इतिहासका पानामा हामी धेरै चेलाहरुको गुरुभक्तिको कथा सुन्दै पढदै आएका छौं। गुरु द्रोर्णाचार्यका शिष्यहरुमा एकातीर कौरव बन्धु, दुर्योधन थिए भने, अर्कोतीर पाण्डव बन्धु अर्जुनहरु पनि थिए। दुबैका गुरु एउटै थिए गुरु द्रोर्णाचार्य। दुबै एउटै गुरुको शिक्षाबाट ओतप्रोत ज्ञानद्वारा समाजमा दिएको योगदानबारे जगजाहेर छ कि एउटाले असत्यको बाटो रोज्यो भने, अर्को सत्यको।
यो कुरा अहिले बहसको विषय होइन कि सत्य के हो? सत्यको परिभाषा के हो? यो लेखसँग मात्र सम्बन्धित छ। मैले विषयलाई पनि त्यही केन्द्रीत गर्न चाहन्छु। अर्कोतीर एकलव्य जस्ता शिष्य पनि छन् जो शिक्षा प्राप्तीको लागि उनको मूर्तिबाट प्रेरणा शिक्षा ग्रहण गर्दछन् र त्यस प्रेरणा वा आशाको केन्द्रको इच्छा पूर्ति हेतु आफ्नो दाहिने हाथको बुढिऔंला नै दान गर्दछन्। तर खगेन्द्र संग्रौला कुन शिष्यको श्रेणीमा पर्दछन् विचारणीय कुरा हो। खगेन्द्र संग्रौला भन्ने नाम नेपालको वाम साहित्यमा चिरपरिचित नाम हो म जस्तो सानु बुद्धि भएकाले उनेको लेखका टिप्पणी गर्नु शायद सूर्यसामु दिपक जलाए जस्तो होला। तर यो चिरपरिचित नाम जो कहिले “चियाको कपमा तूफान” भन्ने नाममा अगाडि आउँछ भने, कहिले “मोहनविक्रम गुरुको यादमा” अगाडि आउँछ, दुबै रचनाको सारमा बौद्धिक शोषण नै लुकेको छ। कता कता व्यक्तिगत महत्वकांक्षा पनि। आफूलाई वाम ढल्केइमा मोहनविक्रमको निकै ठूलो हाथ भएको स्वीकारोक्ती कै साथसाथ अहिलेका परिवर्तनकारी शक्ति सबै मोहनविक्रम गुरुका चेला नै भएको कुरा सत्य र इमान्दारी पूर्वक स्वीकार गरेका छन्। उनी के पनि स्वीकार गर्दछन् भने मोहनविक्रम सिंह “घर्ती”
“यो ”घर्ती” पददलित जीवनको नारकीय पिँधमा निसासिएका मानिसको प्रतीक थियो। ती मानिस जो कथित उच्च जातका विष्ट बराजुहरुलाई सकीनसकी विकट ओराली–उकालीमा डोलामा बोक्न अभिशप्त थिए। नाममा समभावले गाँसिएको यो “घर्ती”ले मोहनविक्रम गुरुलाई ती दमितजनका जागरणकारी योद्धाका रुपमा चिनाउँथ्यो। युवावयमा यसै पनि रुमानी सपनाप्रति अनुराग त हुन्छ नै। मोहनविक्रमका नामको “घर्ती”ले प्रथम भेटमै मलाई मोहनी लगायो। उनी तिनताक अत्याचारी राजाको जेलमा कहर काटिरहेका थिए। उनलाई भेट्न जाने मेलोमेसो मलाई थाहा थिएन। नढाँटी भनुँ भने मसँग त्यहाँ जाने ह्याउ नै थिएन। तैपनि, भेटघाट र चिनजानबिना नै यी “घर्ती” मेरो युवावयका आदर्श नायक बनिहाले।” यसरी के स्पष्ट छ भने त्यतिवेला मोहन घर्ती युवा जमातको आदशर््ा नायक थिए। यो आदर्श नायक खग्रेन्द्र संग्रौलाले भने जस्तै त्यसै बनेका होइन, उनको परिवर्तन र क्रान्तिप्रति केही त योगदान होला नै, उनको संघर्षको परिणाम नै हो खगेन्द्र संग्रौलालाई वाम दिशामा ढल्कीन बाध्य तुल्यायो। यो नै मोहनविक्रम गुरुको सबल योगदान होइन र?
