परेवाका एक जोडी बचेरा उचालेर
पशुपतिनाथको आँगनमा ऊभिन जाने सपना बुनेको थिएँ
सपना बुन्दा बुन्दै अकस्मात्
दोस्रो बिश्व युद्धको भग्नावशेस जस्तै भयो
सपनाको प्रिय शहर काठमाडौं।
मुर्दा पोल्ने बगर जस्तै सुनसान मन बोकेर
बौद्ध-स्तुपामा ओम पाने पेमे होम जप्दै
जिन्दगीका काला पापहरू पखाल्ने सोचाई थियो
सोच्दाँ, सोच्दै अकस्मात्
आँखामा कर्णाली नदि बग्न थालेपछि
आँशुले पखालिँदैछन् पाप जस्तै काला रातहरू।
चिच्चाहट र तुवाँलोको खास्टो फ्याँकेर
म धरहरा ढलेको जमिन खोतलेर हेर्न चाहान्छु
त्यो धरहरा ढलेको होईन, ईतिहाँसको पाना-पाना ढलेको रहेछ
मेरा केबल हात र खुट्टा हरु काँपिरहेका छन्
यस्तो लाग्छ म,
कुनै अप्रसिद्ध नयाँ लेखकको पहिलो पुस्तक हुँ।
मैनबत्ति झै उज्याला असङ्ख्य घरहरू
आफ्नो मुखमा आफै आगो झोझेर जलिरहेछन्
गल्ली-गल्लिमा पुलपाति सुँघेर बसेका देवताहरू
बर्लिनका पर्खाल जस्तै भत्किरहेछन्
मानौ कि मानसिहरु
कुनै धामिको मन्त्रपछि माटो मुनि लुकेका छन्।
मेरो सुदूर महाकालीमा
पानी जल्दै छ, आगो बग्दैछ
यो कस्तो अचम्म ?
बालुवा, मान्छे जस्ता छन्
मान्छे, बालुवा जस्ता छन्
तुइनमा झुण्डिएका देवताहरूसँग
नमस्कार गर्ने हात छैनन्।