कफि पिउँदै दुःख सुखका कुरा झिक्दामान्छे गफि जस्तो भइन्छ। गफिमान्छेलाई एकबारको जीन्दगीबारे प्रवचन दिन धेरै आउँछ। गत साताको शुक्रबार एकजना महिला मित्रले मलाई कफि पिउन निम्तो दिइन्। सोचेकि थिइ होलिन- योमान्छे गफि छ, योसँग कफि पिउँदै जिन्दगीको गफ गर्छु।
भन्न त तिनले आलुचप पनि पकाएर राख्छु भनेकि थिइन। मलाई यो आलुचप बिनिता भाउजु जस्तो लाग्छ अनि कोपि खाने सिन्का चाँहि बिनोद दाई जस्तो। मैले अनुनय गर्दै भनेको थिएँ-आलुचप पकाउन पर्दैन, मलाई कालो कफि पिउन पाए पुगिहाल्छ। अविवाहित महिलाले विवाहित पुरूषको कुरा बुझ्न बेर लागेन।
ति महिला मित्रले आफ्नो घर जोमसोम बताउँथिन्। यो कुरा हालसालैको होइन। त्यतिखेरको भेटमा खै, तिम्रो नागरिता हेरम् त भन्दा तिनले आफ्नो निधार म तिर देखाउँदै भनेकि थिइन-‘मेरो निधार हेर्नुहोस न, निधारमा नाम अनि ठेगाना प्रष्टसँग लेख्या छ।’ चोर भन्ने चिज निधारमा लेखेको हुँदैन भन्ने अर्थपूर्ण वाक्य तिनले बोलिन्।
मलाइ विश्वास थियो तिनको नाम सक्कली होइन, छदम्भेषि थियो यद्दपी तिनी चोर होइनन्।
म जस्तो हक्किसँग तिनले घुमाउरो भाषामा कुरा गरेकि थिइन्। यसरी कुरा लुकाउने आदत भएका मानिसलाई आफूले खुला दिल देखाइदिन सक्नुपर्छ, ति लाजले रातो हुँदै जानेछन् अनि घुमाउरो ब्यवहारको प्रतिब्यवहार सिधा-सिधा गर्नुपर्छ, ति चुक्नेछन्।
जिस्कनै पो खोजेको रहेछिन् कि भनेर मलाई निकै असजिलो महशुस भएको थियो। यति असजिलो मानेर निधार हेर्छु भन्न पनि त भएन नि। म खासै जिस्किन जान्दिनँ, जिस्काउनेहरूसंग म टाढा बस्न रूचाउँछु।
टाढा बस्न रुचाएको सात महिना बितेपछि फेरि पनि कफि पिउने निम्तो आइलागेको थियो। अचानक आइलाग्ने यस्ता निम्ताहरू जोखिमपूर्ण त हुन्छन नै। स्वर्ग जाँदा पनि जोखिम मोल्नु पर्छ भन्छन्।
निम्तोलाई सहर्ष स्वीकार गरेर म ति महिला मित्रको घर नजिक पुगेपछि केहिबेर रोकिन्छु।
मलाई लिन तिनी गेटसम्म झरेकि रहेछिन्। हातमा सुगन्धित फूलको गुच्छा प्राप्त गरेर स्वागत पाएको यो मेरो जीवन मै पहिलो घटना थियो।
हैन म त ठूलै मानिस रहेछु कि क्या हो? मनमनै गहिरो सोचाईमा डुब्न पुग्छु। म तिनको पछिपछि डायनिङ् रूमसम्म पुगेँ।
बगैचा, पौडि खेल्ने पोखरी र कुकुरको छाउरा केहि नभएको घरमा तिनी विगत दश वर्षदेखि बस्दै आएकि रहेछिन् घरेलु कामदारको रूपमा। पूरानो घर मामालिक नबस्दा यस्ता कामदार महिलालाई खुब आनन्द हुन्छ किनभने घरमा आफू एक्लै भएपछि सेलरोटि पकाएर खाए पनि भयो। गीत गाए पनि भयो, नाँचे पनि भयो। यतिमात्र होइन नजिकको मान्छेसँग घर मै कफि पिउन पनि पाइन्छ।
