फागुनको महिना भएपनि थाहा छैन किन आज एक्कासी आकाश रुदै थियो र म पनि..... आकाश जस्तै फराकिलो अनि विशाल पार्न खोज्दा पनि कहाँ फराकिलो हुँदो रहेछर यो मन! आकाशबाट जस्तै मेरा आँखाबाट पनि अविश्राम श्रावणे झरि झैं पानी नै झरेको थियो तर, उसको पानी र मेरा आँखाबाट झरेका पानीमा धेरै भिन्नता थियो। आज पनि ति वाक्य अनि त्यो मुहार मेरो यो मष्तिष्कमा झलझली आइरहन्छ...।
त्यो दिन म असाध्यै खुसी थिएँ किनकि अस्पतालको लामो बसाइपछि आज मेरी आमा डिस्चार्ज हुदै हुनुहुन्थ्यो। हुनत सबै मानिसलाई आफ्नी आमा प्यारी लाग्छिन् तर मेरो जीवनमा मेरी ममतामयि माता एकदमै प्यारी अनि महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो।
आमालाई बिसेक बनाएर घर फिर्ता लान सफल भएकोमा मैंले आफूले आफैलाई भाग्यमानी सम्झिए र मनमनै भगवान प्रति अनि टिचिङ अस्पतालका डाक्टर प्रति सार्है कृतज्ञ भएँ। तिनै डाक्टरका अथक प्रयाश र राम्रो उपचारले मेरी आमाले काललाई जित्नुभयो! म जस्तै मेरी आमा पनि आज धेरै फूर्तिली र उज्याली हुनुहुन्थ्यो। हिजो अस्ति आफ्ना हातमा घोचिएका स्लाइनका सुइ र नाकका प्वालमा कोचिएका अक्सिजनका पाइपबाट दिक्क भएर आमा भन्नुहुन्थ्यो ‘यो भैंसीलाई नथ्थी लगाएको जसरी के लाइदिएको बाबु मलाई सार्है अप्ठेरो भएको छ झिकिदेन।’
आज डाक्टरले आमालाई त्यो नथ्यीबाट मुक्त गरिदिएको कारण पनि होला,आमाको मुहारमा छुट्टै चमक देखिएको थियो। जब डक्टरले २ दिन पहिला ‘आमा हजुर पर्सि घर जान सक्नुहुन्छ’ भने तब आमाले आफ्नो मनको कुनामा सजाएको एउटा इच्छा मसँग व्यक्त गर्नुभयो– मनकामना माईको दर्शन गर्न जाने। शायद अस्पतालमा भर्ना हुँदा उहाँलाई मर्छु भन्ने लागेको थियो र हो कि!
उहाँले आफूले विश्वास गर्ने भगवान मनकामनालाई डिस्चार्ज भएपछि दर्शन गन आउँछु भनेर भाकल गर्नुभएको रहेछ।
उहाँका ९/१० जना सन्तान मध्ये सबैभन्दा सानी अनि उहाँकि असाध्यै प्यारी म, किनभने म गर्भमा जम्मा एक महिनाकि हुँदा मेरो बुबाको स्वर्गवास भएको थियो, आफ्नो श्रीमान्को अन्तिम चिनो भनेर हो वा गर्भे टुहुरी भनेर हो मेरी आमा मलाई असाध्यै माया गर्नुहुन्थ्यो र मलाई पनि बाबुको माया भनेको कस्तो हुन्छ अनुभुत गर्न नसकेपनि मेरी आमा नै मेरो सबथोक हो भन्ने लाग्थ्यो।
लिङ्गको आधारमा म यो धर्तिमा नानीको रूपमा जन्म लिएपनि मेरी आमाले सधै मलाई ‘बाबु’ भनि बोलाउनुहुन्थ्यो। हाम्रो समाजमा प्रायः छोरालाई मात्र बाबु भनिन्छ, शायद मेरी आमाको नजरमा म छोरा थिएँ, यस्तो छोरा, जो समस्यासँग रूदै काँतर भएर नभागोस्, जस्तोसुकै चुनौतिलाई पनि सामना गरोस् अनि आफ्नो कूलको इज्जत राखोस्।
