कुनै समय भारतको लखनउका एक नवाबले ठूलो सांगीतिक जमघट गर्ने योजना बनाएछन् । समयसमयमा यस्ता कार्यक्रम गर्न रुचाउने ती नवाबले त्यसपटकको कार्यक्रममा सम्पूर्ण वाद्यवादनका संगीतकर्र्मी नेपालबाट झिकाउने आदेश दिए । त्यहीअनुरुप कार्यक्रमको योजना भयो । नेपालबाट रामाकृष्ण नाम गरेका चर्चित मुरलीबादकको प्रतिनिधित्वमा वाद्यवादनको एक टोली लखनउ पुग्यो।
नेपालबाट गएको बाद्यवादन टोलीले यति उत्कृष्ट एवं मिठो वाद्यवादन गरे कि नवाब अत्यन्त प्रसन्न भए । रामाकृष्णको मुरलीको धुनले त चमत्कार नै ग¥यो । पटकपटक ममुरली बजाउन लगाए नवाबले र लठ्ठ भएर सुनिरहे । त्यही खुसियालीमा नवाबले वाद्यवादकहरुले बजाउन ल्याएको बाजाभरि मूल्यवान धातुजडित असर्फी दिने घोषणा गरे।
यो खबर सुन्नेबित्तिकै गितार बजाउनेले असर्फी हाल्न तार खोल्न थाले । तबला बजाउनेले अगाडिको भागको छाला उक्काउन थाले । मादल बजाउनेले खरी र छाला उक्काएर असर्फी थाप्न थाले । सबै खुसी भए सोच्दै नसोचेको इनाम पाएर । कसैलाई कसैको खोजी भएन।
असर्फी थापेर आफ्नो भाडो थन्क्याएर सबै हलमा फर्किए । रामाकृष्ण एउटा कुनामा अध्यारो मुख लाएर उभिइरहेका थिए।
सबैले यस्तो सुनौलो अवसरमा असर्फीहरु कुम्ल्याए, तर रामाकृण्ण चुपचाप लागेको देखेर सोधे, ‘किन यसरी बसेको?’
उनले आफ्नो मुरली देखाउँदै भने, ‘तिमीहरूको पो मादल, गितार, एकतारे, तबला थियो र, त्यसमा भनेजति असर्फी अट्यो, मेरो त यो मुरली हो, यसमा त एक टुक्रा केही पनि अटेन।’
सबैजना ट्वाल्ल पर्दै एकअर्काको मुख हेर्न थाले । जसले त्यस्तो सुमधुर धुनमा मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनायो र स्यावासी कमायो उसैको भागमा कुनै उपहार परेन । उसैको मुरलीमा कुनै असर्फी अटेन । सानैदेखि मुरलीमा रुचि बढ्यो उसको, नयाँ नयाँ धुन सिर्जना ग¥यो धुनमा सबैलाई लठ्ठ बनायो, तर उसैलाई थाहा थिएन यही मुरलीले उसलाई इनाममा यत्रो पछि पार्ला भनेर।
लामो समय शिक्षण पेसामा बिताएका एवं गोर्खा ब्रिटिस हाइ स्कुल हङकङमा प्रिन्सिपल भई दुई दशक कार्यकाल पूरा गरेका प्राध्यापक बिसी गुरुङ नेपालमा अध्यापन गर्ने आमशिक्षकको जीवन मुरलीवादक रामाकृण्णको जस्तै रहेको बताउँछन्।
उनको भनाइमा आकर्षण बिनाको पेसा बनिरहेको छ शिक्षण नेपालमा । यहाँका आमशिक्षक मुरली मास्टरको जीवन बिताइरहेका छन । कुनै स्थायित्व छैन, इज्जत छैन, आत्मसन्तुष्टि छैन, आकर्षक तलब एवं सुविधा छैन । एक अर्थमा भन्नुपर्दा केही छैन । छ त दुईचार आदर्श परिभाषा, जस्तो ‘शिक्षक दियो हो जो अरुलाई प्रकाश दिन आफू बल्छ’ वा ‘शिक्षक एक माझी हो अनगिन्ती यात्रुलाई किनारा लगाउँछ तर आफू कहिले र कहाँ डुब्ने हो थाहा हुँदैन।’
