‘सर्व क्षणिकम् क्षणिकम् (सब क्षणिक हो ), सर्व दुःखम् दुःखम् (सबै दुःखको रुप हो ), सर्व स्वलक्षणम् (सबैको आ–आफ्नने लक्षण–स्वभाव छ ), सर्व शून्यम् शून्यम् (सबै शून्य छ )' गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि शिष्यहरुलाई यी चार अगमको उपदेश दिएका थिए। यस प्रकारको चार थरी भावनाले नै मोक्ष हुन्छ भनी बताएका थिए। यी उपदेशलाई विभिन्न कोणबाट व्याख्या विश्लेषण हुन थाल्यो। एक थरी शिष्यले यो सारा जनत् शून्यको नै विवर्त हो, सारा शून्य छ भनेर माने, अर्का थरिले बाहिर देखिएको सारा पदार्थ सपनामा देखिएको कुरा जस्तो विलकुल मिथ्या हो, मात्र निरालम्बन विज्ञान मात्र क्षणिक सत्ता छ भनेर बुझे। अर्का थरिले बाहिरको पदार्थ पनि छ भनी अंगीकार गर्नै पर्छ, किन्तु वाह्य पदार्थ प्रत्यक्ष सिद्ध होइन, केवल अनुमानबाट सिद्ध अनुमय हो भनेर बुझे। अर्का थरिले व्याप्तिज्ञान नभैकन अनुमान हुनै सत्तै्कन भनेर बुझे। यसरी उपदेशको यी चार प्रकारले उत्तर खोजेको पाइन्छ।
शरीर नश्वर छ, मानव निर्मित दोश्रो प्रकृति पनि नाशवान छ भनेर जान्दा जान्दै पनि मानिस भित्र माया, प्रेम, स्नेह लवालव छ। मानव विकाससँगै मानिसमा माया, प्रेम, स्नेहले आफ्नो साम्राज्य फैलाउँदै आइरहेको छ। स्नेह कस्तो हुन्छ भन्ने सन्दर्भमा श्रीमद्भागवतको दशम्स्कन्दको एउटा श्लोकको प्रथम पाउमा भनिएको छ : श्रीकृष्णको स्मरण हुनासाथ यशोदाको स्तनमण्डलबाट पुत्रस्नेहले गर्दा दूधका धारा बहन थालेको उल्लेख छ। यस कुराले मानव जीवनमा माया, प्रेम, स्नेहको उपस्थितिलाई पटक्कै नकार्न सकिदैन।
जब मानिस नजिक हुन्छ, त्यसले प्रत्यक्ष आफ्नो प्रेमल अभिव्यति्क जाहेर गरेको हुन्छ भने जब ऊ एक आपसमा टाढा हुन्छ उसले छैठौं इन्द्रियबाट, दोश्रो दृष्टिबाट साथै बाह्य इन्द्रियबाट सायद टेलीपेथी भन्छन क्यारे र कहिले पराशक्तिको माध्यमबाट निरन्तर सम्वाद गरी माया, प्रेम, स्नेह साटा साट गरेका् हुन्छ। माया, प्रेम, स्नेह अटल छैन्, यो कुरा मानिसले बुझ्छ पनि तर माया, प्रेम, स्नेह सदा पल्लवित भई रहन्छ। यस कुराको सत्यता गत २०७२ साल बैशाख १२ गते विहान ११ बजेर ५६ मिनेट जाँदा गएको महाभुकम्प र त्यसपछि पटक–पटक सयौं पटक गएको भुकम्पको बखतमा देखियो। त्यसबखत मानवीय संवेदना एक अर्का मात्र साटिएन्, मानव निर्मित दोश्रो प्रकृतिप्रति पनि मानिसको जुन अनुराग देखियो, त्यो उल्लेख्य छ। मानवोचित गुणले गाँजेको मानिसहरु एक आपसमा बोली बाराबारा गरेकाहरु पनि त्यसबखत एक आपसमा लाइमिली गरेको पाइयो। अहो! विपदको बेला मानिस कति सामाजिक हुँदो रहेछ।
शनिबारका दिन विहानै स्वामी रामदेवको सान्निध्यतामा काठमाडौं टुडिखेलमा चलिरहेको योग विज्ञान शिविरमा गएर योगसाधक र साधिकाहरुको फोटो खिचेपछि बाग्मती सफाइ अभियानको १०२ औं सप्ताहमा सहभागी भएका स्वामी रामदेवको कार्यक्रमलाई पनि क्यामेरामा कैंद गरेर फर्केपछि कलमका सिपाही गुणराज लुइँटेलजीलाई स्वामी रामदेवको विषयमा एउटा लेख कोर्ने इच्छा, फोनबाट राखे। उहाँले सहजै ‘राम्रो हुन्छ नि!' भन्नु भयो। उहाँको यो सहजतामा आफ्नै अन्दाज भएको पहिलेबाट नै महसुस गरेको छु।
