भ्यालेन्टाइनको वर्षगाँठ वितेको महिनादिन पछि किन प्रेम प्रसंग? रोमियो र जुलियटको कथा बारम्बार सुनेको र पढेको दुनियाँमा फेरि किन प्रेमिल कुरा? हिर राझाको कथा सुनेको, मुनामदन चेपेर महाकवी लक्ष्मीप्रसाद देवकोटालाई वर्षमा एक दिन सम्झना राख्ने ‘सोसाइटी'मा फेरि को हुन् भाग्यमानी प्रेमी?
खासगरी प्रेम विपरित ध्रुवको भावनात्मक एकताले पैदा गरेको तथ्यसंगत संवेदनाको राग हो। र, भाग्यमानी प्रेमी भनेकै महिला र पुरुष नै हुन् भन्न हिचकिचाउन पर्दैन। तर, अलिकति बयानबाजीसँग केही आजका मान्यताहरु जोड्ने प्रयत्न मात्र हो। यो कुनै आमुख डायरीबाट उत्पत्ती भएका अनुभवहरुको चाङ पनि होइन, यसलाई समाजसँग जोड्ने प्रयत्नसँगै खुला बहसको एउटा तर्क मान्दा हुन्छ।
उबेला ((दशक अघि)को प्रेम, पत्रमञ्जुसामा खसेको कागजको खोस्टो प्राप्ति हुँदाको हर्षविभोर मुडसँग जोडिन्थ्यो। प्रविधि पहुँचमा थिएन, पत्रबाहकलाई धन्यवाद दिएर खरबारीका डिल हुन् की, स्टोभको उज्यालो छरिएको तत्कालिन सहरीया कोठा, त्यहाँ पढिन्थ्यो भन्ने अभिभावकहरु (आफु भन्दा ज्येष्ठ) बताउँछन्। यद्यपि, उनीहरुको भावना र अहिलेको समाजको भावना फरकचाँही नहोला, समय र प्रविधिलेचाँही फड्को मारेकै हो।
परिवर्तित हुँदै गएको प्रेमको परिभाषा दिने साहस गर्न सकिँदैन। तर, एउटा दुस्साहस गर्न सकिन्छ, व्याख्या गर्ने कामबाट। हुनसक्छ यो व्याख्यामा समर्थनहरु हुनेछन् अनि आलोचनाहरु पनि। यो प्रेम हो त्यसैले सवै स्वीकार्य छन्। प्रेम र युद्धमा सवै जायज हुन्छ। त्यस्तै समर्थन र आलोचनाहरु जायजमात्र हुनेछन्।
सहर आधुनिक भएको छ, मान्छेका सोचका तहहरु फरक छन्। भावनात्मक शैलीहरु आधुनिकतावादको छायाँमा सायद, गुमिरहेको छ। जसरी ठोसहरुले सहर कुरुप हुन थालेको छ, संवेदनाहरु पनि ‘क्रंक्रिट'को थुप्रोजसरी बुझिन थालिएको छ। यहाँ संवेदनाको पनि नयाँ व्यापार सुरु भएको होला। तर, कतिपय आत्माहरु यस्ता पनि छन्, जो प्रेमको भुँमरीमा भित्रभित्रै जलिरहेका हुन्छन्। प्रेमका कारण अपराधहरु भएका कथा आधुनिक सहरका पत्रिकाहरुका मुखपृष्ठ हुन थालेका छन्। कतै हत्या भए, कतै एसीड फ्याँकिए, कतै बलात्कार भए, कतै प्रतिशोधका अनेक बाहनाहरु भए। संवेदना गुम्न थालेपछि प्रेम अपराध बनीरहेको तथ्य एकातिर छ तर त्यसो होइन। आजको पुस्ताले प्रेमलाई सरल सृजनशिलताको आकारमा बाँध्न आवश्यक हुन्छ।
पहिलो प्रेम मनमोहक हुन्छ। मान्छे जतिसुकै बुढो होस्, बुढ्यौलीमा पुगोस्, उनीहरुको संवेदनाको झन्कारमा पहिलो प्रेमको फरक तरंग त पैदा हुन्छ नै। यस्तो लाग्छ– उनी ममाथि मुस्कुराए र म एकैचोटी पुनः १७ वर्षमा फर्किएँ। प्रेमको कुनै सीमा हुँदैन, प्रेमले कुनै नियम र कानुन मान्दैन त्यसकारण मलाई महसुस भयो म किशोर भएँ। ति वर्षहरु निक्कै रमाइला थिए, केही नराम्रा लाग्दैन थिए र कुनै असहभागीताविना गुजि्रएका थिएनन्। मान्छे अक्सर आफ्नो उमेरको फड्को, कुइनेटो भनौं या जीवनको मोडको सुनौलो समयमा प्रेमी हुन्छ। पहिलो भनौं या अन्तिम भनौं या पागल प्रेमी, यस्तै यस्तै। र, जीवनको मजधारमा आएर पनि ऊ, पहिलो प्रेमसँगै तन्नेरी बनिदिन्छ।
