ए मेरा देशका सम्माननीय नेताहरू हो
भन्न मन लाग्छ भने भन मलाई
स्वेदशनिन्दक वा घृणा चिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो,
अंशबन्डै गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशको असंख्य बगरहरूमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ ... ।
– भूपि शेचरन
मृत्यु अवश्यम्भावी छ । मान्छे प्रायः जीवनकै कुरा गर्छन् । मरणको कुरा गर्दैनन् । मरणको कुरा अवश्यम्भावी नभए पनि अस्वाभाविक भने लाग्छ । मान्छेले चिताको आशा गरेर एक अर्थमा सम्मानित मरणको अपेक्षा राखेको हुन्छ । तर त्यस्तो ‘सौभाग्य’ सबैलाई जुर्दैन । सशस्त्र द्वन्द्वकालमा मरेका धेरैको चिता बनेन।
नेकपा माओवादीले गरेको ‘जनयुद्ध’ मा १३ हजार २ सय ५० जति मान्छे मरे । कैयौं कामरेड, सेना, प्रहरी र सर्वसाधारणको मरण चिताविहीन भयो । त्यस्तै १ हजार ३ सय जना बेपत्ता छन् । मानवअधिकारमा काम गर्ने एक संस्था इन्सेकका अनुसार सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएकामध्ये राज्यतर्फबाट ८ हजार ३ सय ७७ थिए भने माओवादीतर्फबाट ४ हजार ९ सय ७०।
त्यसमध्ये सुदूर पश्चिमको एउटा जिल्ला जुम्लामा राज्यतर्फबाट १ सय ७० र माओवादी तर्फबाट ७९ मान्छे मरे । तर, सुरक्षित मातृत्वको जनचेतना अभियानमा लागेर जुम्लामा अस्पताल बनाउन लागिपरेकी नर्स राधा पौडेल उक्त हमलाको रात धन्न बाँचिन् । बाँचेकै भएर उनले युद्धको बेला जुम्ला बस्दाको सस्मरण सुनाउन पाइन्— ‘जुम्लामा हमला’।
चितवनमा हुर्केकी राधालाई उनका बुबाले सधैं जुम्लाका मान्छे गरिब भनेर कथा हाल्थे रे । अनि बा भन्थे रे, ठूली भएपछि तैंले जुम्लाका मान्छेको सेवा गर्नुपर्छ । त्यो सुनेर हुर्केकी राधाले नर्स पढाइ पूरा भएपछि राम्रो जागिरको छनोटमा नवलपरासी वा जुम्ला रोज्नुप¥यो । उनले जुम्ला नै रोजिन्, तर जुम्ला रोज्नु र भोग्नुमा कति सकस थियो भन्नेचाहिँ उनको अनुभव पढेपछि थाहा लाग्छ।
‘जनयुद्ध’ कालमा त्रासै–त्रासैको वातावरणमा सास पनि साँचेर बाँच्नुपरेको कठिन परिस्थिति थियो जुम्लाबासीको । जुम्लामा बस्दा के भयो, हमाला हुँदा कस्तो भयो भन्ने वर्णन गरेकी छन् राधाले आफ्नो पुस्तकमा । हमलाको विवरण पढ्दा, युद्धप्रति नै तीव्र घृणा र निराशावादले घेर्छ।
जुम्ला वास्तवमा साधन–स्रोतको कमीले होइन, चेतना र उत्प्रेरणाका अभावलले पछि परेको राधाको विचार छ । रातो चामल, यार्चागुम्बा, गुची च्याउ, पाँचऔंले, सिलाजितजस्ता स्थानीय स्रोत आर्थिक विकासको राम्रो स्रोत हुन सक्छ।
तर, जुम्लामा विकृतिले घर गरेको छ, तिनसँग जुध्नु नै जुम्लाको चुनौती हो । भएको चामलले भात नखाई जाँडरक्सी बन्नु, धूवाँरहित चुलो जनसाधारणसम्म पुग्न नसक्नु, सरकारी कर्मचारी काज भन्दै जुम्लामा बस्दै नबस्नु केही समस्या हुन् । त्यस्तोमा माओवादीको लडाइँले झनै मर्नु पारेको उनको अनुभव छ।
जुम्लाका ती दिन अहिले पढ्न त सजिलो छ, तर त्यतिखेर कसरी भोगे होलान् मान्छेले भन्ने सोच्दा पनि अत्यास लाग्छ । राति सुत्दा पनि बाहिरफेर हिँड्दा लगाउने लुगा लगाएरै सुत्नुपर्ने, राति कुन बेला अपहरणमा परिएला ठेगान नहुने । बजारमा कपडाको जुत्ता किन्नै नपाइने, माओवादी छापामारले प्रयोग गर्छन् भनेर । बिस्कुट, चाउचाउजस्ता खानेकुरा पनि अड्कली–अड्कली किन्नुपर्ने, धेरै किनिएको ठहरियो भने जिल्ला प्रशासन कार्यालयलाई स्पष्टीकरण दिनुपर्ने।
गाउँका स्वास्थ्य चौकीमा माओवादी आउँछन् भनेर प्रशासनले औषधि नपठाउने, उता कामरेडहरूचाहिँ औषधि नदिए उडाइदिन्छौं भन्ने । बिहे–जात्रा आदिमा बाजा बजाउन पनि प्रशासनको स्वीकृति लिनुपर्ने, अनि रातमा गर्नुपर्ने दिपावली पनि दिउँसै गर्नुपर्ने।
एक ठाउँमा राधाले लेखेकी छिन्ः
सुत्नुअघि ‘शुभरात्रि’ भन्नुको छुट्टै महत्व हुन्थ्यो, जुन मैले न त्यसअघि न त्यसपछि महसुस गरेँ । के थाहा, भोलि बिहान देख्न पाइने हो कि होइन ? र, प्रत्येक बिहान सकुशल ब्युँझेपछि हामी फेरि एकअर्कालाई हेथ्र्यौं । मायालु पाराले सुमसुम्याउँथ्यौं । अनि फिस्स हाँस्दै भन्थ्यौं, ‘बधाई छ, आजलाई बाँचियो।’
सशस्त्र लडाइँको एउटा पाटो बुझाउन यो पुस्तक अत्यन्तै महत्वपूर्ण सामग्री हो, जुन पढिसकेपछि के लाग्छ भने लडाइँको प्रभाव कम भनिएको ‘ग’ वर्गको जिल्ला जुम्लामा त स्थानीयहरू त्राहि–त्राहि भएका रहेछन् भने द्वन्द्वको प्रभाव बढी भनिएको ‘ख’ र ‘क’ वर्गका जिल्लाको अवस्था झन् कस्तो थियो होला ? समय क्रममा तिनका कथा–व्यथा पनि समाजसामु आउने नै छन्, जसले सुख हैन, दुःख नै देलान्।
माओवादीले जुन कारणका लागि हिंसात्मक आन्दोलन गरेका थिए, जसका कारण १३ हजारभन्दा बढी मान्छेले ज्यान गुमाए, सयौं बेपत्ता, हजारौं अङ्ग–भङ्ग भए र अहिले माओवादी नै ‘क्यास’ र ‘ड्यास’ बनेर टुक्रिएर संविधानसभाको चुनावै होला–नहोला, संविधानै बन्ला–नबन्ला जस्तो भएका बेला ती जो मरे तिनको ज्यान अनाहकमा त गएन भन्ने गहिरो आशंका ‘खलंगामा हमला’ पढेपछि पुनः तीव्र हुन्छ।