बिहानको घरायसी सहमतिअनुसार आज स्कुलबाट छोरो ल्याउने पालो मेरो छ । म दस काम भ्याएर, अरू बेलाभन्दा अझ निर्दयी तवरले भटभटेको कान बटारेर स्कुलको गेटमा आइपुगेको छु।
‘बाइक उता अढ्याउनुस्,’ मूल ढोकाअघि उभिएको अधवैंसेले फौजी शैलीमा इसारा गर्छ । उसले औँल्याएको दिशातिर भटभटे घिस्याउँदै गर्दा मेरा आँखा भने अझै गेटतिरै फर्किएका हुन्छन्।
उजस्तै अन्य दुई पुरुष र एक महिला तैनाथ देखिन्छन् त्यहाँ । बर्दीजस्तै देखिन्छ उनीहरुको पोसाक । सबैका हातमा सञ्चार सेट छ । हतियार नभिरेका मात्र , उनीहरुको हाउभाउ र सजगता हेर्दा लाग्छ— ती स्कुलका द्वारपालभन्दा लडाइँको मोर्चा सम्हालिरहेका सिपाही हुन । केही बेरमा मूलढोका खुल्छ । आफ्ना स–साना नानी भेट्न हतारिएका अन्य अभिभावकसँगै म स्कुलको प्रांगणभित्र छिर्छु।
केही बेरमा छोरो निस्कन्छ आफ्नो कक्षाबाट । हेर्छु— सद्धे स्कुल पठाएको छोरो भत्किएको छ । सर्टका बीचका बटन उदांगा छन् । अघिल्लो आधा भाग हाफपैन्ट बाहिर निस्किएको छ । अर्कोपट्टिको आधा भाग बेल्टभित्रै त छ, तर बेपरवाह खाँदिएको छ कुनै झुत्रे कपडासरी । अब यति भैसकेपछि पनि त्यो टाई चाहिँ त्यसमाथि अझै किन झुन्डयाउनुपरेको होला ? फेरि त्यो पनि सद्धे भए त हुन्थ्यो नि । गर्मीले ओइलाएको लहरोजस्तो देखिएको छ । तर जवाफ कसले दिन्छ र?
पाले, पिउन, शिक्षक, प्रशासक सबै व्यस्त देखिन्छन् यहाँ । सबैको आ–आफ्नो ड्युटी छ । कोही ड्रम हिर्काउँदै छन् । कोही ठूलो रजिस्टरमा केही टिप्दै छन् । बोल्ने भंगिमा त को नै देखिन्छ र ? झट्ट आफ्नै नानीसँग रिस पनि उठ्छ मलाई । बिहान त्यति मिलाएर लगाइदिएको लुगाको यो हालत पारेकोमा । तर हेर्छु—उसका सहपाठी कसैको पनि योभन्दा राम्रो हविगत छैन । यदि सबै बच्चाको ताल यस्तै हुने हो भने ठीक यस्तै दृश्य स्कुलले आफ्ना ब्रोसर, लिफलेट र होर्डिङ बोर्डहरुमा किन राख्दैनन् ? सायद यस्तो प्रश्न त्यहाँ पुगेका अन्य अभिभावकका मनमा पनि उब्जिएको हुनसक्छ । तर कोही मुख खोल्दैन । अर्थोक जे भए पनि आफ्नो नानी यति नाम चलेको, यत्रो ठूलो स्कूलमा पढाएकोमा बाहिर कत्रो इज्जत छ । फेरि म आफैंले पनि यसअघि यस्तो कुरा नियाल्ने फुर्सत कहिले पो निकालेको हुँ र?
