निर्धो देशको राष्ट्रसेवकले
राजनीतिक गतिविधिमा संलग्न रहँदा
जननीप्रति विश्वासघात गर्नु पर्दोरहेछ
स्वामीप्रति बफादारी देखाउनु पर्दोरहेछ
ढोँगी राष्ट्रवादी चिन्तन फलाक्नु पर्दोरहेछ
नजानिँदो चालले जनताको घाँटी निमोठ्नु पर्दोरहेछ
सिमाना खुम्चँदा आँखा चिम्लनु पर्दोरहेछ
निकास थुनेर भूमि डुबाउँदा मौन बस्नु पर्दोरहेछ
आफ्ना जातजातिमा भ्रम बाँड्न अघिसर्नु पर्दो रहेछ
पराई धर्मलाई फिँजिने वातावरण बनाउनु पर्दोरहेछ
राष्ट्रिय उद्योग धराशायी पार्नु पर्दोरहेछ
गौरवशाली योजनाहरू असफल पार्नु पर्दोरहेछ
शिक्षा र स्वास्थ्यको स्तर उठाउन प्रयत्न गर्नु नपर्दो रहेछ
पानी, पत्थर र खनिजको उपयोग जनताको लागि मात्र गर्न नपाइने रहेछ
जङ्गल, जनाबर र जडीबुटी राष्ट्रिय सम्पदा भन्न नपाइने रहेछ
भन्ने पहिले नै थाहा पाउन सकेको भए
म सभासदमा निर्वाचित हुन प्रयास गर्ने नै थिइनँ
म नेता बन्न चासो राख्ने नै थिइनँ
म राजनीति गर्ने नै थिइनँ ।