आदित्य अधिकारीद्वारा लिखित पुस्तक 'बुलेट र ब्यालट बक्स' नेपाली माओवादीहरुको भूमिगत कालदेखि शान्ति प्रक्रियासम्मको जोखिमपूर्ण यात्राबारे वर्णन र विश्लेषण होl सन् ९० को दशकसम्म आइपुग्दा विश्वभर साम्यवादी सत्ताहरुको पतन भैसकेको थियो भने त्यसपछिका वर्षहरु कम्युनिस्ट क्रान्तिका लागि शत्रुतापूर्ण रह्यो l यस्तो विषम अन्तर्राष्ट्रिय परिवेश र पृष्ठभूमिमा नेपाली क्रान्तिका उद्यमीले कसरी लोकप्रियता गुमाइसकेको विचारधारा प्रयोग गरी राज्यसत्ता उल्टाउन सफल भए भन्ने बिषयमा पुस्तक केन्द्रित छl
माओवादी जनयुद्ध र सत्ता परिवर्तनका कारण नेपाल देश भित्र र बाहिरका पत्रकार तथा शोधकर्ताका लागि स्वर्गीय भूमि हुन पुग्योl धेरै पुस्तक र ‘रिसर्च पेपर’ लेखिएl अन्तरवार्ता र व्यक्तिगत अवलोकनकका अतिरिक्त लेखकले माओवादी जनयुद्धमा लेखिएका पुस्तक, माओवादी कार्यकर्ताद्वारा लिखित कथा-साहित्य, र रिसर्च पपेरमा उल्लेखित ज्ञान र सुचनालाई भरपुर उपयोग गरेका छन्l
माओवादी जनयुद्धलाई हेर्ने अधिकारीको दृष्टिकोण कस्तो छ त? उनका अनुसार 'कमजोर राज्य' तथा 'गरिवी' जस्ता चरलाई माओवादी जनयुद्धको इतिहास लेख्दा उपेक्षा गर्न नसकिएपनि पुस्तक मुख्यतः 'मार्क्सवादीले भन्ने गरेको आत्मगत अवस्थामा' केन्द्रित छl उनले जनयुद्धको विश्लेषण गर्दा क्रान्तिकारी उद्यमीका आस्था र भूमिकालाई प्रधानता दिन्छन्l अर्थात, नेपाली सामाजिक र राजनीतिक अन्तरविरोधको माओवादी विश्लेषण र रणनीतिले देशको भाग्यरेखा बदलदियोl
एलेफद्वारा प्रकाशित ३०४ पेजको यो पुस्तक ९ अध्यायमा विभाजित छl पहिलो अध्यायमा लेखकले राजा महेन्द्रले लत्याएको संबिधानसभाको माग र नेपालमा चिनियाँ क्रान्तिको प्रभावलगायत बिषयलाई प्रस्तुत गरेका छन्l हिमालय वारि गुन्जयामान चिनियाँ सांस्कृतिक क्रान्तिका झन्कारले नेपाली राजनीतिको दिशालाई दिर्घकालिन प्रभाव पारेको लेखकको विचार छl
चिनिँया क्रान्तिको प्रभाव नेपालमा नगण्य रहेको राजा महेन्द्रको विश्वास थियो र नेपालमा उग्रबामपन्थ विचारधारा भारतीय बाटो हुँदै नेपाल छिरेको धेरै इतिहासकारको भनाइ छl नेपाललाइ चीनसँग जोड्ने कोदारी राजमार्ग प्रति शसंकित भारतीय कुटनीतिज्ञलाई महेन्द्रले पनि कुटनीतिक शैलीमा जवाफ फर्काएका थिए- चीनबाट साम्यवाद खच्चड चढेर त आएन भने ट्याक्सी चढेर पक्कै आउँदैन होलाl तर, लेखक सहमत छैनन्l सांस्कृतिक क्रान्तिको बेगसँगै चिनिया सोचमा परिवर्तन आएको र कोदारी राजमार्ग निर्माणका क्रममा नेपालमा माओवादको छाप गहिरोसँग परेको उनको तर्क छl