मलाई कहिल्यै पनि मेरो आमाले तँ छोरी होस्, अर्काको घर जाने जात यो गर्नुहुन्छ, यो गर्न हुन्न भन्नुभएन, सधै मलाई ‘तेरो दाजुलाई र तँलाई जन्माउँदा हुर्काउदा मैंले उत्तिकै वेदना अनि कष्ट बेहोरेको छु तसर्थ मेरो कोखबाट जन्मिएका तिमीहरु सबै बराबरी हो, मलाई मेरो हातका जुन औंला काटे पनि उत्ति नै पीडा हुन्छ भन्नुहुन्थ्यो’ र आफू निरक्षर भएपनि साक्षरताले मात्र उज्यालो भविष्य सम्भव छ भनेर मलाई विद्यालय पठाउनु हुन्थ्यो।
त्यत्तिखेर अहिले जस्तो सरकारी विद्यालयमा निःशुल्क पढ्न पाइदैनथ्यो, मेरो लागि कापी, कलम, फि जुटाउन मेरी आमा छिमेकिको बारीमा ज्याला गर्न जानुहुन्थ्यो। त्यहाँ दिएको खाजा (मकै, रोटी, भात) ल्याएर मेरो पेट भर्नुहुन्थ्यो। तर, आफू चाहिँ पानी पिएर पटुकि कसेर बस्नुहुन्थ्यो।
मलाई अहिले पनि याद छ, मेरी आमाले पानी खाएर पानी नै बान्ता गर्नु भएको! असमयमा श्रीमान् गुमाउनु पर्दाको मानसिक ठूलो धक्का, अनि ९/१० जना बालबच्चाको लागि भएपनि बाँच्नैपर्ने बाध्यता बिचमा ठूलो दुःखले मेरी आमाले मलाई जन्माउनु भयो, हुर्काउनु भयो अनि पढाउनु भयो। मलाई कहिल्यै पनि मेरो बाबा भइदिएको भए अझै राम्रो हुन्थ्योकि भन्ने कुरा यो मनमै आएन।
तर एकदिन दशैंमा छिमेकि साथिले ‘यि मलाई मेरो बुबाले कति राम्रो घाँगर ल्याइदिनु भयो, तँलाई तेरो बुबाले के ल्याइदिनु भयो?’ भनेको कुराबाट आमासँग झगडा गर्दा मेरी आमा ज्वरोले हप्तौं थलिएको आजै जस्तो लाग्छ। अनि आमाले आफ्नो बिहेमा श्रीमान्ले पहिराइदिएको रातो साडी काटेर मेरो लागि कति राम्रो घाँघर सिलाइदिनु भएको थियो, जुन साडी उहाँलाई आफ्नो अन्तिम श्वास फेर्दा लाउने इच्छा थियो रे!
मैंले जे चाहान्थेँ, आमाको बलबुताले भ्याएसम्म उपलब्ध गराइदिनु हुन्थ्यो त्यसैले पनि म अरु दिदीहरु भन्दा अलि पुलपुलिएकि नै थिएँ। दिदीहरु पढ्न चाहान्थे तर सधै डोको नाम्लो नच्यापि एक छाक खान सकिन्न थियो, आफूलाई भने त्यत्तिबेला पढेर बस्न कति गार्हो हुन्थ्यो, दिदीहरूसँगै गोठालो जान अनि घाँस काट्न जंगल जान मन पर्थ्यो तर आमाले सधै तैंले धेरै पढ्नुपर्छ, मरेको बाउको इज्जत राख्नुपर्छ भनिरहनुहुन्थ्यो, त्यत्तिबेला के हो इज्जत के हो बेइज्जत म बुझ्दैनथें। बस, मिठो खान पाए र राम्रो लाउन पाए पुग्थ्यो!