भित्तामा नेपालको राष्ट्रिय झण्डा पोतेकि तिनको आवास देख्दा यस्तो लाग्थ्यो यो कुनै महिला मन्त्रीको सरकारी निवास हो। जोमसोम कि महिला, त्यो धौलागिरी हिमालको तस्बिरलाई सुत्ने कोठाको भित्तामा टाँसेकि होलिन् कि नहोलिन् भनेर खुब जान्न मन लाग्यो। तर, जान्न सकिएन, सुत्ने कोठाबारे सोध्न पनि अनूचित लाग्यो।
अतिथि देवो भव भन्छन्। टेबुलमाथि फलफुल नै फलफुल थिए। स्याउसम्म त ठीकै थियो नास्पतीको दानासम्म देखेर मलाई उदेक लाग्यो। एकबारको जुनीमा बल्लतल्ल मलाई भेट्न आएको छ, खाओस न त कति खाँदो रहेछ भन्ने ठानेकि थिईन कि जस्तो लागेर मलाई झन खानै मन लागेन। बिरालोले मुसा आउने दोबाटो हेरे जस्तै म तिनको किचन हेरिरहेको थिएँ।
बैठक कोठाको सेतो सोफामा मालपोतको हाकिम जस्तो गरि बसेर म एक सुरूप कफि निल्छु, अनि बेतमासको गफ झिक्छु। तिनी मृगका प्यारा शावक जस्तै शालिन बनेर मलाई सुन्न चाहान्छिन्,मानौ म रातपरेपछि पूराना आधुनिक गीत बजाउने एफएम रेडियो हुँ।
‘यो तितो कफि मलाई निकै मिठो लाग्यो, ईथोपियाको जस्तो छ नि। कफि चाँहि कति डिग्रीको तापक्रममा उम्लियो होला कुन्नि? पानी उम्लिएको थियो जस्तो त लागेन मलाई,’ मैले भने।
छाड्नुहोस यस्तो कुरा-अक्क न बक्क परे जसरी तिनले भनिन्। मानौं कि यस्तो कुरा मैले छाडिन भने नउम्लिएको कफिसँग फेरि तिनी उम्लिनु पर्नेछ। तिनी जल्नु पर्नेछ।
मैले कफि पिईरहँदा तिनले मेरो कान तिर एकटकले हेरिरहेकि थिइन्।
मलाई थाहा छ मेरो कान अलिकति कोप्रो छ। मानिलिनुहोस् कि कानको आकार अलिकति सानो छ। कान ठूलो नभएको पुरूष आकर्षक हुँदैनन् भन्ने सुनेको थिएँ। कान सानो हुने मानिसहरू भग्यमानी हुन्छन् भनेर तिनलाई भन्न भएको छैन। सायद तिनलाई मेरो कानको बनावट झुर लाग्यो होला।
‘तपाईको कान त कस्तो नमिलेको रहेछ, मलाई त मन परेन बाई।’
मैले मनमनमा खेलाइरहेको कुरा तिनको मुखबाट अचानक निस्केपछि मलाई असह्य पीडा भयो।
मलाइ कफि पिउन बोलाएको कि मेरो कान हेर्न हँ? पीडालाई सहन नसकेर म झोक्किन्छु।
कान हेर्न, तिनी खिस्स हाँसिन्।
ए,कान हेर्न पो!
‘आज कान मन परेन भन्यौ, भोलि नाक मन नपर्ला। पर्सिदेखि आँखा, घुडाँ, दाँत, पाखुरा, घाँटि, चिउँडो,तालु, छाति, कुइनो,औँलाहरू पनि मन नपर्ला। हामीले नराम्रो भित्र राम्रो खोज्नु पर्छ। सबैभन्दा राम्रो त हाम्रो हिमाल छँदै छ नि,’ मैले भने।
कस्तो नबुझिने तरिकाले कुरा गर्नुभएको, तपाई साहित्यकार हो र? तिनले आगोमाथि घिँऊ थप्दै भनिन्- तपाई रिसाएको कस्तो राम्रो सुहाएको, मलाई मन पर्यो।
अब भने म उत्ताउली जस्ति लाग्ने ति महिला मित्रको आँखा नियालेर हेर्छु।
