हे महाभूकम्पज्यू,
सादर नमस्कार!
धेरै काल पछि देखापर्नु भएकोमा साधुवाद! हुन त तपाईं आउनु हुन्छ भन्ने अडकल त गरिएकै हो तर तपाईंको आगमनको स्वरुप र समय कस्लाई पो थाहा हुन्थ्यो र! हुन पनि त्यो थाहा पाउन सक्ने भए मानिसले तपाईँको के गन्थे र! तपाईंको आगमनमा यत्रो उथल पुथल र परिवर्तन नभएको भए एक्कासी क्रुर मानिस दयावान हुन्थ्यो र! हेर्नुसत्, तपाईँको आगमनले अचानक मानिसमा कस्तो सात्वीकपना आएको? राज्यहरुले आफ्ना सीमा बिर्से, पहिलेका तिक्तता बिर्से, कन्जूस दयावान भयो, क्रोधीले क्रोध विर्स्यो, अदालतमा वादी प्रतिवादी भएकाले त्यो बिर्से र एकै भए, चोर साधु भयो, डाँका दयालु भयो। सबैमा यो करुणा, यो माया अर्काको सेवा गर्न तँछाड मछाड, गोली हान्न प्रयोग हुने हेलिकप्टर मानिसको उद्धारमा लागे, अर्काको खोसेर खानेले आफू नखाएर अरुलाई दिने भए। एक निमेशमा मानिसमा परिवर्तन ल्याउन सक्ने यो शक्ति यदि कसैमा छ भने तपाईं मै रहेछ। भगवानको नाम नलिनेले पनि “नारायण” “नारायण” भन्न थाले। तर नारायण मूर्तीको रुपमा ठडिएका छन्, केही गर्न सक्दैनन्। केही गरिहाल्छन् कि भनी बर्षौं देखि भक्तजन धाएका छन् केही हुँदैन, तर तपाईं एक निमेषमा यो सबै गराउन सफल हुनुहुन्छ यो शक्ति देख्दा त तपाईँलाई पो मानिसले पूज्न पर्ने हो कहाँ पत्थरका ती नारायणलाई पूजेका। पशुपतीनाथको ठाउँमा त तपाईँ पो विराजमान हुन पर्ने हैन र! खै मानिसले बुझेको।
एउटा गाउँका मानिसले तपाईँको पुत्ला जलाउने र शवयात्रा निकाल्ने काम गरेछन् – नबुझेकाहरु! तपाईँ जस्तो महानको पूजाआँचा गर्नुपर्ने हैन र! शक्तिलाई झन छचल्क्याएर उग्र बनाउन खोज्नेहरु! मलाई त अबुझ नै लाग्यो। भगवानले गर्न नसकेको गर्ने तपाईंको पूजा गर्ने कि शव दाहन गर्ने कस्ता अबुझहरु!
तपाईँसित यत्रो शक्ति छ मैले बुझेँ तर फेरि केही गुनासा र केही पुकारा तपाईँसित गरौ जस्तो लागेको छ सुनवाई हुन्छ कि? आज हेर्नुस न! तीनसाता भैसकेको छ दिसा कब्जियत भएको, चर्पीमा जान्छु बस्ने बित्तिकै तपाईँको सम्झना हुन्छ, आधा नसकिँदै हिँड्छु, दार्ही नखौरेकोले झुस्स पलाएको छ, राम्ररी भात खान सकेको छैन, न त निदाउनै सकेको छु जता हेर्यो तपाईलाई नै देख्छु उभिँदा बस्दा सुत्दा हिंडदा जुनबेला पनि तपाईँको हलचल महशुस हुन्छ। मानो तपाईँ मैसित हुनुहुन्छ। यस्तो हालत छ कि अब न भोक, न प्यास, न निन्द्रा, न आश केही छैन मन एक्कासी जीवनको अनित्यता बुझेर अनन्तमा पुगेको छ, बुझ्न सकेको छैन। यो संसार, यो लोभ पाप आशक्ति सबै भागेको छ। मन एकाएक निराकार भएको छ। पहिले कति गर्दा पनि जीवनको अनीत्यताको बारेमा सोच्न सक्दिनथेँ। जीवन उपलब्धी हो, भोग्ने हो शक्ति हो, पुरुषार्थ हो भन्ने लाग्थ्यो तर बैशाख १२ गते ११ बजेर ५४ मिनेट पछिको ५५ नौं मिनेटदेखि एक्कासी ममा यस्तो परिवर्तन आएको छ कि चौविसै घण्टा मन त जीवनको निस्सारता, यी भौतिक बस्तुहरुको क्षणीकता बुझेर जीवन भन्दा परको तुरीय अवस्थामा पो पुगेको छ। बल्ल पो आत्माको अमरत्वको ज्ञान हुन थालेको छ, संसार सबै माया देख्न थालेको छु अब त म साधु पो हुने भएको छु।
भूकम्पज्यू! तपाईँलाई म धन्यवाद नै दिन पर्नेमा पुगेको छु। हुँदो खाँदोको भरभराउँदो उत्साहको ........... मलाई यस्तो बनाएकोमा म तपाईंसित गुनासो गरुँ कि मलाई एक्कासी जीवनको निस्सारताको ज्ञान गराई दिएकोमा गुणगान गरौं?