खगेन्द्र संग्रौला अगाडि स्वीकार गर्दछन् “उनले निष्ठायुक्त यत्नद्वारा आफ्नो गाउँका दलितहरुका दमित चित्तमा चेतनाको दियो बाले। उनले तिनका सुषुप्त मस्तिष्कमा विद्रोहको बीजारोपण गरे र तिनलाई जगाएर, उठाएर अनि एकताको मालामा उनेर संघर्षको मैदानमा उतारे। विचित्रको कुरा के भने, त्यो मैदान मोहनविक्रमको आफ्नै आँगन थियो। उनले आफ्ना मक्खीचुस बा लाई आफ्नै हातले आफ्नै आँगनको खाँबोमा टनटनी बाँधे। र, उनै पुत्रको कमानमा यस धर्तीका दलितहरु उनका पिताजीका भकारीको अन्न बोकेर जितबाजीको मुद्रामा सुसेल्दै घरतिर लागे। यता पिताजीले मरेको जुनी भएर सुस्केरा हाले, उता भोका दलितहरुले आफ्ना पसिना र आँसुले उब्जाएको धानको भातले पेट टन्न भरेर ड्याउड्याउ डकारे। मोहनविक्रम आफ्ना पिताका नजरमा कुलंगार पुत्र बने र पिताजीहरुद्वारा चुसिएर सिद्रा बनाइएका दलितगणका नजरमा उनी बने परोपकारी योद्धा र आदर्श क्रान्ति–नायक।”
एकातीर मोहनविक्रम गुरु आफ्नो पिता विरुद्ध संघर्ष गरि परोपकारी योद्धा र आदर्श क्रान्ति नायक भए भन्ने स्वीकारोक्ती वामआन्दोलनका प्रखर नेताले, मोहन गुरु आफ्नो घरबाट नै क्रान्तिकारी आन्दोलनको शुरुवात गरेको कुरा प्रष्ट नै छ। त्यो मोहनविक्रम गुरुलाई चिन्न बुझ्न नसक्ने आँखा र मस्तिक कस्तो होला जो विरानो भूमि काँशी गएर कार्यक्रममा भाग लिएर फर्कंदा आफुले ठूलो जोखिम मोलेको राष्ट्र र समाजमा उत्कृष्ट कार्य हेतु, सम्मानीत हुने आकांक्षाको अभिव्यक्ति सुक्ष्मरुपले उल्लेख गर्ने तथापी जसले जीवनको सम्पूर्ण भाग त्यो क्रान्तिलाई समर्पित गरि जीवनभरी जोखिम मोलीरहेका मोहन गुरुलाई अहंम भावको एंेठनकारी चक्रवती हृदय भएको मान्ने कस्तो महान मस्तिक हो त्यो जसले मोहनविक्रम सिंह गुरुले दिएको प्रवचन बुझ्न सकेन र त्यही वेला सदस्यता ग्रहण गर्ने सोंचेको महान मस्तिक रित्तै फर्कियो। त्यती वेला क्रान्तिका बस्तुगत पक्ष र आत्मगत पक्ष बुझ्न नसकेको खग्रेन्द्र संग्रौला आज झापा आन्दोलनबाट ओरालो लागेका झापालीहरुको एमालेमा रुपान्तरण भएको देख्दा त्यो वस्तुगत र आत्मगत पक्ष बुझ्न सफल भयो कि भएन स्पष्ट गरे हामी पाठक वर्गलाई अलि बुझ्न सजिलो हुने थियो।
