उठाऊ,
आफ्नो हात ।
बढाउ टेविलको कुनामा
जहाँ थन्किएको थियो , डायरीको पन्ना ।
वैशाख १२, २०७२ ...
उठाऊ कलम
लेख केही शब्द जीवितका नाममा
सम्झना कोर मृतकका नाममा ।
उठ,
उठाउ आफ्नो हात
स्पर्श देऊ आफ्ना भित्ताहरुलाई
जगाउ भित्ताका तस्वीरलाई
जो हप्तौँ दिन देखि
सुतेको छ डरको आवरण ओढेर ।
स्पर्श देऊ कलमलाई
बुद्धको शान्त मूर्तिलाई
उठ ।।
मानौँ यसरी उठ,
सुतेका सवैलाई जगाऊ जसलाई तिम्रो स्पर्शको खाँचो छ ।
जगाउ आफूभित्रका निर्मम अशान्तिलाई
बदल त्यसलाई
नयाँ लयमा
आवाज देऊ आफूभित्रका तरंलाई ।
उठ मानौँ यसरी ,
जसरी तिमीलाई जस्तै उसलाई पनि स्पर्शको खाँचो छ ।
उठ, स्पर्श देऊ अधकल्चो चिठीलाई
र जगाऊ सुतेका ती अक्षरलाई
र लेख,
दूरदराजका ती अपरिचित असहायलाई ,
भन, म आउँदैछु तिमीलाई भेट्न ।
उठ, उठ
जगाऊ
आफूभित्र दविएर बसेका तमाम ती निर्जन पाइलालाई ।
अलिकति हिम्मत जगाऊ ,
खोज आफ्नो हराएको चश्मा
र खोज आफ्नो हराएको नीलो रंग
फैलाऊ चारैतिर
बचाऊ तिमीभित्रको हरियाली ।
बचाऊ ।