'एउटा कुरा भनूँ’ उसले भनी।
उसको केश सुम्सुम्याइरहेका मेरा हात रोकिए, ‘एउटा किन? दुई–चार वटा भन न।’
‘सिरियस हो? सिरियस भए, इमर्जेन्सीमा लैजाउँला।’
‘साँच्चै भन्या, जिस्केको होइन,’ ऊ गम्भीर बनी।
केशरमहलको गार्डेन अफ ड्रिम्स। उसको काख मेरो सिरानी। हामीजस्ता थुप्रै जोडी आ–आफ्नै संसारमा मस्त छन्।
‘भनन त।’
‘बाबाले केटो हेर्नु भा’छ रे,’ अनुहारको भावभंगी बिगारेर उसले भनी, ‘ब्रिटि्रस लाहुरे.....’
मोबाइलको घन्टी बज्यो। कुरा बीचमै रोकेर फोन उठाएँ।
आमाको फोन। बुबालाई हिजोआज साह्रै बिरामी हुनुहुुन्छ रे। ‘परीक्षा सकियो भन्या होइन, छिटो घर आइज्,’ आमाले घरको अवस्था सुनाउनुुभयो। ‘हस् आमा’ मैले कुराकानी टुंग्याएँ।
‘अनि के भो?’ ऊसँगको कुराकानीलाई मैले फेरि जोडेँ।
ब्रिटिस लाहुरेसँग उसको बिहेको कुरा अघि बढेछ। जागिरे केटो भएकाले बुबाले उसलाई नसोधी ‘हुन्छ’ भनिदिएछन्। बिहेको तयारी गर्न उसलाई पनि घर बोलाएका छन्। ऊ मुर्मुरिँदै थिई। दोस्रो वर्षको जाँच भएकाले एक महिनापछि भएको भेटमा यति गम्भीर विषयमा छलफल गर्ने हामीलाई फुर्सदै भएन।
‘हामी भाग्यौं,’ उसले निर्णय सुनाई, 'मलाई तिमीबिना यो दुनियाँमा बाँच्नु छैन। कतै टाढा जाउँ- तिमी र म मात्र भएको ठाउँमा।’
मेरो टाउकोमा एकैपटक हजार किलोको भारी राखेझैँ भयो। ब्याचलर पास गरेर जागिरे भएपछि मात्र बिहे गर्ने योजना थियो। बिरामी बुबा सम्झेँ। भाइबहिनी सम्झेँ। न पढाइ सकिएको छ, न जागिरै छ।
लामो सास फालेँ। हावा खुस्क्यो। टाउको दायाँबायाँ हल्लाएँ।
'अहिले भागेर कहाँ जाने? पढाइ सकिएको छैन। दुवै बेरोजगार, घरमा पनि हामीलाई स्वीर्कादैनन्, तिमी राईको छोरी, म बाहुन,' एक पाइला पछि हट्दै उनलाई सम्झाउन खोजेँ, ‘भाग्यौं भने जताततै दुखैदुःख। न तिमी राम्रो गर्न सक्छौ, न म। बरु त्यही केटासँग बिहे गर। कम्तीमा तिमीलाई त सुख हुन्छ....।’
मेरो कुरा सक्किएकै थिएनँ। उसको आँखा आँसुले पुरियो। दोपट्टाको छेउले आँसु पुछ्दै चुपचाप बगैँचाबाट निस्की।
० ० ०
एसएलसी सकेर पढ्न काठमाडौं आएको म जोकोहीसँग बोल्न डराउँथेँ। केटीमान्छेसँग त झन्। कलेज गएको पहिलो दिन नै उसलाई देखेको हुँ। बोली हाल्ने आट त ममा थिएनँ। हेर्दा पनि कसैले थाहा पाउँछन् कि झैँ लाग्थ्यो। उसलाई देख्दा म आफूलाई बिर्सन्थेँ। खै कस्तो आकर्षण हो? मेरो दृष्टि र दिमाग उनीतिरै पुगिहाल्थ्यो। तर, उसलाई केही भन्ने आँट कहिल्यै आएन।
