संसारमा सबैभन्दा बलवान यही मूर्ख समय हो भन्दा अतिशयोक्ति नहोला। यदि कसैले सोध्यो भने सबैभन्दा कमजोर, त्यो पनि समयको स्थान अरुले निश्चय ओगट्ने छैन। वा यसको सामथ्र्य परास्त गर्न कोही बहादूर जन्मने छैन अघिपछि। सब बिर्सेर भन्नुपर्छ— हो, समय नै सर्वश्रेष्ठ रहेछ।
खास आज म यसरी लेख्ने मान्छे होइन, तर कसरी यस्तो भएँ आँफैप्रति अविश्वास जाग्छ कहिलेकाँही। घरिघरि त आफ्नै साँप्राको नरम छाला चोमोटि हेर्छेु— आँफूलाई विपनामै भेट्छु अरुजस्तै। जसबेला केही गुनासो रहन्न कसैसँग। जिन्दगीसँग न जीवनसँग।
जतिबेला नौ वर्षको थिएँ चार कक्षामा पढ्थेँ म। आमालाई सँधै जीवनभन्दा गह्राँै साहूका भारी बोक्न भ्याइ नभ्याइ हुन्थ्यो। घाम उदाउनुभन्दाको पहिलो प्रहरबाट रातको दोस्रो प्रहरसम्म आफ्नै भागको ढिकी–जाँतो गरिरहनुहुन्थ्यो आमा। बा म तिनवर्षकै हुँदा ब्रह्मलीन भए। दाइ भागेर मन्द्रास पस्यो केहीसमयमै। त्यसपछि घर, घर रहेन। आमा, आमा जस्ती रहनुभएन। गाउँलेजस्ता गाउँलेहरु भैदिएनन्। म जस्तो म भइन। भयो त घर श्मसान घाटजस्तो। आमा दासी जस्ती।
गाउँ यमपुरी सरह। गाउँलेहरु अतृप्त दैत्यहरु जस्ता। म अवैध सन्तान जस्तो। यो सब त्यतिबेलाकै समयले गरायो।
मलाई शैक्षिक सामाग्री बोकेर स्कूल गइकन पढ्नु थिएन। घरको अर्थतन्त्र छटपटाएर मृत्युका चल्ला कोरलिरहँदा पढाइमा लगानी गरेर आमाका निधारमा ऋणको गहिरो कुलेसी बनाउनु थिएन मलाई। शैशवकालीन हठ–जिद्दिका फाँटहरु
आमाको पसिनाले किञ्चित अभिशिञ्चन गर्नु यसै थिएन। यदाकदा पूर्णिमाको धुमिल प्रकाशपुञ्ज देखिने आमाको मुहारमा आजीवन आँैसीका पौधाहरु रोप्नु झन् छँदै थिएन। बरु जीवन पढ्नु आवश्यक थियो त्यतिबेला। कसरी मुखमा माड लाग्छ र आङ ढाकिने लुगाफाटोको जोहो हुन सक्छ यस्तै यस्तै जीवनका अध्याहरु पढ्दै जानु मेरो जिम्मेबारी बन्दै थियो। तर फेरि स्कूल गएर पढ्नु पनि थियो नपढ्नुभन्दा। किन मैले यस्तो विस्मृत निर्णय लिएँ हुँला त्यतिबेलाकै मेरो मनले जानोस्।
हातमा अरु कसैले एकवर्ष पढिसकेका पुराना किताब हुन्थे। नयाँ किताब पानीको ग्रागो झँै कोखिलामा च्यापेर मलाई पनि स्कूल जान–आउन त मन हुन्थ्यो नि, तर अवस्था थिएन। गातै च्यातिएका। पाठ उडेका। पाना हराएका किताबहरु हुन्थे। एउटा कपी र सिसाकलम बोक्थेँे सँधैजसो। अलि संभ्रान्त परिवारका साथीहरुले फुलटिङले लेख्थे। पाइलट पेन देखाएर मन कुँडाइदिन्थे। जतिबेला म सुक्न लागेको मूल जस्तो घुटुक्क थुक निल्दै रुद्रघण्टी तलमाथि पार्थेँ।