म आफ्नो बच्चा बुझ्ने पालोमा उभिएको छु । उता छोरो थामिनसक्नु झोलाको भारीले किचिएर उसरी नै लाइनमा उभिएको छ । उसको त्यो सकस देखेर म यता छट्पटिएको छु । तर स्कुलको सिस्टम हो, मैले पालो नपर्खी धरै छैन । ऊ बल्ल मेरो हात समाउन आइपुग्छ । मलाई झोला बुझाउन उसले गरेको हतारो हेर्दा लाग्छ— ऊ विद्यार्थी हैन ठाडो उकालोमा भेटिएको पिलन्धरे भरिया हो।
यतिबेला हामी बाबुछोरा बाइक छेउमा छौं । अब मैले उसको सर्ट मिलाइदिनु छ । जुत्ताको लेस नकसी उसको हिँड्ने उपाय छैन । “हैन यति स–साना नानीलाई पनि यो स्याहार्नै नसकिने युनिफर्म किन भिराएको होला ?” उफ ! पोसाक बापतको महँगो बिल तिर्ने म आफैं हुँ । कारण जान्दाजान्दै म फेरि किन यसरी भुत्भुताएको हुँला।
“स्कुल भनेको त सबै बच्चालाई उस्तै सोच्न सिकाउने ठाउँ हो । त्यसका लागि पहिला उनीहरुलाई उस्तै बनाउनु परेन र, महासय ?” हेर्छु— छट्टु हाँसो थामेर एक अधबैँसे हाम्रा अघि उभिएका छन । सायद नाति हुनुपर्छ— उनको हात समाएर उभिएको छ पसिनाले निथ्रुक्क भिजेको अर्को लिखुरे बालक।
“के को युनिफर्म नमिलेको कुरामा गन्गनाइरनु भा ? आजकल त केटाकेटी स्कुलबाट आएसी कान छाम्ने र आँखा हेर्ने हो । यी दुई चिज ठीकै पाइयो भने अरुमा त के गुनासो गर्नु र?”
उनीहरु त्यहाँबाट हिँडिसकेपछि मात्र बूढाले कसेको व्यंग्यवाणले मेरो दिमाग छिचोल्छ । खै के भएर हो, त्यसपछि एकाएक ‘आज त १५ गते भैसक्यो, बच्चाको फि पनि तिरेर आउनू है’ भनेर घरमा भनेको सम्झन पुग्छु म । हुन त आज मलाई फर्किएर स्कुलको फि तिर्न पटक्क मन हुन्न । तर, भोलिदेखि ‘लेट फि’ पनि थपिने प्रावधान बिहान म आफैंले पढ्या हो बच्चाको झोलामा भेटिएको नोटिसमा।
अहिले बाबुछोरा उभिएका छौं स्कुलको फि तिर्ने काउन्टरअघि । यस्तै तीनवटा काउन्टर छन् यहाँ । सबै काउन्टरमा उत्तिकै लामो लाइन छ । बल्ल पालो आउँछ हाम्रो।
‘पाँच हजार सात सय तीस ।’ अति सुन्दर अकाउन्टेन्टले प्रिन्टरबाट थुतेर थमाएको बिलमा लेखिएको यो रकम भर्खर स्कुल जान थालेको विद्यार्थीको मासिक शुल्क हो भनेर कसले पत्याउला र?
यता मेरो मुख जति बिग्रँदो छ , उता अकाउन्टेन्टको मुस्कान उतिनै पोखिँदो छ । उनको मुस्कानको टाइमिङ र प्रस्तुतिको शैली हेर्दा यो अनुमान लाउन कठिन हुन्न, ‘कस्टमर केयरको’ ताजा संस्करणको तालिम उनले भर्खरै पाएकी छन्।
‘अलिक चाँडो गर्दिनुस न सर, पैसा जम्मा गर्न ढिलो हुन्छ,’ अकाउन्टेन्टको आवाज पछ्याउँदै त्यहाँभित्रको हतारो म चियाउन पुग्छु।
एउटा युवक धान–चामल हाल्ने बोरामा भुइँमा रास लागेका नोटका बिटा धमाधम उठाइरहेको छ । चटक्क मिलाएर लाएको पाइन्ट–सर्टमाथि उसले भिरेको टाई र परिचय पत्रको ढाँचा हेर्दा सायद ऊ कुनै प्राइभेट बैंकको कारिन्दा भएको अनुमान लाउन गाह्रो हुन्न । शिक्षण संस्थाहरुले गर्ने मुद्रा संकलनको यो तरिका विचारेरै त होला विद्वानले बोलेका— ‘यदि शिक्षा महँगो ठान्छौ भने अज्ञानताको मूल्य सोच ।’ त्यसैले अब धेरै नसोचिकनै आफूसँग मौजुदा सबै नोट उनीतर्फ बढाउँछु।
घर नपुग्दै सानो विद्यार्थी होमवर्कको रासले घेरिन्छ । जति नै महँगो ‘स्कुलिङ’ होस् न, छोराले कुनै होमवर्क आफैं धानेकै छैन । ऊसँगै आमा पनि भिडेकी छे । आक्कलझुक्कल मकहाँ पनि आइपुग्न थाल्या छ उसको होमवर्क । यदि कुनै दिन मैले पास गर्नुपर्यो भने कलिलो छोराका अघि मेरो डिग्रीको के हालत होला ? त्यसो त सुनेको छु— उसका अरु साथीहरुका लागि त घरमा छुट्टै होमवर्क टिचरहरुको पनि व्यवस्था हुन्छ रे । हैन यो गृहकार्य हो कि खेतालाकार्य ? विद्यार्थी एक्लैले गर्नै नसक्ने काम केटाकेटीलाई किन थोपर्नुप¥यो हँ ? घर पुगेर होमवर्क नसक्तै दिउँसोभरिको धपेडीले गलेको कलिलो शरीर, ओछ्यान पुग्नै नपाई झकाएको छ । भोलिपल्ट उज्यालो भइनसक्दैको चक्र फेरि उही हो । कहिले उसले रिङ खेल्नु ? समय कतिखेर उब्रिएको छ र कार्टुन हेर्नु ? घर परको चौबाटोमा पनि खोई र अरु केटाकेटी भेला भएका ? न त अबोध बालक्रिडामा रम्न पाएको छ उसले, न बाबा–मामुसँग झ्याम्मिने समय छ । हैन मार्क ट्वेनले कसरी भन्न सके हँ— मैले मेरो ‘स्कुलिङले’ मेरो शिक्षालाई कहिलै असर गर्न दिइन भनेर । के त्यही भएर उनी विश्वप्रसिद्ध भएका हुन्?