अनि बारम्बार मेरी आमा भन्नुहुन्थ्यो- ‘मौरी जस्तै हुनुपर्छ। ढुंगाले हान्नेलाई फूलले हान्नुपर्छ। ‘कसैमाथी जाइ नलाग्नु तर आइलाग्नेमाथि जाइलाग्न नछोड्नु। “अनि कुटाई खाएर हैन, कुटेर आउनु” “सर्पको बच्चामा विष र मान्छेको बच्चामा ईख नभए काम छैन” “नजाने गाँउको बाटै नसोध्नु” अनि “आफ्नो लागि त किरा फट्याङ्ग्रा पनि बाँच्छ हामी त मान्छे, मान्छेले अरुको लागि बाच्नुपर्छ” आदि इत्यादि।
त्यत्ति बेला आमाले भनेका यी अर्थपूर्ण शब्द मलाई अर्थहिन लाग्थे, बुझ्दिनथे। तर, पनि आमाले भनेपछि बुझे जसरी हुन्छ, हवस् भन्थें। म विस्तारै हुर्कदै गएँ आमालाई विभिन्न शारीरिक समस्या देखा पर्न थाल्यो, कहिले धामी, झाक्री त कहिले वैद्य अनि कहिले अस्पताल नै लगिरहनु पर्ने भयो। पैसाको अभावमा भने जस्तो राम्रो वरिष्ठ डक्टरकोमा पनि लान सकिरहेको थिएन। साधारण औषधि खाने, २,४ दिन ओच्छ्यान पर्ने, अनि उठ्ने फेरि ओच्छ्यान पर्ने भइरहेको थियो।
यो पाली चाहिँ मैंले एउटा कार्यक्रममा गीत गाएको पैसाले आमालाई काठमाडौंमा राम्रो उपचार हुन्छ भन्ने नाम चलेको टिचिङ अस्पतालमा भर्ना गरेकि थिएँ, अनि झण्डै १० दिनपछि आज आमालाई तगडा बनाएर घर लैजाने डिस्चार्ज पेपर बनाउदै थिएँ।
आज बिहानै आमाले यहि वर्ष मात्र आमाको मुख हेर्ने दिन मैंले किनिदिएको फरिया र चोली लाउने इच्छा गर्नुभएको थियो। मैंले मेरी दिदीको छोरीलाई त्यो लिएर सबेरै अस्पताल आउनु भनें, बिहान ९ बजेतिर डक्टर राउन्डमा आए र आमालाई जाच्दैं भने,‘आज घर जानुहोस्, चिन्ता गर्नुपर्दैन सबै ठीक छ, केहि समस्या देखियो भने फेरि आउनुहोला,’ उनीहरू बिदा भए।
त्यहि बेला दिदीकी छोरीले आमाले मगाउनु भएको, मैंले किनिदिएको फरिया चोलो ल्याइदिइ अनि मैंले उहाँलाई लगाइदिन थालें ठीक त्यत्ति नै बेला आमाले शौचालय जान्छु भन्नुभयो, अघिपछि कोपरामा थाप्ने गरेको थिएँ। त्यो दिन कोपरामा बस्नै मान्नु भएन।
‘हिजो अस्ति पो म बिरामी थिएँ, नाकमा नथ्थिले बाँधिएकि थिएँ र शौचालय जान सकिनँ, आज त म तगडा भैसकेँ, मैले छोरीलाई भार बोकाउन हुँदैन पाप लाग्छ, सक्ता त म आफैं जान्छु’ भनेर हामीलाई पनि नलिइकन शौचालय जानुभयो, कपाल कोर्नुभयो, ब्रस गर्नुभयो, डिस्चार्ज पेपर तयार हुदै थियो।
मैले आमा सुतेको बेडमै बसेर उहाँलाई कपडा फेरिदिदै थिएँ। फरिया र चोलो लगाएर तुना बान्न पनि भ्याएकि थिइन। आमाले एक्कासी रिंगटा लाग्यो, यो घर पुरै घुमाए जस्तो भयो भन्नुभयो अनि म उहाँको ओछ्यानमा बसेर,मेरो काखमा आमाको टाउको अड्याएर टाउको र हात मालिस गर्दै थिएँ। केहि छिनमै आमा त सानी बच्चा जस्तो त्यहि बेडमै हराएको जस्तो देखें, अनि मैंले आत्तिएर आमा! आमा! भनेर कराएँ, एकपटक हँ किन बाबु मलाई रिंगटा लाग्यो मात्र के भन्नु भएको थियो, उहाँले मज्जाले समात्नु भएको मेरो हात अचानक झड्किने गरी छोडिदिनु भयो।
त्यसपछि म धेरै आत्तिएर रोएको, कराएको सुनेर डक्टर दौडिएर आए। मलाई त्यहाँ बस्न दिएनन् झण्डै आधा घण्टा जतिको प्रयाश पछि डक्टरले मेरी आमालाई मृत घोषणा गरिदिए।
