छटपट छटपट छटपट
सोचेर कि के गर्दैछौ तिमीहरू
विचलित विचलित विचलित
हर दिन, हर रात
टाढा रहेकी मनले तिमीहरूलाई सम्झन्छे
साथ हुन नसक्ने काकाकूल तिर्सनामा
यो भित्तादेखि त्यो भित्ताभरी सुसाउँछे
छटपट छटपट छटपट
तिमीहरूबाट टाढा रहेकीसँग
बन्द नहुने आँखा छन्
झर्न नसक्ने पानी जमेका पोखरी छन्
चिरिएर भित्रभित्रै चहराउने घाउ छ
जसले
त्यो असत्ति दिन यता वायुपंखी घोडा माग्छ
थाहा पाएरै पनि कि त्यो परिकथामा हुन्छ
मानौं उसले परिकथालाई सत्य मान्दा
मष्तिष्कले बल्झाउने लाचारी पच्छारिनेछ
र उ त्यहाँ हुन्छे तिमीहरुसँगै
हातमा हात मिलाउँदै बोक्न सामान झटपट
तर झर्छ उसकै अगाडि यी सब र शिशाजस्तै फुट्छ
अनि उ
लाङटाङमा उभेको एक्लो घरजस्तै
उभिएर रेखि गरिरहन्छे विद्युतीय संसार
बदलिरहने अंकमा कसको-कसको नाममा
चिनो लगाइरहन्छे टिकटिक टिकटिक टिकटिक!
प्रणिका कोयू
चियाङमाई, थाइल्याण्ड