मान्छेहरु जीन्दगीका कुन पीरामिडमा दौडिरहेका हुन्छन्? उल्टो पीरामिडको पेसा र सुल्टो पिरामिडको जीन्दगीसँग संघर्ष गरिरहेकाहरुले त्यत्ति ख्याल नगर्लान्। तर, दुनियाँ त्यस्तो लाग्दैन। फरक जीवन, फरक सोच, फरक शैलीमा दौडेको हुन्छ। यी सवै फरक चीजहरुलाई जोड्ने एउटै कडी हुन्छ, प्रेम। मान्छेहरुलाई लाग्छ अक्सर प्रेम भनेको सम्बन्धसुत्रको नयाँ आयाम हो, सम्बन्धसँगै यसको अन्त्य हुनुपर्छ। अझ, खासगरी विवाह नै प्रेमको अन्त्य हो पनि भनिन्छ। तर, यो फगत उदाहरण हो, सायद। विवाह प्रेमको अन्त्य होइन, सुरुआत हो। एकआपसमा हुँदा नयाँ जीन्दगीको, सुनौलो भविष्यप्रतिको प्रेमको सुरुआत र फरक फरकसँग हुँदा अघात प्रेमको महसुसको सुरुआत। मान्छे किन? भावनामा रुमल्लिएर आँखा वगाउँछन्? संवेदनाको मझेरीमा बसेर अधरका दुई किनारामा बाढि झार्छ? मनमा पहिरो गिराउँछ। त्यहाँ जीन्दगीको महत्वपूर्ण संवेदनाहरुको पारदर्शी ठोस पदार्थ बाहिर आइरहेको हुन्छ। यस्तो महसुस गर्नेहरुले व्याख्या राम्रो गर्दछन्, प्रेमको।
उनीहरुलाई एकआपसमा यस्तो लाग्न सक्छ– उनी उसका अनेक बाहनाका लागि स्वतन्त्र छन्/छिन्। उनी स्वतन्त्र पानीको थोपा पनि हुन्। कुनै चीजको सीमा छैन, नियम छैन, कानुन छैन। अहिले कुनै चिजसँग लड्ने समय पनि होइन। उनको जीवन सफासँग दौडिरहेको छ, प्यासनमा दौडेको छ, निश्चल पानी जस्तो। प्रेमको व्याख्या अनेक प्रकारबाट भएका छन्, प्रकारान्तरले पनि भएका छन्। यद्यपि, पहिलो र अन्तिम प्रेमको व्याख्याको कडी भने दुनियाँभर उस्तै हुन्छ। प्रेम गर्ने तरिका फरक होला तर संवेदनाको आधार चाँही एउटै हुन्छ। मनभित्र, मुटुभित्र चसक्क, साझा संवेदनाले घोचेको त पक्कै हुन्छ।
प्रेम जीवनको अन्य चीजजस्तै हो, यो एउटा खोज हो, एउटा सहासीक यात्रा, अनि गर्नै पर्ने सहासीक यात्रा पनि हो। तिमीलाई थाहा हुँदैन, तिमी मझधारमा केही लिइरहेका/की छौ, त्यो प्रेम हो। कतै पढेको थिएँ– यथार्थ माया एउटा खराब लागुऔषध र त्यसको प्रयोगकर्ता जस्तै हो, कथाहरु र जम्काभेटले निम्त्याउने खोजहरुले भन्छन्, चुम्बनहरु आफैं सुरु हुन्छन्, बृद्धि हुन्छन्। अवश्यपनि, जसले चुम्बन आदानप्रदान गर्छन्, जसले लिने र दिने कामलाई सौहार्दपूर्ण रुपमा बाँड्छन्। पहिलो चोखो प्रेम भनेको एउटा कुशल बन्दि बन्नुजस्तै हो। र, यो खतरनाक औषधि पनि मानिन्छ। प्रेम तपाइले खोजेको केही होइन, केही हो जसले तपाइलाई खोज्छ। अपरिपक्व प्रेमले भन्छ– म तिमीलाई प्रेम गछु, किनभने मलाई तिम्रो आवश्यकता छ तर परिपक्व प्रेमले ‘तिमी मेरो आवश्यकता हो, त्यसकारण तिमीलाई म प्रेम गर्छु' भन्छ। संवेदना, प्रेम, मुटुमा राख्नुपर्छ अथवा राखिन्छ। प्रेमहिन एउटा जीवन घामविनाको फूलबारीजस्तो हुन्छ जहाँ फूलहरु मरेका हुन्छन्। यो आजको पुस्ताले बुझेको छ कि छैन थाहा भएन। सहरका पार्कहरु, मन्दिरहरु, कलेजका क्यान्टिनहरु, रेष्टुरेन्टका टेबुलहरु, नगरकोटे कटेजहरुमा यो भावनामा प्रेमलाप, प्रेम वर्षात् भएको हो की सम्झौताको भयानक खेलमात्र? यो पाठकहरुले विश्लेषण गर्नुहोला।
भनिन्छ– एउटा युवक त्यतिबेला भाग्यमानी हुन्छ यदि ऊ कुनै पनि युवतीको पहिलो प्रेमी बन्छ। अनि युवती त्यतिबेला भाग्यमानी हुन्छे यदि ऊ कुनै युवकको अन्तिम प्रेमी बनेकी छ भने। सम्भवतः पूर्वीय समाज या नेपाली समाजअनुकुल यो भनाई यथार्थपरक नै हो। यसले के पनि देखाउँछ भने प्रेममा युवतीहरु इमान्दार र युवकहरु त्यति इमान्दार हुँदैनन् भन्ने। यद्यपि, यो कुनै सैद्धान्तिक र वैज्ञानिक पुष्टिचाँही होइन। यद्यपि, यो संवेदनात्मक तर्कभित्र रहेर अहिलेको समाजमा को–को पहिलो र अन्तिम भाग्यमानी प्रेमी हुन्, परामर्श र विश्लेषण र बहस त अवश्य नै होला।