खगेन्द्र जी त्यो कांसीको सभामा तीन मिनेट बोलेको बेलामा खुकुरीधरी झापालीहरु आए मोहनविक्रमले उनलाई भन्नु नभन्नु भने। ती अराजक हुन, आतंककारी हुन्, व्यक्ति हत्यावादी हुन्, क्रान्तिको नाममा कलंक हुन्। यसले खगेन्द्र जीलाई नमिठो लाग्यो र कोठा थुनेर विरोलो कुट्दा के हुन्छ बताउनु भयो। तर क्रान्ति विरालो कुटे जस्तो होइन, क्रान्ति सचेत मस्तिष्कले गर्ने कुरा हो। क्रान्ति कसैको चाहनामा भरपर्ने कुरा होइन। मार्क्सवाद एउटा विज्ञान हो जो सर्वमान्य नियम अन्तर्गत चल्दछ। द्वन्दात्मक भौतिकवाद एउटा विश्व दृष्टिकोण हो, अथवा यो सर्वहारा दृष्टिकोण हो। समाजवादी व्यवस्थाको आधार पनि यहि हो। मार्क्सवादी लेनिनवादी पार्टीहरुले आफ्ना आधारभूत कार्यक्रम नीतिका दैनिक व्यवहार निश्चित गर्दा द्वन्दात्मक दृष्टिकोणलाई नै आधार बनाउँछन् र बनाउनु पर्छ। यसका विपरित आचरण गरियो भने, दक्षिणपंथी वा उग्रवामपंथी भड्काव तीर जान्छ। जुनसुकै अवसरवाद चाहे त्यो उग्रवामपन्थी होस् वा मध्यमार्गी एक दिन दक्षिणपंथी दिशा लिन्छ। उग्र वामपन्थीहरुले यो द्वन्दात्मक सिद्धान्तलाई अधिभूतवादी ढंगले बुझ्ने गर्दछ।
उदाहरणका लागि माओत्सेतुङको “सत्ता बन्दुकको नालबाट जन्मिन्छ” भन्ने उक्तिबारे उनीहरुको दृष्टिकोण नै लिउँ। उनीहरुले त्यो उक्तिलाई करिब–करिब दैवी अर्थमा ग्रहण गर्दछन्। उनीहरुको दृष्टिकोण अनुसार केही बेरका लागि पनि त्यो नीतिबाट हट्नुको अर्थ संशोधनवाद हुन्छ या अधिभौतिक सोंचाई हो। माओको त्यो उक्तिले खालि क्रान्तिको सामान्य प्रकृतिमाथि नै प्रकाश हाल्दछ। त्यसले बताउँछ कि सशस्त्र संघर्षको बाटो नगैकन हामीले क्रान्तिलाई सफल पार्न सक्दैनौं। त्यसको अर्थ क्रान्तिको सम्पूर्ण कालका लागि संघर्षका अन्य सबै रुपहरु गैह्रक्रान्तिकारी हुन्छन् भन्ने होइन। कुन बेला सशस्त्र संघर्ष माथि जोड दिने र कुन बेला संघर्षका अन्य बैधानिक र शान्तिपूर्ण रुपहरु ठीक हुन्छन्? त्यो सम्बन्धित परिस्थितिको विश्लेषण गरेर ठेगान गर्ने कुरा हो। तर आफ्नो पराभौतिक दृष्टिकोणले गर्दा उनीहरुले माओको त्यो उक्तिलाई मार्ग प्रदर्शक सिद्धान्तका रुपमा होइन, वेद–वाक्यको रुपमा ग्रहण गर्दछन्। त्यसरी उनीहरुले माओ–विचारधारालाई धर्मशास्त्रको स्तरमा गिराइदिन्छन्। उनीहरुका लागि त्यो द्वन्द्ववाद होइन, अध्यात्मवाद बन्न जान्छ।” (उग्र वामपन्थी विचारधाराको खण्डन् पेज ७)