केही उत्साह, केही उत्सुकता, केही डर र काउकुतीमै बित्यो– कलेजको पहिलो वर्ष।
जाँच सकिएपछि साथीहरूले मनकामना घुम्न जाने सल्लाह गरे। म पनि टिममा मिसिएँ। १० जनाको समूह बन्यो – २ केटी, ८ केटा। साउन पहिलो साता हामी मनकामना गयौं। बिहानै जाने साँझ फर्किहाल्ने प्लान बन्यो।
केबुलकार यात्रा मेरो पहिलो अनुुभव थियो। जहाज कहिल्यै चढेको थिइनँ। जहाजमा पनि यस्तै हुँदो हो। तर छेउमै उसलाई देख्दा लाग्यो– सिमलको भुवा बनेर हावामा उडिरहेको छु।
यात्रा उसलाई कस्तो लाग्यो, थाहा भएन। सोध्ने हिम्मत पनि त थिएन। हाम्रो सम्बन्ध ‘हाइ हेलो’मै सीमित थियो।
मन्दिर दर्शनपछि साथीहरु सबै मनकामनाको चिनो किन्न थाले। ‘किरिङ’मा नाम पनि लेखाउन पाइँदोरहेछ। उसले पछाडी मनकामनाको फोटो भएको ‘कि रिङ’मा आफ्नो नाम लेख्न भनी। जिन्स पाइन्टका खल्ती छामछुम पारी। ब्याग खोतली। र, भनी – भयो नलेख्नुस्।
ऊ सरासर केवलकार चढने ठाउँ आई। हामी फर्कियौं। बाटोभरी उ निराश देखिन्थी। मनकामनाबाट आफ्नो नाम लेखेको ‘कि रिङ’ उसले ल्याउन पाइन।
बसले अबेर कलंकी ल्याइपुर्यायो। रात परिसकेको थियो, सिमसिम पानी पनि। छुट्टिनेबेला मैले उसलाई प्लास्टिकको सानो पोका दिएँ। ऊ अन्कनाई। 'उपहार हो। मन नपरे फिर्ता गरिदिनू।’ उसले हात भारी गरेर उपहार थापी।
‘अँ, घर पुगेपछि मात्र खोल्नुु नि।’
झोला टाउकोमाथि राखेर पानी छेक्दै म बल्खु आउने गाडी चढेँ।
कोठा नपुग्दै मोबाइलको घन्टी बज्यो।
'थ्याङ्क्यु,’ उसैले गरेकी थिई। मैले दिएको प्लास्टिकको पोकामा एउटा किरिङ थियो। त्यसमा उसैको नाम लेखिएको थियो– तारा राई।
आक्कल झुक्कल फोनमा कुरा हुन थाल्यो। म सोध्थेँ – कीर्तिपुर घुम्न कहिले आउने?
'मिलाएर आउँला नि,’ ऊ निम्तो स्विकार्थी।
केही दिनमै फोन धेरै व्यस्त हुन थाल्यो। आत्मियता बढ्दै गयो। सँगै घुम्ने ठाउँ पनि बढे। कहिले गोदावरी पुग्यौं, कहिले स्वयम्भूका आँखाअघि आफूलाई लुकाउँदै हिँड्यौं, कहिले पशुपतिका टुँडाल हेरेर मुस्कुरायौं। कहिले भृकुटीमण्डपमा एक कप चिया बाँडेर खायौं। लाग्थ्यो– संसारै हाम्रो हो, हामी नै संसार हौं।
ऊ सोध्थी, ‘पढेर के बन्ने?’
‘म पत्रकार बन्ने, तिमी?’
