मेरो समय टक्क अडिएको छ
तिम्रा हातमा,
तिमी मलाई देखाएर नचाउँछौ!
मलाई भ्रम हुन्छ -
‘ए! भगमान मेरा यीनै पो हैछन् कि?’
म हुस्सु
कालको रुप नचिन्ने गधा,
सपनाको भ्रम नजान्ने सनकी,
आदर्शका अप्ठेरा नहेर्ने लम्पट,
प्रेमको स्वार्थ नखोज्ने पागल,
द्रव्यको शक्ति नबुझ्ने लाटो,
लम्पसार नतमस्तक हुन्छु -
'प्रभु!'
म अट्टहासलाई मधुर मुस्कान देख्छु
तिम्रो मुहारको तेजमा
लतारिन्छु,
तिम्रा आँखाका ईशारामा
संसार हेर्छु
दुनियाँ बुझ्छु म तिम्रो दर्शनमा।
तिम्रै रङले रङ्याउँछु मेरो संसार।
तिमी भन्न थाल्छौ-
'मैले लाली नपोतीदिएको भए,
तिम्रो संसार कालो हुन्थ्यो, सादा हुन्थ्यो।
ब्ल्याक एन्ड व्हाइट टि.भी जस्तो।'
म मुन्टो हल्लाउँछु,
हो जस्तो लाग्छ।
'मैले बोली तिम्रो नबोलिदिएको भए
तिमी लाटा हुन्थ्यौ,
साउंड बिनाको फिल्म जस्तो।'
म आँखा ट्वाल्ल पारेर
सोच्न थाल्छु।
'हो क्यारे……। '
'सोच त! त्यो त्रासदी, त्यो अपमान, दुख?
जस्ट इम्याजिन!' तिमी थप्छौ दरिलो स्वरमा,
म थरर हुँदै विश्वस्त हुन्छु।
मेरो समय,
तिम्रो मुहारको तेजमा अडिएको छ।
मेरो समय,
तिम्रो आवाजको ध्वनीमा घुलिएको छ।
मेरो समय,
तिम्रै रेटिनाको प्याटर्नमा कोरिएको छ।
मेरो समय,
तिम्रो 'दुई पाउन्ड'भित्र रेशाहरुमा
यता र् उता रिङ्गइरहेको छ।
मैले खोस्ने आँट गरेको छैन,
तिमीले दिन पर्छ भने जानेका छैनौ।
तिम्रो हाम्रो
यही अप्ठेरो समझदारीमा
तिम्रो स्वार्थ र मेरो कायरतामा
शक्ति सन्तुलनमा
'मेरो समय'
कैदी बनेर टुलुटुलु हेर्दै छ किनाराबाट
र युग
बगेर जाँदैछ पर, निरन्तर।
तर अब छिट्टै
एक दिन
भ्रम टुट्ने छ, मैले चिन्ने छु, म जाग्ने छु ।
तिम्रा अट्टहास पछाडिका चम्किला दाँत
रक्षसका दाह्रा लाग्नेछन्।
तिम्रो दृष्टिमा भ्रमको पर्दा
र तिम्रो रङमा
अफीमको धुंवा
स्पश्ट देखिने छ।
अनि म शंख बजाउने छु युद्धघोषको,
तिम्रा आँखा कोपेर छिनोले,
म निकाल्ने छु,
थोपा थोपा मेरा सपनाहरु
र
मुक्त गर्नेछु,
बगेको रगतले
यो थलो शुद्ध्याएर
यज्ञ थाप्नेछु
आकाश शुद्ध्याउन
र
मेरै हत्केलामा हुर्कने छ
स्वतन्त्र भएर
मेरो समय।