म त छांगाबाट खसेजस्तै भएँ, आकाशले थिचे जस्तै भयो मैंले कसैको पनि मृत्यु नजिकबाट देखेकि थिइन। गाउँमा कोहि मर्यो र शंख ध्वनीसहित पहेंलो कपडाले बेरेर मेरो घरको बाटो ल्याउदा म दुवै कान थुनेर घरको सबै झ्याल, ढोका लगाएर भित्र बस्थें।
असाध्यै डर लाग्थ्यो, कति दिनसम्म त लाश लाँदा बाटोमा छरेको धान, चामल देख्दा पनि डर लाग्थ्यो। आज आफ्नै काखमा आफ्नी जन्मदाताले अन्तिम सास लिनुभयो पत्याउनै गार्हो भयो डक्टरको कुरा, उनले १५ मिनेट अगाडि मात्र घर जानु समस्या छैन भनेर डिस्चार्ज लेखिदिएका थिए।
कहिलेकाही टि.भी तिर मान्छे मर्दा सार्है छट्पटिएको देखाउथ्यो अनि मैंले सोचेको थिएँ मर्न त्यस्तै गार्हो हुन्छ होला तर मेरी आमा त भर्खर फूर्तिली, उज्याली देखिनुहुन्थ्यो अनि बोल्दै हुनुहुन्थ्यो। मैले कसरी विश्वास गर्नु? त्यसपछि मलाई केहि पनि थाहा छैन म त बेहोस भएछु मलाई होस आउदा आमालाई अस्पतालको तल चउरको लाश राख्ने ठाउँमा राखिएको थियो।
म रुँदा रुँदा थाकेर आखाँ र अनुहार सुन्निएर अप्ठेरो भएको थियो। फागुनको महिना भएपनि पानी फुस्फुसाइ रहेको थियो। शायद अब म पूर्ण रुपमा एक्लिएको, अनाथ र बेसहारा भएको यो आकाशलाई पनि मन परेको थिएन। त्यसैले त मेरो रुवाइमा उ पनि साथी बनेर रोइरहेछ।
म एकोहोरो आमालाई हेरिरहे, आमालाई छोएँ, उहाँको अनुहार सार्है चम्किलो नै थियो र अहिले भर्खरै उठ्नुहुन्छ झै लाग्ने! त्यसपछि आमाले भनेका केहि कुराहरु बारम्बार मनमा खेलिरह्यो, मेरी आमाको यति चाडै मर्ने इच्छा थिएन। उहाँ जहिले पनि मेरो भविष्यको चिन्ता गरिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘यसको जीवन व्यवस्थित भएपछि मर्न पाए खुट्टा तन्काएर मर्न पाइन्थ्यो म मरें भने यसले साह्रै दुःख पाउछे। यसलाई कसले हेर्छ,’ आदि इत्यादि....त्यसैले त उहाँले आफ्नो लामो आयूको कामना गर्दै मनकामना भाक्नुभएको रहेछ, आज डिस्चार्ज भएर जाने भोलिपल्ट बिहिवार पनि छ मनकामना लैजाने र पर्सि घर जाने योजना थियो मेरो, तर निष्ठुरी भगवानले मेरो त्यो योजना कहाँ सफल हुन दियो र! आमासँग मनकामना जाने मेरो धोको सधैंको लागि अधुरै रह्यो।
अस्पतालले डिस्चार्ज पेपर च्यातेर मृत घोषित सर्टिफिकेट दियो। त्यत्तिबेलासम्म त्यहाँ केहि साथी आफन्त र शुभचिन्तक आइसकेका थिए। तर, बिडम्बना मेरो एक जना दाई अर्थात मेरी आमाको छोरा, जुन छोराको आशमा मेरी आमाले वर्षेनी बच्चा जन्माउन विवश हुनु परेको थियो, त्यो छोरा आमाको अन्तिम अवस्थामा त्यहाँ थिएन! त्यो दिन मलाई लाग्यो मेरो आमाले छोराको लागि वर्षेनी गर्भवति हुन नपरेको भए वा सुत्केरी अवस्थामा राम्रो स्याहार सुसार पाउन सकेको भए यति छिट्टै यो संसारबाट मलाई टुहुरो बनाएर जान नचाहँदा नचाहँदै पनि जानुपर्ने थिएन कि! त्यो दिनबाट आजसम्म मलाइ टिचिङ अस्पतालको बाटो हिड्दा पनि मन चिसो हुन्छ।