एउटा कपीले महिनौ चल्थ्यो। चल्थ्यो के भनुँ चलाउनुपर्ने वाध्यता थियो। जति जति कपीका पानाहरु लेख्दै जान्थेँ, पछाडिबाट इरेजरले मेटिदिन्थेँ। तैपनि शरीरको घाउ सञ्चो भएर निशानी बाँकी रहेजस्तै कपीमा इरेजरको निशाना शेष रहन्थ्यो। म तिनै कपीका पानामा दोहो¥याइ ते¥याइ लेखिरहन्थेँ। सरलाई अति रिस उठेपछि पुरानो गृहकार्य देखाउन आग्रह गर्दा सहजै अरुले देखाउँथे तर मसँग पुरानो गृहकार्य सुरक्षित हुन्नथ्यो। मेटाइसकेको हुन्थेँ इरेजरले। यही बहानमा सरले कान निमोठ्थे। कुखुरो बनाएर स्कूल परिसर घुमाउँथे। यी सब कष्ट भोग्ने मेरो शरीरभन्दा मन दुख्थ्यो ज्यादा। कति दुख्दो हो मेरी आमाको अझै यो थाहा पाउँदा।
तुना फेरिएको चप्पल। पुठ्ठोमा च्यातिएको नीलो ड्रेसको पाइण्ट। आकाशे रङको कमिज लगाएर जान मन नलाग्दा नलाग्दै पनि स्कूल गइरहेँ। जान्दिनथे, मेरो भाग्य र भविष्य त्यही स्कूल, तिनै जीर्ण किताब–कपीमा उड्दा उड्दै धाँगो चुँडिएर अड्किएको चङ्गा जस्तै अड्किएको थियो कि थिएन। तैपनि यति गरेर स्कूल पुग्दा पढ्नमा मन पिटिक्कै जाँदैनथ्यो। यसर्थ स्कूलमा पुरै समय बसेर कहिल्यै पढिन। प्रायः हाफ छुट्टिमा भाग्थेँ।
यहाँ भाग्नुको पनि कारण छ। अरु साथीहरु कोही आँफूले ल्याएको खाजा खान ब्यस्त हुन्थे। खाजाकै लागि भनेर दैनिक रुपमा घरबाट पैसा लिएर आउनेहरु नजिकैका खाजा घरमा पस्थे। मेरो मन भने काँचो पिँडालु झैँ कोक्किन्थ्यो। यहि पिडाले पनि सरासर घर पुग्थेँ पहिले। विहानको आटो, भात जे छ त्यहि खाइदिन्थेँ। आमा मेलापात मै ब्यस्त भइरहनुहुन्थ्यो। अनि एउटा कपी पछाडि पुठ्ठोतिर घुसारेर घरबाट निस्कन्थेँ।
घर–स्कूलको बीचमा स्यालढुङ्गा भन्ने ठाउँ आउँछ। ठूला ठूला चट्टानहरुको पहरो। म हाफ छुट्टि पछिको समय त्यहँी गुजार्थेँ। भागेर आउने ठाउँ पनि त्यही नै थियो मेरो। कहिले कसैका टौवामुनि गएर सुत्थेँ। कैले अग्ला चिलाउनेका रुख चढेर लुक्थेँ। तर इन्टरवल पश्चात स्कूल जान मनै मान्दैनथ्यो।
त्यहाँ मान्छेहरुले रक्सी पिएर बोतल कुना काप्चामा घुसारिछाडेका हुन्थे। यदाकदा वियरका बोतल पनि भेटिन्थ्यो। म तिनै रक्सी र वियरका बोतलहरु संग्रह गर्न तल्लीन बन्थेँ। इष्र्या गर्नेहरु ‘बाहुनको जात फाल्यो’ पनि भन्थे। तर बालै दिदिनथेँ म। बोतहरु संग्रहित गरेर बेचेवापत केही पैसा आउँथ्यो। जसलाई घरमा चिनी चियापत्तीदेखि कपी सिसाकलमसम्म प्रयोग गर्ने गर्दथेँ।
आमा अलिक ज्यादा चिन्ता लिनुहुन्थ्यो। चिन्ता लिनु स्वभाविक पनि थियो। जीवनभर साथ दिन नसकेर हारेका श्रीमान् बीच बाटोमै ईश्वरको प्रिय बनेर गैदिए। समाउने लौरी, टेक्न अखेटा बन्ला भन्दा जेठो बाठो छोरो भागेर मन्द्रास सूइँकुच्चा ठोक्यो। म नसप्रेको काँक्रो जस्तै तितिलो भैहालेँ। अनि आमा एक्लै। गाउँले हामी विरुद्ध। आँफ्नै परिवारका सदस्य अरिङ्गालको भूमिकामा उत्रँदा आमा सहाराशून्य बन्नुभयो प्रायजसो।