आहा! लोलाएका दुबै आँखामा गायक गुलाम अलिको गजल थियो। मानौ कि, गाजँलु ती ठूला-ठूला आँखा थियो। कानको लोतिमा झुण्डिरहेको झुम्कनाले देखाई दिने तिनको कामुकता यतिखेर म शब्दमा बयान गर्न सक्दिनँ। दाँया र बाँया हल्लाउन मिल्ने किसिमको कालो केश थाइकट थियो। नाम, ठेगाना पत्ता लगाउन सकिने तिनको निधार यति मनमोहक थियो, मानौ निधारभरि सूर्यमूखि फूल फुलिरहेछ।
कफि पिउन निम्तालु बनेर आएको मानिस म कहाँ-कहाँको संस्मरणमा पुगिसकेको थिएँ।
यस्तो लाग्यो कि तिनी कुनै फाइटर विमानको महिला चालक हुन्। अनि तिनको अगाडि कुनै दोस्रो विश्व युद्वको एउटा डरपोक सिपाहि जस्तो बनेर म लकलक काँपिरहेछु। हो, म तिनको सुन्दरतासँग डराइरहेको थिएँ। सुन्दरी हुनुको पनि सीमा हुन्छ नि यार। यत्तिको सुन्दर त जोमसोम बजार पनि छैन होला।
तिनको आँखा तिर नियालेर हेर्नु नै मेरा निम्ती चूनौति बनेर निस्के। बाहिर हावाहुरि चलेको भन्दै तिनी ढोका थुन्न थालिन्। घाम लागेको मौसमलाई हावाहुरी देख्न थालेपछि मलाई डर लाग्यो। झुमाको नजरमा मोहनी त छैन भनेर भूत प्रेतलाई सम्झिन पुगेछु।
‘ढोका नथुन है, अन्यथा म झ्यालबाट फुत्त हाम्फालेर जताबाट आएको हुँ त्यतै जान्छु’, मैले भने। तिनले लगाउँदै गरेको चुकुल देखेपछि मरो सातो उडिकसेको थियो।
तिनको रातो गालामा ‘भुतप्रेत’ चढेको जस्तो एक अजिव ललितकका देखिन्थ्यो।
म आफ्नो दुःखी चेहराको ‘फकिर’ मुस्कान पोखेर तिनलाई धम्कि दिन्छु- तिमी अलि पर बसेर बोल न है?
एक मिटर टाढाको दूरी जस्तोबाट गफ गर्दा त मेरो शरिरबाट खलखलि पसिना सिक्यो। यदि तिनी एक इन्च नजिक बसेर गफ गरेको भए पसिना होइन, महाकाली नै बग्दो रहेछ- म गम खान्छु। कफी पिउन बोलाइएको निम्तालु यतिखेर कुनै भिडयोको छायांकनमा व्यस्त नायक जस्तो बनिरहेको थिएँ।
लाइटर छ? तिनले सोधिन्।
मलाई लज्जाबोध भयो- तिनी चुरोटको अम्मली पनि रहेछिन्।
चिसो बियर पिउनको लागि लाईटर चाँहिन्छ जस्तो मलाई लाग्दैन। म चुरोट तान्दिन, मैले भने।
म तिर धुवाँ फ्याँकेर तिनले तनतनि चुरोट तानिरहेकि थिइन्।
जिन्दगीमा पहिलो पटक आफू पुरुष भएर जन्मिएकोमा पश्चताप लाग्यो। कस्तो अफ्ठ्यारो जगामा फसे नि आज भनेर मलाइ भक्कानो छाडेर रून मन लाग्यो।
म जस्तो सुन्दर तपाई किन नदेखिएको ? तिनको मुखले नमिठो खीत्का छाड्यो।
मेरो कानमा तिमीले जस्तो झुम्का झूण्डाउन मिल्दैन नि। नाकमा बुलाकि र फुलि लगाउन पनि मिल्दैन। मेरो आँखामा गाँजल सजाउन मिल्दैन। मेरो ओँठमा लाली पोत्न मिल्दैन। मेरा गालाहरुमा एक किसिमको पाउडर धस्न मिल्दैन। मेरो निधारमा रातो टिका लगाउँदा सुहाउँदैन।
अनि म कसरी तिमीजस्तो सुन्दर देखिन सक्छु?
