हो, अब म लुकाउँदिन। म स्पष्ट पार्न चाहन्छु। मैले प्रेममा धोका पाएको छु।
केही वर्षअघि नै म मेरो प्रेम प्रसंगको थैली फुकाउन चाहन्थें। धैर्यतामा डुबें। मैले उसको प्रेमको गहिराई नाप्नु थियो।
कुनै एक दिन त मन फर्केला। यसैयसै कल्पिएर मैले रात दिन कटाएँ, महिना कटाएँ, वर्ष पनि।
अब ऊ मलाई सम्झेर थोरै पनि आफूलाई कष्ट दिन चाहँदिन।
यसपटक पनि प्रणय दिवसको औपचारिकता निर्वाह मैले गरेको छु। आफ्नी प्रेमिका सम्झेको छु। उसैका निम्ति मध्यरातसम्म अनिदो बसेर मैले वीस गरेको छु।
‘ह्यापी भ्यालेन्टाइन !’
उताबाट जवाफ फर्केको छैन। फर्किनै पर्छ पनि भन्दिनँ म। किनभने यसअघिका भ्यालेन्टाइन डेको तीतो अनुभवले मुटु दुई चिरा पारिदिएको छ।
प्रेम गरें। सच्चा प्रेमी हुन सकें या सकिनँ मूल्यांकन तिम्रै हातमा छ।
फेरि एकपटक दोहो¥याउँछु – प्रणय दिवसको शुभकामना।
...
आज म तिमीभन्दा टाढा छु। मेरो भौतिक शरीर टाढा भए पनि मनको एउटा कुनाबाट तिम्रो नाम हट्न सकेको छैन। हृदयमा तिमी लुकेकी छ्यौ।
मेरो धैर्यताका धेरै पल फगत साबित भएका छन्। एकपल्ट मसँग नबोली दिन काट्न नसक्ने मेरी माया हिजोआज एउटा एसएमएसको जवाफ पठाउन पनि चाहन्न।
नफर्किने मायाको पिछलग्गु भएर मैले आफ्नो सिर्जनशील समयलाई बर्बाद पारेंछु।
समयले आज मलाई दोधारे बनाइदिएको छ। कता खुट्टा टेकुँ बिखलबन्दमा जेलिएको छु।
समय र परिस्थितिले नै हो मान्छेको जीवनमा नयाँ मोड ल्याइदिने। म मेरो जीवनलाई नयाँ गन्तव्यतिर मोड्न खोज्दैछु।
...
धेरै रातका सपनामा मैले प्रेमिका भेटेको छु। त्यसैमध्येको एउटा रात हो। म स्थान पहिचान गर्न नसकेको कुनै ठाउँमा एक्लै घोरिइरहेको थिएँ।
मानौं केही रिक्तताभित्र रुमल्लिरहेको थिएँ।
पछाडिबाट कसैले हातले प्याट्ट हिर्कायो। म झसंग भएँ।
फर्केर हेरें।
मभन्दा थोरै होची। पातलो जीउडाल। सलक्क परेको फुर्रर कपाल।
गाजलु आँखा। ओठमा कलेजी रंगको लाली।
‘हेल्लो,’ उसले मेरो ध्यान केन्द्रित गराउँदै भनी, ‘एक्लै कहाँ हराएको ?’
म आश्चर्यचकित भएँ। अगाडि प्रेमिका देख्ता।
‘हाई,’ मैले औपचारिकता निभाएँ, ‘के छ हालखबर।’
‘म बेसै छु,’ उसले भनी, ‘बरु तिम्रो के छ, निकै उदास छ तिम्रो अनुहार।’
‘हो, मलाई निराशामा बिताउने बानी पर्न थालेको छ,’ मैले उसको जिज्ञासा मेटाउने प्रयत्न गरें, ‘तिमी मबाट टाढा हुन थालेको महसुस भइरहेको छ।’
‘गलत,’ उसले भनी, ‘म तिमीबिना एकपल बिताउन सक्दिनँ।’
‘खै ...,’ म थोरै रोकिएँ, अनि भने, ‘एक कल पनि तिमीलाई हिजोआज भारी बन्न थालेको छ।’
‘भैगो छोड्देऊ,’ उसले भनी, ‘म कुनै परिस्थितिको जञ्जिरभित्र थिएँ होला।’
अंगालोमा बेरिइ। दुबै हातले मैले उसलाई कसिलो पारेर अंगालोमा राखें।
उसका आँखा रसाइरहेका थिए। मेरा आँखा पनि टिलपिल भए।
त्यहीबेला निद्रा भंग भयो। यताउता नजर लाएँ। घडी हेरें। राति साढे बाह्र बजेर केही कट्दै थियो।
अब मलाई निद्राले च्याप्न सकेनँ। उसैलाई सम्झिएर रात बित्यो।
विहान सबेरै फोन गरें। रिसिभ भएन।
एसएमएस गरें, ‘आज सपनामा तिमीलाई देखेको थिएँ।’
निकैबेर कुरें। उताबाट कुनै जवाफ फर्किएन।
...