कुनै समय थियो नेपालमा जुनबेला शिक्षक हुनु बडो गर्वको कुरा हुन्थ्यो । समाजमा आदर्श पात्रका रुपमा लिन्थे सवैले शिक्षकलाई । विद्यार्थीहरु भविष्यमा शिक्षक बन्ने लक्ष्य राखेर पढ्ने गर्थे । हरेक चेतनाका संवाहक मानिन्थे शिक्षक, चाहे त्यो राजनीतिक चेतना होस्, चाहे परिर्वतनको अन्य कुनै सिलशिला । यिनै शिक्षकका सिर्जनशील सोच र शिक्षणबाट दीक्षित विद्यार्थीहरुले आज राज्यको हरेक क्षेत्रमा प्रवेश गरी आफ्नो दरो परिचय बनाइसकेका छन । अर्कातिर तिनै विद्यार्थीलाई सबल र सक्षम बनाउने शिक्षकहरु मुरली मास्टरको नियति भोगिरहेका छन । समाजमा यो पेसाप्रति युवाहरुको आकर्षण घटिरहेको छ।
शिक्षक जो सामाजिक आदर्शको पात्र हो, उसैको गरिमा दिनानुदिन खस्किरहेको छ । उसैको मर्यादाको कदर अत्यन्तै न्यून हुन्छ आजभोलि हाम्रो समाजमा । हरेक दिन अखबारमा पढिन्छ कहीँ शिक्षकलाई पिटिएको हुन्छ त कहीँ क्याम्पस प्रमुखलाई कालो मोसो दलिएको हुन्छ । कहीँ अप्ठयारो प्रश्न किन सोधेको भन्दै डिनको कार्यालय घेराउ हुन्छ त कहीँ नम्बर कम दिएको भन्दै विषयगत शिक्षकलाई हातपात गरिन्छ । यस्ता घटना बढिरहेका छन्, जसले यो पेसाकै मर्यादामा आँच आइरहेको छ।
पेशागत एवं आर्थिक हिसाबले हेर्ने हो भने मानिस त्यो पेसाप्रति बढी आकर्षित हुन्छ जहाँ नाम, काम र दाम भनेजस्तो हुन्छ । त्यसैले यहाँ शिक्षकभन्दा बढी डाक्टर, इन्जिनियर हुने होड चल्छ । नेपालमा सरकारी विद्यालयको भन्दा निजी विद्यालयको तलब सुविधा न्यून छ । त्यसमा पनि चाहे सरकारी होस् चाहे निजी, छुट्टी मात्र धेरै हुन्छ । तलबभन्दा पनि यो पेसामा लागेर भनेजस्तो नाम र दाम कमाउने मुरली मास्टरको सपना अधुरै रहन्छ।
एकातर्फ यो मुस्किल छँदै छ, अर्कातर्फ विधार्थीहरुको हरेक कमजोरीलाई शिक्षकको सामथ्र्यसँग जोड्ने गरिन्छ । घरमा बच्चाले बदमासी ग¥यो शिक्षकले अनुशासन नसिकाएर, परीक्षामा कम नम्बर ल्यायो शिक्षकले नपढाएर, घरमा टिभी ज्यादै हे¥यो पढ्ने पाठ नदिएर आदि।
भर्खरै एसएलसी नतिजा प्रकाशित भयो । ४१.४७ प्रतिशत विद्यार्थी पास भए । नतिजा प्रतिकूल हुनुमा शिक्षकहरु दोषी हुन् भन्ने आमधारणा प्रकाशित भए छापा तथा अन्य मिडियामा । इन्टरनेट, मोबाइल, टेलिभिजन, कम्प्युटर गेम, आइपड लगायत सञ्चार एवं मनोरञ्जनका विविध क्षेत्रमा बढिरहेको विद्यार्थीको रुचिलाई सामान्य रुपमा लिन्छन् अभिभावक अनि सारा दोष शिक्षकलाई थुपारेर आफू पन्छिन्छन् । सुन्दा यस्तो लाग्छ बाबुआमाको काम बच्चा जन्माइदिने हो, बाँकी सम्पूर्ण विकासको जिम्मा शिक्षकको हो।
अनेकन मुश्किल र अपजस त छँदैछ, मासिक तन्खाले हम्मेहम्मे पर्छ गुजारा चलाउन । त्यसमा पनि छोराछोरीका रहर र घरखर्च छँदैछ । कहिले तिज आउँछ, कहिले दसैं त कहिले तिहार, यी चाडपर्वको आर्थिक बोझ झेल्दैझेल्दै जिउँछ मुरली मास्टर।
दिनभर चक र डस्टर ब्ल्याकबोर्डमा घोट्छ मुरली मास्टर, अनि तिनै बोर्डका अक्षरबाट ज्ञानका मन्त्र जप्दै सुनौलो भविष्य निर्माण गर्छन् उसका विद्यार्थी । दिन बित्छ, महिना अनि वर्षौं मुरली मास्टर आफ्नो ज्ञान र विज्ञानको मुरली फुकिरहन्छ । त्यसैको सुमधुर धुन श्रवण गर्दै कमिलाका ताँतीले प्वाल पहिल्याएजस्तै आफ्नो जीवनको गोरेटो पहिल्याउँछन् उसका शिष्यहरु । मुरली मास्टर त्यही कोठामा त्यही धुन फुकिरहन्छ । मिठो धुन जीवन उपयोगी धुन, रामाकृष्णको जस्तै कर्णप्रिय धुन।