यति धेरै चाहना रहेछ, महिला भएर जन्मनु नि, तिनले नाक फुलाईन्।
भगवानसँग प्रार्थना गर्छु यदि दोश्रो जन्म पाइन्छ भने तिमी जस्तै महिला भएर जन्मन पाऊँ। मिल्ने भए म अहिले भर्खरै तिमी जस्तै महिला बन्न चाहान्छु। तर, मिल्दैन, पुरुष भएर जन्मेकोमा मलाई निकै पछुतो छ।
किन पछुतो छ ? तिनले सोधिन्।
मेरो सुन्दरताको ब्याख्या गर्दै कुनै पनि गीतकारले गीत लेखुन्। जतिले लेखे तिमी जस्तै महिला सुन्दरीको बारेमा मात्र लेखे। मेरो कपालको गुणगाणमा कुनै पनि कविले कविता लेखेनन्। मेरो मुस्कानको महिमा कोहि गाँउभरि कसैले गर्दैनन्। मलाई कसैले घुमाउन पनि लगेन। निद्रा लाग्यो कि लागेन भनेर सोध्ने पनि कोहि भएन।
किनभने म पुरूष हुँ, तिमी जस्ती महिला होइन।
तिम्रो बैठक कोठामा रहेका यी बहुमुल्य गुडिया तिमीले किनेकि होइनौ, मलाई थाहा छ तिमीसँग थुप्रा बहुमुल्य लुगा कपडाहरू छन्, जस्लाई तिमीले खरिद गरेका होइनौं। तिम्रो तिलहरि तिम्रो कमाईको होइन। यति महङ्गो घडि छ तिम्रो हातमा, के तिमीलाई समयको महत्व थाहा छ? तिम्रो यो सुन्दरता एकदिन बुढो रुख जस्तै सुकेर जान्छ भन्ने कुरा तिमीलाई थाहा हुन पनि सक्छ नहुन पनि सक्छ तर थाहा भएको मानिस यति सक्कले हुन्न।
म पुरुष हुँ, म दिन भरि काम गरेर थाक्छु। तिमी दिनभरि सुतेर थाकेकि छौं। मेरो पेट कम खाएर दुख्छ, तिम्रो पेट धेरै खाएर दुख्छ। म बिहानै कामको लागि हतार-हतार डौदिन्छु, तिमी भने बिहानै शारीरिक ब्यायामको लागि चौबाटो डौडिन्छौ। तिमिलाई रातभरि रुपियाँले टोक्छ, मलाई उपियाँले टोक्छ।
त्यसैले मलाई पनि महिला भएर जन्मिन मन लागेको छ।
वाईहात कुरा गरेर समय खेर नफाल्नुहोस्, तिनले चर्को स्वरमा आपत्ति जनाइन्। तिनको ओठमा कुरूपता झल्किन बेर लागेन। तिनको मुहार कुनै नाटक घरमा उभिएकि दुःखी महिलाको जस्तो देखियो।
तिमीसँग बसेर समयको सदुपयोग गर्ने कुनै चाहना छैन मसँग, न बहाना नै छ। आज बिदाको दिन, तिमीले कफी पिउन बोलायौं अनि म आएँ। तिम्रो कोठामा सुन्दरताको प्रतियोगिता चल्छ भन्ने कुरा मलाई पूर्व जानकारी भएको भए आउने नै थिइन। को-को बिजेता हुन्छन् अनि को-को उप बिजेता हुन्छन् मलाइ जान्नु पनि छैन।
तिनी फेरि मुस्कुराइन्। म निरास थिएँ, तिनमा कुनै चिन्ता थपिएको थिएन।
कफि पिउन निम्तो दिनुको बहना मैलै अझै बुझ्न सकेको थिइन। सामान्य चिनजानको सम्बन्ध असमान्य जस्तो बन्दै गइरहेको थियो। कुनैपनि विवाहित पुरूषहरूको निम्ती यस्ता संकेत राम्रा हुदैनन्। म त्यो संकेतको सूचकलाई बुझिसकेको थिए।
त्यो के भने तिनी मसंग प्रेम गर्न चाहान्थिन्, म तिनलाई घृणा गर्न चाहन्नथेँ। बिचको मिलन बिन्दु बोछोड बाहेक अरू हुनै सक्दैन। बाहिर-बाहिर माया गर्छु भनेर मात्र हुँदैन जब भित्र भित्र जिवनका जिजिबिसाहरू अनेक छन्। क्षणिक आकर्षणको आक्रमणबाट बच्नको लागि म तिनलाई कति न सम्झाउछु,माने पो।
म उठेर हिड्न खोजे। तिनको स्वर माइतिको आँगनमा अन्माउन लागिएको बेहुलीको जस्तो सुनियो।
मैले तपाईँलाई नराम्रो मानिस भनेको होइन। राम्रोलाई राम्रो भन्न नसकेर कुरा उल्टो गरेको मात्र हुँ। फेरि म भौतिक शरीरलाई प्रेम गर्दिनँ, उसको चरित्रलाई गर्छु। मलाइ बुझ्नु थियो बुझेँ। अब मलाई आँसु दिनु हुन्छ कि हाँसो? तिनले मधुरो आवाजमा बिलौना गरिन्।