‘गृहमन्त्री।’
‘हँ।’
‘अँ, पत्रकारकी गृहमन्त्री।’
बेस्सरी हाँस्थ्यौं हामी। संसारै हाम्रो जस्तो, हामी नै संसारजस्तो।
सबै ठाउँ चहारेपछि त्यही स्वप्न बगैँचा रमाइलो लाग्यो, सुरक्षित पनि। भित्र महँगो हुने भएकाले खाजा बाहिरबाटै बोकेर लान्थ्यौं। हप्तामा बरु एक दिनमात्र भेट्थ्यौं तर ठाउँ त्यही हुन्थ्यो।
बगैँचामा म पाउलो काहेलोको अल्केमिस्ट पढ्थें। ऊ ध्यान दिएर सुन्थी। र, भन्थी, ‘हामी पनि समुन्द्री तटमा जाने, मरुभूमिमा हराउने र हिमाल हेर्न मुस्ताङ जाने।’
‘कहिले?’
'हनिमुन मनाउन,’ मेरो अनुहारमा एकटक हेरेर ऊ हाँस्थी।
‘अहिले मसँग तिमीलाई सिन्दुर हाल्ने पैसा त छैन्, कसरी घुम्ने?’ म जिस्कन्थेँ।
‘राईकी छोरीलाई सिन्दुर लाउनै पर्दैन हाउ।’
‘बाहुनी हुन त सिन्दुर हाल्नै पर्छ।’
‘घुमेर पनि पैसा बच्यो भने सबै सिन्दुर लाएरै सक्छु, हुन्छ?’ ऊ साउती गर्थी।
साउतीले झन् रोमाञ्चित बनाउँथ्यो।
साँझ अबेरसम्म हामी त्यहीँ बसिरहन्थ्यौँ। आकाशमा ताराहरू निस्कन सुरु गर्थे। हामी तारा गन्ने प्रतिस्पर्धा गर्थ्यौं। ऊ गन्थि, म के गन्थे, मेरो त तनमन धर्तीकै तारमा हुन्थ्यो! रात छिप्पिएपछि तारा गन्न सम्भव हुँदैन। अबेरसम्म बगैँचामा बस्ने अनुमति पनि समयले दिँदैनथ्यो। दुवैले डेरा फर्कने गाडी समात्नै पर्थ्यो।
० ० ०
ऊसँग छुट्टिएको भोलिपल्टै म घर हान्निएँ। पटकपटक फोन गर्दा पनि उसले उठाइन। बुबाको रोग निको भएन। झन् बल्भि्कयो। दुई महिनापछि नै स्वर्गे हुनु भयो।
भाइबहिनी पढाउने जिम्मेवारी मेरो काँधमा आयो। गाउँकै स्कुलमा पढाउन थालेँ। दुई वर्ष त्यतै बिते।
पछि पैसा जोगाएर बिए पढ्न काठमाडौं आएँ। सुने, ऊ त हङकङ गई रे, उतै लाहुरे केटासँग बिहे भयो रे।
विरक्ती लाग्दा स्वप्न बगैँचा जान्थेँ। अबेरसम्म बस्थेँ र भर्खरै फाट्टाफुट्ट देखिन सुरु गरेका तारा हेरिरहन्थेँ।
० ० ०
पाँच वर्ष बित्यो।
एकदिन गार्डेन छिर्ने टिकट काट्ने बेला उसलाई देखें। हेराहेर भयो। बोल्ने हिम्मत आएन। दुवै जना भित्र गयौं।
‘सधैँ आउँछौ?’ कुराकानी उसैले सुरु गरी।
'कहिलेकाहीँ आउँछु।’
म अस्ति मात्रै हङकङबाट आएकी। आएकै दिनदेखि लगातार यहाँ आउने गरेकी छु।
किन ?
