नियतिको अर्थ हुन्छ— भाग्य, आत्मसम्मान, नियमबद्ध हुने प्रकृति, सिद्ध उपलब्धि, दैवी प्रकोप । पाल्पाको रिढीमा जन्मे–हुर्केका ७३ वर्षीय पत्रकार आदित्यमान श्रेष्ठको संस्मरणमा नियतिको उपर्युक्त अर्थ खुल्ने गरी जीवन भोगाइहरू प्रस्तुत भएका छन्।
यसै पनि नेपालको इतिहासमा पाल्पाले विशेष अर्थ राख्छ, किनभने २००७ सालको विद्रोहताका तत्कालीन राजालाई पाल्पा भगाएर राजधानी सार्ने योजना भएको थियो । यद्यपि त्यो योजना पूरा हुन सकेन । २००७ सालका क्रान्ति योद्धासँग श्रेष्ठको हिमचिमका प्रसंग इतिहास बुझ्ने सन्दर्भ हुन् । त्यस्तै आदित्यको हेराइ मोफसलको हेराइ हो।
झन्डै २० वर्ष राष्ट्रिय सरकारी सञ्चारमाध्यम गोरखापत्र संस्थानअन्तर्गत ‘राइजिङ नेपाल’का लागि रिपोर्टिङ र सम्पादन तथा प्रशासनको जिम्मेवारी निर्वाह गरेका श्रेष्ठको अनुभव समाज, राष्ट्र बुझ्ने सूचना हुन् । उनले लेखेका छन्, ‘२०३६ सालको जनमत–संग्रहको वर्षलाई छोडेर यो कालभरि प्रेस स्वतन्त्रताको उपयोग गर्न पाइएको थिएन । बाह्य संसारलाई देखाउन संस्थानको नेपाली अखबारमा भन्दा अंग्रेजीको अखबारमा धेरै छुट दिइएको थियो, तर त्योभन्दा पनि व्यक्तिमा फरक पथ्र्यो । दरबारनजिक मानिएका पत्रकारले अरूभन्दा बढी स्वतन्त्र रूपले लेख्न पाउँथे ।’ (पृष्ठ ६३)
आदित्यले आफ्नो संस्मरणमा पत्रकारितामा लाग्नुका सन्दर्भ र पत्रकार भइसकेपछि विकास पत्रकारिता गरेका प्रसंग बताएका छन् । उनको किताबको उपशीर्षक छ, ‘रोगी, भोगी अनि योगी’ । उनले आफू रोगी भएको र योगको अभ्यासले स्वस्थ भएको अनुभव सुनाएका छन् । भोगीबारेको चर्चा भने अलि साहसिक र विवादउन्मुख देखिन्छ । श्रेष्ठले विवाहपूर्व स्त्रीहरूसँग संसर्ग भएको मात्र बताएका छैनन्, विवाहपश्चात् पनि ५०–६० जना स्त्रीसँग संसर्ग भएको बताएका छन् । आफ्नो भोगउन्मुख कर्मले झन्डै सम्बन्धविच्छेद भएको कुरा गरेका छन् । हर्मन हेस्सेको सिद्धार्थ उपन्यासको सन्दर्भ दिँदै मान्छे भोगीबाट योगी र योगीबाट भोगी हुने बताउँदै आफू भोगीबाट योगी भएको स्पष्टोक्ति दिएका छन्।
यौनसम्बन्धबारे के विरोधाभास देखिन्छ भने, ‘नेपालमा यी क्रियाकलाप भएका थिए या विवाहपूर्व या श्रीमतीको लामो अनुपस्थितिमा । विदेशको क्रियाकलाप कुनै गम्भीर प्रकृतिको थिएन । त्यसैले मैले आफ्नी श्रीमतीलाई अन्याय गरेजस्तो लाग्दैन ।’ (पृ २३२) सोही कुरा श्रीमतीको हकमा लागू हुने कि नहुने ? श्रीमान्ले श्रीमतीको अनुपस्थितिमा परस्त्रीगमन गर्दै हिँड्नु अन्याय नहुने हो भने श्रीमतीले परपुरुषगमन गर्दै हिँड्न हुने कि नहुने?
किताबको एउटा पाठ आफ्नो लेखनबारे ‘अरूले के भने ?’ शीर्षकअन्तर्गत सात पेजमा क–कसले के भने दिइएको छ । जुन सामान्यतः लेखनको प्रचलन होइन । अरूले आफ्नाबारे गरेको सराहना किताबको मूलपाठमा दिनु दरिद्र स्वभाव हो । श्रेष्ठको नियतिलाई एक जना टिप्पणीकारले उपन्याससरह भएको बताएका छन्, तर त्यो उपन्यास कालजयी र दीर्घकालीन प्रभाव छोड्ने खालको भने छैन।