लेखकले दोस्रो अध्यायमा जनयुद्ध बिस्फोटका कारण खोतल्न नेपालली सामाजिक मनोविज्ञानको विश्लेषण गर्छन्l खगेन्द्र संग्रौलाले लेखेको जुनकीरीको संगीत भन्ने उपन्यासका पात्रहरुको विश्लेषण मार्फत नेपालमा ०४६ सालको राजनीतिक परिवर्तन पश्चात पनि दलितहरुले भोग्नु परेका अन्यायलाई बर्णन गरेका छन्l यसैगरी भारतीय दादागिरीका कारण नेपाल पूर्ण रुपमा 'स्वतन्त्र राष्ट्र' बन्न नसकेकाले पनि नेपाली बामपन्थी पार्टी, उनका समर्थकहरु र जनतामा असन्तुष्टी रहेको लेखकको भनाई छl
लेखकका अनुसार व्यापक जातीय- वर्गीय उत्पीडन र राष्ट्रिय स्वतन्त्राको चाहनालाई माओवादीले उपयोग गरेर नेपालमा विद्रोहको बिस्फोटन गराएl अर्थात, अमेरिकी राजनीतिशास्त्री तथा द्वन्द बिशेषज्ञ टेड गरको शाब्दावली सापटी लिँदा 'रिलेटिभ डीप्राइभेशन' (सापेक्ष अभावको अनुभुति) नै नेपाली विद्रोहको कारण थियोl अर्को शब्दमा, जनतामा रहेको व्यापक असन्तुस्टी, असन्तुस्टीको राजनीतिकरण र असन्तुस्टीको परिचालन नै जनयुद्धको रूपमा मुखारित भयोl
जनयुद्ध पुस्तकको तेस्रो अध्यायबाट शुरु हुन्छ जसमा विद्रोहीले अपनाएका रणनीतिका बारे चर्चा छl 'पूर्णकालिन' दुई बन्दुकको प्रयोग गरेर माओवादीले प्रहरी चौकीमाथि धावा बोले भने राज्यको प्रतिहिंसा व्यापक बन्योl हात्तीलाई (राज्यलाई) अन्धो बनाउने नीति अनुरुप गाउँमा सुराकीलाई (अन्य पार्टीका कार्यकर्ता) खेद्ने वा ‘सफाया’ गर्ने काम भयोl माओवादी बारे प्रहरीले स्थानीयबाट सूचना प्राप्त गर्न सकेन, जसले राज्यको हिँसालाई अझ व्यापक र अविवेकी बनायोl सहरमा ‘अधिकारवादी’ संस्था र ‘नागरिक’ समाजको परिचालन मार्फत राज्यले लिने अन्य प्रतिशोधका तरिकालाई मथ्थर पार्न माओवादी सफल रहेl राजनीतिक दलहरु बिचको आपसी कलहका साथै दरवार र दल बिचको दूरीलाई माओवादीले आफ्नो हितमा उपयोग गरेl
चौथो अध्यायमा लेखक साशक वर्गमा देखिएको विभाजन अर्थात संरचनागत कारण तर्फ जान्छन्l दरबार हत्याकाण्डसँगै शुरु भएको चौथो अध्याय सरकार र माओवादीबीच भएको दुई चरणका वार्ता, माओवादीको सैनिक ब्यारेकमाथिको आक्रमण, संकटकालको घोषणा र नेपाली राजनीतिक रंगमंचका तीन खेलाडी - राजा, दल र माओवादीबीचको रणनीतिक खेल र यसको परिणाममा केन्द्रित छl राजनीतिक रूपमा राजा र दलबीचको गठबन्धन माओवादीका लागि घातक, माओवादी र राजाबीचको गठबन्धन दलका लागि घातक तथा दल र माओवादीबीचको गठन राजाका लागि घातक हुन जान्थ्योl
गहिरो आशंका र सिमित अधिकार भएका दलहरुले माओवादीको माग पूरा गरी राजनीतिक मुलधारमा ल्याउन सम्भव थिएन भने आफ्ना दाजु वीरेन्द्र जस्तो टुलुटुलु हेरेर नबस्ने कसम खाएका महत्वकांक्षी राजा ज्ञानेन्द्र आफ्नै दुनो सोझ्याउन आतुर भएl