यसरी मोहनविक्रम गुरुले वस्तुगत र आत्मगत पक्षको चर्चा द्वन्द्वात्मक भौतिकवादको सैद्धान्तिक धरातलद्वारा नै क्रान्ति सम्पन्न हुन्छ, अध्यात्मवादी चिन्तनबाट होइन, भन्ने कुरा प्रष्ट पार्नु भएकै छ। यसरी झापालीहरु उग्रवामपन्थी दिशाबाट हुँदै जनताका सत्रु सखाप गरेपछि जनता स्वतः हाम्रो पक्षमा हुन्छ भन्ने गलत धारणाले सशस्त्र संघर्ष गर्दा जनताको चेतना भन्दा अगाडिको नाराले मुख्य दुश्मन चिन्न नसक्दा उग्र गतिविधि हुनजान्छ, त्यो उग्र कामलाई सहि सावित गर्न अराजकता एवं आतंकको सहारा लिने गरिन्छ। प्रकारान्तरमा त्यो क्रान्तिको होइन प्रतिक्रान्ति कै सेवा गर्न पुग्दछ। त्यसैले नजानिंदो तरिकाले पनि उनीहरु क्रान्तिका नाममा कलंक बन्न पुग्दछन्। खगेन्द्र संग्रौला जस्ता महान मस्तिष्कले मार्क्सवाद विज्ञान हो र यो समाज विकासको नियम अनुसार अगाडि बढ्छ।
सचेत गतिविधिले त्यसलाई सहि दिशाबाट त्यो समाज विकासको क्रमलाई विधिवत अगाडि बढाउँदै क्रान्तिलाई नजिक्याउँछ। जनवादी क्रान्ति भनेको नै बुर्जुवा क्रान्ति हो। कम्यूनिष्टहरुको नेतृत्वमा बुर्जुवा क्रान्ति पनि गर्ने हुँदा त्यो नयाँ जनवादी क्रान्ति हो। त्यसैले समाज विकासको नियम मिचेर क्रान्ति हुन्न, अराजकता, उग्रवामन्थी भड्काव हुन्छ, व्यक्ति हत्या, आतंकवाद हो क्रान्ति होइन। यसबाट क्रान्ति कलंकित हुन्छ भन्नेलाई महान मस्तिष्कले गुरुका आदर्श वाक्यलाई बुझ्न सक्नु भएन होला भनेर मैले बुझ्न सकिन। जो पार्टी हंसीया हथौडा फाल्नु पर्छ भन्ने बहस चलाउँछ, अमेरिकी साम्राज्यवादको स्वागतमा आफ्नो दरवारबाट मार्क्स, एंगेल्स, लेनिन्का फोटाहरु लुकाउँछ। जसले मार्क्सवादको मूल सिद्धान्त वर्ग संघर्षको स्थानमा वर्ग समन्वय, सशस्त्र संघर्ष अनिवार्य नभएको र सर्वहारा वर्गको अधिनायकत्व नभएर जनताको अधिनायकत्वको कुरा स्वीकार गरि दक्षिणपन्थी बाटो समातेका लागि क्रान्तिकारी देख्ने आँखा र मस्तिष्कले मोहनविक्रम गुरु “मकै पडकै झैं बोलेको बोलै गर्दा त्यहाँ उपस्थित सहभागिहरु भक्ति मुद्रमा सुनेको सुनै गर्दा वाल्ल परेर कान थापेको थापै तथापी कुरा केही बुझ्न भने सकेन” त्यो महान मस्तिष्कले आज पनि क्रान्तिका दुई आधार स्तम्भ मध्ये समाजमा धेरै अन्तरविरोध व्याप्त हुन्छन् र ती मध्य कुनै एक अन्तरविरोध प्रधान अन्तरविरोध हुन्छ र अरु गौण अन्तरविरोध हुन्छ। क्रान्तिमा प्रधान अन्तरविरोध हल गर्दा गौण अन्तरविरोधहरुसँग तालमेल गर्दै युद्धको नीति “दुष्मनको दुष्मन मित्र हुन्छ” भन्ने कुरा बुझ्न नसके पछि ता म मन्दबुद्धिले झन् के भन्न सक्छु र? संग्रौलाको महान मस्तिष्कले बस्तुगत पक्षमा कुन वस्तु पर्छ र मनोगतमा कुन–कुन भनेर सोध्नेसम्म आँट नगर्ने चेलो दोषी कि मोहनविक्रम गुरु?
