मेरो देश औँसीको कालो रातमा रुमलिएको छ,
मेरो देशमा आज प्रकृतिको कुदृष्टि परेको छ,
मेरो देशलाई एैठन भएको छ,
मेरो देशलाई शिवको त्रिशुलले चिरेको छ,
मेरो देशलाई विष्णुको सुदर्शन चक्रले क्षतविक्षत पारेको छ
मेरो देशलाई रामको वाणले प्रहार भएको छ।
मेरो देशमाथि अन्याय भएको छ ,
मेरो देशमाथि विभेद भएको छ,
मेरो देशमाथि प्रकृतिले पड्यन्त्र रच्दैँछ
मेरो देशमाथि दैत्यहरुले फलामका डल्ला बर्साउँदै छ
मेरो देश कुनै प्रयोगशाला होइन,
परिणाम निकाल्न मन्थन गर्न पाइँदैन
मेरो देश कुनै जोक्कर होइन
सकर्समा लगेर रमिता गर्न गराउन पाइदैन,
मेरो देश पागल होइन,
ढुङ्गा हानिहानि जिस्काउन पाइदैन।।
मेरो देशलाई न्याय चाहिएको छ
विश्वमा शान्ति फैलाउने मेरो देश हो,
बहादूरीको गाथा कोर्ने मेरो देश हो
संसारलाई चुचुरामा उठाएर संसार देखाउने मेरो देश हो ,
मेरो देशको स्वाभिमानमा पटक पटक प्रहार गर्न पाइँदैन
मेरो देशको चन्द्र र सूर्यमा आँखा गाड्न कसैको अधिकार छैन ,
मेरो देशलाई कुरुप र दुःखी बनाउँन पाइदैन
मेरो देशलाई रगतको आँसु रुवाउन पाइँदैन।
मेरो देशलाई न्याय चाहिएको छ
बरु भन! न्याय माग्न कुन लोक जाउँ
पग्लेको हिमाल लिएर आउँछु,
खसेको पहाड बोकेर आउँछु,
भाँसिएको तराई दोराएर आउँछु।।
भन ,न्याय माग्न कुन द्वारमा अनशन बस्न आउँ
कसलाई गुहार मागुँ??
कोसँग घोडा टेकौँ , कसको स्तुती गरौँ
कसको ध्यान गरौँ , कसको गुनगान गाऊँ???
कसको अगाडि झोलि फैलाउँ??
म आउँछु सन्तान गुमाएका आमाबाबु लिएर
म आउँछु टुहुरा लालाबाला लिएर ,
म आउँछु पचास डिग्रीको घामले बनाएको इट्टा लिएर ,
म आउँछु फाटेको जमिन बोकेर ,
म आउँछु मेरा धरोहरको भग्नावेशहरु बोकेर,
म आउँछु मानसिक सन्तुलन गुमाएकाहरुसँग
म बस्छु आमरण अनसन मेरा प्याराहरुसँग
मलाई एसएमएस गर
म यी चर्केका भत्केका, मरेका, घाइते यथार्थहरुलाई लिएर
कहाँ आउनुपर्यो ,
किनकि मेरो देशलाई अन्याय परेको छ।
मेरो देशलाई न्याय चाहिएको छ।