अंकल प्रवेशिका परीक्षाको उत्तर पुस्तिका परीक्षण गर्न रत्नराज्य मावि बानेश्वरमा बिहानै जानु भएको थियो। अन्टी ललितपुरको दलचोकीतिर चार/पाँच दिन अगावै लाग्नुु भएको थियो। भूषण सौराहा र अमूल्य लम्जुङतिर गएका थिए। निश्छल ‘ग्लोवल एजुर बुटक्याम्पको मिट अप कार्यक्रम', ज्ञानेश्वरमा बिहानै सहभागी हुन गएकोले हामी पाँचजना मात्र घरमा नै थियौं। हामी शब्द भित्र सन्तोषी, निशान्त, प्रतिक्षा, नृपेश र यस पंक्तिकार सहित पाँच जना थियौं। खाना खाइओरी लेख कोर्न तरखरमा के लाग्न थालेको थिएँ, प्रकृतिले आफ्नो प्रचण्ड रुप देखाइ हाल्यो। भूमि–कम्पन हुन थाल्यो। सन्तोषी, नृपेश र यस पंक्तिकार एक आपसमा हात समाता समात गरेर एक अर्काले नआतिउँ्क! भनिरहेका थियौं। प्रतिक्षाले एउटा हातले ढोकाको पल्ला अर्को हातले भित्ताको आड लिएर आत्तिरहेकी थिइन।
तल भान्छा कोठामा निशान्त आत्तिदै चिच्याइरहेकी थिइन। हामी तल ओर्लन नखोजी जहाँ थियौं त्यहीं नै सुरक्षित हुन खोजिरहेका थियौं। भू–कम्पन केही मत्थर भएपछि घर अगाडिको मकै बारीमा पुग्यौं। घर र बारीको दूरी छिचोलेको हतारमा पत्तै भएन। केही क्षणपछि अंकल हत्तारिदै टुप्लुक्क आइपुग्नु भयो भने अन्टी पनि केही वेरपछि। अन्टीको कान्तिहिन मुहारले उहाँ कति विस्मादमा हुनुहुन्थ्यो भन्ने जान्न हामीलाई केही कठीन भएन। अमूल्य पनि भसक्कै छ हजार पैसा तिरेर लमजुङबाट साँझपख आई पुग्यो। भूषण भने मुग्लिङको बाटो अवरोध हुँदा भोलि पल्ट मात्र आइपुग्यो।
धेरै वर्षदेखि त्यस घरमा हामीले आश्रय लिदै आएका थियौं। सबैको माया, प्रेम, स्नेह खामिएको सो घरमा भूकम्पको निर्मम प्रहार पर्यो। तल्लो तला चरमरायो। प्राविधिकहरुले चर्केको भन्छन क्यार! हामी भागेको देखेर घरले हामीलाई नियालिरहेको झै लाग्यो। त्यसवेला यस पंक्तिकारलाई धवलगृहले साउति गरे झै लाग्यो ‘मलाई किन छोडी गएको?' यो घर लोड वेएरिङ्ग प्रविधिबाट बनेको छ। यो घर बनाउँदा अंकल र अन्टीको थुप्रै पसिना बगेका छन्। निधारको पसिना पैतलासम्म पुगेको छ।
मूलद्वारबाट भित्र धरको परिसरमा पस्ने वित्तिकै दाहिने तिर तुल्सीको मयरो, मयरोको ओरिङ्तै गणेश लगायत विभिन्न देवी देवताका मार्वलमा छापिएका मूर्तिहरु छन्। पेटीको तल्लो लङ्गमा गुलाफ लगायत थरि थरिका फूलहरु फूलिरहेका छन्। घर तीन तलाको छ। साना साना चकोर सिसा जडित इङ्गलिस डिजाइनका झ्यालहरु, दोश्रो र तेश्रो तलामा सुन्दर बाल्कोनी, माथिल्लो तलाको पूर्व फ्रन्टमा गोथीकको कलात्मकताले घरलाई झनै सुन्दर बनाएको छ।