गुरु द्रोर्णाचार्यले परीक्षा लिंदा रुखमा बसेको चरालाई निशाना बनाउने क्रममा सबै आफ्ना शिष्यहरुलाई सोधे तिमीहरुले माथि निशाना साधेकोमा के के देखेका छौ? दूर्योधन भन्छन्– ‘मैले रुखको हाँगो देखिरहेको छु। हाँगाको पात देखिरहेको चरोको मुन्टो देखिरहेको छु।’ तर त्यही प्रश्न अर्जुनलाई सोध्दा अर्जुन भन्छन–् ‘मैले चराको आँखाभित्रको नानी देखिरहेको छु।’ यो नै चेलाहरुको आफ्नो गुरुको शिक्षा र उदेश्यप्रतिको समर्पण हो कि गुरुको शिक्षालाई चेलाले कसरी कुन उदेश्यका लागि ग्रहण गरिरहेको छ। दुबै शिष्यहरुका गुरु एउटै द्रोर्णाचार्य हुन्। शिक्षा एउटै हो तर विद्यार्थी आफ्नो लक्ष्य र उदेश्यप्रति कति समर्पित छ त्यो नै मुख्य हो। समाज विकासका नियम र क्रान्तिको नियमबारे कति निष्ठावान छ र आफ्नो उदेश्यप्रति कति समर्पित त्यो नै विद्यार्थीको गुणमाथी भर पर्दछ। विद्यार्थीले आफ्नो व्यक्तिगत स्वार्थ, महत्वाकांक्षाप्रति उदेश्यको वली चढाउँछ भने, गुरुलाई दोष दिएर के गर्ने? एउटा शिष्य एकलव्य हुन् जो निष्ठा र प्रेरणाको श्रोतप्रति समर्पित आफ्ना सर्वस्व निछावर गर्दछन्। एउटा विद्यार्थी उनी हुन् जो गुरुलाई कुल्चंदै अपमानीत गर्दै हिंडछन्। त्यो विद्यार्थीको उदेश्य र निष्ठाप्रति समर्पित भावको कुरा होला?
खगेन्द्र ज्यूले बडो गर्वको साथ मोहन गुरुका चेलाहरुले क्रान्ति गरेको कुरा उठाउनु भएको छ। म मन्दबुद्धिले देख्न नसकेको हो कि नेपालीको क्रान्ति? क्रान्तिकरी वा वामपन्थी लफ्फाजीको अर्थ के हो? क्रान्तिकरी लफ्फाजीको अर्थ हो वस्तुगत परिस्थितिलाई ध्यान नदिई क्रान्तिकारी नाराहरु दिइरहनु। नाराहरु श्रेष्ठ र मन मोहक एवं नशिला हुन सक्छन्, तर आधारभूमी बिना त्यो नाराको कुनै अर्थ रहँदैन। त्यो नै क्रान्तिकारी लफ्फाजी हो। वामपन्थी लफ्फाजी, वामपन्थीहरु आफ्ना कल्पनाका भरमा गरिएको विचारलाई नै सत्य ठान्दछन्। उनीहरुले भविष्यमा व्यवहारिक हुने सोंच र आदर्शलाई वर्तमानमा नै व्यवहारमा लैजान जोड दिन्छन्। उनीहरु जनताको चेतनाबाट आफूलाई अलग राख्दछन् र व्यवहारमा दुश्साहसवादी गतिविधि गर्दछन्। यो कुरा एमाओवादीहरुमाथि पूर्णतः चरितार्थ हुन्छ। कहिले समयपूर्व सशस्त्र संघर्षका कुरा गर्दछन्, कहिले उनी नयाँ जनवादी क्रान्ति सफल भइसकेको कुरा गर्दछन्, कहिले स्विटजरलेण्ड बनाउने, कहिले आर्थिक क्रान्तिमा जोड दिन्छन् भने कहिले जातीय राज्यमा जोड दिंदै आत्मनिर्णयको अधिकारका कुरा गर्छन्।