चौथो अध्यायको शक्ति संघर्षको कथा निरस लाग्न सक्छ तर, पाँचौ अध्यायले ताजकी प्रदान गर्छl लेखकले माओवादी 'सर्वहारा संस्कृति' अन्तर्गत महिला मुक्ति, यौन, प्रेम र विवाह बारे चर्चा गरेका छन्l मञ्जु बमद्वारा लिखित उपन्यास 'संघर्षको गोरेटो' मा चित्रित पात्रहरुको विश्लेषण मार्फत लेखकले घरका भित्तामा कैद महिलालाई माओवादी जनायुद्धले मुक्तिको सपना दिएको उल्लेख गरेका छन्l आफूले रोजेको पुरूषसँग विवाह गर्न र स्वतन्त्र जीवन व्यतित गर्न जनयुद्धले महिलाहरुलाई प्रेरित गर्योl
लेखकले पार्टी भित्रको आन्तरिक शक्ति संघर्षमा यौनलाई कसरी हतियारको रुमपा प्रयोग गरियो भन्ने चर्चा गरेको भए सुनमा सुगन्ध हुने थियोl पार्टी नेता हिसिला यमीका अनुसार कतिपय 'बन्दुकले ढाल्न नसकेका कमरेडहरुलाई यौन प्यासले ढाल्यो।' गुरिल्ला युद्धमा लडाकु भर्नामा यौनले महत्वपूर्ण भूमिका खेल्छl महिला सहभागिता, 'मुक्तिका' घटना र तस्विर प्रथम पृष्ठका समाचार बन्ने हुनाले संवादाताले पनि यसलाई विषेश महत्व दिन्छन्, तर कति महिला गुरिल्ला साम्यवादमा मुक्त थिए भन्ने कुरा अझै बहसको बिषय होलाl
बेनी आक्रमणको इतिवृतान्तमा ५ औं अध्याय अन्त्य गरेका लेखकले छैटौं अध्याय माओवादीको जातीय मुक्तिको नीतिमा चर्चा गर्छनl लेखकका अनुसार नेपाल १८ औं शताब्दीदेखि पहाडे उच्चजात नियन्त्रित राज्य भएकाले वर्गीय नाराभन्दा जातीय नारा बढी लोकप्रिय हुने माओवादीले ठहर गरेl उच्चजातका नवआगन्तुकले आदिवासीलाई उनीहरुकै भूमिमा अल्पसंख्यक बनाएकाले आदिबासीलाई अग्राधिकार सहितको राज्य दिनुपर्ने माओवादीको घोषणा थियोl
लेखकले साहित्यकार राजन मुकारुङ्ले भोगेको जातीय विभेदका अनुभवलाई समेटेका छन् जुन चाख लाग्दा छन्l पाठकलाई मुकारुङ्का कतिपय तर्क भने अतिरन्जित लाग्न सक्छl जस्तै, बाहुनी बिहेगरेका मुकारुङ्ले श्रीमतीबाट गरिवीका कारण सुखपूर्ण जीवन व्यतित गर्न नसकेको गुनासो सुन्छन्l उनलाई लाग्छ आफ्नै जातकी महिला बिहे गरेको भए आफू जस्तै सोच विचार भएकी श्रीमती हुन्थिन र उनीबाट सायद परिवारको गरिवीबारे गुनासाहरु सुन्नु पर्ने थिएन होलाl
माओवादीले रक्सी बन्देज, अन्तर्जातीय विवाह प्रोत्साहन वा अन्य जातका मानिसलाई जबर्जस्ती 'पवित्र स्थल' भित्र लगेर जातीय संस्कृतिको उलंघन गर्दै थिएl आफ्नो धर्म-संस्कृति र पहिचानको रक्षाका लागि स्थानीय जातिले के प्रतिरोध गरे वा यसलाई स्वीकारे भन्नेबारे लेखकले चर्चा गरेको भए यो अध्याय अझ रोचक हुने थियोl