बाहुनले साहस बटुल्यो कि भनेर हेर्न।
समयले हामीलाई फेरि एकपटक पुरानै ठाउँमा ल्याएर उभ्याएको थियो। धेरैपछि हामी अबेरसम्म बस्यौं, आकाशमा तारा देखिन थाले।
'तिमी हिँड्ने तारा हौ। म ऊ त्यो तारा हुँ,’ आकाशका दुई तारालाई औंलाले पालैपालो देखाउँदै उसले भनी, ‘तिमी कहाँ पुगिसक्यौ। म जहाँ थिएँ, त्यही छु।’
आकाशमा हेर्दा हेर्दै एउटा तारा तल झर्यो। उसले अंजुली थापी, 'ल मैले बाहुन तारालाई झरेर ब्रहाण्डमा बिलिन हुनबाट बचाए।'
अब त तिम्रो हिम्मत आउछ कि?
सोधी, 'म सँग बिहे गर्छौ?'
म अक्मकिए। ‘साँच्चै, तिमी दोस्रो बिहे गर्न सक्छौ?’
राईकी छोरी हुँ, तिमीले माया गरेनौं भने दोस्रो बिहे गरेर पनि जान्छु।
म भावबिभोर भएँ । ऊ त अझै बिहे नगरी बसेकी रैछ। कत्रो माया, म माथि कत्रो बिश्वाश !
अब आँसुले आँखा भर्ने पालो मेरो थियो। उसका पनि ओठ काँपे, तर तुरुन्तै सम्हालिएर ब्याग खोतल्न थाली।
'सिन्दुर किन्न सक्ने भयौ कि भएनौ थाहा थिएन, त्यही भएर लिएर आएकी।'
सुरिँदै भने, 'अब त एक बोरै किन्न सक्छु।'
तिमी मसँग होली खेल्ने कि बिहे गर्ने?
दुवै मस्त हाँस्यौ।
उसले पाँच वर्षअघि यही स्वप्न बगैचाबाट निस्किएर जाँदा त्यो सिन्दुरको बट्टा किनेकी रे।
'बुझ्यौ, यो सिन्दुरको बट्टा चानचुने हैन, पाँच वर्ष मसँगै हङकङ, बेलायत, अस्ट्रेलिया घुमेर आएको हो।'
'यो एक चिम्टी सिन्दुर केही पटकमै सकिन्छ, फेरि त म जस्तै हङकङ, बेलायत, अस्ट्रेलिया नघुमेको बट्टाको सिन्दुर नै लाउने हो,' मैले भने।
मेरो हात तानेर उसको देब्रे छातीमा लगेर दरोसँग टाँसी। म तरंगित भए।
'माया र बिहेको निर्णय मुटुले गर्ने हो, बिहेको साइनबोर्ड टाउकोमा राख्नुको कुनै अर्थ छैन। म त यही एक चिम्टी सुन्दुर तिमीबाट एक पटक मात्रै लागाउने हो।'
उसले भावुक हुँदै भनी, 'तिमीले त्यो दिन मलाई भगाउने हिम्मत गरेनौं। तर, मैले तिम्रो आँखामा देखें मलाई तिमी अगाध माया गर्छौ। कुनै दिन सिन्दुर हाल्न तयार हुनेछौं। त्यही दिनदेखि नै मैले यो सिन्दुरको बट्टा किनेर बोकेकी हुँ। तिम्रो माया सम्झिरहन। आफू सम्हालिरहन ।'
मैले उसलाई गर्ल्याम्म अंगालो हालें।
ऊ थोरै सुक्सुकाउदै थिई। मैले उसको हातको बट्टा तानेर एक चिम्टी सिन्दुर लगाइदिए।
स्वप्न बगैँचामै हाम्रो प्रेमले बिपना भेट्यो।
हत्केलाले आँसु पुछेर हाँस्दै भनी, 'सिन्दुर हाल्ने बानी नपर्नु नि, यो पहिलो र अन्तिमपटक होस्।’
मैले दुवै हातले उसलाई फेरि लपेटें।
यो कथा भानुभक्तले सेतोपाटीमा लेखेको- एक धर्को सिन्दुर हाल्न नसक्ने तिम्रो भ्यालेन्टाइनको पुनर्लेखन हो।
(एउटा प्रयोग मानेर पुनर्लिखित कथालाई हामीले प्रकाशन गरेका छौ।-सं)