकारले स्कुल खोल्ने भनेपछि उनीहरुको अनुहारमा अब कहाँ जाने चिन्ता स्पष्ट देखिन्छ।
नाटेश्वर प्राविबाट बजारतिर फर्कदै गर्दा वडा नागरिक मञ्चका मान्छे देखेर सग्लै घरको पक्की पिढीमा बसेका दुई आमाले कराउँदै भने, ‘खै हामीले त पाल पनि पाएनौ।’
सँगै हिडेकाले ‘पाल र राहत पाउनु अब हरेक नागरिक अधिकार भएझै लाग्छ, पीडित भएपनि नभएपनि।’
सानुकाजीले थपे, ‘खासमा असर कस्तो छ र कसलाई के चाहिन्छ भन्ने अनुसन्धान नै नगरि जथाभावी राहत बाँड्नुको परिणाम हो यो।’
‘समाजलाई भिखारी बनाउने काम भइरहेको छ, लोभिपापी बन्दैछ मानिस, गहुँ काट्न छोडेर दिनभरि राहत कुर्ने धेरै देखको छु मैले’, अर्काले थपे।
वडा नागरिक मञ्च यतिबेला धेरै ठाउँमा सक्रिय छ, यो मञ्च वास्तवमा स्थानीय विकास मन्त्रालयले बनाएको सामाजिक परिचालन निर्देशिका २०६६ बमोजिम विकास निर्माणका काममा नागरिकलाई सक्रिय बनाउनका लागि गठन हुन्छ। गाविस र नगरपालिकाका नागरिकको आवश्यकता र प्राथमिकता हरेर एकीकृत योजना तर्जुमा गरेर जिल्ला सामाजिक परिचालन समितिमा पठाउने यसको काम हो। त्यो योजना स्वीकृत गराउनेदेखि कार्यान्वयनसम्म पैरवी गर्ने र वाँचडगको काम गर्नुपर्छ यसले। त्यही भएर सानुकाजी र उनको समूहले गाउँमा आएको राहतको रेखदेख गर्छ।
सानुकाजी भन्छन्, ‘हाम्रो नगरको केन्द्रबिन्दु धर्मस्थली हो, यहाँ सक्रिय भएन भने त सबै राहत टाठाबाँठाले कहाँ लान्छन् लान्छन्? नगरपालिकामा हाम्रो एउटा सूत्र छन्, उनलै फोन गरेर यस्तो आउँदैछ भन्छन् अनि हामी यहाँ तयारी अवस्थामा बस्छौ।’
‘साच्चै लोभिपापी भयो त दुनियाँ काजी?’
‘पहिलो भूईँचालो पछि म समूहमा पालमा बस्थे, बिहानै भातै नखाइ कुदो दिनभरि राहत राहत भन्यो, धेरै दिनपछि पो थाहा पाए, आफूसँग बस्ने सबैले कटेरो बनाई सकेका रहेछन्, एक छिन चित्त दुःख्यो पछि ठिकै छ भने,’ सानुकाजीले भने, ‘गाउँमा मेरो घर पनि भत्केको छ भनेर सहरबाट आफन्त आए, केके चाहिन्छ किनेर ल्याइदिन्छौ भने तर मैले भो भनेर फर्काए। मैले सामान लिए भने राहतको सामान लग्यो भनिहाल्छन्। विश्वासको साह्रै संकट छ समाजमा।’
नेपाली काँग्रेसका रमेशमानसिँह कुँवरले थप्नुभयो, ‘सबैभन्दा पीडित वडा नागरिक मञ्चकै मान्छे छन्, लियो कि खत्तम, म त सबै आफै गर्दैछु। कसैको केही लिन्न। बरु रिन नै गरौला।’