कहीले संसदीय मोर्चा नै सबै थोक हो भन्छन् भने कहिले सरकार सड्कबाटै चलाउने। कहिले एकल पहिचानभन्दा तल मान्य नहुने भनि संविधानसभा भंग गर्दछन्। त कहिले जातीय राज्य दिने कहाँ हो र पहिचानको कुरामात्र हो भनि भ्रमश्रृजना गर्दछन्। आफ्ना लहडको भरमा मार्क्सवादको व्याख्या गर्दछन्। समय परिस्थिति वस्तुगत र आत्मगत पक्षको कुनै मतलब गर्दैन। कुन वेला कुन लहड चल्यो त्यो नै उनीहरुको परिमार्जित मार्क्सवाद हो। साम्राज्यवाद मुर्दावाद भन्ने शक्तिहरु यु.एन.लाई सुपरिवेक्षण गर्ने सन्धी गर्न पुग्छन्। यस्ता गतिविधि राष्ट्र हितमा हुँदैन, यसले क्रान्तिको सेवा गर्दैन। नेपाल बहुभाषी, बहुजातीय, बहुधार्मिक आर्थिक रुपले पिछडीयएको मुलुक हो। यो विविधताले भरिएको छ। एक दुई राज्य बाहेक अन्यले आफ्नो व्यवस्था आर्थिक रुपमा धान्न पनि सक्दैन। यस्तोमा संघीयता मुलुकलाई विखण्डनको दिशामा लैजान्छ। विविधता संघीताको लागि अभिश्राप नै हो। मुलुकको सार्वभौमसत्ता एक ठाउँमा राख्दै, अधिकार जनतामा विभाजित गर्नु पर्छ।
उत्पीडित जाति, जनजातिहरुलाई जहाँ उनको बाहुल्यता छ स्थानीय स्वयत्त शासन एकात्मक शासन व्यवस्थाभित्र पनि दिन सकिन्छ। राजाको केन्द्रीकृत शासन व्यवस्थालाई एकात्मक शासन व्यवस्थाको कमजोरी भन्नु गलत कुरा हो भन्दा, “हद अभागि मोहनविक्रम गुरुले संघीयताको गर्धनमाथि विषाक्त तलवार उजाएको” हुने, अजिव विडम्बना छ। जो साम्राज्यवादीहरुको डालर खाएर मुलुकलाई गृहयुद्धतीर धकेल्दै छन्। संविधान निर्माण हुन नदिएर मुलुकलाई अराजक बनाउँदैछन्। व्यक्तिगत र मनेागत महत्वकांक्षा पूरा गर्न जुनसुकै स्तरसम्म जान सक्ने कथित क्रान्तिवीर कहिले भित्ते राष्ट्रपति हुन्छन् त कहिले उच्चस्तरिय संयन्त्रको संयोजक, संयोजक हुन नपाए राष्ट्रलाई नै अनिर्णयको बन्दी बनाउँछन्। मुलुकको यो दुर्गति गराउनुमा उनीहरुको सत्तामोह पनि काफी हदसम्म जिम्मेवार छ। त्यसको लागि जुनहदसम्म पनि जान्छन् उनी, चाहे राष्ट्रियताको प्रश्न नै किन होइन। उनीहरुको महत्वकांक्षाको यो रुप देखिन्छ कि– यथार्थबाट टाढा भए पनि हवाई कल्पनामा भए पनि प्रधानमन्त्री बनि छाड्ने साँघु साप्ताहिक लेख्छ– “२०७१ फागुन १६ पछि समानान्तर सत्ता चलाउने निर्णय गरेका एमाओवादी अध्यक्ष प्रचण्डले केही समयअघि पाँचथर पुगेर आफू प्रधानमन्त्री र वर्षामान पुन अर्थमन्त्री घोषणा गरेका छन्।
