हिजोआज चारैतिर लथालिंग छ
चारैतिर भताभुंग छ
मैले मात्र कति सम्हालूँ
यसमा राजनीतिक दलको दोष छ, राज्यको दोष छ
मेरो के दोष?
म त यो देशको महान नागरिक।
म यहीं उद्यम किन गरुँ
म यहीं अवसर किन खोजुँ
म यहीं पसिना किन बगाउँ
यहां स्थायित्वै छैन, सुरक्षै छैन
एक थान संविधान पाए पो
यसमा पनि दलहरुकै दोष,राज्यकै दोष
मेरो के दोष?
म त यो देशको महान नागरिक।
मै मात्र नियम किन मानूँ
मै मात्र किन आफ्ना दायित्व सम्झिउँ
यहां कसले पो आफ्नो जिम्मेवारी पूरा गरेको छ र !
म मात्रै कर किन तिरुँ
म यहां किन केही गरुँ
राज्यले बदलामा केही दिएको भए पो
अनि मैले गुनासो मात्रै पनि गर्न नपाउने ?
म उस्तै परे दुई लेनको सडकमा अर्कोतिरकोलाई ठाउंनै नदिइ आफ्नो सवारी साधन पनि हुल्छु
उस्तै परे बटुवा हिंड्ने पेटीमै कुदाइदिन्छु
मलाई हतार छ
सके ट्राफिकले रोक्नुपर्थ्यो
समात्नुपर्थ्यो, कारबाही गर्नुपर्थ्यो
यसमा मेरो के दोष?
राज्यकै दोष
म त यो देशको महान नागरिक।
म त आजकाल बोल्न पनि छाडेको छु
जसले काम गर्नुपर्ने हो उसैले नै नगरिदिएपछि म त किञ्चित स्वर नै निकाल्दिन
जे भएपनि कम्तीमा मेरै नाममा राजनीति त भएको छ
म त दलहरुको साझा जनता
उनीहरुले जति वाचा पूरा नगरेपनि, पटकपटक ढांटेपनि
म किन बोलूँ
खबरदारी गर्न छाड्ने म कि उनीहरु नै दोषी ?
खोइ मेरो त के दोष
म त यो देशको महान नागरिक।
Twitter: @mayesacharya