सूर्य बनेरै उदाएका थियौं
नेपाली आकाशमा तिमी
तर डुब्न नै पर्ने बाध्यता
तिमी सूर्यकोपनि,
पूर्वबाट उदायौ
पश्चिममा अस्तायौ
तरैपनि तिमी दिर्घायु बनेर सदा
नेपालीहरुको फाँटिलो आकाशीय छातीमा
झल्मलाई रहने छौ सूर्य।
हो,तिम्रा दुरदर्शी मथिंगलले
कयौं परिवर्तनलाई झेल्नु पर्यो
अनि कयौं समस्यासंँग खेल्नु पर्यो
तथापि तिमी कहिल्यै
डग्मगाएनौ ,
र,तिम्रा ती अडिग गोडाहरू
कदापी हल्लिएनन्
राजनैतिक हलचलका भूकम्पले |
कति उम्रिए च्याउसरी
राजनीतिका पोथ्रापोथ्रिहरु
कति ढले गर्लम्मसंग
राजनीतिका ती पिलरहरु
तर ..........तिम्रो आस्थाको खम्बा
कहिल्यै ढलेन
तिम्रो मनको सिंहासनबाट
कहिल्यै कम्जोर बनेन
तिम्रो बिश्वासको आधार शिविरबाट|
चाहे तिमी पन्च थियौ
या...... थियौ,
पंचायतका हिमायती
तर थियौ स्वच्छ र निडर
भावना थियो कन्चन
अनि थियो निर्मल नीति
कस्ले सक्ला तिम्रो त्यो
झल्झालाउँदो मुहारलाई बिर्सन ?
अनि कस्लाई नलाग्ला
तिम्रो अभावको मीठो तिर्सना ?
बिडम्बना.........,
मान्छेको जात नै यस्तै छ
बाँचुन्जेल महत्व हुन्न,
अवशानपछी मात्र कस्को मन रुन्न ?
जे होस् ,पन्च र पंचायत
तिम्रो मूलमन्त्र थियो
तिमीले अंगालेको राजनीतिको
आशयपनि प्रजातन्त्र थियो |
भयौ बिदा अब यो धर्तीबाट
तरैपनि तिम्रो अस्तित्व अमीट रहनेछ
हर नेपालीको मन मुटुमाझ ,
तिरेरै गयौ पंचायतको ऋणको भारा
रूँदै होलान् आज तिम्रा शुभचिन्तक
झारेर कठै! बरर अश्रुधारा
चढाएँ श्रद्धान्जली संवेदनाका
दुई अन्जुली शब्दहरु
राखून ईश्वरले तिमी जस्ता
बहादुर सूर्यलाई नेपाली आकाशमा
सदा चिरिन्जीवी र दिर्घायु !