भित्र दुःख पिडा र अभावको पहरो बोकेरेपनि मेरी आमाका आँसु कदापी बाहिर देखिएनन्। कुरा काट्नेहरु भन्दथे— यो आइमाइका त आँसु पनि आउँदैनन्। कति पाषाणात्मा होला। कति निठ्ठुर हिउँजस्तै जम्न सक्ने। तर आमालाई थाहा थियो— रुनु भनेको स्वतः कमजोर हुनु हो। कमजोर हुनु भनेको आँफै ढल्नु हो, भत्किनु हो। यसर्थ पनि आँसुको कोशी बाँधेर रुनुभएन आमा। अँ हँ, रुँदैरुनु भएन।
असारको महिना हुनुपर्छ , म बेलुकीको खाना खाइवरि बिस्तारमा ढल्किसकेको थिएँ। आमाको लागि ढलोटको कसाँैडीमा खाना तातै रहोस् भनेर चूलोमाथि बसालीछाडेँ। खोपीमा टुकी मधुरो प्रकाशमा धिपधिप गर्दै थियो। मट्टितेल खपतका लागि नै टुकी मधुरो बनाइएको। वरिपरि केही पुतली र किराहरु उज्यालोसँग जिस्किरहन्थे। जस्तो ति भनेका हाम्रै एक अञ्जुल खुसी हुन्। म सिरकको चरबाट तिनै किराहरुको चर्तिकला नियालिरहेकै थिएँ, आमा आइपुग्नु भो मेलाबाट।
त्यस्तै रातको आठ बजेको हुँदो हो आमा मेलाबाट फिर्ती हुँदा।
दिनभरी जोतिएको शिथिल शरीर। खङग्रङ्ग परेको अनुहार। हरमा निलो पटुकी। टाउकोमा सानो रुमाल थियो । कपाल बाहिरतिर छरिएको। निकै लामो सास फेर्दै अगेनाको डिलमा टुसुक्कु बस्नुभयो आमा। थालमा खाना पस्किनुभयो। सायद हात गोडा बाहिरैबाट धोएर आउनुभएको हुनुपर्छ , मैले देखिन जुनकुरा।
यसै चिसो हुँदै गइरहेको खाना। त्यसमाथि थालमा पस्किएर केही छिन ढुङ्गा–माटाको भित्तामा टाउकाको बलले अडेस लगाउँदै बस्नुभयो। केही सोचेजस्तो, कुनै ध्यान गरेजस्तो देखियो हेर्दामा। विस्तारै कम्मरमा बाँधेको पटुकी खोलेर एक फुर्का समात्नुभयो दाँया हातले। त्यसपछि अकस्मात धेरै अघिदेखि आँखामा थुनिराखेको कोशीको बाध खोल्दिनुभयो घुँक्क घुँक्क गर्दै। अविराम आँसुका झर्नाहरु झरिरहे। झरिरहे निरन्तर। आँसुले भुइँको सिन्दुर लतपतियो, पखालियो। थालमा पस्किराखेको भातको एकभाग मुछियो तिनै आँसुले। म सिरकको छेल पारेर हेर्नु बाहेक विकल्प भेट्नै सकिन।
उमेरमा कच्चा पदार्थ नै हुँ। तर आमाको दुःख बुझ्थेँ। बुझ्नु यसर्थमा थियो कि, म पनि दुःखकै संस्कारमा झेलिनु थियो। बानी पार्नु थियो आहिस्ता आहिस्ता दुःख र अभावको भुमरीमा तैरिन। कुनै माझिको छोराले डुङ्गा तार्न सिकेजस्तै। तर यसरी आमाका आँखा चिसिएका कहिल्यै देखेको थिइन। यसरी भित्तोसँग एक्लै एक्लै रोएको पनि जानकारी थिएन। आखिर कुनै सहारा नै नभएर त होला नि आमा भित्तोसँग रुनुभएको।
मलाई सिरकभित्रबाटै भक्कानो फुटेर रुन आयो। आमालाई यो पनि थाहा थिएन कि म अझैसम्म निदाइसकेको छैन। मैले बल्ल थाहा पाएँ– कसरी आमाहरु हाँसेर पनि रोएका हुँदा रहेछन्। कसरी नरोएरै पनि रोएका हुँदा रहेछन्। र कसरी आँखामै अथाह सागर बोकेर पनि सुख्खा देखिँदारहेछन्। कठै ! मेरी आमा..........!