यस अध्यायमा लेखकले गरेका अवलोकन र विश्लेषणमाथि पाठकले धेरै प्रश्नहरु उठाउन सक्छन्l जस्तै, लेखकका अनुसार माओवादी विरुद्ध स्थानीयको प्रतिरोध दैलेखको दुलु भन्ने ठाउँमा मात्र भएको थियोl उनी आफैं प्रश्न गर्छन् किन दुलुमा मात्र प्रतिरोध भयो त ? यसको उत्तर जटिल हुन सक्थ्यो, तर लेखकले सरल ढंगले समस्या हल गरका छन् : दुलु हिन्दु उच्चजातको बाहुल्य भएकाले स्थानीयलाई माओवादीले घन्काएको जातीय मुक्तिको नारा पाच्य भएनl दुलुमात्र होइन, माओवादी प्रभावित पश्चिमी नेपालका अधिकांश पहाडी क्षेत्रमा खस वाहुल्यता छl
लेखकले तमुवान राज्य घोषणा गरे पश्चात माओवादीले लम्जुङ्का गुरुङहरुको व्यापक समर्थन प्राप्त गरेको दावा गर्छन्l यसैबीच माओवादी कार्यकर्ता गंगा लामा उही गुरुङ वस्तीमा सेनाको गोली लागेर सख्त घाइते हुन्छन् र लुक्छन, तर लामालाई पानीसम्म दिन गाउँले तयार हुँदैनन्l बन्दुक प्रधान हुने गुरिल्ला युद्धमा स्थानीयको समर्थन छ या छैन र छ भने कसरी मापन गर्ने भन्नेबारे केहि विवाद त होलाl तर, स्थानीयले अप्रत्यक्ष रुपमा भएपनि न्युनतम जोखिम नमोलेको अवस्थालाई समर्थन भन्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न बहसको अर्को बिषय होl
जातीय मुक्तिको मुद्दा जनयुद्धमा एउटा धारको रुपमा आयो, यद्यपी यसको प्रयोग मार्फत जन-परिचालन र लडाकु भर्नामा माओवादी कति सफल रहे भन्ने कुरा अझै बहसको बिषय होl
अधिकांश जातीय मोर्चाहरु पार्टी कै पुराना नेता कार्यकर्ताले चलाउँथेl तर, यसैको आँखाबाट जनयूद्धलाई हेर्दा समस्या देखिन्छl उदाहरणको लागि लेखकले माओवादीको मक्का भनिने थवाङमा स्थानीय मगर समुदायको परिचालनका लागि जातीय मुक्तिको प्रश्न उठाएको कुरा गर्छन्l तर, आज आएर सम्पूर्ण थवाङग बर्गीय मुद्दा प्रमुख भन्दै माओवादी पार्टीबाट बिद्रोह गरेर निस्किएका नेता नेत्र बिक्रम चन्दको साथमा छl
पुस्तकको सातौँ अध्यायमा लेखकले नेपाली माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई ‘लाल ध्वज’ र मोहन बैद्य ‘किरण’ का व्यक्तित्व बारे चर्चा गरेका छन्l नेपाली माओवादी नेताले भारतको गुप्तचर संस्था ‘र-अ’ को सहायतामा भारतीय संस्थापनसँग भएको सम्पर्क, माओवादी नेताहरुको भारतमा गिरफ्तारी, भट्टराई र प्रचण्डबीचको द्वन्द र नेपाली राजनीतिमा राजा ज्ञानेन्द्रको ‘कु’ सम्मको राजनीतिक घटनाको कथा बुनेका छन्l यसपछि भट्टराई र प्रचण्डबीचको दूरी कम भएको र भट्टराईका जेएनयु गुरू एसडी मुनीमार्फत भारतीय संस्थापन र पार्टीबीच भेटघाट भएको उल्लेख गरेका छन्l
पुस्तकको आठौँ अध्याय नागरिक समाजको उदय, संसदीय पार्टी र माओवादीबीचको कार्यगत एकता र शाही सत्ताको पतनमा केन्द्रित छ भने नवौं अध्यायमा लेखकले माओवादी शान्ति प्रक्रियामा प्रवेश र पहिलो संबिधानसभाको निर्वाचन पश्चातको राजनीतिक परिस्थितिमा चर्चा गरेका छन्l
