चुइङ्क्क आवाज छैन. कति भद्र दर्शकहरू ? हजारजना भन्दा बेसी छन् कन्सर्टका सहभागीहरू. छिरिक्क आवाज ननिस्कने त्यो शान्त वातावरणबीच अचानक बत्ति निभ्यो । दर्शकदिर्घाका सबैको आकर्षण मधुरो बत्ती केन्द्रित स्टेजतिर तानियो । मधुरो उज्यालोमा बिस्तारै देखिँदै गए चर्चित पाकिस्तानी शास्त्रीय कब्बाली गायक आसिफ अली खान । तालीको पर्रा छुट्यो । सँगै देखिए उनका सहयोगीहरू राजा हुसैन, सर्फ्राज़ हुसैन, खवर अली, इम्तिआज हुसैन सिब्ली, वाहिद मुमताज, शाह नवाज, मन्जूरहुसैन र उमार दराज हुसैन ।
सेतो रंगको पाकिस्तानी परम्परागत पोशाक कुर्ता पाइजामा र कालो जुवाडी र आतिफको हरियो रंगको पाइजामाले पक्का पाकिस्तानी पहिरनको प्रस्तुति गरेको थियो ।
चुपचाप आआफ्ना सिटमा बसेपछि बिस्तारै कब्बाली शुरु भो । रमादानको महिना आतिफले राग निकाले, बोलो अली अली ।
क्रमबद्ध उनले मेरा पिया घर आया..दम मस्त कलंदर जस्ता पश्चिमी संसारमा समेत परिचित कब्बाली राग निकाली निकाली गाए । राग न हो, जबर्जस्त तबला, हार्मोनियम अनि सहयोगीहरुको राग र तालीले दुई घण्टा बितेको समेत पत्तै भएन छ ।
मौला अली अली कब्बालीमा आतिफले दर्सकहरुलाई उठ्न लगाए । मेरो छेउमा एक जना बूढा मानिस थिए। कन्सर्टमा गाउनेले नै यसरी उठ्न आग्रह गर्नु असामान्य कुरो थियो । ती बूढा पनि सकीनसकी उठे र मौला अली अलीमा ताल मिलाई मिलाई गाए । कार्यक्रम सकिएपछिको भलाकुसारीमा थाहा भयो, उनी संयुक्त रास्ट्र संघको नियोगमा पाकिस्तान र अफगानिस्तानमा काम गरेर निवृत्त भएका अधिकृत रहेछन ।
उनी धेरै वर्षअघिको यादमा मस्त देखिए ।
कार्यक्रम सकिएको घोषणा गरेर फर्किसकेको कलाकार टोलीलाई पनि ताली बजाएरै फेरि गाउन बाध्य तुल्याए । खवर अलीको जोडतोडको तबला बजानमा झुमे दर्शकहरू ।
युरोपका उत्कृस्ट हलहरू मध्येको पोर्चुगलको दोस्रो ठूलो सहर पोर्तोको संगीत घर कलात्मक त छदैछ, उत्तिकै आधुनिक प्रविधि सम्पन्न पनि । पोर्तुगल सरकारको निम्तो र बैंक,होटेल,उद्योग संस्थानहरूको सहयोगमा आएका अतिफले ब्रसेल्स, लण्डन,आम्स्टरड्यामका संगीत घर हरूमा कार्यक्रम सम्पन्न गरेका रहेछन् ।
कार्यक्रम सकिएपछि भेटघाट भयो । गोराहरूको अटोग्राफ लिने ताँती । फोटो खिचाउने धुइरो । रमादानको शुभकामना दिएका थिए गोराहरूले । ३९ वर्षीय युवक आतिफले कुराकानीमा नेपाली संगीत मनपर्ने बताए ।
धार्मिक समर्पण, प्रेम, जीवनका जटिल मोड, वियोगान्तक समय जस्ता, मिलन, आक्रोश, आग्रहजस्ता सन्दर्भहरुको कलात्मक प्रस्तुति हो कब्बाली । नुसरत फतेह अली खान यो संगीतका सम्राट मानिन्छन् । कब्बाली गायनमा उनको बेजोड प्रस्तुतिका कारण उनले संसारैभरि कन्सर्ट गर्दै हिडें । नुसरतकै उत्पादन रहेछन् यी अतिफ । शैली, राग प्रस्तुति, संगीतको उठान र परिवर्तनको शैली ठ्याक्कै उस्तै । एकजना फ्रेन्च बज्यैले आफुले नुसरतको कन्सर्ट हेरेको र आज त्यही दिनको झल्को लागेको स्थानीय अखबारमा बताइन्।
आठौ शताब्दीमा आजको इरान, तत्कालिन पर्सियाबाट भारतीय महाद्विपमा फैलिएको कब्बाली गायन पाकिस्तान, भारत, टर्की, उज्वेकिस्तानमा निकै चर्चित छ । नुसरत फतेह अली खान कब्बाली गाउँदै संसार घुमेपछि अहिले संसारैभरि यसकोलोकप्रियता बढेको छ । अतिफ खानका हजुरबा सन्तु खान पाकिस्तानमा पहिलो पटक कब्बाली रेकर्ड गर्ने गायक थिए । भारत पाकिस्तान विभाजनका बेला सन्तु पाकिस्तान बसाइ सरेका थिए । पन्जाबी, सिन्धी, पस्तुन, बलुच भाषामा समेत कब्बाली गाउने यी धुरन्धर गाएको महफिलमा मस्त भुलेपछि थाहा भयो, रागतानमा मोह हुन्छ भनेर पृथ्बीनारायण शाहले त्यसै भनेका होइन रहेनछन्।