महिना दिनअघि नेकपा–माओवादी (वैद्य समूह)को बन्द थियो। राजमार्गमा एउटा गाडी चलेका थिएनन्। फाट्टफुट्ट मोटरसाइकल भने चलेका थिए।
आफ्नो निवास विराटनगर मुनालपथबाट ट्राफिक चोक आइपुगेको थिएँ। अर्का एक जना पत्रकार साथीसँग भेट भयो।
उनी कुनै कामको सिलसिलामा थिए। तर बन्दका कारण उनी रोकिएका रहेछन्।
‘धनकुटा जाने हो ?,’ उनले सोधे।
‘किन जानु र ?,’ मैले भने, ‘कुनै कामबेगर।’
‘महोत्सव चलिरहेको छ,’ उनले भने, ‘त्यहाँबाट साथीहरूले मलाई बोलाउँदै छन्।’
‘गाडी चल्दैन,’ म जिस्किएँ, ‘जाने भए मेरै मोटरसाइकलमा जाउँ न त।’
‘म सिरियसली भन्दैछु,’ उनले भने, ‘मैले दुई जना गायक÷गायिकालाई पनि सँगै लैजानुछ।’
‘अहो !,’ बन्दको परिस्थिति औंल्याउँदै मैले भने, ‘कसरी जाने र ?’
‘उनीहरू दुईमध्ये एक गायक प्रमोद खरेल हुन्,’ उनले भने।
म अब उत्साहित भएँ। प्रमोद खरेलका गीत सुनेर म मग्न हुन्थें।
‘एउटा भ्यान रिजर्ब गरौं,’ मैले भने, ‘म यसको बन्दोबस्त गर्छु।’
हामी दुबै भ्यानको खोजीमा महेन्द्र चोक पुग्यौं। त्यहाँ एक दुई जना चालकसँग कुराकानी भयो। बन्दको कारण देखाउँदै उनीहरू हिँड्न मानेनन्।
त्यसपछि हामी कोसी अञ्चल अस्पताल छेऊ पुग्यौं। त्यहाँ केही भ्यान चालकहरू भेटिए। तीमध्ये एक जना हिँड्न तयार भए।
तर बन्दकर्ताले गाडीमा क्षति पु¥याए जिम्मेवारी आफैं लिनुपर्ने शर्त हामीमाथि आइलाग्यो।
गाडी अगाडि प्रेस टाँस्यौं।
प्रमोदलाई लिन एयरपोर्टतर्फ हिँडयौं।
उनी निकैबेरदेखि कुरेर बसिरहेका रहेछन्।
चिनजानको रितिथिती पूरा गरेपछि सबैजना भ्यानमा चढ्यौं।
कञ्चनबारी चोक आइपुगेपछि भ्यानले गती बढायो। सुनसान सडकमा केही साइकल र मोटरसाइकल घरिघरि भेटिन्थें। बन्दकारीले रोक्लान् कि भन्ने पीर हुँदाहुँदै हामी आपसी गफगाफ गर्दै समय बिताउँदै थियौं।
तर हामी चढेको गाडी कतै रोकिएन। हामी साँझ साढे पाँच बजे धनकुटा पुग्यौं।
टुँडीखेल भरिँदै थियो। मान्छेको आवतजावत बाक्लो बन्दै थियो।
आयोजकले प्रमोद खरेलको नाम दिउँसैदेखि प्रचार गरिरहेका थिएछन्। ६ बजेपछि आयोजकले हामीलाई मञ्च पु¥याए।
उद्घोषकले प्रमोद खरेल आइपुगेको जनाउ दिँदै थिए।
खरेल केहीबेर गुज्रिँदा मञ्च पुगे। हुटिङ र तालीको वर्षा भयो।
...