लेखकका अनुसार संसदीय दलको असहयोग र भारतीय हस्तक्षेपका कारण पार्टी असफल हुँदै गयो भने पार्टी भित्रको उग्रबामपन्थी धारले उदार संथापन पक्षले नेतृत्वलाई कमजोर पार्दै लग्यो l यस्तो स्थितिमा पार्टीले वर्गीय मुद्दामा राजनीतिक समर्थन प्राप्त नगरेकाले पहिचानको मुद्दातर्फ ढल्किएको र दलितहरुको मुद्दासमेत ओझेलमा परेको उनले बताएका छन्l
पुस्तकको उपसंहार रोचक छl लेखकले ‘शाही नेपाली सेना’ का एक सिपाहींलाई उदृत गर्छन्, ‘राजनीतिले मानिसलाई सडकबाट महलसम्म लैजान्छl राजनीतिले मानिसलाई महलबाट सडकसम्म पनि पुर्याउँछl’ पहिलो संबिधानसभाको निर्वाचन पश्चात महल पुगेका ‘मार्जिनलाइजड एलिट’ ( अमेरिकी राजनीतिक समाजशास्त्री थेडा स्ककपलको शब्दावली सापटी लिँदा) लाई दोस्रो संविधानसभाको निर्वाचनले पुनः सडक पुर्यायोl
माओवादीले पहिचानका लागि वर्ग त्याग्नु पर्यो, जातीय अधिकारका लागि दलित अधिकार ओझेलमा पार्नुपर्यो, सरकार गठबन्धनका लागि भूमिसुधार त्याग्नु पर्यो, सत्तामा अवतरणका लागि भारतीय संस्थापनसँग सम्झौता गर्नुपर्यो, शहर व्यवस्थापनका लागि सुकुम्वासी विस्थापित गर्नुपर्यो र कार्यकर्ताको पालन-पोषणका लागि भ्रष्टाचार गर्नुपर्योl उसो भए, कता हरायो त लेखकले प्रस्तावनामा बर्णन गरेको ‘आत्मगत अवस्था’ को भूमिका?
लुइस बोनापार्टको अठारौँ ब्रुमेयर भन्ने पुस्तकमा मार्क्सले नै यसको जवाफ दिन्नछन : मानिसले इतिहास त बनाउँछ तर, इतिहास आफूले सोचे जस्तो बन्दैनl इतिहास आफूले छानेका परिस्थिति अन्तर्गत बन्दैनl
कुनै पनि रणनीतिको कार्यान्वयनलाई समग्र संरचनाले सिमित गर्दछl क्रान्तिका उदेश्य र परिणाम अलग हुने गर्छन्l क्रान्ति बेगवान हुन्छl न त यसको लहडलाई कसैले नियन्त्रण नै गर्न सक्छl जनादेश र मतादेश रद्दीको टोकरीमा पुग्छन्l पूरानो सत्ता उल्टिएपछि जसले राज्य सत्ता पायो, उसैको हो सत्ताl उसैले बनाएको खेलको नियम अनुसार नयाँ राज्य चल्छl
पूँजीवादी विश्व व्यवस्थाले कुनै पनि राज्यमा हुने क्रान्ति नियन्त्रित गर्छ (world systemic pressure)l नेपाल जस्तो सानो र ठूला दुई छिमेकीबीच अवस्थित देशमा कम्युनिस्ट क्रान्ति सम्भव हुँदैन भन्ने धेरै थिएl तर, माओवादीको ‘आत्मगत अवस्था’ बेजोडको थियोl
मेरा केही विमति र टिप्पणीका बाबजुत पुस्तक पढ्न योग्य छl आजसम्म प्रकाशित भएका अन्य पुस्तकभन्दा बुलेट र ब्यालट बक्स धेरै भिन्न छl पुस्तकमा जनयुद्धमा होमिएका मानिसहरुको कथा, ब्यथा, विश्वास र दृस्टीकोणले पुस्तकको ठूलो अंश ओगट्छ जुन जनयुद्धको एक पाटो र लेखकको मुख्य उपलब्धि हो।