प्रचण्डले अबको समानान्तर सत्ता जनयुद्धकालीन नभई नयाँ हुने बताएका छन्। श्रोतका अनुसार छायाँ सरकार र छायाँ सत्ताको प्रस्ताव समेत भएको छ। जसमा समानान्तर सत्ताको प्रमुख प्रचण्ड आफैं हुनेछन्। त्यस्तै समानान्तर संविधानसभाको अध्यक्ष हालकी उपाध्यक्ष ओनसरी घर्तीलाई बनाइनेछ। श्रोतका अनुसार, सेना र प्रहरीको पनि समानान्तर संरचना बनाउने कि नबनाउने भन्नेमा प्रचण्डको मोर्चामा छलफल चलिरहेको छ। समानान्तर सरकारमा प्रचण्डले विजय गच्छदारलाई गृहमन्त्री, परराष्ट्रमन्त्रीमा उपेन्द्र यादव, अर्थमन्त्री वर्षामान पुन हुने र अन्य मन्त्रीहरुमा क्रमशः पासाङ शेर्पा, अशोक राई, पर्शुराम तामाङ, कुमार लिङदेन, गंगा चौधरी, रुक्मीणी चौधरी, ओम गुरुङसमेतलाई मन्त्री बन्न प्रस्ताव गरिएको चर्चा छ।” यस्ता महत्वकांक्षी व्यक्तिहरु जसले यथार्थमा सत्ता प्राप्ती नभए पनि कल्पनामा भएपनि उनीहरु कै भनाई अनुसार ‘छाया’ सरकारमा भए पनि प्रधानमन्त्री बनि आत्मरति लिने तत्वहरुको गुणगानमा डालरबाट हिस्सा लिने लालसा साथ कार्यक्षेत्र र कर्मभूमि बनाउने नेपालको शिर्सस्त बुद्धिजीवी वा साहित्यकारले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षार्थ कलम चलाए राष्ट्रले मुक्ति पाउँथ्यो कि?
किन भने– ति दुर्योधनहरुले ता नेपाली सद्भावलाई नै भत्काइसके। मुलुकको अखण्डतालाई खण्डीत गरिसके। हिंजो जंगल–जंगल हिंडनेहरुका गगनचुम्बी इमारतको छत हेर्दा सिरको टोपी नै खस्ने महल बनी सके। हिंजो साम्राज्यवाद मुर्दावाद भन्नेहरु उनैलाई नै हारगुहार गरिरहेका छन्। विस्तारवादको आडमा पुनः सत्तामा पुग्ने सपना संजोएका शक्तिहरुले मुलुकलाई साप्रदायीक द्वन्द्वमा फसाउँदै गृहयुद्धतीर ढकेल्दै छन्।
कुनै वेला नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको र अब आर्थिक क्रान्ति गर्ने भनिरहेकाहरुले ५–५ वर्षसम्म पनि संविधान नबनाएर प्रकृयागत कार्यमा विघ्न उत्पन्न गरि डलरको खेती गरिरहेका छन्। “क्रान्तिकारी”हरुले क्रान्तिको नाममा राष्ट्रको दुर्गति गराउँदा असत्यको पक्षबाट राजधर्म निर्वाह गर्ने नाममा गुरु द्रोर्णाचार्य कौरव बन्धुको पक्षबाट लडेजस्तै मोहन गुरु किन कृष्ण जस्तै पाण्डवको पक्षमा लागे भनेर श्राप्नु कुनै अनौठो लागेन। सत्यता केहो भने, डलरको स्वार्थ कौरवहरुको पक्षमा रहेर नै पूरा हुन्छ तर नेपालको राष्ट्रियताबाट ओतप्रोत बुद्धिजीवीहरुले बुझ्न जरुरी छ कि राष्ट्र र राष्ट्रियता राष्ट्रिय अखण्डता रहे मात्र नेपाल र नेपालीको हित रक्षित हुनेछ। त्यसैले पाँच पाण्डव नै भला हुन् सय कौरव भन्दा।