पुस्ताको इज्जत गयो भने मेरो मात्र जाँदैन। हजुरबाबा, बुवा र छोराको गयो। हजुरआमा, आमा र छोरीको इज्जेत जाँदैन। म विवाहित पुरुष हुँ। तिमीलाई प्रेमिका वा दुलहीको रुपमा प्रेम गर्न सक्दिन, मैले भने।
तिनको अनुहार चुक घोप्टिए जस्तो अध्याँरो देखियो। गहभरि छचल्किएको आँशु देखेर मलाई असजिलो लाग्यो। तिनका गला अबरुद्ध थिए। तिनको खुट्टा काँपिरहेका थिए। तिनको नजर लोलाइरहेका थिए। यिनको ओठमा यस्तो बिलौना देखिन्थ्यो मानौं कि शिशिर यामको महिनामा कुनै सडक बालिका च्यातिएको खास्टो ओढेर बालाजु बसपार्कमा ऊभिरहेकि छिन्।
म तिनलाई जोडसँग अङ्कमाल गर्छु। म्वाइ खान मन थियो तर, नैतिकताले दिएन। पर-स्त्रिसँग असंबैधानिक हिमचिम राख्नु मेरा निम्ति दुखद् कुरा हुन्। म तीनको बिक्षिप्त मनलाई सम्हालिदिने बाहानामा जोमसोमको बजारमा बाह्र बजे हावा चल्ने गीतको सम्झना दिलाइदिन्छु। घरि तिनी मुसुक्क हाँस्छिन् बिहानीको घाम उदाए जस्तै, घरि तिनी निराश बनिदिन्छिन् गोधुली साँझको घाम अस्ताए जस्तै।
अब अन्तिम पटक कफि पिउनुहोस् न है, म ल्याउँछु अनि जानुहोला। तिनको स्नेहरुपी आग्रह सुनेर म आफूलाई सम्हाल्न नसक्ने स्थितिमा पुगेँ। यो अन्तिम पटक भन्ने शब्द त्यति राम्रो त सुनिदैन। सायद तिनमा अब हाम्रो भेट हुने आषा मरिसकेको थियो।
तिनले अन्तिम कप कफि ल्याइन्। म बसेको आडमै बसिन्। मलाई हेरिरहिन्।
यो कफि हो कि आँशु हो ? मैले सोधे।
कफि हो, आँशु त यतिसानो कपमा कहाँ अटाँउछ र? फेरि आँशु नुनिलो हुन्छ, कफि जस्तो तितो हुँदैन।
तिनले आफ्ना कुरा सुनाउँदै गइन्, म अन्तिम पटक भनिएको कफि पिएर सक्दै थिएँ।
‘म अविवाहित महिला हुँ, मन मिलेको मानिस नपाउँदा उमेर गयो। तर, विवाह हुन सकेन। मलाइ अब विवाह गर्दिन भन्ने लागेको थियो। साथीले तपाईको बारेमा कुरा सुनायो। जोमसोम र तपाईको जिल्ला नजिकै छ। धेरै पहिला तपाइसँग भेट हुदाँ केही भन्न सकिनँ, त्यो पहिलो भेट संयोगमात्र थियो। त्यतिखेर तपाई प्रति प्रेम पनि जागेको थिएन, हालसालैबाट म तपाइको निम्ती पागल जस्तै बनेको छु, तर, अब म आफूलाई सजिलै सम्हाल्न सक्छु किनभने मैले तपाईँको बाध्यता र ब्यवहार दुवै बुझेँ। मसँग त असल बन्नु भयो।’
तिनको सुरो कुरा सुनेर, बुझेर मलाई नरमाइलो महशुस भयो। कफिको कप हातबाट खस्न थाल्यो। एउटा महिलाको कोमल मनबाट निस्किएको भावना सुनेपछि कुनै पनि बिवाहित पुरूष अक्सर काँडा बनेर बसिरहन सक्दैन। उ पनि मानिस हो, उस्को मनमा पनि दयाको भाव जाग्छ। गहभरि आँशु निकालेर तिनलाई अङ्कमाल गरेँ। तिनको अनुहारमा हेरेर मैले आफ्नो बाध्यताको अफ्ठारो सुनाएँ। भुँइमा लत्रिएको तिनको पछ्यौरिलाई समातेर मैले आफ्नो हातमा उठाए, मलाई झन धेरै पीडा भयो।
छाति भरि पिडा बोकेर म फर्केको छु। तिनको समझना अझै फर्किएको छैन, आँशु मिसिएको कफिको झन गाढा याद बनेर यो दिल छिचोलिदिन्छ।
हिजो बिहानमात्रै तिनको टेलिफोन आएको थियो, र हामी दुबै जना अर्को जन्मको प्रतिक्षामा छौ।