संक्रमणकालिन अवस्था भनेको के हो
मैले बिर्सिसकेँ
यसको शुरूवात र अन्त्य
त्यो पनि बिर्सिसकेँ
कुरा गरेजस्तो गर्दै, बुझेजस्तो गर्दै
विरोध गरेजस्तो गर्दै
नेपालमा
१४ फेब्रुअरीमा उर्लदों सय करोडमा ननाचेपनि
८ मार्च २०१३ मा महिला मन्त्रालयका मन्त्रीलाई कालो झण्डा देखाएपनि
२०१२ डिसेम्बर यता १०४ दिनसम्म बालुवाटारमा उभेपनि
२०१४ डिसेम्बरमा यौनहिंसा सम्बन्धी कार्यक्रममा बसेपनि
वर्षैवर्ष महिला हिंसा विरूद्दका १४ दिनमा विमति भएपनि
म बस्नै सकिन नेपालमा उप-प्रधानमन्त्रीज्यू
किन भन्नुहोला भने
५१.४४% जनसँख्याकी एक अंक मलाई
हजूर लगायत हजूरका आसेपासेसँग गुनासो छ
किनकि जतिनै तन्किएपनि राजनीतिक अस्थिरता
अर्थात संक्रमणकालिन अवस्था नेपालमा
म बलात्कृत हुनै पाईन!
बलात्कृत हुने लालसा बोकेर मैले
ठमेलका कुना-कुना पो रातभरि चाहरिन कि?
रात्रि सेवाका बस चढेर जिल्ला-जिल्ला पो हिंडिन कि
छोटा-छोटा जामा लगाएर मदिरा बिनाकै मदहोशमा नाचि पो हिंडिन कि
मैले गरें त यी सब
आफ्ना वरपरका पुरूषहरूलाई लठ्याउन
आफूले जानेजति कामूकताका हावभाव सबै देखाएँ
तर खै किन हो सानी नानी अटाइन् तिनका नजरमा
साडी लगाएकी दिदी भइन् उनीहरुको लालसा
हावा खुस्केको बुढी माउ पनि बनिन् उनीहरूको ओछ्यान
तर म भर्भराउँदो जवानीकी
भूनी सुँगुरजस्तो, कात्तिके कुकुरनी जस्तै खोज्दै हिंडेकीलाई
छेउ लगाएर हिंडे सबै
त्यसैले विरक्तिएर म एक दिन नेपाल छाडी हिंडे
सोचेकी थिंए केही क्षण यस्ता रमाईलो विदेशमै गरौं
अनि थाकेको तन लिएर म फर्कनेछु
शायद कुनै एक नानीलाई लिएर साथ
र भन्नेछु सडकमा "आमाको नामबाट नागरिकता पाउनै पर्छ, पाउनै पर्छ"
र नतमस्तक भइ सुन्नेछु सिडियोका महान वाणि
"बच्चा जन्मनु अघि, मोज गर्दा किन सोच्नुभएन तपाईले यि सब"
हो मलाई यि सब भनेनन् कसैले
त्यही भएर नि उपप्रधानमन्त्रीज्यू
मैले नेपाल छाडें अस्ति हिउँदको एक दिन
जहाँ गएनि याद त आउँदो रहेछ फेरी आफ्नै खानाको
त्यही भएर सधैं म नेपाली खाना हेर्छु बिहानै नेपाली साइटहरूमा
अन्त के थियो - आज त गज्जब नै भयो
तपाईको परिकार रहेछ, कस्तो खान मन लाग्यो
तर भन्ने बित्तिकै आउन नपाइने
त्यसैले यो निम्तो दिंदैछु असारको
म आउँदैछु नि त्यत्तिखेर सानो तिनो छुट्टीमा
के के गरूँला भन्ने एउटा सानो लिष्ट छ
त्यसैमा मैले थपिदिंए खुशिका साथ
तपाईंलाई यो निमन्त्रणा!
हामी भेटौं है त्यत्तिखेर
म तयार भएर आउँछु तपाईंलाई मनपर्ने तरिकामा सजिएर
किनकि मलाई थाहा छ तपाईले अस्विकार गर्नुहुन्न
मेरो प्रस्ताव हो यो कहाँ विरोध हो र!
अँ म भन्दैथिए
आउनुहोस् न त्यत्तिखेर गोंगबुतिर
जहाँ यहाँका मातहतकाले गर्छन् हरेक दिन बलात्कार यौनकर्मीको सित्तैमा
हो त्यहीं सजिलो हुन्छ मलाई बलात्कृत हुन तपाईंबाट
हैन त्यहाँ नगर्ने?
कहाँ त?
हुन्छ म तयार छु जहाँ भएनि
त्रिभुवन विमानस्थल त झन अोर्लने बित्तिकै पायक
माथि VVIP कोठा जो छ
अथवा पास पठाइदिनुहोला म हान्निएर आउनेछु यहाँको कार्यलय
त्यहाँ सुरक्षा छ, मैले भिडियो बनाउने मौकै हुँदैन
नत्र बर्दिया र चितवनको जंगल छ
शिवपूरी, टोखा, नगरकोट र नागार्जुन छ
आहा जंगलको बिचैबिच कति रोमाञ्चकारी हुने होला,
सम्झँदै नै म मख्ख परिरहेछु
एमालेको बल्खु दरबारमा पनि रमाइलै हुन्छ होला
तपाईका कामरेडहरूका बीच
साँच्चै हो के, जिस्केकी हैन,
उपप्रधानमन्त्रीज्यू
तपाईंबाट अनि
निलो पोशाक लगाउने तपाईका मातहतका बाट
अनि तपाईले छाँया बनाउने दादाजीहरूबाट
बलात्कृत हुन म आउँदैछु
यही असारमा
नाईं नभन्नु होला
बिन्ती, मेरो इच्छा पुरा गरिदिनुहोला
किनकि बलात्कारको चाख मैले नि पाउनुपर्यो
बलात्कारीको शक्ति मैले नि देख्नुपर्यो
कति अरूको मात्र सुन्नु-देख्नु-हेर्नु
त्यसैले आउँदैछु म यो असारमा
मिति बिदा स्विकृत भएपछि पठाउनेछु
तयार रहनुहोला
म आउँदैछु तपाईंको आहारा
संक्रमणकालिन नेपालमा बलात्कृत हुन स्वाभाविक रूपमा!