१.
म एउटी सम्भ्रान्त घरकी छोरी
म एउटी सम्भ्रान्त धरकी बुहारी
घरका कुरा बाहिर लादाँ परिवारको इज्जत जाने डर
कसरी भन्न सक्छु
म प्रताडित छु भनेर
म अन्यायमा परेकी छु भनेर
म पढ्छु भन्दा जागिर खान्छु भन्दा
घरकाले मलाई घरभित्रै बन्धक बनाउछन भनेर
खान पाकी छु लाउन पाकी छु
तर म मान्छे भएर बाँच्न पाकी छैन भनेर
घरकाको ईज्जत जोगाउने नाउमा मेरो आफ्नो इज्जत लुटाएकी छु भनेर
पटकै पिच्छे माईतीबाट उपहारका बाकस ल्याएर खानदान जोगाउने जिम्मा छ मेरो
कूलको मान राख्न नसके जिउदै जल्नु पर्ने हुन्छ मैले
घर गरीखाने परिक्षा पास नगरेसम्म मेरो गर्भ यसरी नै तुहाइन्छ रे
मेरो आफ्नो कुनै मन हुदैन रे अरुको मन राख्नु पर्छ रे
म एउटी प्रतिष्ठित घरकी छोरी बुहारी
समाजले मलाई सुरक्षित ठान्ला
तर घर भित्रै पो म कहाँ सुरक्षित छु र
२.
म मध्यम वर्गीय परिवारकी कामकाजी महिला
घर धान्न पनि काम गर्नै पर्ने
साझ बिहान घर अफिस भ्याउनै पर्ने
अफिसलाई ध्यान दिदाँ घरमा अपजस
घरमा ध्यान दिदाँ अफिसमा अपजस
दोहोरो तेहोरो भूमिकामा बाँडिनु पर्दा
कता धेरै कता थोरै
थोरै मात्र तलमाथि भए
घरको न घाटको हुने मेरो अवस्था
आफ्नै खुट्टामा उभिएकी भनिएपनि म कहाँ आफ्नो चालमा हिड्न सक्छु र
आफ्नो चालमा हिड्न खोजे दिनहु मैले मर्नु पर्छ जिउदै
दुनियाँको बक्र दृष्टिबाट बच्न आश्रय लिने घरमा
घर भित्रका घोच्ने काढाँहरु खप्नु पर्छ मैले
नहेलिने भए दु:खको सागर
लड्नु पर्छ मैले कि वार कि पारको लडाई
कि जल्नु पर्छ मैले आफ्नाहरुकै हातबाट
अनि म कहाँ सुरक्षित छु र
३.
म गरिब ज्यामिकी छोरी
भरीयाकी छोरी
बाउका घरमा पालिन नसकेर
एकसरो आङ ढाक्ने लुगा लाउन नसकेर
मेरो सुरक्षामा लागि
चुकुल भाको ढोका भित्र सुत्न पाउने आशामा
शहर पसेकी म घरेलु कामदार
एक पेट खान मैले मालिक्नीलाई रिझाउनु पर्ने
बिहान देखि राति सम्म थाके भन्न नपाई
काम नसकी मैलै खान नपाउने रे
आधि रात नभै सुत्न नपाउने रे
एक छाक खान मैले मालिकको ओच्छ्यान बन्नु पर्छ
एक सरो लाउन मैले बाबु साहेबहरुको ओच्छ्यान बन्नु पर्छ
मैया साहेबहरुको चाकर पुरा नगरे तातोले डामिनु पर्ने हुन्छ
मैले कसैसंग बोल्न नपाउने रे
मैले कसैकोमा जान नपाउने रे
म आवाज विहिन धन विहिन गरिब ज्यामिकी छोरी
घरेलु कामदार
मेरो बोली मेरा हात मेरा रात र बिहान
केहि पैसामा किनिएको छ रे
बाउको मा गास र बासको सुरक्षा भएन
सुरक्षित घरको चार दिवार भित्र
भात र नानाको जोहो गर्न म आफै कति असुरक्षित छु
खै कहाँ छ मेरो सुरक्षा