तर यस्तो कुरामा कुन अभिभावकले सोचेको होला र ? यी यता हामी दुवै बुढाबुढी दिनभरि दौडेका छौं उसैको फि धान्न । बरु हामी दुवैले हरेक दिन ऊ सँगै समय बिताउने गरेको भए पो उसले केही सार्थक कुरा सिक्थ्यो कि ? तर यो तर्कनाले अर्को महिनाको फि तिरिँदैन । फेरि यसरी नै भए पनि छोराले धेरै पढ्ने आस छ हामीलाई । श्रवणकुमार, अरनिको या तेन्जिङ नोर्गे हैन, कुनै खतरनाक विषयको उच्च डिग्रीधारी यन्त्रमानव बनाउनु छ हाम्रो सन्तानलाई । यी गाउँकै पाठशालामा पढेर पनि म कम्तीमा यो सहरसम्म त आइपुग्न सकेँ।
सहरको कहलिएको स्कुलमा पो पढ्दै छ त मेरो छोरो । सबभन्दा ठूलो आस त यो छ कि— उसले धेरै पढेर एकदिन यो देशै छाड्ने छ । त्यसैले म सम्झन चाहन्न उसको अर्को दिनको उस्तै निरस बिहान, हाम्रो त्यस दिनको उही धपेडी र उसले दिनभरि स्कूलमा बेहोर्ने त्यो महँगो सकस । तर खै कुन संवेगको प्रसस्तिमा हो, आँखा सुतिरहेको छोरामा पर्छन् । निद्रामा पनि मस्त हैन बिलखबन्द कैदीको जस्तो देखिन्छ उसको अनुहार।
झट्ट केही दिनअघिको एक साँझ उसको अनुहारमा छाएको उन्मुक्त भाव सम्झन पुग्छु । म घर पुग्दा ऊ हातमा स्कुलले पठाएको नोटिस बोकेर ढोकैमा उभिएको थियो मेरो प्रतीक्षामा । पढेँ— सम्पूर्ण विद्यार्थीले एसएलसीमा डिस्टिङ्सन ल्याएको खबर छापिएको रहेछ त्यहाँ । म धेरै खुसी थिएँ छोरालाई यस्तो राम्रो स्कुलमा पढाउन पाएकोमा । ऊ पनि बहुतै खुसी थियो । तर उसको स्कुलले पाएको यो सफलतामा हैन अर्को दिन स्कुल बिदा भएकोमा।
अब भने मलाई ग्लानी हुन्छ त्यो कलिलो वयमाथि आफ्ना गह्रुङ्गा सपना उमारेकोमा । आफूले कहिल्यै पूरा गर्न नसकेका कुण्ठाहरु ऊ माथि थोपरेर उसको मीठो निद्राधरी बिथोलेकोमा । म नचाहँदा–नचाहँदै विलियम ब्लेकको यो कविता अंश सम्झन पुग्छु—
तर कुनै उष्ण यामको बिहान
जब विद्यालय हिँड्ने समय हुन्छ
हो, सारा उमंग पनि टाढा कतै बाटो लाग्छन्
र हरदम तैनाथ निर्दयी आँखाहरु मुन्तिर
पूरै दिन बित्छ साना नानीहरुको
बिरक्तलाग्दो हाइ काढेर ।