घरको छतमा निस्किने निर पूजाकोठी छ, पूजाकोठीको ओरिङ्तै देवी देवताका फोटाहरु टाँगिएका छन्। पूजाकोठीको मध्ये भागमा अखण्ड दीप बलिरहेको छ। मानौ यन्त्रद्वारा जगाइएकोे तीर्थस्थल हो जस्तो लाग्छ। यस घरमा अनेकौं पटक दशैं मनाइए। तिहारमा भाइहरुको निधार सिंगारिए। पर्वहरुमा थुप्रै वर्तहरु बसिए। अग्नि साक्षी राखी अनुष्ठानहरु भए। अनुष्ठानपछि अमृत प्रसादी ग्रहण गरिए। तर आज उनी एक्लै ठिङ्ग उभिरहेकी छे। उनको हरेक कोष्ठमा स्पन्दन साटिन्थे, हरेक घरका भित्ताहरु श्वासले न्यानो पार्थ्यो। घरका हरेक ईँटाहरु पियारो लाग्थ्यो। तर घरिघरि आइरहेने भुकम्पका झट्काले सबैले माया गरेको त्यो धवल घर भित्र पस्न पनि डर लाग्न थाल्यो। अहिले उनी एक्लै आफ्नो अतीतमा तरेलिरहेकी छे। अनि मन मनै गुनिरहेकी छे मेरा आत्मिकजन कहाँ गए? मानिस स्वार्थी हो त? अहँ होइन, मानिसलाई अवस्थाले कसरी स्वार्थी बनाउँदो रहेछ! बस।
उनको मन छियाछिया परेको छ। अङ्गहरु भुकम्पले चरमराएका छन्। मलहमपट्टी लगाइदिने कोही नभएका झै भएको छ। उनीले आफ्नो अन्तरकुन्तरको आत्मिकजनलाई खोजेकी छे। तर बिडम्वना! कहाँ आउन सक्छ र? त्यो मान्छे! आफन्त आउछन्, इष्टमित्र आउछन्, प्राविधिकहरु आउछन् तर आउन्न आफ्नो मान्छे नि! उनी आफै भित्र निँयाल्छे आफ्नो तल्लो तलाका कोठाहरु चर्किएका छन्, मनै चर्किने गरी। ती चर्काइमा नुन चुक छर्ने गरी घरि घरि थपिन्छन् भूकम्पनका झट्काहरु! मानिस कति स्वार्थी हुँदो रहेछ झै लाग्यो। मानवोचित गुणबाट हामी पनि अछुतो रहन सकेनौ।
कोठाका सामानहरु जतन गर्न अर्को घरमा कोठा लिएर सामान सार्न लाग्यौं। त्यसबखत लाग्यो जीवनको एक छेउबाट अर्को छेउसम्म एउटै स्थितिमा रहन सक्नु मानिसको वशको कुरा होइन रहेछ। जसरी चढाइएको धनुषको ताँदो कहिले पनि झरेन भने त्यसलेे लक्ष्य भेद गर्न सक्दैन। नयन जहिले पनि एकै भावमा अडिनु, अधर एकै मुद्रामा रहनुु, अङ्ग एकै स्थितिमा अडिरहनु त्यो त मूर्ति या चित्रमा मात्र सम्भव हुने रहेछ। तर पनि सामान सार्दाको बखत, त्यस घरमा पहिलो चोटी प्रवेश गर्दाको क्षणका अतीत मनको अन्तर कुन्तरमा रगडिदै गलामा आएर अडियो। ती भाव पग्लिएर उर–कोषको मोती बनी नयन भरिन थाले। अश्रुलाई परेली भित्र थुन्छु भन्दा भन्दै कपोललाई रुझाइ हाल्यो।
अश्रु, प्रकृतिबाट मानिसले मात्र पाएको वरदान हो। अरु प्राणी यसको हकदार छैन्। सुखको बेला होस वा दुःखको अश्रु छचल्किने गर्छ। सुखको अश्रुले शितलता दिन्छ भने दुःखको अश्रुमा उष्णता एवम् तृप्तता हुन्छ। मानिसको मानसिक तरङ्गसँग जोडिने भएकोले अश्रुले मनको दुःख र पीडालाई धोएर मनलाई निर्मल पार्ने गर्छ। यस धवलघर प्रतिनिधि घर हो, अहिले भुकम्पले लाखौं यस्ता घरहरुको क्षति भएको छ। ती घरहरुमा पनि यस्तै यस्तै इतिहास खामिएका छन्। माया, प्रेम, स्नेह साटिएका छन्। धवलघरका पात्रहरु प्रतिनिधि पात्रहरु मात्र हुन। लाखौं यस्तै पात्रहरु छन्, जसले भुकम्पको पीडा भोगिरहेका छन्। अहिलेको महाभूकम्पले यस्ता थुप्रै बेदनाहरु समेटिएका जीवन्त कथाहरु पनि कोरेका छन्।