उ आउँछ,
घोडा चढेर होइन
गाडीमा गुडेर होइन
हेलिकप्टरमा उडेर होइन ।
उ आउँछ आफ्नै गोडामा
मेरै यी दुई हातले बनाएको खडाउ लतार्दै
र,
उसको खडखड गुन्जिन्छ
मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म -
'काल'को युद्धघोष बनेर।
उ,
तालुमा सम्पूर्ण भुमण्डल धानेर आउँछ,
तर मगजका रेशा-रेशा कोष-कोषमा उसको
मेरै माटो हुन्छ।
उसका गम्भीर आँखामा
म मेरै सपनाहरुको थुप्रो देख्छु,
उसका आँखा मेरै आँखा हुन्छन्।
उ अघि लाग्छ बाटो देखाउँदै
पछि-पछि म
'सपना' रोप्दै पछ्याउँछु,
पसिनाले सिंच्दै - विचारले गोड्दै।
मैले थचक्क बसेर लामो सुस्केरा हाल्दा
उ,
आफ्ना हात मेरा हातमाथि खापेर
बेस्सरी अठ्याउँछ,
म तरंगित भएर जुरुक्क उठ्छु
पसिना पुस्छु
र उसलाई दिन्छु उपहार-
सम्भावनाको मिठो मुस्कान।
उसको खुशी मेरै खुशी बन्छ।
उसको नांगो ढाडमा
संघर्षको हिलोले नक्सा बनाएको हुन्छ
तर उ हिंडीरहन्छ अघि अघि
फराकिलो छातीमा ऐना जस्तो मन लिएर -
उसको मुटु मेरै मुटु बन्छ।
मेरा हातगोडा,
मेरा आँखा,
मेरा सपना,
मेरो मुटु,
र मेरै मुस्कान लिएर
खड्खड खड्खड
उ हिमाल-पहाड-तराइ घन्काउँछ
छ्याप्प-छ्याप्प नक्सा छाप्दै,
प्रचन्ड डढेलोले चर्किएको
चहराउने ढाडमा
मलम लगाउँछ
र,
खडाउ खोलेर गोडा धुन्छ
आफ्नै आँशुले -
हो त्यतिबेला,
म उसका पैतालामा दश चक्र देख्छु।
म गोरखनाथ भएर,
उसको निधारका रेखाहरुको 'नेपाल-चित्र'मा
स्वस्तिकको तिलक लगाइदिन्छु,
र, आशिर्वाद दिन्छु -
सम्राट नहुनु, राजा नहुनु।
एक एक गर्दै
हजार, लाख र करोड 'म' बाट बन्दै जानु -
मात्र 'मेरो नेता'।
***
ब्युँझदा
सपना जस्तो लाग्छ ।
तर म देख्छु,
सिरानीमा मेरा आँशुका टाटाहरुले कोरेको
एउटा नक्सा।
***
धमिलो पानीले आँखा धोएर,
कालो मास्क लगाएर
म निस्कन्छु
हरेक पाइलामा युग फड्कँदै -
मेरो नेताको खोजीमा।
पाँचतारे दरबारको पाँचौ तला बाट
आधुनिक शीसा उघारेर
एउटाले चिच्याउँछ -
म हो, म नै त हो तिम्रो नेता!
म मर्केको घाँटी मुसार्दै अघि बढ्छु।
एउटा, बाटोमा ठोक्किनै आउँछ,
म थरर हुन्छु
चर्को घामले मेरा आँखा चिट्-चिट हुँदा
रे-ब्यान को कालो चश्मा उतार्दै
म पट्टी घोप्टो पर्दै सोध्छ -
चिनिनस् मलाई?
म ... उही, तेरो नेता!
म आँखा मिच्दै बाटो छिचोल्छु ।
एउटा चिल्लो गाडीमा घ्याच्च ब्रेक लाग्छ,
म सँगै बाटो काट्न लागेको कुकुर
कुइँकुइँ गर्दै एकापट्टी लाग्छ
मेरा गोडा लुला हुन्छन्,
मुटु घाँटीमा डल्लो पर्छ
छातीमा आन्दोलन उठ्छ,
कालो शीसाको पर्दा सुस्त झर्छ
र शुरु हुन्छ नाटक
राता गालाको -
म त यहीं छु, अब कतै खोज्न पर्दैन
तपाईंको नेता।
ई हेर्नुस्! मेरो 'जंगली साथी'
मेरा हातका ठुठुल्का
हामीले संगै माटो खन्दा बसेका।
म अध्याँरोका सुरुङहरु सम्झेर तर्सिन्छु।
महलको आस / जंगलको ध्वाँस / सुरुङ्को त्रास
एकै खोकीमा थुक्न खोज्दा
म गर्लम्म ढल्छु।
चड्केको तालु,
लल्याक्लुलुक हात-गोडा,
हिलाम्मे ढाड,
र भोकले बटारिएको पेट भुइँमा बजारिन्छन्।
म सपना खोसिएका आँखा चिम्म गरेर
अँध्यारो मन छाम्दै
लामो सास फेर्छु
र कान थाप्छु भुइँमा -
मेरो नेताको 'युद्धघोष' सुन्न।