देश सुत्न सकेन र म निदाउन सकिनँ। धरहरा ढल्यो। तर, भिमसेनहरू भग्नाबशेषबाट निकालिएको दृश्य, किनारामा उभिएर साक्षी बस्नुको पीडा झन दर्दनाक थियो। मलाई माफ गर मेरो देश तेरो एकछाक जुटाउन भासिएको म तँ भाँसिरहदा समाउनलाई सहाराको हात दिन सकिन।
परबाट हेर्दा क्षितिजहरु चित्कारमय र धुलाम्मे छन्। सोत्तर छ्न बस्तिहरू। अलप भए हिजोसम्म मुस्कुराई रहेका लाङटाङ र बसन्तपुरहरू। हजुरबुबाको मुखबाट सुनेको थिए ०९० सालको कथा। पुनरावृत्ति हुँदा छोरो फोनबाट रूँदै सुनाउदै छ। मेरो भागमा कथा मात्रै पर्यो भोगाई तेरो थाप्लोमा एक्लै। मलाई माफ गरिदे मेरो देश तेरो मलामी हुन सकिनँ।
मलाई थाहा छ तलाई हातहरु चाहिएको छ। खोतल्ने हातहरू! ढुकढुकी र निधार छाम्ने दयालु हातहरू! अनि चिहान खन्न सक्ने बलिया हातहरू! तर हेर यी हातहरुलाई बेल्चा बिसाउने अनुमति छैन। मलाई माफ गरिदे मेरो निरन्तर चलिरहने बेल्चाले तेरो उद्दारमा एक चिम्टा माटो निकाल्न सकेन । तेरो अन्त्यष्टिमा एक इन्च माटो उधिन्न सकेन । मलाई माफ गरिदे मेरो देश!
हाल - युएई !