मेरो जाजरकोटको आँशु झर्दैन आजकाल
आँखामा पनि खडेरी लागिसक्यो अनगिन्ती पल भक्कानिएर रूदा
अब त घाउ नि दुख्दैन थगंथिलो भईसक्यो हजारौ कठोर हातहरुले छुँदा।
कहिले स्वाइन फ्लू त कहिले झाडा पखाला
कहिले भोकमरीले बनाइदिन्छ हजारौको हाड छाला
प्रकृति पनि यति निष्ठुरी, कहिले महामारी
कहिले ज्यानै सुकाउने खडेरी
राष्ट्रपति, प्रधानमन्त्रीलाई हाच्छुँयू आउँदा
विदेशी डाक्टर,
अनि प्लेन नै चार्टर
दलबलसहित विदेशमा पुग्दा
खोइ त ति मानविय संवेदनशिलता
मेरो जाजरकोट पीडामा छटपटिइ रहँदा
चोटहरू धेरै लागे तर डाक्टर कोही भएन मेरो जाजरकोटको
चलखेल त निकै हुँदो हो मेरो नाममा विदेशी नोटको
मूल्य पनि तोकियो होला हाम्रो खाली पेटको।
सुन्दर सपना बाढी झुठा राजनीति गर्यो भोटको
आखिर हाम्रो बास त भयो उही पुरानै गोठको।
चामल आउँछ खाने मान्छे हुँदैनन्
मान्छे हुन्छन् त चामल हुँदैन।
विरामी आउछन् दवाई हुन्न
दवाई आउँछ विरामी रहन्न्।
बाध्यता हो कि विवशता
मेरो जाजरकोटको
म फरक छु भिन्न छु विकटमा छु
त्यसै कारण एक्लिएको होला।
शहर के हो सभ्यता के हो
मेरो लागि टाढाको भईदिए
के हो नीति, के हो संविधान,
किन हुन्छ सधै हाम्रो अपमान?
को हो नेता, को हो डाक्टर, को हो इन्जिनीयर?
लाग्छ मलाई बुझ्ने कोही छैनन्, तर हजारौ छन मेरा लागि गोही आँशु झार्न तयार
मेरो जाजरकोटको आँशु झर्दैन आजकाल
आँखामा पनि खडेरी लागिसक्यो अनगिन्ती पल भक्कानिएर रुँदा
अब त घाउ नि दुख्दैन थगंथिलो भईसक्यो हजारौ कठोर हातहरुले छुँदा।