यही हो मेरो देश
मेरो देश-
हामी सबै हारेको देश।
दिशाहीन गन्तव्यको लागि
रुमलियको जमात छ जहाँ
जहाँ घरको धुरीमा आगो झोसिएको छ
देशको अस्मिता लुटिंदा
बलात्कारीहरुको अट्टहास सुनिन्छ जहाँ
जहाँ परचक्रिहरुको ग्रहण लागेको छ
पाखण्डले ताण्डव नृत्य गर्दैछ जहाँ
यही हो मेरो देश
मेरो देश –
हामी सबै हारेको देश।
देश हाँक्ने अभिभारा लिएका
लालबुझक्कडहरू जहाँ
उर्लंदो खहरेको भेलरुपी असन्तुष्टि पार गर्न
ढोडका लौराको सहारा लिन्छन
जहाँ भ्रम फैल्याउछ्न यिनले/दुस्वप्न बाँड्छन
स्वाभिमान बेचेर बिदेशीको चरणमा लम्पसार पर्छन जहाँ
जहाँ नैतिकताहिन कुलंगारहरुको जताततै सल्बलाहट देखिन्छ
यही हो मेरो देश
मेरो देश –
हामी सबै हारेको देश।
करोडौं मन/मस्तिष्कहरुमा जहाँ
घृणा र द्वेषको बिजारोपण गरिएको छ
जहाँ हर दृष्टिहरुमा शंका अनि
उपशंकाको बादल मडारिएको छ
पाइलाहरुले गोरेटो पहिल्याउन छाडेका छन् जहाँ
जहाँ निर्मल छहरामा बिषालु पानी बग्दैछ आजभोलि
हिमचुली लज्जाबोधमा कालो बादलभित्र शिर लुकाउँदै छ जहाँ
यही हो मेरो देश
मेरो देश –
हामी सबै हारेको देश।
निलो आकाशको रंग फेरिएर रातो भएको छ जहाँ
जहाँ सूर्य रुन्छ/चन्द्रमा बलिन्द्र धारा आँशु झार्छे
बाटो साँघुरिएको छ जहाँ
जहाँ उर्बरा माटो दलदल बनेको छ
एक अनेक भएको छ जहाँ अनि
अनेकभित्र लुकेका रक्तबीजहरु
ठाडो घांटी लगाई आफ़्नैको रगत पिउन उद्धत छन् जहाँ
यही हो मेरो देश
मेरो देश –
हामी सबै हारेको देश।
स्वर्णीम इतिहाँसमा डढेलो लागेको छ जहाँ
जहाँ संस्कृतिमा विचलन आएको छ
विसंगति जन्माउने युद्धमा मारिएका
हजारौं आत्माको चित्कार सुनिन्छ जहाँ
जहाँ बिखण्डनकारी सइनखटिराको असह्य पीडा छ
जहाँ प्रजातन्त्र ‘पर - जा - तन्त्र ’ भईसकेको छ
गणतन्त्र ‘गर - तन्त्र’मा रुपान्तरित भएको छ जहाँ
यही हो मेरो देश
मेरो देश –
हामी सबै हारेको देश।
फेरिंदै छ मेरो देशको परिभाषा आजभोलि
फेरिएको छ मेरो देशको परिभाषा आजभोलि
यही हो मेरो देश
मेरो देश –
हामी सबै हारेको देश।