टुँडीखेल बाक्लिँदै थियो।
खरेल आफ्नो सांगीतिक प्रस्तुति दिन कस्सिए।
म डायरी र डटपेन हातमा लिएर प्लाष्टिकको कुर्चीमा बसें।
उसले जति माया तिम्लाई मैले पनि दिन्थें होला
संसारका सारा खुसी तिम्रै लागि किन्थें होला
गीतको पहिलो हरफ यसरी सुरू भयो। दर्शकहरू उफ्रि उफ्रि खरेललाई साथ दिइरहेका थिए। प्रेम मिसिएको वियोगपूर्ण गीत, त्यसमाथि खरेलको सुरिलो आवाजले वातावण संगीतमय भयो।
मैले दिएको फूल पनि तिम्लाई तिखो काँडा भयो
यो दिलभित्र बस्छु भन्थेऊ आखिर दुरी टाढा भयो
खरेल अगाडि बढ्दै गए। दर्शक झन्झन् लोभिरहेका थिए।
पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् धनकुटा महोत्सव। आयोजक धनकुटा उद्योग वाणिज्य संघ थियो। राष्ट्रपछि डा. रामवरण यादवले पुसको अन्तिम साता यो महोत्सव उद्घाटन गरेका थिए।
दोस्रो गीत ‘डुबायो पापी मायाले’ पछाडि खरेल अर्को चर्चित गीत सुनाउन कस्सिए।
म बिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा
दर्शक अझै हौसिन थाले। टुँडीखेल टम्म भरिसकेको थियो। म यताउता तीर्यक नजर लाउँदै डायरी भर्दै गएँ।
प्रेम भावनामा ओतप्रोत खरेलका गीतले मन छुँदै गयो। अतीत आँखाअघि झल्झली आउन थाल्यो।
हाँस्दा सँगै हाँस्छु भन्थी, रुँदा आँशु पुछिदिन्थी हो
फेवाताल झैं आज आँशु टिलपिल छ पोखरामा
खरेल डुब्दै थिए। अतीत सम्झेर म विवहल भएँ। आशु छचल्किन थाले।
उनका गीत सुन्दै आफ्नो विगत सम्झेर म चिन्तित भएँ।
उनले आफ्ना अरु गीत पस्किए।
हे माया हे माया
के भयो तिमीलाई के भयो भनन ...।
हंगामा भो कसम
जादु चलायौ तिमीले ...।
छुटिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीख माग्नु पथ्र्यो
म त सधैंभरि तिमीलाई माया गर्ने मान्छे
तिम्रो साथबिना सधैं
जीउँदै मर्ने मान्छे ...।
यति प्रस्तुति दिइसक्दा पौने नौ बजेको थियो। हामी सबैजना होटल पुग्यौं।
...
भोलिपल्ट फर्किँदा मैले खरेलसँग जोक गरें।
‘तपाईं आफू पनि रुने अनि अरुलाई पनि गीत सुनाएर रुवाउने मान्छे हो ?’
उनी फिस्स हाँसें। जवाफ फर्काएनन्।
‘मैले प्रेममा धोका पाएको हो नि,’ म आफैं खुलें अनको अघि।
‘हो र ?,’ उनी उत्साहित भए, ‘कहाँ कि हुन् प्रेमिका ?’
‘प्रेमिका नभन्नुस् न, पूर्वप्रेमिका भइसकिन्, उनले अन्तै मुटु साटिसकिन् होला,’ मैले भने, ‘झापा हो घर।’
‘मेरो पनि झापै हो,’ खरेलले भने, ‘बनियानी।’
‘कुनै दिन म आउँदा तपाईंको प्रेमिकाको गाउँ जाउँला,’ उनले भने, ‘सक्किगो नि।’
मैले सहमतिमा मुन्टो हल्लाएँ।
सायद, खरेलले पनि प्रेममा धोका पाएका होलान्। त्यसैकारण वियोगपूर्ण शब्द र त्यस्तै प्रकृतिको आवाजले गीत सुनाएर उनी अरुलाई पनि रुवाउँछन्।
तर उनी यो कुरा खोतल्न चाहँदैनन्। अस्वीकार गर्छन्।
‘फिल हो। गडले मलाई यस्तै स्वर दिएको छ। यस्तै गीत रोज्छु,’ उनी भन्छन्, ‘फिलमा गाउनसक्ने क्यापासिटी छ मसँग।’
एयरपोर्ट पुगेपछि मैले खरेलसँग विदा मागें। उनले फेरि भेट्दै गरौंला भनी सद्भाव दर्शाए।
...
आज म उनै खरेललाई मिस गरिरहेको छु। मनमनै प्रेमिका सम्झेर ।
प्रेम के हो ? प्रेम दुई आत्माको मिलन हो भनिन्छ। दुईमध्येको त्यो एक आत्मा आज मसँग छैन।
मैले बुझ्न सकेको छैन आखिर किन ऊ मबाट टाढा किन भइ ? तर जहाँ जस्तो अवस्थामा भए पनि प्रेम दिवसले उनलाई खुसीको वातावरण निर्माण गराओस्।
आज प्रपोज डे हो। सबै जोडीको प्रेमसम्बन्ध कसिलो होस्।
सबै प्रेमीप्रेमिकाप्रति प्रणय दिवसको शुभकामना !