तपाईं प्रतिको मेरो गुनासो के पनि छ भने तपाईँ धनी गरीबबीच विभेद पो गर्नुहुन्छ जस्तो लाग्न थालेको छ। तपाईँ आइदिएर मात्र भएन नी! हामीलाई केही थाहा पत्तो नदिए पनि तपाईँलाई कता जान पर्ने हो भनी थाहा हुनु पर्ने, थाहा भएकै होला। त्यसो भए तपाईँले कहाँ जाने भनेर केही मापदण्ड बनाउन पर्ने हैन र! त्यसो गर्नु भएन जस्तो लाग्न थालेको छ, जो गरीब छ जो सहाराहिन छ त्यसै कहाँ गै दिएर त्यो बबुराले तपाईंको तेजलाई कसरी पो सहन सक्थ्यो र! बिचरो दुःख पायो त्यसले। कता कता मलाई त तपाईँ अलि नसक्नेलाई बढी च्याप्नु हुन्छ कि जस्तो लाग्न थालेको छ। जापानमा तपाईँ कयौं पटक जानुहुन्छ तर खै तेजीलो हुनुहुन्न, केही हुँदैन तर फेरी नेपाल जस्ता गरीब कहाँ गएर तेज देखाउनु हुन्छ। तपाईँलाई ग्लानी हुँदैन यसो गरिरहँदा? जानै परे तेज देखाउनै परे अली हुनेखाने कहाँ पो जान पर्ने हो किन यस्तो विभेद! आशा छ तपाईं यस्को बारेमा अब उप्रान्त विवेक पुर्याउनु हुनेछ। हामीलाई खबर गर्न पर्दैन, आफै विवेकशील हुनुहोला भन्ने लाग्छ।
भूकम्पज्यू,
मैले बुझ्न नसकेको एउटा कुरा के पनि छ भने हाम्रो धर्ममा सबै शक्तिको मूर्ती छ, हाम्रा देउता कति हातका थिए, कति टाउका भएका थिए, के लाउँथे, के खान्थे, तिनका छोरा छोरी दुल्ही को थिए अनुहार कस्तो थियो बानी व्यहोराको यावत लेखा र तिनको आकृति समेत हुन्छ। औंसी पूर्णेमा के कसरी तिनीहरुको आराधना गर्ने कुन कुन महात्म्य हुन्छ, के के थरी पूजा अर्चना हुन्छ उनीहरुको जन्म दिन वा यस्तै अवसरका अनेकौं चाडवाड छन् तर खै तपाईंको त्यस्तो केही न मूर्ती छ, न धाम छ, न चाडवाड छ, न कुनै आरती न अर्चना यो के रहस्य हो मैले बुझ्न सकेको छैन।
देउताहरु विभिन्न किसिममा बाँडीएका छन्। ३३ कोटी छन् हाम्रा देउताहरु तर ती ३३ कोटीमध्ये तपाईँको कुन कोटीको हुनुहुन्छ कसैलाई किन थाहा छैन? तर फेरी तपाईँले धर्मको आडमा केही गरेजस्तो पनि लागेको छैन। यो तपाईँको विशालता नै हो कि जस्तो पनि लाग्छ। मेरो कुनै आग्रह छैन केवल मैले बुझ्न चाहेको यत्ति हो कि किन तपाईँ पूजा गरिंदैन जब कि तपाईँ यस्तो शक्तिशाली हुनुहुन्छ।
भूकम्पज्यू,
तपाईँको आगमनको अनेक रुप हुन्छन् जस्तो छ। कहिले तपाईँ सूक्ष्म, कहिले उग्रमात्र हैन मैले बुझ्न नसकेको के भने तपाईं आउन त आउनु भयो ठीकै छ आफनो रुप देखाइहाल्नु भयो तर फेरी तपाईँ पछि लागेर आउनेले किन यस्तो अचाक्ली गर्न थालेको, चारैतिर 'आयो आयो' भएको भएकै छ थामिने छाँटै छैन। मलाई त जिस्काएको र अत्याएको जस्तो लाग्छ। गणपतीको भन्दा गणहरुकै बढी चूरीफूरी के तपाईँले यी गणहरुलाई लिएर हिँड्नै पर्ने हो? पहिले पहिले त यसो आयो जस्तो गरेर तपाईँ जानुहुन्थ्यो, न गण हुन्थे, न नन्दिभृङ्गी तर अहिले त यो के हो, चारका, पाँचका, छका, र कोही कोही त आधा सग्लो नभै आधा खुट्टा घिसार्दै आएको आए नै छन् कहिले सकिने हो थाहा छैन। तपाईँलाई त थाहा हुन पर्ने हो तर के तपाईँ आएपछिको यो हल्लने गणहरुको लर्को किन ल्याउनु भएको हो। यसो जानकारी पाउने आशा त अझै मरेको छैन।
अरुले के गरे थाहा छैन। मलाई तपाईँलाई चिने चिनेन्। हाम्रो परिवारले चाहीँ राम्रैले चिनेर पालमा बसी तपाईँको अखण्ड संकिर्तन गर्दैछौ –
जय भूकम्प! जय भूकम्प! जय जय भूकम्प!!
आउँदा खबर नगरे पनि तेन्सन नदिने गरी आऊँ भूकम्प!
एक्लै आऊ, चाँडै जानु, नन्दिभृङ्गी नल्याउ भूकम्प!
हामी जस्ता गरीब निमुखा कहाँ भन्दा अन्तै जाउ भूकम्प!
जय भूकम्प! जय भूकम्प! जय जय भूकम्प !