प्राध्यापक बिसी गुरुङका शब्द सापटी लिने हो भने विकसित मुलुकहरुमा शिक्षण अत्यन्तै आकर्षित एवं मर्यादित पेसा मानिन्छ । त्यस्ता मुलुकमा दक्ष जनशक्ति उत्पादन दक्ष शिक्षकले गर्न सक्छन् भन्ने मान्यताअनुरुप उत्कृष्ट एवं दक्ष प्राज्ञहरुलाई आकर्षक तलबसुविधा सहित अध्यापनका निमित्त छनौट गरिन्छ । जुन पेसा अपनाएर मानिस आफ्नो गुजारा सजिलैसँग गर्न सक्छ, आत्मसन्तुष्टि प्राप्त गर्न सक्छ, अनि आर्थिक रुपमा सबल हुन सक्छ मानिस त्यही पेसातर्फ आकर्षित हुनु स्वाभाविकै हो।
म स्कुल पढ्दा मेरो विद्यालयका प्रिन्सिपल सरले भन्नुहुन्थ्यो, ‘देश बन्न तीनथरि जनशक्ति अत्यन्तै इमानदार हुनुपर्छ, शिक्षक, राजनितिज्ञ र सवारी चालक अर्थात ड्राइभर ।‘ नेपालमा यी तीनैथरि जनशक्तिको इमानदारीको अन्दाज लगाउन सक्छौं हामी, सायद त्यही भएर सर अस्ट्रेलियातर्फ लाग्नुभयो, यो देश अब बन्ला या नबन्ला भन्दै।
विद्यार्थीको भविष्यको लगाम शिक्षकको हातमा हुन्छ अनि अस्थिर प्रणाली भएको हाम्रो देशका शिक्षकको लगाम राजनीतिक दलको नेतृत्वमा हुन्छ । अधिकांश समय सरकारी शिक्षक एवं प्राध्यापकहरु पार्टीको झोला भिरेर बैठकमा हुन्छन् । त्यही समय कक्षामा विद्यार्थी झिंगा मार्दै शिक्षक कुरिरहेका हुन्छन्।
शिक्षण आफैंमा सर्वश्रेष्ठ पेशा हो, उत्कृष्ट जनशक्तिहरुले अवलम्बन गर्ने पेसा । एकाध शिक्षकको राजनीतिक मोह र बदमासीभन्दा माथि उठेर हेर्ने हो भने शिक्षकहरु व्यक्ति समाज र राष्ट्र निर्माणका धरोहर हुन् भन्दा फरक नपर्ला । व्यक्तिगत, सामूहिक एवं राष्ट्रिय रुपमा शिक्षकलाई हेर्ने दृष्टि बदलिनु अत्यन्तै जरुरी छ।
सम्पूर्ण सोच र विवेक खर्चेर आफ्ना शिष्यहरुलाई सबल बनाउने प्रयत्न गर्छ एउटा शिक्षक । बदलिँदो मनोविज्ञान एवं मानसिक संवेंदनाको पहिचान गर्दै विद्यार्थीहरुमा भएका हरेक सम्भावनाका ढोका उघारी दिन्छ शिक्षक । त्यसैले त गुरुको एक अमुर्त रुप हो शिक्षक।
खुलामञ्चमा हजारौं–लाखौं जनता भेला गरी खुलेआम ढाँट्ने नेताहरुभन्दा एउटा कक्षामा आफ्ना शिष्यलाई जीवनमन्त्र एवं ज्ञानका प्रत्येक थोपा पिलाएर सबल अनि दक्ष बनाउने गुरुको मान र प्रतिष्ठा पुनस्र्थापित गर्नुपर्छ हामीले यो समाजमा।
एउटा डाक्टरको कमजोरीले एउटा बिरामी मर्छ तर एउटा गुरुको कमजोरीले धेरै शिष्यहरुको भविष्य मर्छ । त्यसैले इमानदारीताको प्रतिमूर्ति हुन सक्छ एउटा सच्चा गुरु । गुरुका अनेक रुप हुन सक्छन्, अनेक तवरबाट ज्ञान र विवेकलाई सम्प्रेषण गर्छन गुरुहरु आफ्ना शिष्यमाझ।
गुरुपूर्णिमाको पूर्वसन्ध्यामा छौं हामी । गुरुमाथि मौखिक रुपमा मात्र नभई आत्मिक रुपमा श्रद्धा र सुमन प्रकट गर्न सक्यौं भने जीवनमा सत्र्कम गर्ने प्रेरणा एवं आर्शिवाद मिल्छ भन्ने शास्त्रीय ज्ञानको अनुसरण गर्नु आवश्यक छ । ज्ञातअज्ञात गुरुहरुका नाममा दिप प्रज्वलन गर्दै आम मुरली मास्टरहरुलाई सम्मानित गुरुको जीवनयापन गर्ने नैतिक वातावरण निर्माण गर्न सकियो भने गुरुपूर्णिमा सार्थक बन्छ।
लेखक ललितपुर ताल्छिखेलस्थित जेनेभा ग्लोबल स्कुलमा अध्यापन गर्छन् ।