यो पुरुष प्रधान समाजका आफन्तहरु त मेरो दाजु नआउन्जेल कुर्नुपर्छ छोरीले केहि गर्न हुँदैन भन्दै थिए। तर, मैंले ढिपी गरेपछि अस्पतालबाट आमाको शव शववाहनमा राखेर पशुपति आर्यघाट पुर्याइयो र यो मनलाई दरो बनाएर आमाको इच्छा थोरै भएपनि पूरा गरें। बारम्बार आमा मसँग भन्नुहुन्थ्यो कथंकदाचित म मरेँ भने तँ नरूनु, आँशुले बाटो पाइदैनरे मेरो लाशलाई सिन्दुरले रातै पारिदिनु, अनि तेरै हातबाट मलाई दागबत्ति दिनू। आमालाई चित्तामाथि सुताएपछि यि कुराहरु सम्झेर मेरो मन भक्कानिएर आयो। तर, सकेसम्म सम्हालिन खोजेँ अहँ सकिनँ, आधा होस् आधा बेहोसमै आमालाई दागबत्ति दिएँ र एउटा कुनामा बसेर आँशुले बिदाई गरिरहें।
बुबाको मृत्यु पछि यो समाजले मेरी आमाले जन्मिए देखि नै लगाउन थालेको रातो टिका लगाउन दिएन। त्यहि रातो टिका लगाउन नपाउँदा मेरी आमाले मानसिक रुपमा कति कुण्ठित हुनु परेको रहेछ! त्यसैले त आज चितामाथि चढ्दै गर्दा पनि आफ्नो शरीर रंगीओस् भन्ने चाहानुभयो। यस्तो समाजप्रति मलाई धिर्कान मन लाग्यो।
हेर्दाहेर्दै आमा खरानीमा परिणत हुनुभयो, त्यहि खरानी पनि पानीले पखालेर मेरी आमा क्षणभरमै वाग्मती नदिमा विलिन हुनुभयो।
अब म किन बाँच्ने? कस्का लागि बाँच्ने र कसरी बाँच्ने एउटा डर लाग्दो भविष्यको पहाड आखाँमा नाँच्न थाल्यो। तर, म आमासँगै चित्तामा जलेर जान सकिनँ अब यो जीवन अर्थहिन छ भन्ने थाहा हुँदाहुँदै पनि जर्बजस्ती यो शरीर घिसार्दै घर गएँ। १३ दिनसम्म नेपाली संस्कृति अनुसार कै कर्मकाण्ड गरेँ, अघिल्लो वर्षका मेरा जन्मदिनमा आमाले मन्दिरबाट प्रसाद ल्याएर मेरो स्वस्थ र लामो जीवनको कामना गर्दै आर्शीवाद दिनुहुन्थ्यो तर त्यो वर्ष आमाको १२ औं तिथि नै मेरो जन्मदिनको दिन पर्यो।
हे भगवान म कति अभागी! मैंले त्यो दिन केहि खान सकिनँ साँच्चै भन्नुपर्दा मलाई आमा बितेपछि न भोक लाग्थ्यो, न प्यास, न त निन्द्रा नै...
दुःखमा साथ दिने अनि खुसीमा माथ दिने प्राण प्यारी आमालाई गुमाउनु परेपछिका दिनहरु सार्है कष्टकर रहे तरपनि शीरमा उहाँको आर्शिवाद राख्दै आज मेरी आमाले नै भन्नु भए जस्तै मान्छे भएर मान्छेको लागि बाँच्ने कोशिश गर्दैछु। अनि उहाँले नै भन्नु भए जस्तै काँतर नबनिकन हरेक अप्ठेराहरुलाई सामना गर्ने हिम्मत बटुल्दैछु।
आज रक्षा नेपाल नामक सामाजिक संस्थाबाट मैंले गर्न सकेका कामहरु यदि मेरी आमाका आखाँले देख्न पाएका भए उहाँले प्राप्त गर्ने त्यो खुसी अनि आनन्दले उहाँलाई सयौं वर्षसम्म बाँच्न सक्ने वातावरण बन्थ्यो कि भन्ने पनि लाग्छ। फेरि अर्को तिर, म आज …म' बाट हामी मा परिणत भएकि छु तसर्थ हाम्रा आमाहरु धेरै छन् यो समाजमा जसलाई मैंले बचाउनुपर्छ भन्ने पनि लागिरहन्छ।
आजको यो अमावश्य औंसी अर्थात आमाको मुख हेर्ने दिन वा आमालाई सम्झने दिनमा म यो धर्तिका सम्पूर्ण आमालाई सम्झन चाहान्छु जस्ले आफूले गर्भ भित्र नदेखिकन भ्रुण अवस्था देखि नै सन्तानलाई बडो प्यार तथा इज्जत दिइ जन्माए हुर्काए र जिउँदो मानिसको रुपमा यो धर्तिमा उभ्याए।
लेखिका रक्षा नेपालकी अध्यक्ष हुन्।